कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घटना हुनेछ ।

विश्वभर कोरोना संक्रमणको सन्त्रास फैलिएर जनजीवन नै अस्तव्यस्त भइरहेका बेला ५ चैतमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अधिकारीले प्रशिक्षण जारी राख्न भनेपछि तरंग पैदा भएको छ । महाव्याधिका रूपमा रहेको कोभिड–१९ ले मानिसको आवतजावत र भेला हुने क्रममा समेत बन्देज र नियन्त्रण जारी रहेका बेला आईओसीको भनाइले सम्पूर्ण खेल जगत् नै तरंगित हुनु स्वाभाविक हो ।
विश्वभरका २ सय खेलाडी, आईओसीका अध्यक्ष थोमस बाक र पदाधिकारीहरूबीच भएको भिडियो कन्फ्रेन्समा आगामी जुलाईमा टोकियोमा ओलम्पिक हुने र त्यसका लागि तयारी यथावत राख्न भनिएको थियो । तर, सहभागीमध्ये धेरैले जिमखाना, पौडी पोखरी र प्रशिक्षण केन्द्र बन्द गरिएको अहिलेको अवस्थामा जुलाई अन्त्य वा अगस्त सुरुमै ओलम्पिक सारिए पनि न्यायोचित नहुने तर्क गरेका थिए ।
ओलम्पिकजस्तो महत्त्वपूर्ण प्रतियोगिताका लागि कम्तीमा पनि ६ महिनाअघिबाटै तयारी गरिनुपर्ने भन्दै अहिले स्थगित प्रशिक्षणको समय र ओलम्पिकको तालिका परिवर्तन गर्नुको विकल्प नभएको उनीहरूको सुझाव थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त ओलम्पिक एक वर्षपछि सार्न सुझाव दिइसकेका छन् । स्थिति थप बिग्रिए ओलम्पिक सर्ने निश्चित छ । त्यसो भए १ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घटना हुनेछ । यसअघि दोस्रो विश्वयुद्धका बेला मात्रै ओलम्पिक स्थगित भएको थियो ।
नेपाली पक्षको धारणा पनि त्यस्तै छ । खेलाडीको स्वास्थ्य र सुरक्षा पहिलो प्राथमिकता र दोस्रोमा प्रशिक्षणको समयावधि भएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ बताउँछन् । दक्षिण एसियाली खेलकुदमा नेपालको प्रदर्शनलाई आधार मानेर एनओसीले यस पटक ओलम्पिकमा सीधै छनोट हुने व्यवस्था वाइल्ड कार्डका लागि १२ वटा कोटाका निम्ति आवेदन दिएको थियो । तर छनोट चरण सकिएपछि मात्रै वाइल्ड कार्डको संख्या निर्धारण हुने भएकाले नेपाली खेलाडीको सहभागिता पनि अन्योलमा परेको छ । नेपालले पौडीमा दुई र एथ्लेटिक्समा एउटा वाइल्ड कार्ड पाउने निश्चित छ ।
छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता सुनिश्चित गर्न नेपालले तेक्वान्दो, बक्सिङ, आर्चरी, एथ्लेटिक्स, पौडी, भारोत्तोलन कराते, जुडो, सुटिङमा सहभागिता जनाउँदै थियो । हाललाई ती सबै खेलका ओलम्पिक छनोटसमेत स्थगित छन् । अध्यक्ष श्रेष्ठ भन्छन्, “यस्तै अवस्थामा त ओलम्पिक गर्न सकिन्न भन्ने नै हाम्रो राय हो । तर आईओसीको बैठक बसेर यसबारे निर्णय लिनुपर्ने हुन्छ । सदस्य राष्ट्रका हैसियतले हामीसँग सल्लाह माग्दा ओलम्पिक हुन सक्ने वातावरण नदेखिएको नै राय दिन्छौँ ।”
ओलम्पिक मात्रै होइन, प्रत्येक चार वर्षमा आयोजना हुने दुई ठूला फुटबल प्रतियोगिता युरोकप र कोपा अमेरिका पनि एक वर्षपछि धकेलिएका छन् । कोभिड–१९ कै कारण २०२० मा आयोजना हुने भनिएको विश्वकपपछिकै सबैभन्दा ठूलो प्रतियोगिता युरोपेली च्याम्पियनसिपको मिति परिवर्तन गरिएको छ । युरोपेली फुटबल महासंघले ४ चैतमा मात्रै प्रतियोगिताको मिति सार्ने निर्णय गरेको हो । त्यसको केही घन्टामै दक्षिण अमेरिकी महादेशस्तरीय स्पर्धा कोपा अमेरिकाको आयोजकले पनि प्रतियोगिता सन् २०२१ मा गर्ने निर्णय गर्यो ।
युरो २०२० सरेपछि युरोपेली मुलुकहरूलाई हाल स्थगित भएको घरेलु फुटबल लिग सक्न केही सहज हुने अपेक्षा गरिएको छ । युईएफका अध्यक्ष अलेक्जेन्डर केफ्रिनले अहिले सारा विश्वले कोरोना संक्रमणविरुद्ध ऐक्यबद्धता प्रदर्शन गरेकाले फुटबलले पनि आफ्नो दायित्व र जिम्मेवारीबोध गर्दै अप्रिय निर्णय गर्नु परेको बताएका छन् ।
यस्तै, टेनिसको महत्त्वपूर्ण प्रतियोगिता फ्रेन्च ओपन पनि सरेको छ । पेरिसस्थित रोल्यान्ड गारोसमा हुने स्पर्धा वर्षको दोस्रो ठूलो प्रतियोगिता हो । अस्ट्रेलियन ओपन सकिएपछि हुने अर्को ग्रान्डस्लाम प्रतियोगिता मे २४ देखि हुने तय भएकामा अब सेप्टेम्बर २० बाट सञ्चालन गर्ने गरी सारिएको हो । हाललाई नयाँ तोकिएको मितिअनुसार सञ्चालन भयो भने अब फ्रेन्च ओपन युएस ओपन सकिएको एक सातामै सुरु हुनेछ ।
न्युयोर्कमा हुने युएस ओपन ३१ अगस्तबाट सुरु हुँदै छ । अमेरिकी टेनिस संघले फ्रेन्च ओपनको मिति सरिसकेकाले आफूहरूले पनि सोच्ने जनाएको छ । यद्यपि हाललाई तोकिएकै मितिमा प्रतियोगिता गर्न तयार रहेको संघले बताएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ४ चैतमा विश्वभर कोभिड– १९ का कारण परेको असरलाई ध्यानमा राखेर सबै खेल गतिविधि रोक्ने निर्णय गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवाल अध्यक्षताको बैठकले तत्काल एक साताका लागि खेलकुदका सबै गतिविधि रोक्ने निर्णय गरेको हो ।
विश्वका ठूला शक्तिशाली राष्ट्रले कोरोनाका विषयमा सचेतना अपनाइरहेको अवस्थालाई ध्यानमा राखेर जोखिमबाट बच्न सचेतना अपनाउनु अत्यावश्यक भएकाले यस्तो निर्णय लिएको राखेपले जनाएको छ । निर्णय सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘खेलकुदसँग सम्बन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलनलगायत भेला हुने सम्पूर्ण गतिविधि तत्काललाई एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।’ साथै, राखेपले खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरू, खेलसँग सम्बन्धित व्यक्ति र आम जनमानसलाई पनि सचेतना अपनाउन आह्वान गरेको छ ।
यसअघि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा अध्यक्षताको २२ फागुनमा बसेको आपतकालीन बैठकले विश्वमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकुद प्रतियोगिता र त्यससँग सम्बन्धित सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्न भनेको थियो । राखेपको निर्णयलगत्तै अखिल नेपाल फुटबल संघ एन्फाले बी डिभिजन लिगसहितका सबै फुटबल प्रतियोगिता स्थगित गरिसकेको छ ।
कोरोना कहर नेपाली टोलीको विश्वकप छनोटमा पनि परेको छ । राष्ट्रिय फुटबल टोलीले पहिलो पटक घरेलु मैदानमा अस्ट्रेलियासँग खेल्ने अवसर जुर्दै थियो । १३ चैतमा चाइनिज ताइपेईसँग र १८ चैतमा अस्ट्रेलियासँग घरेलु मैदानमा खेल्ने तय थियो । त्यस्तै, आगामी २२ जेठमा जोर्डनसँग खेल्ने तालिका थियो । तर ती सबै खेल स्थगित भएका छन् ।
विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को संयुक्त बैठकले कोरोनाको प्रभावबाट बच्न एसियामा हुने तय भएका विश्वकप छनोट २०२२ र एसियन कप छनोट २०२३ का सबै खेल स्थगित गर्ने निर्णय गरेपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण पनि प्रभावित भएको छ । एन्फाले ३ चैतबाट सुरु हुने भनिएको महिला राष्ट्रिय लिग पनि स्थगित गरिसकेको छ ।
एन्फाका लिग निर्देशक सञ्जीव मिश्र कोरोनाको प्रभाव विश्वकप फुटबलसम्म पर्न सक्ने आकलन गर्छन् । त्यस अलावा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल तालिका मिलाउनसमेत अप्ठेरो पर्ने उनी सुनाउँछन् । भन्छन्, “पछिल्लो समय फुटबल गतिविधिसँगै आकर्षण पनि बढिरहेको थियो ।
कोरोनाका कारण २–३ महिना फुटबल ठप्प हुँदा यसको दीर्घकालीन असर पर्न सक्छ । प्रशिक्षण गर्न र प्रतियोगिता खेल्न नपाउँदा खेलाडीमा मनोवैज्ञानिक असर पर्न सक्छ ।” राष्ट्रिय लिग, विश्वकप छनोटलगायत अन्य खेलको तालिका मिलाउन समय तलमाथि गरेर मात्रै पनि नपुग्ने उनको बुझाइ छ ।
कोरोनाकै कारण १ चैतबाट हुने भनिएको फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल) स्थगित भइसकेको छ । विश्वका चर्चित खेलाडीहरू क्रिस गेयल, ड्वायन स्मीथ, उपुल थरंगा, हसिम अम्लालगायतले कीर्तिपुरस्थित त्रिवि मैदानमा क्रिकेट खेलेको हेर्ने नेपाली दर्शकको चाहनामा कोरोनाको धक्का लागेको छ ।