रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियर र मेसीका छोरा थियागो मेसी सानै उमेरबाट फुटबलका चिल्ला पातका रूपमा हुर्किंदै छन् ।

खेलकुदमा सार्वकालिक महान् खेलाडी जन्मिन समय लाग्छ । लामो अन्तरालमा जन्मिने यस्ता प्रतिभा एकै समयमा उदाए भने के होला ? अर्जेन्टिनाका लियोनेल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई हेरे पुग्छ । यति हुँदा पनि यी खेलाडीलाई खासै असर पर्दैन तर फुटबल समर्थकलाई भने अप्ठेरो पर्न सक्छ । फुटबल पण्डितहरू भन्छन्, ‘विश्व फुटबल तीन खेमामा विभक्त छ । एउटा मेसीलाई मन पराउने । अर्को रोनाल्डोलाई आदर्श मान्ने । तेस्रोचाहिँ दुईले हासिल गर्ने सफलतामा आनन्दित हुने ।’
मेसी र रोनाल्डो दुवै स्पेनी लिगमा हुँदा मैदानभित्र र बाहिर पनि उनीहरूको प्रतिद्वन्द्वितालाई लिएर खुबै चर्चा हुन्थ्यो । मेसी बार्सिलोना र रोनाल्डो रियल मड्रिडबाट खेल्थे । रोनाल्डो हाल इटालीको युभेन्ट्समा आबद्ध छन् । बार्सिलोना र मड्रिडको राजनीतिक सम्बन्ध एवं फुटबल दुवै प्रतिस्पर्धात्मक हुँदा त्यसको असर आफ्नै समयका उत्कृष्ट खेलाडीहरूबीच पर्ने नै भयो । उत्कृष्टताको होडमा एकअर्कालाई उछिन्ने प्रयासमा यी दुई खेलाडी लाग्दा विश्व फुटबलले रोमाञ्चक प्रतिस्पर्धाको साक्षी बस्ने मौका त पायो नै, साथमा चिरप्रतिद्वन्द्विताको सिकार पनि ।
अनौठो संयोग के भने यी दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियर र मेसीका छोरा थियागो मेसी सानै उमेरबाट फुटबलका चिल्ला पातका रूपमा हुर्किंदै छन् । सन् १९८५ को फेब्रुअरी ५ मा जन्मिएका रोनाल्डो र १९८७ को जुन २४ मा जन्मिएका मेसीको जन्मान्तर ८ सय ६९ दिन छ । ठ्याक्कै त्यति नै दिनको अन्तरमा क्रिस्टियानो जुनियर र थियागोको जन्म भएको हो । यो संयोग मात्रै हो वा फुटबलका आगामी पुस्ता पनि पिताको प्रतिद्वन्द्विता र उत्कृष्टताको होडमै सामेल हुने हो, त्यो हेर्न त केही समय पर्खिनैपर्छ ।
जुनियर क्याम्प : मेसीले एउटा अन्तर्वार्तामा भनेका थिए, ‘जब म राम्रो प्रदर्शन गर्न सक्दिनँ, तब मैले सबभन्दा पहिले छोराकै आलोचनाको सिकार हुनुपर्छ । अहिलेसम्म २–४ पटक मैले छोराको हप्की खाइसकेको छु ।’ थियागोले उनलाई बार्सिलोनाका अन्य खेलाडीबारे सोधखोज गर्नुका साथै खेलमा भएको गल्तीसमेत औँल्याउने गरेको स्पेनी अनलाइन पोर्टल स्पोट्र्सले उल्लेख गरेको छ ।
सन् २०१२ मा जन्मिएका मेसीका जेठा छोरा थियागोले गत डिसेम्बरमा भएको मैत्रीपूर्ण म्याचमा बार्सिलोनाको एकेडेमीबाट गोल गरेपछि उनमा रहेको प्रतिभा प्रस्फुटन भएको हो । थियागोको रगतमै फुटबल रहेको पुष्टि भएको पनि पश्चिमा सञ्चारमाध्यमहरूले त्यतिबेला उल्लेख गरेका थिए । ३ छोराका पिता मेसीले कसैलाई पनि फुटबलमै लाग्नका लागि दबाब नदिने स्पष्ट पारिसकेका छन् । तर, जेठो छोरा थियागोले आफू फुटबलमै लाग्ने संकेत गरेका छन् ।
सन् २०१० मा जन्मिएका रोनाल्डो जुनियरचाहिँ हाल युभेन्टसको एकेडेमीमा आबद्ध भइसकेका छन् । पिता रोनाल्डो सिनियर रियल मड्रिडबाट इटालीको युभेन्ट्समा स्थानान्तरण भएसँगै जुनियर पनि युभेन्ट्सको एकेडेमीमा भर्ना भएका थिए । सन् २०१९ मा जुनिएर रोनाल्डोले आफ्ना पिताले गरेभन्दा दोब्बर गोल एकेडेमीमा गरे । सिनियरले ३४ गोल गर्दा जुनियर रोनाल्डोले ५८ गोल गरेका थिए । गत वर्ष रोनाल्डोले २८ गोल मात्रै गरेका थिए, जुन उनको यो दशककै सबैभन्दा कम गोल र प्रदर्शन हो । सन् २००८/००९ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट उनले ३० गोल गरेयताकै सबैभन्दा कम गोल आँकडा हो, त्यो ।
तर पोर्चुगिज स्टारका छोराले भने ९ वर्षमुनिको एकेडेमीमा भर्ना भएकै वर्ष तहल्का मच्चाए । त्यसपछि पिताको प्रतिक्रिया थियो, ‘मलाईभन्दा टुरिन छोरालाई बढी फापेको छ । ऊ यहाँको वातावरणमा चाँडै घुलमिल हुन सक्यो । फुटबल खेल्न पनि मलाई भन्दा उसलाई सजिलो भएको छ ।’ तर सानै उमेरमा फुटबलको उच्च कौशल प्रदर्शन गरेका जुनियर रोनाल्डो सिनियरभन्दा अघि बढ्ने सम्भावना प्रशस्तै छ ।
पिताभन्दा पृथक : मेसी र रोनाल्डोको प्रतिस्पर्धा मैदानभित्र रहे पनि आलोचकले उनीहरूलाई मैदानबाहिर पनि उस्तै देख्छन् । तर स्थिति ठ्याक्कै विपरीतको छ । रोनाल्डोका छोराले गत ब्यालोन डी ओर अवार्ड कार्यक्रमअघि लियोनेल मेसीसँग हात मिलाएको तस्बिर राखेर आफ्नो इन्स्टाग्राम एकाउन्टमा लेखे, ‘धेरै धन्यवाद मेरो आदर्श । लियो मेसी ।’ त्यो तस्बिर एकैछिनमा भाइरल हुन पुग्यो । हुन पनि आफ्नै पिताका प्रतिस्पर्धीलाई छोराले आदर्श मानेर फोटो खिचाउने क्षण बिरलै देख्न पाइन्छ । तर फुटबलले यस्तै रोमाञ्चक किस्साहरू पनि निर्माण गर्छ र त संसारभरको लोकप्रिय खेल बनेको छ ।
रोनाल्डो जुनियरका आदर्श मेसी भए पनि सिनियरसँगको मित्रताबारे मेसीले सोचिसकेका छैनन् । उनले भनेका छन्, ‘हामीबीच मित्रता कायम हुन्छ कि हुन्न भने प्रश्नको उत्तर मसँग छैन । मित्रता कायम हुनका लागि सँगै समय बिताउनुपर्छ । हामी दुईबीच त्यस्तो अवस्था बनेकै छैन । अवार्ड कार्यक्रम र कहिलेकाहीँ मैदानमा भेट हुने हो । ती दुवै थलोमा प्रतिस्पर्धाको स्थान ज्यादा हुन्छ । यही अवस्था रहेसम्म राम्रो मित्रता कायम हुने सम्भावना देख्दिनँ ।’ आफूहरूबीच कुनै मनमुटाव नभएको तर भेटघाट नै आक्कलझुक्कल मात्रै हुने गरेको मेसीले स्पेनी खेल दैनिक मार्सासँगको अन्तर्वार्ताका क्रममा सुनाएका थिए ।
गजबको संयोग के भने रोनाल्डोका छोराका आदर्श मेसी भएजस्तै मेसीका छोरा पनि रोनाल्डोका प्रशंसक हुन् । मेसीका तीन छोरामध्ये थियागो जेठा हुन् । माटेओ र किरो फुटबलमा त्यति धेरै आकर्षित छैनन् ।
बार्सिलोनाबाट प्रकाशित हुने राष्ट्रिय खेल दैनिक मुन्डो डिर्पोटिभोसँगको अन्तर्वार्तामा थियागोले क्रिस्टियानो रोनाल्डोबारे सोधिरहने गरेको मेसीले बताएका छन् । ‘ऊ लुइस स्वारेज, किलियन एमबापे, एन्टोन ग्रिजम्यान र अटुरो भिडालबारे बढी चासो राख्छ । स्वारेजसँग उसको सम्बन्ध एकदमै राम्रो छ । भिडाल र ग्रिजम्यानको हेयरस्टायलको पनि कुरा गर्छ । उनीहरूलाई राम्ररी चिनेको भएरै त्यसो गरेको हुन सक्छ । नचिनेकामा रोनाल्डोबारे बढी नै प्रश्न गर्छ ।’ तर माइलो छोरा माटेओ भने सन् २०१९ को ब्यालन डी ओरमा मेसीले रोनाल्डोलाई पछि छाड्दा बढी खुसी भएका थिए । माटेओ बार्सिलोनाका पनि फ्यान हैनन् । रियल बेटिसले बार्साविरुद्ध गोल गर्दा पनि उनले खुसी मनाएको भिडियो हालै सार्वजनिक भएको थियो ।
जेहोस्, मेसीले छिट्टै संन्यास लिइहाले पनि बार्साको घरेलु मैदान नोउ क्याम्पमा ‘मेसी ! मेसी !’ को नारा अझै १५–२० वर्षसम्म लाग्न छाड्ने छैन । कारण– उनका छोरा थियागो, जो अहिले नै जुनियर क्याम्पमा तहल्का मच्चाउन थालिसकेका छन् ।