एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना
नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेको कीर्तिमान र ट्वान्टी–ट्वान्टीमा एक सय विकेटको कोसेढुंगालाई बिर्सने हो भने यस पटक नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना मात्रै बन्न पुग्यो ।
एसिया कपको छनोटका रूपमा रहेको प्रतियोगिता खेल्न जानुअघि नेपाली टोलीको मनोबल उच्च थियो । हङकङ, सिंगापुर, मलेसिया र थाइल्यान्ड रहेको इस्टर्न रिजन प्रतियोगिता नेपालले सजिलै जित्ने र एसिया कपको छनोट खेल्ने अनुमान धेरैको थियो । प्रतिस्पर्धीभन्दा नेपाली टोलीको वरीयता पनि माथिको र खेलस्तर पनि उनीहरूभन्दा राम्रो भएकाले त्यो आकलन गलत थिएन । तर नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरियो र एसिया कप खेल्ने सपनामा समेत तगारो लाग्यो ।
एक दिवसीय मान्यता पाएको नेपाली टोलीले अझै एसिया कप खेल्न सकेको छैन । इस्टर्न रिजनका फाइनलिस्ट टोलीले अगस्तमा एसिया कप छनोट खेल्छन् । त्यहाँ उनीहरूको भेट वेस्टर्न रिजनका फाइनलिस्टसँग हुनेछ । राउन्ड रोबिन प्रणालीमा हुने त्यही प्रतियोगिता विजेताले सेप्टेम्बरमा टेस्ट मान्यता प्राप्त ५ राष्ट्रसँग एसिया कप ट्वान्टी–ट्वान्टी खेल्ने अवसर पाउनेछ ।
खराब सुरुआत : प्रतियोगितामा नेपालको बोहनी नै हारबाट भयो । मलेसियासँग २२ रनले स्तब्ध हुँदा नेपालले १ सय ५५ रनको चुनौती पार गर्न सकेन । खेल सकिन १ बल बाँकी छँदै १ सय ३२ रनमा अलआउट हुँदा नेपालको इनिङ्समा कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले समान ३८ रनको योगदान गरेका थिए । हङकङविरुद्धको दोस्रो खेलमा पनि नेपालको ब्याटिङ प्रदर्शन कमजोर नै साबित भयो ।
कप्तान ज्ञानेन्द्रको ४६ रनबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । नेपाल खेल सकिन ११ बलअगावै १ सय ११ रनमा प्याक भयो र हङकङसँग ४३ रनले पराजित भयो । लगातार दुई हारपछि नेपालले फाइनल पुग्नका लागि बाँकी २ खेल ठूलो अन्तरमा जित्ने र अन्य टिमको नतिजा आफूअनुकूल हुनुपर्ने समीकरण बन्यो । सोहीअनुरूप २१ फागुनमा नेपालले थाइल्यान्डमाथि ९ विकेटको जित त निकाल्यो । तर दिनको अर्को खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेपछि नेपाल सिंगापुरसँग खेल्नुअगावै फाइनल नपुग्ने निश्चित भयो ।
थाइल्यान्डलाई ६६ रनमा प्याक गर्ने क्रममा तीव्र गतिका बलर करण केसीले आफ्नो स्पेलमा १२ रन खर्चेर ३ विकेट लिए । खेलको नतिजा छैटौँ ओभरको तेस्रो बलमा आफ्नो पक्षमा पार्ने क्रममा विस्फोटक ब्याटिङ गरेका कुशल मल्लले अविजित ३६ रन जोडे । अन्तिम खेल वर्षाले बिथोलिएपछि नेपालले सिंगापुरसँग अंक बाँड्यो । तालिकामा नेपाल चौथो स्थानमा रहँदा सबै म्याच हारेको आयोजक थाइल्यान्ड पुछारमा रह्यो ।
थाइल्यान्डमा रहेका पत्रकार आदर्श ढकालका अनुसार नेपाली टोली जितका लागि कहिल्यै हतारिएको देखिएन । नेपाली खेलाडीको बडी ल्यांग्वेज पनि नकारात्मक छ । नेपाली टोली डग आउटमा पनि शान्त देखिएको र विकेटको सफलता वा छक्का, चौका प्रहार हुँदा पनि बिरलै खुसीयाली मनाउने गरेको उनले सुनाए । कमजोर ब्याटिङका अलावा नेपाली खेलाडी पहिलो दुई खेलमा गैरजिम्मेवार सट खेल्दा आउट हुन पुगेका थिए । कीर्तिपुरमा गत फेब्रुअरी ५ देखि १२ सम्म विश्वकप क्रिकेट लिग २ मा सहभागी नेपाली टोली र थाइल्यान्डमा रहेको टोलीमा आकाश–जमिनको अन्तर रहेको ढकालको कथन छ ।
नेपाली टोलीका प्रशिक्षक जगत टमाटा पनि राम्रा खेलाडीसमेत खेल्नै नजाने जसरी आउट हुँदा आश्चर्यमा छन् । टिमले विश्वास गरेका र अनुभवी खेलाडीले जिम्मेवारी नबुझ्दा खराब प्रदर्शनको निरन्तरता हुने गरेको बताउँछन् । टमाटा भन्छन्, “देशका लागि खेलिरहेका खेलाडीहरूले जर्सी लगाउनुको अर्थ नै नबुझेजस्तो भान भइरहेको छ । खेलाडीलाई आफ्नो जिम्मेवारीबारे ज्ञान हुनु आवश्यक छ । इस्टर्न रिजनमा हामीले गरेको प्रदर्शन हाम्रो स्तरको होइन । हामीले यस्तो प्रदर्शन गर्यौँ, जसलाई विश्वासै गर्न पनि कठिन भइरहेको छ ।”
ओरालो यात्रा : नेपालको राम्रो पक्ष बलिङ भनिए पनि प्रतियोगितामा नेपालले खेलेको पहिलो दुई खेलमा १ सय ५० भन्दा बढी रन खर्चियो । ट्वान्टी–ट्वान्टी प्रतियोगितामा नेपालले लगातार २ खेलमा अहिलेसम्म १ सय ५० रनभन्दा बढी खर्चेको थिएन । कमजोर ब्याटिङका कारण नेपालले कुनै पनि खेलमा १ सय ५० भन्दा बढी चेज गर्न सक्ने अवस्था पनि भएन । ओपनिङ लाइनमा पहिलेबाटै समस्या रहे पनि हङकङविरुद्धको खेलमा नेपालको मिडल अर्डर पनि चलेन । बरु त्यो खेलमा ओपनरहरूले राम्रो प्रदर्शन गरेका थिए ।
प्रतियोगिताकै कमजोर टोली थाइल्यान्डले फ्ल्याट पिचमा आक्रामक सट खेल्यो तर नेपाली ब्याट्सम्यान लामो सट खेल्ने क्रममा बाउन्ड्रीमा क्याच हुन पुगे । क्रिकेट विश्लेषक विनोद पाण्डे ग्राउन्डको अवस्था बुझेर खेल्न नसक्दा पनि नेपाली टोली पराजित भएको बताउँछन् । यसअघि सिंगापुरमा र अहिले थाइल्यान्डमा पनि फ्ल्याट पिच र स्पिन ट्रयाक भएकाले सोहीअनुसार खेल्नुपर्नेमा कन्डिसन एप्लाइ गर्न पनि नेपाल चुकेको उनको बुझाइ छ । “नेपाली टोली अहिले ट्वान्टी–ट्वान्टी फर्म्याटमा खेलिरहेको छैन । ५० ओभरको टार्गेट लिएर २० ओभरमा अलआउट भएजस्तो अवस्था नेपाली टोलीको छ । खेलाडीले टिम गेम खेलेका छैनन् । व्यक्तिगत रूपमा मात्रै खेलेजस्तो देखिएको छ । नेपाली खेलाडीले जिम्मेवारी नै भुलेजस्तो छ,” पाण्डे भन्छन् ।
एकपछि अर्को हार र खराब प्रदर्शनले नेपाललाई ट्वान्टी–ट्वान्टी विश्वकप २०२१ को ग्लोबल छनोटमा राख्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको लबिइङसमेत प्रभावित हुन सक्ने खतरा बढेको छ । पाण्डे थप्छन्, “विश्व क्रिकेट भनेकै लबिइङ पनि हो । आईसीसीले जुन टिमले राम्रो प्रदर्शन गर्छ, उसैलाई लबिइङ गर्ने हो । नेपाललाई सीधै ग्लोबल छनोटमा पार्ने आईसीसीको निर्णयबारे व्यापक विरोध भइरहेको छ । यस्तोमा नेपालको प्रदर्शन अस्थिर हुँदा ठूलो घाटा लाग्न सक्छ ।”
ग्लोबल छनोटमा पर्दा नेपाली टोलीले म्याच एक्सपोजरका साथै आफूभन्दा राम्रा टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउँछ । खेलाडीले पनि एक्सपोजर पाउँछन् । तर आफूभन्दा कमजोर टिमसँग लगातार पराजित हुँदै जाने क्रम बढेपछि त्यसले खेलाडीको मनोविज्ञानमा पनि नकारात्मक असर पुग्ने विश्लेषक पाण्डे सुनाउँछन् ।
नेपाली टोलीका पूर्वकप्तान एवं १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोद दास पनि राष्ट्रिय टोलीको प्रदर्शनबाट सन्तुष्ट छैनन् । नेपाली टोली सम्पूर्ण रूपमा टिमजस्तो नदेखिएको उनको अनुभव छ । क्रिकेट संघको आगमनपछि अब फास्ट ट्रयाकबाट काम गर्ने बेला आएको उनको सुझाव छ ।
कीर्तिमानी सन्दीप : सन्दीप लामिछाने ट्वान्टी–ट्वान्टी क्रिकेटमा सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत मलेसियाविरुद्ध तीन विकेट लिएपछि उनले सय विकेटको कोसेढुंगा पार गरेका हुन् । ट्वान्टी–ट्वान्टीको ७७ वटा म्याचमा उनले हालसम्म १ सय ५ विकेट लिइसकेका छन् । इस्टर्न रिजन प्रतियोगितामै सन्दीपले हङकङविरुद्ध २ र थाइल्यान्डविरुद्ध १ विकेट लिए ।
लेग स्पिनर लामिछानेले थाइल्यान्डविरुद्धको खेलमा अर्को कीर्तिमान पनि बनाए । उनले लगातार २२ बलमा एक रन पनि नदिने कीर्तिमान राखे । आफ्नो स्पेलमा उनले ३ मेडन ओभर फ्याँक्दै ९ रन खर्चेर १ विकेट लिए । यसअघि पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमिरको नाममा २१ डट बलको कीर्तिमान थियो । उनले युएईविरुद्ध सो कीर्तिमाान राखेका थिए ।
तिनै कीर्तिमानी सन्दीप पनि नेपाली टोलीको प्रदर्शनबाट सन्तुष्ट छैनन् । नेपाली क्रिकेटमा धेरै सुधारको खाँचो औँल्याउने उनी अहिले नै त्यसमा सुधार नआए दुर्घटनामा पर्न सक्ने चेतावनी दिन्छन् । भन्छन्, “हाम्रो लक्ष्य विश्व कप, एसिया कपजस्तो स्तरसम्म पुग्ने हुनुपर्छ । तर यस्तै अवस्था रहिरहे त्यो कहिले खेल्ने हो, थाहा छैन । यदि खेलाडी, प्रशिक्षक, नेपाल क्रिकेट संघ सबै नेपाली क्रिकेटको स्तर सुधार्नतिर नलाग्ने हो भने नेपालले पनि क्रिकेट खेल्ने गथ्र्यो भन्ने स्थिति नआउला भन्न सकिन्न ।”
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...