खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती
वर्ष ०७६ को उत्तरार्द्धमा कोरोना भाइरसका कारण खेलकुद गतिविधि ठप्प भए पनि पूर्वार्द्धले भने नेपाली खेलकुदमा आशा जगाएको थियो । दुई वर्षको अन्तरमै राष्ट्रिय खेलकुदको आठौँ संस्करण सम्पन्न गरेर सुखद बोहनी गरेको नेपालले दुई दशकपछि आफ्नै भूमिमा दक्षिण एसियाली खेलकुदको १३ औँ संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो ।
सागको इतिहासमै सबैभन्दा बढी ५१ स्वर्ण जित्ने कीर्तिमान बनाएको नेपाली खेलकुदमा पछिल्लो समय कोभिड–१९ को प्रभाव कति लामो समयसम्म पर्छ भन्न मुस्किल छ । तर लयमा आइसकेको नेपाली खेलकुदले पुन: यही लय समाउन समय त लाग्छ नै । यसबाट खेलकुदले चुकाउनुपर्ने मूल्य पनि चर्कै हुने अनुमान लगाउन गाह्रो छैन ।
राष्ट्रिय खेलकुद आयोजना
चैत अन्त्यबाट सुरु भए पनि नेपालगन्जमा आठौँ राष्ट्रिय खेलकुदको उद्घाटन गत ५ वैशाख ०७६ मा भयो । प्रतियोगिता गर्ने/नगर्नेमा राष्ट्रिय खेलकुद परिषद् नेतृत्व नै विभाजित थियो । राष्ट्रिय खेलकुदको इतिहासमै सबैभन्दा लामो समय (झन्डै दुई साता) चलेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न हुँदा पनि पूर्वाधारको काम चलिरहेकै थियो । प्रदेश ५ का विभिन्न जिल्लामा आठौँकै बेलामा निर्माण भएका पूर्वाधारको संरक्षण र उपयोग अब अर्को चुनौती बनेको छ ।
क्यानको निलम्बन फुकुवा
नेपाललाई अन्तर्राष्ट्रिय चिनारी दिलाउने क्रिकेटका लागि वर्ष ०७६ सुखद रह्यो । नतिजाका हिसाबले सन्तोष गर्न लायक नभए पनि चार वर्ष लामो निलम्बनबाट नेपाल क्रिकेट संघ फुकुवा भयो । त्यसअघि क्यानको विशेष साधारणसभाले १० असोजमा चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । लगत्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २७ असोजमा ससर्त निलम्बन फुकुवा गर्यो ।
आर्थिक र केही प्रशासनिक काममा नियन्त्रण जारी राखेको आईसीसीले त्यसमा कहिले पुनर्विचार गर्ने हो, अत्तोपत्तो छैन । तर क्यान निलम्बन फुकुवा भएको भोलिपल्टै कप्तान पारस खड्काले कप्तानी छाड्ने निर्णय गरे । नेपाली राष्ट्रिय टोलीलाई अहिले ज्ञानेन्द्र मल्लले नेतृत्व प्रदान गरिरहेका छन् ।
विश्वकप क्रिकेट लिग २ मा सोचेजस्तो नतिजा निकाल्न नसक्दा र थाइल्यान्डमा एसीसी इस्टर्न रिजनमा मलेसिया र हङकङसँग अप्रत्याशित हार बेहोरेपछि उनको कप्तानीमाथि प्रश्न उठेको छ । त्यसमाथि टिमभित्र गुटबन्दीको आरोप पनि लाग्न थालिसकेको छ । ज्ञानेन्द्रको कप्तानीमा नेपालको प्रदर्शन नउकासिनुको अर्थ टिमभित्रको गुटबन्दी पनि हो कि भन्ने आम बुझाइ छ ।
महिला भलिबलले जगाएको आशा
यसपालि महिला भलिबलका लागि उपलब्धिपूर्ण रह्यो । महिला टोलीले यसै वर्ष बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्यो । नयाँ खेलाडीलाई मौका दिएर तयार पारिएको महिलातर्फको राष्ट्रिय टोलीले सागको १३ औँ संस्करणमा नेपाललाई रजत पदक दिलायो । त्यसमा पनि चिरप्रतिद्वन्द्वी भारतविरुद्ध फाइनलमा २ सेट जितेर कीर्तिमान बनायो । यसअघि नेपालले भारतविरुद्ध कुनै पनि सेट जितेको थिएन । पुरुषतर्फ भलिबल संघले काठमाडौँमा आयोजना गरेको सेन्ट्रल जोन भलिबलमा नेपालको प्रदर्शन उम्दा हुन सकेन । सागमा पनि नेपाली पुरुष टोलीको प्रदर्शन सम्झनलायक रहेन ।
सागको आयोजना
नेपालले २ दशकपछि घरेलु भूमिमा दक्षिण एसियाली खेलकुद आयोजनाको मौका पायो । भौतिक पूर्वाधारको दृष्टिले साग आयोजना जति चुनौतीपूर्ण थियो, त्योभन्दा बढी चुनौती नेपाली खेलाडीको प्रदर्शन सुधार्नुपर्ने थियो । घरेलु भूमिमा आयोजित आठौँ संस्करणपछि सागमा नेपालको प्रदर्शन खस्किँदै गएको थियो । त्यसैले पनि खेलाडीमाथि दबाब थियो ।
१५ देखि २४ मंसिरसम्म भएको १३ औँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो । सागमा समावेश २६ मध्ये १ खेलबाहेक सबैमा नेपालले पदक जितेको थियो । एकै सागमा ४ स्वर्ण जितेर पौडीबाज गौरिका सिंहले नयाँ कीर्तिमान बनाइन् । तेक्वान्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले दोहोरो स्वर्ण जिते । धेरै खेलमा नेपालले पहिलो पटक सागमा स्वर्णको बोहनी गर्यो । त्यसमा कुस्ती, भारोत्तोलन, ट्रायथोलन रहे । एथलेटिक्समा पनि महिलाले पहिलो पटक स्वर्ण पदक जितेका थिए ।
फुटबलले पुन: एक पटक स्वर्ण जित्यो । महिला टोलीले फेरि पनि रजत पदकमा चित्त बुझायो । क्रिकेटमा पनि दुवै टोलीले रजत जिते । बास्केटबलतर्फ नेपालको सबै ४ टोलीले पदक जित्यो । यिनै उपलब्धिले गर्दा नेपालले ३५ वर्षे साग इतिहासमै सबैभन्दा सफल नतिजा निकाल्यो ।
नेपाली खेलाडीले २० वर्षपछि सागको पदक तालिकामा दोस्रोमा उभ्याएपछि चौतर्फी वाहवाही पाएको थियो । यस वर्ष पहिलो पटक काठमाडौँ बाहिर पनि सागका खेल आयोजना भए । पोखरामा ८ खेल र जनकपुरमा कुस्ती आयोजना भयो ।
ब्याडमिन्टनका राजकुमारको उदय
यस वर्ष खेलकुदको चर्चा गर्दा छुटाउन नहुने नाम हो– प्रिन्स दाहाल । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले जारी गरेको वरीयतामा प्रिन्स शीर्ष ७ मा उक्लन सफल भए । प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरीयता हो । प्रिन्सले ११ प्रतियोगिता खेल्दै १० हजार ४ सय अंक जोडेका छन् । विश्व जुनियर वरीयताको शीर्ष ७ भित्र पर्नु अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो, नेपाली खेलाडी र ब्याडमिन्टन विधामा ।
प्रिन्सले डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरे । उनले पछिल्ला ७ खेलमा ५ जित र २ हारको नतिजा निकालेका छन् । १६ वर्षीय प्रिन्स ललितपुरको पुल्चोकस्थित डाँफे इंग्लिस बोर्डिङ स्कुलमा कक्षा ९ को अन्तिम परीक्षा सकाएर बसेका छन् ।
रणनीतिक हिसाबमा सफल
नेपाली खेलकुदमा ऐन–नियम अभाव छ र त्यस कारण खेल क्षेत्रको चौतर्फी विकास हुन सकिरहेको छैन भन्नेहरू पनि कम छैनन् । तर वर्ष ०७६ मा खेलकुद विधेयक पारित भएपछि यस क्षेत्रमा रहेका अनेकन तगारा हटाउने अपेक्षा गरिएको छ ।
मुलुकको संघीय संरचनाअनुसार पुरानो खेलकुद ऐनलाई प्रतिस्थापन गर्ने खेलकुद विधेयक संसद्को दुवै सदनबाट पारित भएको छ । विधेयकमा राखेप बोर्ड सदस्य संख्या कटौती, सदस्यसचिवको नियुक्ति र योग्यता, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको वर्गीकरणलगायत विषय सम्बोधन गरिएका छन् ।
समग्रमा भन्दा नेपाली खेलकुदका लागि वर्ष ०७६ राम्रो रह्यो । खेलाडीहरू १२ महिनै व्यस्त भए । प्रशिक्षण र वैदेशिक एक्सपोजरका हिसाबले पनि खेलाडी व्यस्त रहे । सोहीअनुसारको नतिजा पनि आयो । तर वर्ष अन्त्यतिर कोरोना संक्रमणले गर्दा घरमै थुनिएका खेलाडीहरूको फिटनेसदेखि मानसिक स्वास्थ्यबारे पनि प्रश्न उठ्न थालेको छ । शारीरिक रूपमा तन्दुरुस्त नरहेका र मानसिक रूपमा विक्षिप्त खेलाडीलाई पुरानै लयमा फर्किन कति समय लाग्छ भन्नेमा नेपाली खेलकुदको वर्तमान र भविष्य निर्भर गर्छ । त्यसका लागि बन्दाबन्दीकै बीच पनि खेलाडी लक्षित केही कार्यक्रम सञ्चालन गर्न अबेर भइसकेको छ ।
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...