महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल

यसपालि राष्ट्रिय भलिबल टोलीका कुलबहादुर थापा र सरस्वती चौधरी वर्ष खेलाडी पुरस्कारबाट सम्मानित भए, १२ फागुनमा । नेपाल भलिबल संघले आयोजना गरेको वर्ष खेलाडी पुरस्कार समारोहमा कुलबहादुर मात्र उपस्थित भए । तर दायाँ गोलीगाँठोमा चोट लागेकी सरस्वती सम्मान कार्यक्रममा पनि उपस्थित हुन सकिनन् ।
कम्तीमा तीन साताका लागि कोर्टबाहिर रहनेछिन्, सरस्वती । पर्वतमा आयोजित दिदीबहिनी कपको फाइनलका क्रममा उनको खुट्टा सुन्निएको थियो । सो प्रतियोगितामा उनी उत्कृष्ट खेलाडी चुनिएकी थिइन् । महिला भलिबलको खम्बाका रूपमा हेरिएकी सरस्वती मात्रै हैन, अहिले प्रतिभा माली र नेविका चौधरी पनि चोटग्रस्त भएपछि आराम गरिरहेका छन् । महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त भएपछि एक महिनाभित्र नेपालले कुनै महत्त्वपूर्ण प्रतियोगितामा सहभागिता जनाउन नसक्ने अवस्था छ ।
ढोरपाटन महिला डबल लिग खेलेपछि दायाँ खुट्टाको दुखाइका कारण नेविका चिकित्सककहाँ पुगेकी थिइन् । नेविकाको खुट्टाको हड्डी अलि बढी नै फुटेको पाइएको र पूर्ण रूपमा निको हुन दुई महिनाभन्दा बढी समय लाग्ने एपीएफ अस्पतालले जनाएको छ । महिना दिनको अन्तरालमा चोट बोक्ने नेविका तेस्रो खेलाडी हुन् ।
गत माघ दोस्रो साता पाँचौँ आरबीबी एनभीए क्लब लिग च्याम्पियनसिपको फाइनलमा एपीएफविरुद्धको खेलका क्रममा जम्पपछिको ल्यान्डिङ नमिल्दा न्यू डायमन्डकी प्रतिभा मालीको घुँडामा चोट लागेको थियो । कोर्टमै ढलेकी प्रतिभालाई तत्काल ब्लुक्रस अस्पताल लगिएको थियो । त्यहाँ उनको घुँडाको शल्यक्रिया भयो र १७ दिनपछि डिस्चार्ज भइन् । अहिले उनी नियमित फिजियो गराउँदै छिन् ।
प्रतिभा पूर्ण रूपमा ठीक हुन एक वर्ष लाग्ने उनको उपचारमा संलग्न सिनियर अर्थोपेडिक सर्जन प्रज्वलमान श्रेष्ठ बताउँछन् । खेलकै दौरान घाइते भएको प्रतिभाको उपचारमा लाग्ने सम्पूर्ण खर्च राष्ट्रिय खेलकुद परिषद्ले बेहोर्ने राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले जनाइसकेका छन् ।
यसअघि घाइते भएका नेपाल पुलिसका खेलाडीद्वय कामना विष्ट र कमला पुन पनि पूर्ण रूपमा खेलमा फर्किन सकेका छैनन् । कमलाको त शल्यक्रिया नै गर्नु परेको थियो । उनको अनुपस्थितिमा नेपालको लिबरो कमजोर हुन पुगेको थियो ।
नेपाली महिला भलिबलका सदस्यले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) यता ४ वटा महत्त्वपूर्ण प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । न्यू डायमन्ड कप, ढोरपाटन डबल लिग, क्लब च्याम्पियएनसिप र दिदीबहिनी कपमा महिला भलिबल टोली व्यस्त भयो, पछिल्लो समय । १८ फागुनबाट नेपालगन्जमा प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल आयोजना हुँदै छ ।
खेलाडीहरू चाहिनेभन्दा बढी व्यस्त हुँदा पनि चोटग्रस्त हुने सम्भावना बढी रहने नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वफिजियोथेरापिस्ट सुरज भुसाल बताउँछन् । फुटबल, भलिबल, ब्याडमिन्टनजस्ता हार्ड गेममा खेलाडीलाई बढी आरामको जरुरत पर्छ ।
क्रिकेटजस्तो रिल्याक्सिङ गेममा २४ घन्टाको अन्तरालमा पनि २ म्याच खेल्न सकिन्छ । तर हार्ड म्याच खेल्ने खेलाडीलाई ४८ देखि ७२ घन्टाको आराम चाहिने भुसाल सुनाउँछन् । उनका अनुसार खेलको समाप्तिपछि पनि खेलअघिजस्तै शरीरलाई चुस्त राख्न कुल डाउन सेसन गर्नुपर्छ । तर नेपाली खेलाडीहरू खेल जित्दा मात्रै कुल डाउन हुन रिकभरी सेसन गर्छन् । हार्दाचाहिँ त्यस्तो केही गर्दैनन् । त्यसले पनि उनीहरूको मसल टाइट हुने र चोट लाग्ने सम्भावना बढ्छ ।
खेल ग्राउन्डको अवस्था पनि खेलाडी घाइते हुने प्रमुख कारक मान्छन्, भुसाल । म्याटमा भलिबल खेल्दा घाइते हुने सम्भावना कम भए पनि हार्ड कोर्टमा खेल्दा खेलाडी घाइते हुने सम्भावना अधिक हुन्छ । नेविका र सरस्वती हार्ड कोर्टमै खेल्दा घाइते भएका हुन् ।
फिजियो भुसाल खेलाडीले आफ्नो उचाइअनुसारको तौल सन्तुलन राखे पनि लड्ने र चोटग्रस्त हुने सम्भावना कम देख्छन् । भलिबलमा शरीरको तौल बोक्ने काम खुट्टा र त्यसमा पनि घुँडाले बढी गर्ने भएकाले सन्तुलन मिलाउन जरुरी ठान्छन्, उनी । त्यसबाहेक खेलाडीलाई पर्याप्त मात्रामा आरामसँगै व्यायाममा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ ।
एपीएफकी कप्तान विनिता बुढाथोकी चोट र खेल खेलाडीको जीवनको नछुट्ने पाटो ठान्छिन् । खेलाडी चोटग्रस्त हुने समस्या नौलो नभए पनि सम्बन्धित निकायले सोच्ने बेला भएको उनको ठम्याइ छ । खेल–तालिका बनाउँदा नै ध्यान पुर्याउनुपर्ने र आयोजकले कम्तीमा खेलको दौरान खेलाडीको बिमाबारे सोच्ने बेला आइसकेको उनी सुनाउँछिन् । भन्छिन्, “चोट त खेलाडीलाई लाग्छ नै तर उपचार राम्रो भएन भने उसको खेल जीवनै समाप्त हुन्छ । सबैले राम्रो उपचार पाउने अवस्था सिर्जना हुनुपर्छ । आयोजकले त्यसमा ध्यान दिनु जरुरी छ ।”
नेपाली महिला राष्ट्रिय खेलाडीले ५ महिनाका दौरानमा ४० भन्दा बढी खेल खेलिसकेका छन् । एभीसी सेन्ट्रल जोनअघि अभ्यास खेलमा थाइल्यान्डमा ७, बंगलादेशमा भएको सेन्ट्रल जोनमा ४ र सागमा ५ खेल त अन्तर्राष्ट्रिय प्रतियोगिता नै थिए ।
यसअघि नेपाली फुटबलका स्टार खेलाडीमा चोटको समस्या बढी हुन्थ्यो । कारण, नाम चलेका खेलाडीलाई मोफसलमा आयोजना हुने प्रतियोगितामा खेल्न गरिने प्रस्ताव । ससाना प्रतियोगितामा पनि राष्ट्रिय खेलाडीको सहभागिता हुन थालेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलका प्रतियोगिताको वर्गीकरण र खेलाडी अनुबन्धमा कडाइ गर्न थालेको छ ।
भलिबलमा पनि प्रतियोगिताको वर्गीकरण र राष्ट्रिय खेलाडीको सहभागितामा कडाइको समय आइसकेको भलिबल संघ अध्यक्ष मनोरञ्जनरमण शर्मा बताउँछन् । शर्मा भन्छन्, “राष्ट्रिय खेल भइसकेपछि प्रतियोगिता आयोजना गर्न भन्दै विभिन्न संघसंस्थाले आवेदन दिन्छन् । आयोजना गर्न नदिन पनि भएन । सबैले राष्ट्रिय खेलाडीहरू नै खोज्छन् । खेलाडीलाई आराम पनि छैन । चेपुवामा खेलाडी छन् ।”
संघले भलिबल खेलाउन म्याटका लागि राखेपमा ताकेता गरेको पनि निकै लामो समय भइसक्यो । आफ्नै पहलमा संघले विदेशबाट दुई सेट म्याट सौजन्यस्वरूप प्राप्त गरेको छ । तर कम्तीमा पनि प्रदेश स्तरमा खोलिने कभर्ड हलमा म्याटको व्यवस्था हुनुपर्ने शर्माको जिकिर छ । भन्छन्, “अन्य कोर्टमा भन्दा म्याटमा खेल्दा खेलाडी घाइते हुने सम्भावना कम हुन्छ । तर सबैतिर यस्तो व्यवस्था गर्न सकिएको छैन । राष्ट्रिय खेल मात्रै घोषणा भयो । बजेट अभावै उस्तै छ ।”
भलिबलका राष्ट्रिय खेलाडीहरूले खेल्ने प्रतियोगिताको वर्गीकरण हुनुपर्ने धारणा राख्छन्, राखेप सदस्यसचिव सिलवाल । सञ्जय स्मृति प्रतिष्ठानले १५ फागुनमा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा सिलवालले भनेका थिए, ‘खेलाडीहरू चाहिनेभन्दा बढी व्यस्त हुँदा घाइते हुने क्रम बढेको छ । अब राष्ट्रिय स्तरका खेलाडीले कुन प्रतियोगिता खेल्ने भन्नेमा राखेपको नियमन जरुरी भइसकेको छ ।’
आफूले विभिन्न जिल्लामा आयोजना भएका भलिबल प्रतियोगिता पनि हेरेको भन्दै सिलवाल कम्तीमा म्याटमा खेलाउने व्यवस्था गर्न संघलाई सुझाउँछन् । भन्छन्, “खेल कुन समय खेलाउने भन्ने र तालिका निर्माणमा पनि संघले बढी मिहिनेत गर्नुपर्छ । यही अवस्थामा जथाभावी खेलाउँदै गर्ने हो भने खेलाडी घाइते भइरहने र उपचार गरिरहनु पर्ने हुन जान्छ ।”