बीचबीचमा गायक दुर्गेश भन्छन् : ‘मोडर्न तीज गीत बनाएको’

- मनबहादुर बस्नेत

महिलाले मात्रै तीजका गीत गाइरहेका बेला फुत्त झुल्किए, दुर्गेश थापाहामी पनि नाच्नुपर्छ बीचबीचमा’ भन्दै उनको यो गीत युट्युबमा दुई महिनामा ४४ लाखभन्दा बढीले हेरिसकेका छन्

तीजको गीत पुरुषले गाएको भनेर कसैलेकेही भनेनन् ?

त्यसरी प्रत्यक्ष त कसैले केही भनेनन् । तर गीत युट्युबमा राखेपछि कमेन्टमा चाहिँ अब तीजमा पुरुषले ८० प्रतिशत अधिकार खोज्न लागे भनेर लेखे । बरु गीत निकाल्नुअघि केही डर लागेको थियो ।

किन ?

तीजको गीत छ । बाजागाजा पश्चिमा शैलीका बढी प्रयोग गरेको थिएँ । तर यसमा कसैले गाली गरेनन् ।

यो गीतपछि तीजका कार्यक्रम भ्याईनभ्याई भयो होला नि ?

भ्याईनभ्याई नै त होइन तर व्यस्त बनायो । ६ भदौसम्म भक्तपुर, तनहुँको आँबुखैरेनी, बाग्लुङ, बुटवल गरी चार ठाउँमा कार्यक्रम गरिसकेँ । त्यसपछि दाङको लमही र चितवनमा छ । तीज सकिएपछि तीजकै कार्यक्रमका लागि भारतको असम जाँदै छु । त्यहाँ आधा दर्जन कार्यक्रम छन् ।

यो गीत रुचाइनुको कारण ?

तीजका गीत एकै खालका आइरहेका थिए । मैले युवा र बूढाबूढी दुवैलाई सुहाउने गीत अभाव देखेँ । नाच्ने शैलीले युवालाई समेट्यो । तर संगीतमा प्रयोग भएको पुरानो मेलोडी धुनले आमा, हजुरआमाहरुलाई सुन्दा रमाइलो बनाइदियो । मेलोडी नमारीकन मोडर्न बनाइयो ।

गीत, संगीतमा दर्शक–श्रोता के खोज्दा रहेछन् ?

नयाँ स्वाद । अरुभन्दा फरक भएन भने जति राम्रो गाए पनि र मिहिनेत गरे पनि केही हुनेवाला छैन ।

पुरुषले गाउनुबाहेक यो तीज गीतमा नयाँपन के छ ?

हामी पनि नाच्नुपर्छ भनेर दिदीबहिनीलाई भाइले भन्छ । यो भनेको तीज दिदीबहिनीको मात्र होइन, सबैले ग्रहण गर्नुपर्छ भनिएको हो । परिवारै खुसी हुने कुरा छ यसमा ।

गीत लेख्दा कुनै घटना थियो ?

आधा घन्टामा लेखेँ । आधा घन्टामा म्युजिक गरेँ । चल्छ भन्ने विश्वासै थिएन । यति हिट होला भन्ने लागेको भए भिडियोलाई अर्कै बनाउँथेँ ।

लाहुरबाट भागेपछि लामो समयसम्म संगीत क्षेत्रमा जम्न नसक्दा गल्ती गरिएछजस्तो लागेन ?

तालिम गर्दा गाह्रो भएपछि र माथिल्ला तहकाले तलकालाई गर्ने व्यवहारले भारतीय फौजबाट भागेँ । तर यता झन् गाह्रो । ठमेलका ८० प्रतिशत डान्स बारमा काम गरेँ । म हावा टाइपको थिएँ । दिउँसोभरि नाचिन्थ्यो, बेलुका बारमा । उमेर बढ्दै गएपछि पनि सोचेजस्तो प्रगति भएन । अनि पछुतो लाग्यो । घरमा बाआमाले पनि छँदाखाँदाको जागिर छाडिस् भनेर गाली गर्नुभयो । बा त तीन वर्षसम्म बोल्नुभएन । संघर्ष र धैर्यले बिस्तारै जीवन सार्थक बन्दै गयो ।

अहिलेचाहिँ बाआमा के भन्नुहुन्छ ?

सबैभन्दा खुसी नै उहाँहरु । जे गरिस् ठीक गरिस् भन्नुहुन्छ । अहिले पश्चात्तापबोध हुने पालो बाको ।

प्रकाशित: भाद्र ८, २०७६