सोमाको गुरुदक्षिणा

- सुनिता लोहनी

हिन्दु मिथकअनुसार द्वापर युगमा द्रोणाचार्य सर्वश्रेष्ठ गुरु थिए । उनीबाट धनुविद्या सिक्न एकलव्यले निकै कोसिस गरे । सामान्य परिवारमा जन्मिएकै कारण उनले द्रोणाचार्यबाट सिक्न त पाएनन् । तर द्रोणाचार्यलाई गुरु मानी धनुविद्याको स्वअभ्यास गरे । र, द्रोणाचार्यलाई आफ्नै हातको बूढीऔँला काटेर गुरुदक्षिणा टक्र्याए । गुरुलाई सम्मान गर्ने एकलव्यको यो अजीव तरिका थियो ।

यस्तै, रचनात्मक तरिका अपनाएका छन्, जीवन राजोपाध्याय, शंकरराजसिंह सुवाल, शंकरनाथ रिमाललगायतका १६ कलाकारले । यी कलाकारका गुरु हुन्– मूर्धन्य कलाकार लैनसिंह बाङ्देल ।

बबरमहलस्थित नेपाल कला परिषद्मा सोसाइटी अफ मोर्डन आर्टिस्ट अर्थात् सोमाले कलापुञ्ज ५ शीर्षकमा पाँचौँ चित्र प्रदर्शनी गरिरहेको छ । ५ देखि ९ भदौसम्म हुने प्रदर्शनीमा करिब ९० चित्र समावेश छन् । प्रदर्शनीमा विश्व तापमान विषयमा एक्रेलिक अमूर्त चित्रदेखि पानीरङका ल्यान्डस्केप, तेल रङमा गणेशको अर्ध अमूर्तलगायत चित्र मनमोहक छन् ।

आफ्ना गुरु र सोमाबारे गफिए, कलाकार जीवन राजोपाध्याय । उमेरले ६० कटेका कलाकार राजोपाध्याय नै समूहका सबैभन्दा कान्छा हुन् । समूहमा ८६ वर्षे कलाकार चिनीकाजी ताम्राकार पनि छन् । सोमाका  महासचिव राजोपाध्यायका अनुसार इतिहासका विभिन्न चरणमा लैनसिंह बाङ्देलसँग आधुनिक कला सिकेका कलाकार ०६४ तिर भेला भई संस्था स्थापना गरे, सोमाको रुपमा ।

०३६ तिर भेटे बाङ्देललाई राजोपाध्यायले । त्यसबेला उनी भर्खर ललितकलामा स्नातक सकाएर बसेका थिए । बाङ्देलले आफू युरोपमा बसेर सिकेको कला यताका कलाकारलाई सिकाउन चाहेको थाहा पाएपछि उनीलगायत केही कलाकार प्रत्येक शनिबार नेपाल कला परिषद् भवनको माथिल्लो तलामा चित्र कोर्न बस्थे । गुरुबाट सबैले केही न केही सिके तर उनले भने रङसँग खेल्न सिके । भन्छन्, “मैले उहाँसँग क्यानभासमा कसरी रङ परिपक्व तरिकाले पोख्ने भन्ने सिकेँ ।”

हुन पनि प्रदर्शनीमा राजोपाध्यायले बनाएको अमूर्त चित्रमा रङ प्रयोग अधिक छ । मुख्यतः उनले पहेँलो, सुगा, सुन्तला तथा नीलोसँग खेलेका छन् । ल्यान्डस्केप चित्र बनाउने उनी पछिल्लो समय अमूर्त चित्रमा रमाइरहेका छन् । एउटै प्रकृतिको चित्र बनाइरहँदा वाक्क भएपछि बिस्तारै अमूर्ततिर ढल्केको बताउँछन्, राजोपाध्याय । मुडले पनि रङ छनोटमा फरक पर्ने भन्दै उनले यस पटक प्रदर्शनीमा पेन्टिङ राखेपछि झसंग भएको सुनाए । भन्छन्, “२ वर्षअगाडि पत्नीको स्वर्गारोहण भयो । कतिखेर कालो रङमा ब्रस चलिसकेछ, अहिले पो देखेँ ।” उनका सबै पेन्टिङमा कालो रङ भेटिन्छन्, कतै यो उनको आर्टथेरापी शैली पो हो कि !

प्रकाशित: भाद्र ८, २०७६