[सम्पादकीय] कांग्रेसमा गगन–विश्वप्रकाश पुस्ताको दशक
७० नाघेका नेताहरूले हाँकिरहेको प्रमुख प्रतिपक्ष कांग्रेसमा ४०–५० वर्षबीचका ‘युवा नेता’ हरूले चुनौती दिइरहेका छन् । ४०–६० को दशकमा उदाएको यो पुस्ता ८० को दशकको पार्टी र देश दुवैलाई नेतृत्व दिन चाहन्छ ।
७० नाघेका नेताहरूले हाँकिरहेको प्रमुख प्रतिपक्ष कांग्रेसमा ४०–५० वर्षबीचका ‘युवा नेता’ हरूले चुनौती दिइरहेका छन् । ४०–६० को दशकमा उदाएको यो पुस्ता ८० को दशकको पार्टी र देश दुवैलाई नेतृत्व दिन चाहन्छ ।
कोइराला, सिंह र निधि परिवारबाटै अर्को पुस्ता हुर्काउने तयारी हुँदै गर्दा यो पुरानो लोकतान्त्रिक पार्टीलाई डोर्याउने महत्त्वाकांक्षा वंशवृक्षबाहिरबाट पलाउन थाल्नु आशाको संकेत हो । हाम्रा सहायक सम्पादक सन्तोष आचार्यको आवरण कथाले पछिल्लो समय धर्मराइरहेको कांग्रेसलाई नयाँ शिराबाट गति दिने क्रममा देखिन थालेको सुषुप्त प्रतिस्पर्धालाई चित्रित गरेको छ ।
यो टक्करको परिदृश्यमा देखा परेका छन्– गगन थापा र विश्वप्रकाश शर्मा । यी दुई यस्ता नेता हुन्, जोसँग आफ्नो मिहिनेत र सार्वजनिक साखबाहेक अर्को कुनै वंश–विरासत छैन । पार्टीभित्र सहकार्य–प्रतिस्पर्धा गर्दै हुर्केका यी विगतका विद्यार्थी नेताहरू नयाँ पुस्तालाई अपिल गर्ने सामर्थ्य राख्छन् ।
गगनले यसअघि नै महामन्त्रीमा दाबेदारी दिएर आफनो महत्त्वाकांक्षा खुल्लमखुला प्रकट गरिसकेका छन् । ६० नकाटी नेतृत्वको छेउछाउ देखिनै कठिन भएको कांग्रेसजस्तो पार्टीमा उनले राजनीतिको ५५ वर्षे उमेरसीमा तोकेर अर्को सन्देश दिन खोजेका छन् । यो वाचामा उनी अडिग होलान् त ? भविष्यलाई जिम्मा छाडिदिऔँ ।
ग्रामीण भेगबाट राजनीति गर्दै स्थापित विश्वप्रकाशले लामो अवधि पार्टी संस्थापनकै वरिपरि गुजारे पनि त्यहीँभित्र असहमतिको भद्र स्वर दर्ज गर्दै आएका छन् । पार्टीभित्र मूल्य–मान्यताको खडेरी पर्दै गएको आम आलोचनाबीच उनले आत्मानुशासन र संस्कारको अभ्यास गर्न खोजेका छन् । व्यक्तिगत पराजयहरूको सिलसिला तोड्दै पार्टीभित्र सकारात्मक धारणा विकास गराउने उनको प्रयासलाई कांग्रेसभित्र–बाहिरकाले आशालु नजरले हेरेका छन् ।
गगन–विश्वप्रकाश पुस्ताको कुरा यत्तिमा सकिँदैन । नेपालकै यो अंकमा प्रदीप गिरिले नयाँ पुस्तामा कुनै सोचविचार नभएको निर्भीक आरोप लगाएका छन् । त्यसलाई खन्डन गर्ने सामर्थ्य विश्व–गगन र तिनका सहकर्मीले राख्नुपर्ने हुन्छ । हाम्रा स्तम्भकार अच्युत वाग्लेको राय पनि गिरिकै जस्तो छ । वाग्लेले कांग्रेसजस्तो उथलपुथलकारी अतीत भएको पार्टीभित्र आज असमाधेय रूपमा कसरी कुलीनतन्त्र मौलाइरहेको छ अनि त्यसको चंगुलबाट उम्कनै नसक्ने गरी नयाँ पुस्ता पसिरहेको छ भन्ने मिहीन विश्लेषण गरेका छन् । गिरिले त ‘टिना’ युग (विकल्पहरू सकिइसकेको युग) कै विचारच्युत सन्तानका रूपमा नयाँ पुस्ता आएको कटाक्ष मात्रै गरेका छैनन्, नयाँ पुस्ता पार्टी र देशलाई विकल्प दिन असमर्थ रहेको समेत दाबी गरेका छन् ।
अहिलेको कांग्रेसलाई अलिअलि गर्दै खाँदै छ, धार्मिकताको राजनीतिले । आजीवन निष्ठा र संघर्षमा बाँचेका बीपीको पारिवारिक लाभांशलाई राजनीतिक फाइदामा रूपान्तरण गर्ने शशांक कोइरालाको रणनीति देखिन्छ । अनि हिन्दु राष्ट्र ब्युँताउनुपर्ने माग गर्दै हस्ताक्षर संकलन गरेका महासमितिका ६ सय सदस्यसँग धार्मिक राज्यबारे ठोस तर्क नरहे पनि पार्टीभित्रको त्यो निर्णायक मतसंख्यासँग गगन र विश्वप्रकाश कहीँ न कतै डराइरहेको देखिन्छ । युरोप गएका बेला जनै भिरेको तस्बिर फेसबुकमा राख्न विश्वप्रकाशलाई यही भयले तर्साएको देखिन्छ । गगनलाई ०६२/६३ को परिवर्तनले संविधानमा लेखाएको धर्म निरपेक्षताको अनुराग पक्कै होला, तर पार्टीका ‘ दाइहरू’ रिसाउलान् भन्ने भयमा उनी पनि परेको देखिन्छ । उनका पछिल्ला केही ट्वीट र अभिव्यक्ति पढे, सुने यो प्रस्ट बुझिन्छ । गिरि र वाग्लेको आलोचना यहाँनेर प्रासंगिक छ ।
आज कांग्रेसको पुरानो नेतृत्वलाई ‘बासी’ करार गर्दै गर्दा गगन र विश्वप्रकाश दुवैले आफूसँग त्यस्तो के नयाँ विचार छ, जसले पार्टी र देशको भविष्यलाई हाँक्ने सामर्थ्य राख्छ– प्रस्ट गर्नुपर्छ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...