कला मालामाल, कलाकार गुमनाम
व्यावसायिक सफलता पाए पनि मूलधारमा न नाम, न पहिचान
ललितपुरको ठेचोमा बस्छन्, मूर्तिकार विनोद महर्जन, ३३ । उनले भगवानको मूर्ति बनाउने पुर्ख्यौली पेसा अँगालेको दुई दशक भयो । विनोदले बनाएका मूर्ति मलेसिया, चीन, थाइल्यान्ड तथा युरोपेली मुलुक पुगेका छन् । तर मूर्ति कसले बनाएको हो भन्ने सेवाग्राहीले समेत थाहा पाउँदैनन् ।
व्यावसायिक कलाकारिताबाट परिवार पालिरहेका विनोद त एक प्रतिनिधि पात्र हुन् । तर उनीजस्ता कलाकारको नाम न कुनै समाचारमा छापिन्छन्, न त कुनै पुरस्कार, सम्मानको हकदार बन्छन् । नेपाली कलाकारितालाई व्यवसायीकरण गरिरहेका यी कलाकार कर्मसियल आर्टिस्टको दायरामा खुम्चिन बाध्य छन् ।
विनोदको पुर्ख्यौली घरमा कारखाना छ । घरको भुइँतलादेखि कौसीसम्मै तयारीका सामान र मूर्ति असरल्ल छन् । भुइँतलामा मूर्ति पोल्ने भट्टी छ । पहिलो तलामा मैनबाट मूर्ति बनाइन्छ । दोस्रो तलामा गोबर र माटोले बनाएका मूर्तिका साँचा छन् । छतमा माटो र गोबरले बनाएका मूर्ति सुकाउन राखेका छन् । कारखानामा पत्नी रीताले उनलाई सघाउँछिन् । ८ कक्षा मात्र पढेका विनोदले ५ जनालाई रोजगारी पनि दिएका छन् । भन्छन्, “म मात्र होइन, ठेचोमा काम गर्ने अरू मूर्तिकारको पनि उस्तै हो हालत । काम हामी गर्छौं, बेच्छन् अरू कसैले । हामीलाई थोरै दिएर सेवाग्राहीबाट धेरै असुल्छन् ।”
विजय बलामी अट्कोनारायणस्थित आफ्नै आर्ट ग्यालरीमा
थोरै विवरण दिएको भरमा मूर्ति बनाउन सक्छन्, विनोद । सुरुमा उनी मास्टरपिस बनाउँछन्, त्यसपछि साँचो । मैनलाई झोल बनाएर साँचोमा खनाउँछन् । माटो र गोबरले २/३ पटक र माटोले मात्र ४ पटक लिप्छन् । माटोलाई सुकाउँछन् । भट्टीमा ल्याएर पोल्छन् । पोल्दा मैन पग्लेर जान्छ । त्यसपछि पगालेको तामालाई तात्तातोमै पोलेको साँचोमा खन्याउँछन् । यसरी मूर्ति तयार हुन्छ ।
चित्लाङ (मकवानपुर) का विजय बलामी, ३२, सानैदेखि चित्रकलामा रुचि राख्थे । ३ भाइमध्येका कान्छा उनी एसएलसीपछि ०६० सालमा ललितकला पढ्न काठमाडौँ आए । घरमा पैसा अभाव थियो । सजावट कम्पनीमा चित्र कोर्ने मौका पाएपछि ३ वर्षका लागि साउदी अरब गए ।
४०/४५ डिग्रीको तापक्रममा उनले चित्र बनाए, दमामका नयाँ घरमा । त्यहाँ उनीसहित ३ नेपाली, बंगलादेशी तथा भारतीय कलाकार थिए । महिनाको ८ सय रियाल पाउँथे । गर्मीले दाल उम्लेर गन्हाउँथ्यो, पसल नजिकै छ भने खान पायो नत्र भोकै सुत्नुपर्थ्यो । गुम्बजमा चित्र बनाउँदा हातबाट पसिना तपतप मुखमा झरेको उनी अझै सम्झन्छन् । कुनै घरमा एसी नहुँदा चित्र बनाउन साह्रै सकस झेले, विजयले ।
विनोद महर्जनले बनाएको मुर्ति
साउदी छँदा भित्तामा तैल रङका थुप्रै ल्यान्डस्केप चित्र बनाए, विजयले । नेपाल फर्केपछि आर्ट ग्यालरीमा चित्र बनाएर बेच्ने कामलाई नै निरन्तरता दिए । उनी तैलरङ, पानीरङ तथा चारकोल सबै माध्यम चलाउँछन् । एक वर्ष भयो, उनले अट्कोनारायणमा आर्ट ग्यालरी खोलेको । गत वर्ष मात्र पहिलो पटक नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान (नाफा) को राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेका विजय भन्छन्, “ढुंगा त ढुंगा हो, ठाउँमा परे हिरा हुन्छ, म पनि एक दिन ठाउँमा परूँला, यस्तै काम गर्दै गए ।”
विजयको अनुभवमा अधिकांश सेवाग्राही सस्तो खोज्छन्, ग्यालरीले बिक्री भएपछि पैसा दिन्छन् । बढीजसो हिमालको चित्र खोज्दै आउँछन् । घरतिर कोही–कोही केटी सेवाग्राही नग्न तस्बिर बनाउन आग्रह गर्छन् उनलाई । उनी हाँस्दै भन्छन्, “तर मैले बनाइनँ ।”
पाटनतिर मूर्ति पसल राखे आम्दानीका साथै सेवाग्राहीसँग सीधा सम्पर्क हुन्छ भन्ने विनोदलाई थाहा छ । तर धेरै लगानी गर्नुपर्ने भएकाले उनी सक्दैनन् । सहरबाट अलि टाढा बसेकाले मूलधारका कलाकारसँग सम्पर्क गर्न उनलाई गाह्रो छ । उनका अनुसार पाटनको मूर्तिकार समूहमा थेचोका मूर्तिकार अटेका छैनन् । ज्यापु समाजले समेत पाटनका मात्रै ज्यापु हो भनी गरेको विभेद भोगेका छन् ।
थ्रीडी कलाकारको पनि उस्तै
कलाकारको चित्रमा ‘रिगर’ ले हातखुट्टा मुख चलाउने गरेपछि एनिमेटरले बनाएको कार्टुन या एनिमेसन पर्दामा देख्न सकिन्छ । नारुतोको कार्टुन र द लायन किङ एनिमेसन फिल्म हेर्दा जति मज्जा आउँछ, बनाउन उत्तिकै कठिन । विश्वमा एनिमेसनको बजार ठूलो छ । हलिउडका कति फिल्मको भिजुअल इफेक्ट (भीएफएक्स) नेपालमा हुने गरेका छन् । सामान्यतः डिजिटल, थ्रीडी आर्टिस्ट भनेर चिनिने यी कलाकार अधिकांशले ललितकला पढेका र चित्र बनाउन पोख्त हुन्छन् । कस्तो छ त डिजिटलमा काम गर्ने कलाकारको अवस्था ?
डेढ वर्षदेखि काठमाडौँमा संघर्ष गरिरहेका छन्, विराटनगरका कलाकार सौरभ कोइराला, ३२ । उनी हिजोआज कम्प्युटरबाट पुरानो खुइलिएको तस्बिरलाई नयाँ बनाउने (फोटो मनिपुलेसन), सेवाग्राहीको इच्छाअनुसार सिर्जनात्मक चित्रकथा बनाइदिने, लोगो बनाउने, किताबको आवरण बनाउने काम गरिरहेका छन् । महेन्द्र मोरङ कलेजबाट अंग्रेजीमा स्नातक सौरभले कतै चित्र सिकेका छैनन् । भन्छन्, “म आफैँले आफैँलाई चित्र कोर्न सिकाएको हुँ । कम्प्युटरमा होस् या क्यानभासमा ।”
रङ लगाउन र ब्रस स्ट्रोक चलाउन सौरभले युट्युबबाट सिकिरहेका छन् । चित्रकलाको औपचारिक अध्ययन नहुँदा र यसका संघ–संगठनबारे थाहा नहुँदा मूलधारे चित्रकलाबाट धेरै वर्ष टाढा बस्नुपरेको अनुभव छ, सौरभको । उनले नेपाल टेलिभिजनले बनाएको नयाँ थ्रीडी लोगोमा सगुन मानन्धरको नेतृत्वमा स्टोरी बोर्डमा काम गरेका थिए । तारागाउँ म्युजियममा भएको सगरमाथा नेक्स्ट प्रतियोगितामा फोहोरमैलाबाट डाँफे बनाएका थिए ।
०६९ देखि स्वतन्त्र काम गरिरहेका सगुन मानन्धर, ४१, ले आफू मात्र नभई अन्य कलाकारलाई समेत काम दिइरहेका छन् । एनिमेसन कला पढ्न उनी अमेरिका गए । तर पारिवारिक समस्याका कारण २ वर्षपछि नै नेपाल फर्के । यहाँ आएपछि २ महिना अडियो–भिडियोको कक्षा लिए र आफ्नै रहरले एनिमेसन सिके ।
नेपालमा इन्सेसेन्ट रेनबाहेक अझै पनि अन्यत्र एनिमेसनको ठूलो स्टुडियो छैन । एनिमेसनबारे खासै गतिविधि पनि छैन । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सवमा भने एनिमेसन फिल्म देखाइन्छन् । बजारमा काम कम र कलाकार बढी हुँदा गाह्रो भएको सगुन स्वीकार्छन् । इन्सेसेन्ट रेन एनिमेसन स्टुडियोमै प्राजेक्ट सुपरभाइजर रहिसकेका उनी भन्छन्, “३० सेकेन्डको भिडियो बनाउन १ दिन पनि लाग्न सक्छ, ३ महिना पनि । नेपालीलाई यो बुझाउन कठिन छ ।”
व्यावसायिक कलामा आत्मनिर्भर छन्, उदयपुरका देव कोइमी, ३४ । स्कुले विद्यार्थी छँदै उपन्यासको आवरण डिजाइन गरेका देव ०५८ मा काठमाडौँ आए । उनले थुप्रै बालसाहित्यका पुस्तकमा आवरण तथा इलुस्ट्रेसन गरेका छन् । करिब १६ वर्षदेखि स्वतन्त्र काम गरिरहेका देव भन्छन्, “सेवाग्राहीको विश्वासबिना फ्रिलान्सर भएर काम गर्न सकिन्न । बजारले चिनेपछि नै काम पाउने हो ।”
नाम पनि, दाम पनि
कमर्सियल आर्टबाट दाम मात्रै होइन, नाम पनि कमाएका थुप्रै कलाकारमध्ये एक हुन्, राजन काफ्ले । किताब आवरणका लागि बजारमा उनी प्रसिद्ध छन् । पारिजातको किताब संग्रह, विश्वेश्वरप्रसाद कोइरालाका किताब संग्रहको आवरण डिजाइन गरिसकेका राजन किताब पढ्न औधी मन पराउँछन् । भन्छन्, “नपढीकन डिजाइन गर्न गाह्रो हुन्छ । पढेपछि किताबको कुरा बुझिन्छ, आवरणलाई फिल दिन सकिन्छ ।”
रौतहटबाट ०४३ मा ललितकला पढ्न काठमाडौँ आउनुअघि नै उनी स्कुलको ब्यानर, साइन बोर्डमा सुन्दर अक्षर लेख्थे, डिजाइन बनाउँथे । राजन कम्प्युटरमा काम गर्न उति रुचि राख्दैनन्, हातैले आवरण डिजाइन गर्छन् । भन्छन्, “आवरणले पुस्तक बिक्री हुँदैन । पुस्तक राम्रो लेखे मात्र बिक्री हुन्छ । त्यो सीमा लेखकले बुझ्नु जरुरी छ ।”
भैरहवाका केशवराज खनाल, ३९, विद्यालय जाँदा र फर्कंदा पेन्ट पसलमा बनाइरहेको चित्र हेर्न बस्थे । कोही बस्न दिन्थे भने कोही गाली गर्थे । ०४८ सालमा आफ्नै बुबाको साथीको पसलमा साइन बोर्ड बनाएर उनले व्यावसायिक कला सुरु गरे ।
लुम्बिनीदेखि भैरहवासम्म सडकमा पेन्ट गरेर त्यति बेलाको डेढ लाखको ठेक्का लिएको उनी सगौरव सुनाउँछन् । महिनाको ५/७ हजार कमाइ उल्टै बालाई खर्च पनि दिन्थे रे उनी । ललितकला पत्रकार समाजका अध्यक्षसमेत रहेका केशव भन्छन्, “यो क्षेत्र अन्य कलाजस्तो एकेडेमिक हिसाबले अघि बढ्न सकेन । यसमा अक्षर लेख्न जाने पुग्यो, अरू पढ्नुपरेन । शिक्षामा नभएपछि जसले पनि गर्ने भए । अनि पेन्टर भनेर होच्याउन थालियो । तर रङ चलाउने सबै पेन्टर हुन् ।”
कर्मसियल आर्टिस्ट संघमा ०५६ मा केशव स्कुल छँदै सदस्य भए । उनले ट्रकमा पेन्टिङ गर्नेदेखि ब्युटिपार्लरको बोर्डसमेत बनाउँथे । ब्युटिपार्लरमा श्रीदेवी बनाउन खोज्दा हेमा मालिनी बनेपछि सेवाग्राहीलाई चित्त बुझे पनि उनलाई बुझ्दैनथ्यो । कम्तीमा हिरोइन बनाउन सकौँ भनेर उनी ललितकला पढ्न काठमाडौँ आए । अहिले साइन बोर्डलाई फ्लेक्सले विस्थापित गरिसकेको छ । पेन्टिङ र कार्टुन बनाउने उनी देश–विदेशमा पेन्टिङ प्रदर्शनी गरिरहन्छन् ।
फिल्मको पोस्टरदेखि पैसासम्म
जागिरको खोजीमा पाल्पाबाट काठमाडौँ आए, सुन्दर श्रेष्ठ, ५२ । उनले नेपाल राष्ट्र बैंकमा चित्रकार पदमा फाराम भरे । अन्तर्वार्तामा तत्कालीन डेपुटी गभर्नर युधीरशमशेर थापाले यति सानो बच्चाले कसरी चित्र बनाउँछ भनेर सोधे । उनले तत्कालै डेपुटी गभर्नरको चित्र बनाएर देखाए र जागिर पाए ।
सौरभ कोइरालाले बनाएको पागल बैज्ञानिक शीर्षकको आर्ट
०४३ सालमा गोरखापत्र र द राइजिङ नेपालमा विज्ञापनका लागि डिजाइन गर्न भनेर उनले साथीसँग मिलेर बागबजारमा पसल खोले । पसलमा विज्ञापनको मात्र नभई उनले थुप्रै नेपाली फिल्मका पोस्टर डिजाइन गरे । भन्छन्, “९० प्रतिशत नेपाली फिल्मको पोस्टर मैले नै डिजाइन गरेको छु ।”
उनले ०५३ सालमा राष्ट्र बैंकले निकालेको २५ र २५० को नयाँ नोटलाई डिजाइन गरेका थिए । उनले डिजाइन गरेको २ रुपैयाँको सिक्का विश्वको उत्कृष्ट सिक्का भन्दै अंग्रेजी पत्रिका टेलिग्राफले सन् २०१७ मा छापेको थियो । राष्ट्र बैंकले बधाई दिनेबाहेक कहिल्यै अन्य कुनै पुरस्कार नपाएको उनी बताउँछन् ।
पोखराको दुःख
कलाकारको जमघट हुने ठाउँ हो, सुन्दर सहर पोखरा । पोखराको लेकसाइडमा आर्ट ग्यालरी देखेपछि चित्र बनाउन सिकेका हुन्, कलाकार गोपाल दराई, २८, ले । १३ वर्षदेखि कला क्षेत्रमा काम गरिरहेका गोपालले १ महिने कलाशिक्षाबाहेक अन्त कतै कक्षा लिएका छैनन् । उनी ल्यान्डस्केप पेन्टिङ बनाउन रुचाउँछन् । तर धेरैले सस्तो खोज्ने भएकाले आर्ट ग्यालरीलाई चित्र बेच्न छाडेको र साझेदारीमा आफ्नै ग्यालरी खोलेको उनी बताउँछन् ।
१८ वर्षदेखि पेन्टिङ गर्दै आएका छन् पोखराकै मनोज तामाङ, ३७ । प्राकृतिक दृश्य प्रत्यक्ष हेरेरै बनाउन रुचाउने मनोजले गुरुङ गाउँका थुप्रै चिक्र बनाएका छन् । बित्री भए ठीकै छ, नभए प्रदर्शनीमा राख्ने छँदै छ । पोखरामा ०७२ सालमा ‘स्मृतिमा भूकम्प’ शीर्षकमा एकल चित्र प्रदर्शनी गरेका मनोज राम्रो चित्रकार हुन धैर्य चाहिने बताउँछन् । भन्छन्, “छिटो बनाएर फेरि अर्को पनि छिटो बनाऊँजस्तो हुन्छ । यस्तो बानीले बनिसकेको चित्र पनि बिग्रन सक्छ ।”
व्यावसायिक कलामा लागेका अधिकांश कलाकारले आफ्नो रोजीरोटी राम्रोसँग चलाइरहेका छन् । तर प्राज्ञहरूले ललितकला पढेका कलाकारलाई मात्रै प्रदर्शनमा राख्ने, देश–विदेशमा सहभागी हुने मात्रै कलाकारजस्तो व्यवहार गरिरहँदा व्यावसायिक मर्कामा परेको कलाकार सुनाउँछन् । मनोज भन्छन्, “कला भनेको कला हो, विभेद गर्नु राम्रो होइन । कमर्सियल आर्टिस्टले सस्तोमा बेचिरहँदा ललितकलाका कलाकार महँगो मूल्यमा बेचिरहेका हुन्छन्, जुन कमर्सियल होइन ।”
के हो व्यावसायिक कला १८ औँ शताब्दीको औद्योगिक क्रान्तिसँगै विश्व बजारमा परिवर्तन आयो । एउटै सामान धेरै संख्यामा बन्न थाले । औद्योगिक क्रान्ति र संख्यामा सामान उत्पादन सुरु हुन थालेपछि व्यावसायिक कला अर्थात् एप्लाइड आर्टको उदय भएको कला समीक्षक देवेन्द्र थुम्केली बताउँछन् । उनका अनुसार व्यावसायिक कला धेरै प्रकारका छन् । औद्योगिक डिजाइन, टेक्स्टाइल डिजाइन, म्यागजिन डिजाइन, ग्राफिक्स डिजाइन, लेआउट डिजाइन, आवरण डिजाइन, फेसन डिजाइन, मूर्तिकला तथा काष्ठकला छन् ।
थुम्केलीका अनुसार साइन बोर्डमा लेख्नेदेखि पोस्टर, सामानका प्याकेजमा देखिने चित्र, वस्तुको साइज सबै कला हो । यस्तै, टेक्स्टाइल अर्थात् कपडामा डिजाइनका लागि मिथिला कला गर्दै आएका प्राज्ञ एससी सुमनका अनुसार चित्र बनाउने कलाकारकै कारण अहिले बुटिक चलिरहेका हुन् । पछिल्लो समय नेपालमा व्यावसायिक कलाको विकास तीव्र गतिमा भइरहेको छ । खुला अर्थतन्त्रका कारण व्यावसायिक कलाले उचाइ लिएको विज्ञहरू बताउँछन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...