क्रान्तिको अँध्यारो पाटो
लामो समयसम्मको रहस्यमयी महाशक्ति चीनका केही गुप्ती उजागर हुने लोभले पढेँ, वाइल्ड स्वान्स । जुङ चाङको यो आत्मसंस्मरणमा तीनपुस्ते महिलाको आरोह–अवरोह छ ।
लामो समयसम्मको रहस्यमयी महाशक्ति चीनका केही गुप्ती उजागर हुने लोभले पढेँ, वाइल्ड स्वान्स । जुङ चाङको यो आत्मसंस्मरणमा तीनपुस्ते महिलाको आरोह–अवरोह छ । ल्याइतेकी रुपमा भित्रिएकी हजुरआमा यु फाङले धनी खानदानको सुख भोग गरिन् । कमलको फूल खाने, चपस्टिक प्रयोग गर्ने र सुकिलामुकिला लुगा लगाउने यु फाङको पालामा सानो खुट्टा भएकी महिला सुन्दर मानिने हुँदा जति नै पीडा भए सानो फलामको जुत्ता लगाइन्थ्यो । त्यो ‘सौन्दर्य’ पुरुषका खातिर मात्रै थियो कि महिला आफैँलाई पनि मन पर्थ्यो ?
१५ वर्षे उमेरमा कम्युनिस्ट पार्टीमा जोडिएकी आमाको कथा लेखकले वर्णन गर्दा चीनभित्रैबाट कसैले पर्दा उठाएझैँ लाग्छ । कम्युनिस्ट अनुशासनअनुसार उनको बुबा गाडीमा चढ्ने तर गर्भवती आमाले समेत हिँड्नुपर्दा बच्चा तुहिएको वर्णनले कम्युनिस्टहरुको आडम्बरपूर्ण सोपानक्रम प्रस्ट्याउँछ । नातावादलाई प्रश्रय नदिन कठोर अनुशासन पालना गरे पनि पछि गद्दारको आरोपमा लेखकका बुबालाई पार्टी निष्कासनसहित जेल हालिन्छ र त्यही रहस्यमय मृत्यु हुन्छ । आमासमेत जेल चलान हुन्छिन् । पढ्न अनुमति नपाएकी जुङको घरमा छापा मारेर किताब जफत गरिन्थ्यो । आमाको सहयोगमा भागेर जुङले पढ्न पाए । देशमा भोकमरी लागे पनि रेडियोले जनता सुखी र खुसी रहेको दाबी गर्थ्यो । त्यतिबेला चीनमा धान उत्पादन दस गुणाले बढेको प्रचार गरिए पनि त्यो मिथ्या रहेको खुलासा छ, किताबमा । अंक र प्रतिशत सगर्व रटान लगाए पनि मजदुर र किसानलाई बिर्सिएको हुन्छ । चिनियाँ पार्टीका समर्थकले यो किताबलाई प्रोपागन्डा भनेपछि सोचेँ, सांस्कृतिक क्रान्तिताका जनताका यस्तै अनेक पीडा लुकाउन खोजिएको हुन सक्छ । इस्पातमा धनी बन्न माओको निर्देशनमा घरघरबाट भाँडाकुँडा निकालेर आगोमा गाल्दा समय र मानव संसाधनको नाश मात्रै भएको घटना हेर्दा शासकको अदूरदर्शिताप्रति टिठ लाग्छ । युवामा छाएको वितृष्णा र नकारात्मक ऊर्जा डरलाग्दो छ । अनुशासित कम्युनिस्ट सेनाकी छोरी भए पनि जुङ बाल्यकालदेखि प्रश्न गर्ने स्वभाव थिइन् । रुचिबिनाको राज्यनियन्त्रित र निर्देशित काम गर्नुपर्ने बाध्यताप्रति सानैदेखि उनमा विद्रोही चेत थियो । नेपालमा पनि जनयुद्धमा होमिएका महिला प्रशस्तै छन् तर वाइल्ड स्वान्सजस्तै निर्धक्क र विस्तृत रुपमा लेखिएका छैनन् ।
हान्या यानागिहारालिखित अ लिटिल लाइफमा बलियो कथानक नभए पनि प्रमुख पात्रको उथलपुथल, उत्कण्ठा नियाल्दा लाग्छ– हामीभित्र पनि जुड जिउँदो हुन सक्छ । ऊभित्रको निरीहता, डर र ग्लानि हाम्रै भावना हो कि ! माया, प्रेम, मित्रता आदिमा भरोसा नगर्ने ऊ आफैँमाथि पनि भित्रैदेखि विश्वास गर्दैन । बालयौन शोषणमा परेको समलिंगी जुडले आफूलाई अपूर्ण र घृणित पात्र ठान्छ । भेटेजति साथीले प्रयोग मात्रै गरेकाले ऊ अरुलाई छुन सक्दैन र अरुले छोएको पनि मन पराउँदैन । एउटा मानिसले सहन सक्नेजति सबै पीडा उसले सहेजस्तो लाग्छ । यत्तिसम्म भाँचिएको र नाजुक चरित्र हेरेर निकै रोएपछि अनुभव गरेँ– शब्दको शक्ति यति बलियो हुँदो रहेछ । बालमनोविज्ञानमा परेको असरले जीवनभर नछोड्ने यथार्थलाई बुलन्द ढंगले किताबले बोलेको छ । निकै मर्मस्पर्शी भाषामा अभिघातका गहिराइलाई प्रभावकारी शैलीमा लेख्न सक्नु लेखकको खुबी लाग्यो । यानागिहाराको अन्तर्वार्ताबाट थाहा पाएँ, लेखकले एउटै पात्रलाई अत्यधिक दुःख दिएकामा प्रकाशकले असन्तुष्टि पोखेछन् । पाठकले जुडको दुःखलाई नपत्याउन सक्छ भनेका रहेछन् । मित्रता र संवेदनाले मानिसलाई परिवर्तन गर्न सकिने सन्देश दिए पनि हान्याले पात्रलाई लेखकीय न्याय भने नदिएझैँ लाग्छ । फरक लैंगिकतालाई अप्राकृतिक र पश्चिमा मुलुकबाट भित्रिएको विकृति ठान्ने हाम्रोजस्तो समाजको दृष्टि फराकिलो पार्न यस्ता किताब गतिलो पथप्रदर्शक हुन सक्छ ।
बिनासोचविचार शासकद्वारा लादिएको नीति–नियमले समाजका भुइँतहका जनतालाई कति असर पार्छ भन्ने देखाइएको छ, अ फाइन ब्यालेन्समा । रोहिन्टन मिस्त्रीको यो उपन्यासमा सन् १९७५ मा इन्दिरा गान्धीले भारतमा संकटकाल लगाएपछिको कथा छ । कथानक उति रोचक त होइन तर चार पात्रको जीवनमा आइपर्ने घटनाले भारतीय समाजको एउटा अनुहार उदांगो पारिदिन्छ ।
जातीय छुवाछूतको चेपुवामा परेर गाउँबाट निकालिएका दुई जना दर्जीले भोग्नुपरेको उत्पीडन कहालीलाग्दो छ । विभिन्न स्वार्थवश राज्यद्वारा धेरै युवालाई जबर्जस्ती परिवार नियोजन गरिन्छ । खासगरी आदिवासीको जनसंख्या घटाउन राज्यसंयन्त्र यति निर्मम बनिदिन्छ कि अविवाहित दलित युवकलाई समेत बन्ध्याकरण गरिन्छ । मानौँ, भाषणबाजीमा मात्रै जनता छन् तर राज्यनीतिमा जनताका लागि कुनै दयामायासमेत छैन ।
यो उपन्यासको दलित पात्रका ठाउँमा जब आफैँलाई राखेर सोचिन्छ, तब असह्य पीडा हुन्छ । सत्ता हत्याउन–टिकाउन राज्यव्यवस्था र उसले अँगीकार गरेको विचारधाराप्रति प्रतिरोधी भाव उम्लिन्छ । कथित ‘अछूत’ लाई घरमा नराख्न दिइएको दबाबलाई समेत वास्ता नगर्ने डिनामा भने सशक्त पात्रता र आशा देख्छु ।
प्रस्तुति : गुरुङ सुशान्त
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...