आवरण« सानेपामा टक्कर

- सन्तोष आचार्य

राजनीतिशास्त्री कृष्ण खनाल कांग्रेस सांसद गगन थापालाई बेलाबखत जिस्क्याउने गर्छन्, ‘तिमी त ६० वर्षपछि मात्र कांग्रेसको फस्ट पर्सन हुन्छौ होला है ?’ ४३ वर्षीय थापा जिज्ञासु बन्छन्, ‘किन र सर ?’ बुझाउने पालो सरको, ‘त्यतिबेला तिम्रो ऊर्जा नै समाप्त भइसकेको हुनेछ, ऊर्जाविहीन नेताबाट मुलुकले के लाभ लिन सक्ला र ?’ खनालको संकेत आगामी महाधिवेशनतिर हो, जहाँबाट थापाले कांग्रेसको नेतृत्व गर्ने सम्भावना देखेका छैनन् । अनि ५५ त उनले राजनीतिबाट संन्यासका लागि तोकेको वर्ष हो ।

डेढदेखि दुई वर्ष बाँकी छ, प्रमुख प्रतिपक्षी कांग्रेसको १४ औँ महाधिवेशनका लागि । तर कांग्रेस प्रवक्ता ४९ वर्षीय विश्वप्रकाश शर्मालाई जहाँ गए पनि शुभेच्छुकले दिने सुझाव हो, ‘अब पार्टीको नेतृत्व गर्नुपर्‍यो, यिनीहरू (हालको नेतृत्व) बाट अब चल्दैन ।’

शर्मा र थापालाई कांग्रेसको शीर्ष नेतृत्वमा देख्न चाहनेहरूको लर्को लामै छ । तर यथार्थ के हो भने निर्णयकर्ता यी दुई नेताका शुभेच्छुक होइनन्, महाधिवेशन प्रतिनिधि हुन् । सम्भवतः यी दुवै युवा नेता आगामी महाधिवेशनमा महामन्त्रीका प्रत्यासी हुनेछन् ।

०७७ फागुनसम्म १४ औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको कांग्रेस नेतृत्वले संविधानको विशेष प्रावधानको आड लिएर ६ महिना अरू लम्ब्याउन सक्छ । अर्थात्, कांग्रेसको आगामी महाधिवेशन ढिलोमा ०७८ भदौसम्म हुनेछ । विधानअनुसार कोषाध्यक्षबाहेक पदाधिकारी निर्वाचनमा जानुपर्नेछ । आगामी महाधिवेशनमा पहिलो पटक दुई महामन्त्री पद पनि निर्वाचित हुनुपर्ने प्रावधान छ ।

अबको महाधिवेशनले फेरि देउवालाई नै सभापति छान्ला ? कि सानेपास्थित कांग्रेस मुख्यालयको नेतृत्व देउवाइतर समूहका कुनै नेताले गर्छन् ? आम चासोको विषय हो, यो । देउवाले उक्त पदका लागि आफ्नो चाहना लुकाएका छैनन् । यसको कारण के पनि हो भने कार्यकर्ता र आम जनताबीच देउवा अलोकप्रिय मानिए पनि निर्णायक मत हाल्ने महाधिवेशन प्रतिनिधिमा भने उनले आफ्नो पकड राख्नेछन् । यदि अब चुनिएर आउने महाधिवेशन प्रतिनिधिको ठूलो समूहलाई आफ्नो पकडमा राख्न नसकेको स्थितिमा देउवाले सभापतिमा रामचन्द्र पौडेल र उपसभापतिमा श्रीमती आरजु राणालाई अघि सार्न सक्छन् । तर देउवा–पौडेल गठजोडको सम्भावना कमै देखिन्छ ।

कोइराला परिवारबाट महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाले नेतृत्वको दाबा सार्वजनिक नै गरिसकेका छन् । यसबाहेक रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सिंहका लागि पनि सभापतिबाहेक अन्य पदमा जाने अवस्था छैन । कांग्रेस महाधिवेशनमा दक्षिणी छिमेकी र नेपाली सेनाको एउटा समूहको विशेष रुचि रहेको स्थितिमा शशांक सभापति र देउवापत्नी आरजु राणा उपसभापतिको उम्मेदवार रहने स्थिति आउन सक्छ । यस्तो स्थितिमा देउवा कांग्रेसका ‘डिफ्याक्टो चेयरम्यान’ हुनेछन् । प्रधानमन्त्री बन्ने अवसर पाए देउवाले त्यसमा आफ्नो अरुचि देखाउने कुरै भएन । हिन्दु मुद्दा उठाउँदै आएका शशांकसँग संगठन हाँक्ने क्षमता नभए पनि बीपीपुत्र हुनुको लाभांश कति छ भन्ने देउवाले बुझिसकेका छन् ।

देउवाका लागि आफ्नै टिम व्यवस्थापन गर्न भने उति सहज छैन । पछिल्लो समय आरजु निकट विमलेन्द्र निधि र क्रियाशील सदस्यतामा आफूले चाहेको नभए पार्टी विभाजित गर्ने भनेर नेतृत्वलाई चुनौती दिइरहेका विजय गच्छदारको व्यवस्थापन कसरी गर्ने भन्ने टाउको दुखाइ हुनेछ, देउवालाई । यसबाहेक पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, प्रकाशशरण महत, ज्ञानेन्द्र कार्की, एनपी साउदलगायत आफ्ना निकटस्थका लागि पदीय बाँडफाँट देउवाले कसरी मिलाउलान् ?

वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति पदप्रतिको आफ्नो चाहना नलुकाए पनि बलियो टिम पाएका छैनन् । जस्तो, देउवा टिममा उनलाई सभापति पदमा चुनौती दिने अरू कोही छैन । तर देउवाइतर समूहमा भने उक्त पदका आकांक्षी धेरै छन् । यो समूहबाट पौडेल निर्विकल्प सभापतिको दाबेदार बन्न सकिरहेका छैनन् । आफू सभापतिमा उठे अन्य आकांक्षीको पदीय व्यवस्थापन पौडेलका लागि उसै पनि जटिल हुनेछ । यदि पौडेलले आफू सभापति बन्न सक्ने स्थिति देखेनन् भने शेखरलाई सभापति अनि गगन र रामशरण महतलाई आफ्नो समूहबाट महामन्त्री पदका लागि प्रस्ताव गर्न सक्छन् ।

सभापति पदका अर्का दाबेदार कृष्ण सिटौलाले पछिल्लो महासमिति बैठकपछि पौडेलको साथ पाउन सकेनन् । पौडेलले देउवासँग आफ्नो कुरा मिलेको बताएपछि सिटौला एक्लिएका छन् । देउवाइतर समूहमा रहेका प्रकाशमान सिंहदेखि शेखर–शशांक कोइरालासम्मले सिटौलालाई साथ दिन आवश्यक ठानेका छैनन् । महाधिवेशनको सँघारमा सभापति पदमा आफ्नो पराजय हुने देखेमा थापालाई सभापति पदमा लडाएर सिटौला ‘किङ मेकर’ पनि बन्न सक्छन् । यसै पनि सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, रामशरण महत, शेखर आदि सम्मिलित एउटा समूहले क्षेत्रीय अधिवेशनपछि जतिबेला महाधिवेशन प्रतिनिधि चयन गरिन्छ, त्यतिबेलाको स्थिति हेरेर आफ्नो समूहबाट सभापतिको दाबी गर्ने सहमति भएको दाबी स्रोत गर्छ । समूहले पौडेललाई यो सहमतिको ‘एरिना’ बाहिर नै राखेको छ । यसमा केसी र महत भने सभापतिका दाबेदार देखिएका छैनन् ।

महामन्त्रीमा महाभिडन्त

कांग्रेसको नयाँ विधानमा दुई महामन्त्री निर्वाचित हुने व्यवस्था छ । यसअघि एक निर्वाचित र अर्को मनोनीतको व्यवस्था थियो । शक्तिशाली दुई महामन्त्री पदका आकांक्षीको लर्को पनि सभापति पदकै जस्तो लामै छ । विशेषगरी संस्थापन समूहबाट प्रवक्ता विश्वप्रकाश शर्मा, वर्तमान महामन्त्री (मनोनीत) पूर्णबहादुर खड्का, सह–महामन्त्री प्रकाशशरण महत र बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदमध्येबाट महामन्त्री प्रत्यासी उतार्नुपर्ने बाध्यता देखिन्छ । संस्थापनइतरबाट थापा, महत र मीनेन्द्र रिजाल उक्त पदका आकांक्षी हुन् । संस्थापनइतरको यी सबै समूहमा थापा पहिलो रोजाइको महामन्त्री प्रत्यासी छन् । पौडेल थापासँगै महतलाई र हालका महामन्त्री शशांक उक्त पदमा रिजाललाई देख्न चाहन्छन् । पछिल्लो समय बढेको शशांक र रिजालको घनिष्टता राजनीतिक मैदानमा पनि देखिन सक्छ ।

यद्यपि शर्मा र थापा भने महामन्त्रीका खास दाबेदार हुन् । प्रस्ट दृष्टिकोण, क्षमता र कार्यकर्ता तथा आम जनमानसमा रहेको लोकप्रियताका कारण दुवै महामन्त्री पदमा आउन सके पार्टीले नयाँ गति लिन सक्छ भन्ने कांग्रेसजनको अपेक्षा अस्वाभाविक पनि होइन । कुनै बेला विद्यार्थी मोर्चामा र अहिले पार्टीको केन्द्रीय समितिमा सँगै रहेका शर्मा र थापाका लागि महामन्त्री पदमा उम्मेदवार हुन र उम्मेदवारी पाएर जित्न कति सहज छ त ?

संस्थापनको नयाँ सदस्य भएकाले देउवा समूहले महामन्त्रीमा शर्मालाई आनाकानी गर्न सक्छ । तर उनको लोकप्रियता र प्रवक्ताका रूपमा देखाएको क्षमतालाई देउवा स्वयंले भने उपेक्षा गर्न सक्ने स्थिति छैन । यसैले देउवाले उनलाई आफ्नो समूहबाट महामन्त्री पदका लागि १४ औँ महाधिवेशनमा उतार्न सक्छन् । यदि महामन्त्री पदका लागि छानिएन भने संस्थापनइतर समूहबाट सोही पदको प्रस्ताव उनलाई सहजै आउन सक्छ, जुन देउवाले चाहने देखिँदैन ।

शर्मालाई पनि सजिलो भने छैन । उनीसँग विद्यार्थी राजनीतिकालका साथीभाइ थापा, गुरु घिमिरे, प्रदीप पौडेल, बद्री पाण्डेलगायत हालका युवा नेता अहिले साथ छैनन् । संस्थापन पक्षले प्रवक्ता बनाएर आफूहरूबाट लगेपछि युवा नेताको एउटा जत्था शर्मासँग चिढिएको छ । शर्माबारे कांग्रेसका युवा नेता सुदर्शन आचार्यको टिप्पणी छ, “आफूले बनाएका मान्छेसँग विश्वप्रकाश शर्मा आफैँ हुनुहुन्न, गएको ठाउँ अर्थात् संस्थापन पक्षमा आफूले बनाएका मान्छे छैनन् ।”

एक एजेन्डाधारी, अर्का संस्कारी

४० को दशकदेखि झापाको स्ववियु राजनीतिबाट उदाएका शर्मामा हार स्वीकार्ने राजनीतिक संस्कार छ । चाहे त्यो स्ववियु निर्वाचन होस् वा संसद् अथवा जिल्ला सभापतिमा पराजित हुँदा उनले देखाएको राजनीतिक संस्कार अझै पनि धेरैको स्मरणमा ताजै छ । शर्माले विजयी पक्षलाई जहिल्यै खुला मनले बधाई दिँदै आएका छन् । ०६८ सालमा झापा कांग्रेसको सभापति पदमा शर्मा उद्धव थापासँग पराजित भए । विजयी थापालाई माला पहिर्‍याएर शुभकामना दिए, पराजय स्वीकारे । संविधानसभाको दोस्रो निर्वाचनमा झापा– १ बाट रविन कोइरालासँग पराजित भएका उनले त्यसलाई पनि सहज रूपमा लिए । गत संसद्को निर्वाचनमा पनि पराजित भए । उनले त्यसबेला पनि विजयीलाई बधाई दिए, माला पहिर्‍याइदिए ।

शर्माले ०५७ सालमा नेविसंघको सभापति भने जिते । दुई वर्षे कार्यकालभन्दा एक दिन बढी पनि उक्त पदमा बसेनन् । महाधिवेशन गराएर नयाँ नेतृत्वलाई नेविसंघ सुम्पिए । पार्टीको १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भए ।

कुनै बेला गिरिजाप्रसाददेखि सुशील कोइरालासम्मले रुचाएका थापा र शर्मा पटक–पटक दुवै कोइरालाको कोपभाजनको सिकार पनि बने । दुवै नेतालाई कोइरालाले नै अघि बढाएका थिए । पार्टी विभाजनका बेला बहुमत भ्रातृ/शुभेच्छुक संस्थाले देउवालाई साथ दिँदा यी दुवै नेता तत्कालीन संस्थापनमै बस्न रुचाए । ०४९ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका शर्मालाई राजनीतिक रूपमा हुर्काउन तत्कालीन झापा कांग्रेस सभापति कृष्ण सिटौलाको पनि भूमिका छ । अहिले शर्मा सिटौलासँग छैनन्,  बरु थापा त्यहाँ पुगेका छन् ।

झापा कांग्रेस सभापतिका उम्मेदवार उद्धव थापाविरुद्घ उम्मेदवारी दिएका कारण तत्कालीन कार्यवाहक सभापति सुशील कोइराला र सिटौलासँग सम्बन्ध बिग्रियो । त्यसैले उनले शशांक कोइरालाकहाँ शरण लिए ।

उता, ०५५ सालमा त्रिचन्द्र कलेजको स्ववियु सभापति निर्वाचित भएपछि विद्यार्थीमाझ शर्माजस्तै लोकप्रिय बन्दै गए । राजा ज्ञानेन्द्रको प्रतिगमनविरोधी प्रदर्शनलाई थापाले राजतन्त्रविरोधी तथा गणतन्त्रको पक्षमा युवालाई उचालेको आरोप लगाउँदै तत्कालीन सभापति गिरिजाप्रसादले पार्टीमा किनाराकृत गर्न थाले । कोइराला परिवारबाट प्रताडित थापाले १३ औँ महाधिवेशनमा गिरिजा र सुशीलका भतिज शशांकविरुद्घ महामन्त्रीमा उम्मेदवारी दिए पनि पराजित भए । आलोचित नेतृत्वको आलोचनाले पनि उनलाई स्थापित गरायो ।

०७४ सालको संघीय संसद्को निर्वाचनमा शर्मा र थापाबीच एकअर्काको सकारात्मक पक्षबारे बोलेको भिडियोको ‘क्लिप’ सामाजिक सन्जालमा आएकै थियो । दुवैको पहिलो भेट त्रिचन्द्र कलेजमा भएको थियो, ०५३ को स्ववियु निर्वाचनको माहोलमा । त्यसको दुई वर्षपछि ०५५ सालमा त्रिचन्द्रमा स्ववियु सभापति बनाउन शर्माले नै थापालाई सहयोग गरे ।

राजनीतिक संस्कार र वाककलाको सम्बन्धमा दुवै नेताको प्रशंसा कांग्रेसभित्र मात्रै होइन, इतरपार्टीमा पनि हुन्छ । शर्मामा राजनीतिक संस्कार मात्र होइन, सांगठनिक क्षमता पनि उत्तिकै छ । विद्यार्थी नेताका रूपमा आफ्नो क्षमता देखाइसकेका शर्माले फागुन ०७५ मा फ्रवक्ता नियुत्त भएपछि पार्टीलाई चलायमान बनाउन सक्दो कसरत गरे । शर्माले संस्थापनसँग नजिक रहेर क्षमता देखाउन सकिन्छ भन्ने बुझेरै आफ्नो राजनीतिक उचाइ स्थापित गर्न खोजे ।

राजनीतिशास्त्री कृष्ण खनाल कांग्रेसलाई खुला र लोकतान्त्रिक पार्टी बनाउन शर्मा र थापाले हस्तक्षेप गर्न सक्नुपर्ने औँल्याउँछन् । कांग्रेसभित्रको नोकरशाहीतन्त्र समाप्त पारेर जनमतका आधारमा नेता बनाउनुपर्ने उनको जोड छ । “पार्टीभित्र अस्वस्थ वातावरण छ । कुनै ठूलो नेताको फेर नसमातीकन जोगिन सकिँदैन भन्ने स्थिति छ । कसैको डिपेन्डेसीबाट नेतृत्व आउँदैन, आए पनि त्यो प्रभावकारी हुँदैन,” खनाल भन्छन्, “युवा नेतृत्व डिपेन्डेन्ट होइन, इन्डिपेन्डेन्ट हुनुपर्छ ।”

उनको शब्दमा समाजले खोजेको एउटा कुरा छ, कांग्रेसले दिइरहेको छ अर्को कुरा । युवाले हामी फुर्तिला छौँ भनेर नेतृत्वमा आउने होइन, मुद्दा र दृष्टिकोणले आउने हो । रहरलाग्दा शर्मा र थापा हेरेर कांग्रेसलाई साथ दिने युवा जमात ठूलो छ । उनीहरूबाट केही आशा पनि छ ।

खासमा नेतृत्व निर्माणको अवधि भनेको ३० देखि ४० वर्षको हो । जसले यो उमेरमा आफ्नो क्षमता देखाउँछ, त्यो नै नेतृत्वमा आउने सम्भावना हुन्छ । “जोखिम लिन नसक्ने मान्छे मूल नेतृत्वमा आउन सक्दैन । यी दुवै नेता रिस्क टेकर बन्न सकिरहेका छैनन्, उनीहरूको बाध्यता पनि होला,” खनालको विश्लेषण छ, “रिस्क लिँदा सदालाई फालिन्छ कि भन्ने भय उनीहरूले तोड्नु जरुरी छ । युवामा सामूहिक प्रयत्न छैन, भए पनि त्यसले निरन्तरता पाएको छैन ।”

अहिले नेतृत्वको जुन पहिलो पंक्ति छ, त्यसलाई नाघेर हामीले अब्बलता देखाउँछौँ, पार्टी र लोकतन्त्रलाई नै नयाँ जीवन दिन्छौँ भन्ने हिम्मत पार्टी नेतृत्वको दाबी गरिरहेका युवा नेताबाट प्रदर्शन हुन नसकेको बताउँछन्, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य । “पुरानै नेतृत्वसँग शक्ति लेनदेन गरेर नेतृत्वमा आउने हो भने त्यो पनि पत्रु नेतृत्व नै हुनेछ, युवाले उनीहरूको अपरिहार्यता सिद्घ गर्न सक्नुपर्छ,” आचार्यको कथन छ,” दृष्टिकोण, नेतृत्व क्षमता र साहसिक निर्णयका हिसाबले युवा पुस्ताले आफूलाई स्थापित गर्न सक्यो भने मात्र पुरातन नेतृत्वको यथास्थिति भंग हुन्छ । अन्यथा अहिलेका युवा नेताहरू पनि फाइल बढुवा कांग्रेस नै सावित हुनेछन् ।”

देउवाले चोरेका शर्मा

पार्टी नेतृत्वलाई चुनौती दिँदै आएका सात भाइको समूहमा ब्रेक लगाउन सभापति शेरबहादुर देउवा सफल भए । गत आमनिर्वाचनमा कांग्रेसले हार बेहोरेपछि युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे, गुरु घिमिरे एक ठाउँ, एक स्वर गर्दै पार्टी रूपान्तरणका लागि लबिइङ सुरु गरेका थिए । तर देउवाले शर्मालाई प्रवक्ता बनाएपछि त्यो समूह छिन्नभिन्न भयो । देउवाले थापालाई धक्का दिएको घटना थियो, त्यो ।

 शर्मा र थापा आ–आफ्नै क्षमताका कारण कांग्रेसभित्र मात्रै होइन, कांग्रेसइतर दलमा पनि प्रिय मानिन्छन् । दुवै एक ठाउँ आउँदा देउवाले ‘थ्रेट’ अनुभव गरे र शर्मालाई आफ्नो समूहमा ताने । थापाको यो समूहको सामना देउवाले शर्मामार्फत गर्दै आएका छन् । पार्टी प्रवक्ताका रूपमा पहिलो पक्रकार सम्मेलनमा बोल्ने त्रममा शर्माले त्यसको संकेत पनि गरेकै हुन् । उनले त्यो बेला भनेका थिए, ‘एजले होइन, एजेन्डा हुनेले कांग्रेसको नेतृत्व गर्छ ।’

कतिसम्म भने नेपाल प्रेस युनियनको २८ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा शर्मा र थापाबीच अहिलेको नेतृत्वले कम्युनिस्ट सरकारविरुद्घ मोर्चा कस्न

सक्छ ? भन्ने विषयको बहसमा थापाले अहिलेकै नेतृत्वबाट पार्टीमा जागरण नआउने बताएका थिए । त्यसको जवाफमा शर्माले पार्टी नेतृत्व परिवर्तन आवश्यक नरहेको भन्दै देउवाको बचाउ गरेका थिए । खासमा चुनाव परिणामले निराश कांग्रेसभित्र हलचल ल्याउन र पार्टी शुद्घीकरणका लागि विशेष महाधिवेशन माग गरिरहेको थियो, युवा नेतृत्वले ।



‘महामन्त्री दाबेदार हुँ, आइपरे सभापति उठ्छु’– गगन थापा

नेपाली राजनीतिमा कांग्रेसको पुनः आगमन होला ?

सामान्य प्रयासले कांग्रेसको पुनः आगमन सम्भव छैन । नेतृत्व कर्मकाण्डी छ । विगतमा जे गरिरहेको थियो, त्यही नै गर्ने प्रवृत्ति छ । नयाँ सोच र अभ्यासमा अरुचि देखाउने संस्कार छ । टालटुल मात्र गर्न खोज्ने सोचले समस्या झनै थपिन्छ । कांग्रेसलाई पुनर्जीवन दिन कांग्रेसजनले मात्र अनुभूति गरेर हुँदैन, आम जनतामा पनि कांग्रेसले धेरै सुधार गर्‍यो भन्ने अनुभूति हुनुपर्छ ।

त्यो सुधार कसरी हुन्छ ?

कांग्रेसभित्र एउटा यस्तो महाअभियान चाहिएको छ, जसले सिद्घान्तको पुनर्निर्माण गर्नुपर्नेछ, पार्टी संगठनको पुनर्गठन गर्नुपर्नेछ, पार्टी आचरणमा शुद्घता खोज्नुपर्नेछ । यो सब गर्नका लागि भन्दा तीतो होला तर बासी नेतृत्वबाट सम्भव छैन । कांग्रेसको यही नेतृत्वबाट जनतासँग टुटेको सम्बन्ध जोड्न असम्भव छ । त्यसैले आगामी महाधिवेशनबाट बासी नेतृत्वलाई ‘बाइ–बाइ’ गर्नैपर्छ ।

पार्टीलाई युवाले सुधार्ने कि एजेन्डाले ?

बिर्सन नहुने के हो भने नेतृत्व रातारात बन्ने होइन । नेतृत्वप्रति बनेको आम धारणा पनि रातारात परिवर्तन हुने होइन । कांग्रेसका मुख्य–मुख्य नेताबारे आम धारणा जे बनेको छ, त्यो हामीले बनाइदिएको होइन । संकटको यस्तो बेलामा नेतृत्वको त्यही पंक्तिले कांग्रेसलाई पार लगाउन सक्दैन । यो कुरा कठोर छ तर कांग्रेसजनले मान्नैपर्छ । अबको महाधिवेशनले यसको टुंगो लगाउनेछ ।

के पार्टीभित्र युवा हस्तक्षेप आवश्यक हो ?

पार्टीभित्र नेताहरूको एउटा यस्तो समूह छ, जो ०४६ सालदेखि निरन्तर मुख्य ठाउँमा छ । उहाँहरू सांसद, मन्त्री, प्रधानमन्त्री, सभापति भइसक्नुभयो, पार्टीको जिम्मेवार भूमिकामा पनि बसिरहनुभएकै छ । उहाँहरूको क्षमता र सीमाबारे जनता जानकार छन् । एउटा उमेरको मान्छे सक्षम र अर्को उमेरको व्यक्ति अक्षम भन्नु वैज्ञानिक हुँदैन । त्यसैले म पुस्ताको कुरा गर्दिनँ । जोसँग क्षमता छ, नेतृत्व उसैले लिन्छ । निवेदन लेखेर वा गुहार मागेर नेतृत्व हस्तान्तरण हुँदैन । पार्टी सभापतिदेखि वरिष्ठ नेतालाई मैले विनम्रतापूर्वक भनिरहेको छु कि तपाईंहरू अझै नेतृत्वमा रहनुभयो भने पार्टीलाई थप क्षति हुन्छ । 

भागबन्डाको राजनीति सकेसम्म असहयोग गर्ने प्रचलनले पार्टी कमजोर भएको सभापतिको गुनासो नि ?

पार्टीको नेतृत्व गर्छु भनेर महाधिवेशनबाट निर्वाचित सभापतिले ‘अरूले गर्दा सकिनँ’ भन्न मिल्दैन । नेतृत्वको टोपी उहाँले लगाएकै हो । यसबाट उम्किन मिल्ने सुविधा सभापतिलाई छैन ।

अबको महाधिवेशनमा तपाईंलगायत विश्वप्रकाश शर्माहरू निर्णायक ठाउँमा आउन सक्लान् ?

विश्वप्रकाश शर्मा मात्र होइन, अरू युवा साथी पनि नेतृत्वमा आउनुपर्छ । जसले पार्टी र सरकार वा कतै पनि भूमिका पाउन सकेका छैनन्, तिनलाई नेतृत्वमा ल्याउनुपर्छ ।

आगामी महाधिवेशनमा तपाईं महामन्त्रीको दाबेदार हो ?

हो, म महामन्त्रीको दाबेदार हुँ । उस्तै परिस्थिति निर्माण भयो भने म सभापतिको उम्मेदवार पनि हुन सक्छु ।

 ‘प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन’– विश्वप्रकाश शर्मा

कांग्रेसको मुख्य समस्या मूल नेतृत्व नै हो ?

७० वर्ष पुरानो पार्टी भएकाले कहिले प्रेसर, कहिले डाइबेटिज हुनु स्वाभाविक हो । उमेरजन्य कारणले पनि कतिपय समस्या आउँछन् । अहिले हामी नवीनताको खोजीमा छौँ ।

१४ औँ महाधिवेशनले कांग्रेसको रूपान्तरण गर्ला त ?

महाधिवेशन पार्टीको आन्तरिक जीवनको विषय हो । महाधिवेशनपछि होइन, अहिले नै रूपान्तरणका लागि हिँड्नुपर्छ । हामी त्यही चरणमा छौँ । यसले महाधिवेशनमा पुग्दै गर्दा गति लिन्छ ।

कांग्रेसभित्र  बारम्बार युवा हस्तक्षेपको कुरा उठ्छ नि ?

म आफूलाई युवा दाबा गर्दिनँ । ‘वन्स अपन अ टाइम आई वाज योङ ।’ मेरो भनाइ के हो भने विश्वप्रकाशहरू पनि छन्, तिनीहरूअघिको पुस्ता पनि छ, पछाडिको पुस्ता पनि छ । यी तीन वटै पुस्ताको संयोजन गरेर लैजानुपर्छ । आगामी महाधिवेशनमा युवा बढीभन्दा बढी आउनुपर्छ । 

युवालाई पार्टीको शीर्ष तहमा ल्याउने सवालमा पार्टी नेतृत्व अलि अनुदारवादी हो ?

पाका आउँदै गर्दा वर्तमानको कुरा मात्र आउला । तरुण आउँदा आफूसँगै भविष्यसम्मको अनन्त सम्भावना ल्याएको हुन्छ । भविष्यदृष्टि पनि पुग्ने गरी युवाको बढोत्तरी होस् भन्नेमा मेरो पूर्ण सहमति छ । प्रवक्ताका रूपमा भने म दुवै पुस्तालाई सन्तुलन गरेर जानुपर्छ भन्छु ।

हस्तक्षेप गर्न सक्ने युवा पुस्ता देखिन्छ कांग्रेसभित्र ?

राज्य पुनर्संरचनाको मुद्दामा पाका नेताहरूले बोल्नुअगाडि युवाले बोलेकै हुन् । संविधानसभामा जाने विषयमा पनि पार्टीले भन्नुभन्दा अघि विद्यार्थी संगठनबाट हामीले भनेकै हो । गणतन्त्रको मुद्दालाई कांग्रेसको युवा पुस्ताले सडकबाटै उठाएको हो । पार्टीभित्र युवा पुस्ताको भौतिक उपस्थिति पर्याप्त छैन । तर विचारगत हिसाबले हेर्ने भने पाकाहरूले अहिले बोकिरहेका मुद्दा पहिले युवाले नै प्रवेश गराएका हुन् ।

युवा नेताले कुनै कुनै नेताको फेरो समातेको देखिन्छ

यो वा त्यो, जे भने पनि सबै हाम्रा नेता हुन् । एकअर्कासँग गाँसिने, एकअर्कासँग विलय हुने र एकअर्कोबाट शक्ति हासिल गर्ने राजनीतिको स्वाभाविक प्रक्रिया हो ।

पाका नेतृत्वले कुर्सी ओगटेर बस्दा पछिल्लो पुस्ताको पर्खाइ लम्बिँदैन ?

पार्टीभित्र ०४६ सालको आन्दोलनको पुस्ता प्रशस्तै छ । अझ पछिल्लो समय त ०६२/०६३ को आन्दोलनको पुस्ता पनि नवीन ऊर्जाका साथ पार्टीमा आएको छ । अघिल्लो भन्दा मेरो पुस्ता ऊर्जाशील होला । तर मेरोपछिको नयाँ पुस्ता झनै ऊर्जाशील छ । हो, यदि पाको पुस्ता नेतृत्वमा रहन चाहन्छ भने पछिल्लोभन्दा निश्चित दृष्टिकोण र पार्टीलाई ‘ड्राइभ’ गर्ने कार्यक्षमता त हुनैपर्छ ।

तपाईं महामन्त्रीको तयारीमा हुनुहुन्छ ?       

मैले पनि त्यही सुनिरहेको छु । ठीक समय यो कुरा भन्छु । तर विश्वप्रकाश शर्मा पार्टी प्रवक्ताको पदबाट रिटायर्ड हुने गरी कांग्रेस राजनीतिमा आएको होइन ।

 ‘नयाँ पुस्तामा नयाँ कुरा छैन’– प्रदीप गिरी

तस्बिर : सरोज बैजु


समृद्धिको विमर्श पनि नेकपाले नेतृत्व गर्ने, समाजवादको पनि नेकपाले कांग्रेस यो बहसमा कसरी छुट्यो ?

बीपीले सन् १९७७ मा नेपाल फर्केपछि विकासको मोडल गलत छ भन्नुभयो । समृद्धिको विमर्श यहीँबाट सुरु हुन्छ । बीपीले गरिबलाई खान छैन, यति ठूला एयरपोर्टको के काम भन्नुभयो । यो किसिमको बहस पुँजीवादको जन्म भएको अवधिदेखि नै छ । बीपीले बोलेर, किशुनजी र गणेशमानजीले बाँचेर यो विचार विकास भयो । अहिले जसले समृद्धिको सपना देखाए, तीसँग समृद्धिको भ्रान्ति छ । हामीसँग समृद्धिको वैकल्पिक सपना छ । हाम्रो अभावलाई तपाईं सिंगापुरको समृद्धिबाट हटाएर हेर्न सक्नुहुन्न । ओली–खतिवडा थ्योरीले यसलाई बुझ्न सक्दैन ।

हामी के कारणले गरिब भयौँ त ?

हामी यस कारणले गरिब छौँ, हाम्रो समाजमा समरसता छैन । तीन प्रमुख इकाइ आर्यखस, मधेसी र जनजातिबीच राज्य बनाउन हुनुपर्ने जति निकटता छैन । हामी दलितसँग राम्रो व्यवहार गरिरहेका छैनौँ । महिला अझै दुई नम्बरका नागरिक छन् । मध्यपूर्वमा २०–३० हजार कमाएका नागरिकले त्यहाँका कारखाना धनी बनाएका छन् ।

छलफल गर्नुपर्ने यस्ता विषय रहेछन् तर कांग्रेसकै नेताहरू किन धर्मको एजेन्डातिर लहसिएका ?

कांग्रेसले धर्मको विषय औपचारिक रूपमा होइन, लाज मानीमानी उठाइरहेको छ । भारतमा पनि यो प्रवृत्ति देखियो । मानिस कुनै न कुनै किसिमको विचारले प्रेरित भएर हिँड्ने प्राणी हो । अपठित भनिएको मानिससँग पनि विचार हुन्छ । तर पछिल्लो ३० वर्षमा विचार भन्ने चीजको कुनै मतलब नै देखिन छाडेको छ । बरु धार्मिक नस्लवादी उन्माद बढ्दै छ ।

विचारको यो विनाशमा टिभी र स्मार्टफोनको कति भूमिका छ, यो भनिराख्नुपर्ने विषय होइन । जस्तोसुकै गम्भीर वा चिन्तनशील मानिसले पनि कम्तीमा एक घन्टा त स्मार्टफोनमा बिताइरहेकै छ । यो विचारविरोधी समयको असर कांग्रेसमा पनि परेको छ । यसले हिन्दु, मुसलमान, पहाडी, मधेसीलगायत नारामा आकर्षण देखिएको हो । भोट पाइन्छ भने यसो किन नगर्ने भन्ने कतिपयलाई परेको छ । भोटको राजनीतिको असर यस्तै हुन्छ ।

कांग्रेसमा देउवा–रामचन्द्रकै नेतृत्व कहिलेसम्म ?

देउवा–रामचन्द्रको युग अन्त्य होला कि नहोला तर अन्त्य हुनुपर्छ भन्ने म ठान्छु । अझ भन्नुपर्दा यो युग गिरिजा–माधवकै युगको निरन्तरता हो । देउवा, रामचन्द्र, ओली आदि त्यसैका निरन्तरता हुन् । माओवादीमा पनि लगभग त्यही देखियो । संसदीय प्रजातन्त्रको यो फ्रेमवर्कमा बसेर चुनाव लड्दा मान्छेले कति खर्च गरे, तपाईंलाई थाहै होला । आज कांग्रेसको संकट वैचारिक हो । विचारको संकट भएपछि यस्तै हुन्छ । गिरिजा–माधव युग अन्त्य गर्ने गरी माओवादीले केही गर्ला कि भन्ने थियो, त्यो पनि भएन ।

कांग्रेसको नयाँ पुस्ताले कत्तिको आशा सञ्चार गर्न सकेको छ ?

कांग्रेसमा आइरहेको पुस्तालाई उमेरका हिसाबले तेस्रो पुस्ता भन्न सकिन्छ । ६० काटेकाको एउटा पुस्ता छ, ५० काटेकाको अर्को । ४० र ५० का बीचका आठ/दस युवा छन्, केन्द्रीय कार्यसमितिमा निर्वाचित छन् । उनीहरूको सक्रियता, केन्द्रीय समितिमा तिनको हस्तक्षेप, स्वभाव, प्रस्तुति हेर्दा केही गर्लान् भन्नेमा म पनि विश्वस्त छु । उनीहरूको सैद्धान्तिक अध्ययन, पढाइलेखाइ यही शून्यताका ३० वर्षकै बीचमा भयो । तर विकल्प खोइ त ? उनीहरूलाई अघिल्लो पुस्ताले ‘टिना’ थ्योरी सिकाइदिएको छ– देयर इज नो अल्टरनेटिभ । यसलाई टिना युगको असर पनि भन्न सकिन्छ ।

कांग्रेसमा नयाँ पुस्ताको विशेषता के हो ?

उनीहरूसँग नया कुरा केही छैन, म भए देखाइदिन्थेँ भन्ने मात्रै छ, यो पुस्तासँग । अहिलेका शीर्ष नेताको जस्तै भावना छ । युद्ध चलिरहेका बेला हाम्रा नेताहरू भन्थे, माओवादीलाई म मिलाइदिन्छु । तर कसरी भन्ने कसैलाई थाहा थिएन । त्यस्तै, नयाँ पुस्तालाई पनि म देखाउन सक्छु भन्ने छ । मानौँ, अर्को कुनै विकल्प छैन । त्यसैले अहिले भर्खरै अर्को विचार पनि आएको छ । एस, देयर इज अल्टरनेटिभ । उनीहरू टिना युगबाट मुक्त हुन आवश्यक छ ।

अहिले त ‘निटा’ पनि आएको छ... नरेन्द्र (मोदी) इज द अल्टरनेटिभ ।

हुन सक्छ । तर यो पनि टिना युगकै उपज हो ।

प्रकाशित: भाद्र १८, २०७६

×