नेपाल गरिब छैन

- लक्ष्मण गाम्नागे

नेपाल गरिब देश होइन । यहाँ जताततै पैसाको छेलोखेलो छ । हामी नेपालीले मात्र यहाँको पैसा सम्हाल्न नसकेको ठानेर विदेशीहरू पनि बेलाबेला पैसा बटुल्न आउने गरेका छन् । भर्खरै चिनियाँको एउटा टुकडी आएर दुई-चार वटा एटीएम मेसिनबाट केही मिनेटमै बिटाका बिटा पैसा जम्मा गरेको हामीले देख्यौँ । चीन र भारत मात्र होइन, बंगलादेश, पाकिस्तान, नाइजेरिया, रुस, स्पेनदेखिका ह्याकर, चोर यहाँ प्रशस्त पैसा पाइन्छ भनेर आउँछन् र लिएर जान्छन् । नेपालका गल्लीगल्लीमा पैसा, टोलटोलमा पैसा, सटरमा पैसा, बुथमा पैसा, घरघरमा पैसा छ । अनि नेपाल कसरी गरिब भयो ?

यहाँ धनसम्पत्तिका अथाह कारोबार जहिलेसुकै र जतासुकै भइरहेका छन् । नाका र भन्सारबाट बोराका बोरा सुन ओसारपसार हुन्छन् । नक्कली नोटका करोडौँ-अर्बौँका कारोबार हुन्छन् । मालपोत, भन्सार, कर, अदालत, खोलानाला, बगर वा भट्टीमा हरेक दिन कति पैसाको कालो कारोबार हुँदो हो ! सरकारी जग्गाजमिन, वनजंगल हुँदै बालुवाटारदेखि टुँडिखेलसम्मका जग्गा खरिदबिक्रीमा संलग्न दलाल, कर्मचारी र नेताहरूले कति क्विन्टल रकमको लेनदेन गर्दा हुन् ! अनुमान गर्दा नै आत्तिएर ढल्न सकिन्छ ।

निर्वाचनका बेलामा हेर्नुस्, एउटा साधारण वडा सदस्यको उम्मेदवारले चुनाव लड्न लाखौँ रकम खर्च गर्छ भने एउटा सांसदको उम्मेदवारले करोडौँ खर्च गर्छ । पेसा व्यवसायका नाममा वरको सिन्को पर नसारी राजनीतिक दलका नेता-कार्यकर्ता आलिसान महलमा बस्छन्, प्राडो-पजेरो चढ्छन्, देशविदेश सयर गर्छन् । करोडौँका थैली बुझाएर राजनीतिक नियुक्ति हुन्छन् । एउटा मन्त्रीले ५/७ वटा सवारी साधन आफ्नो कब्जामा राखेर छानीछानी कुदाउँछ । नेता, मन्त्री, प्रशासक, प्रहरी, सेनाका अधिकारी हरेकका छोराछोरी विदेशमा पढ्छन् । कति बाबुआमाले त छोराछोरीकै नाममा विदेशी बैंकमा अर्बौँ रकम जम्मा गर्ने र विदेशको कमाइ भन्दै देशमा भित्र्याउने गरेको पनि सुनिन्छ । हाम्रा नेताहरू संसारका जुनसुकै देशका जतिसुकै महँगा अस्पतालमा उपचार गराउन सक्ने हैसियत राख्छन् । नेता-कार्यकर्ता लस्करै लागेर विदेशमा उपचार गराइरहेका आफ्ना नेतालाई भेट्न जहाज चार्टर गरेरै भए पनि जान सक्छन् ।

संघीयता लागू भएपछि पैसाको खेलो झनै बढेको छ । स्थानीय निकायका निर्वाचित सर्वहारा वर्गका जनप्रतिनिधिसमेत करोडौँ मूल्यका सुविधासम्पन्न गाडी चढ्छन् । पहाड, मधेसका कुनाकन्दरामा राष्ट्रिय झन्डा फरफर्‍याउँदै सयौँ गाडी दौडिरहेका भेटिन्छन् । पैसा धेरै भएर स्थानीय निकायले भीरमा पैसा छरेका छन्, पहिरोमा पोखेका छन्, पोखरीमा पुरेका छन्, खाडलमा रोपेका छन्, खोलामा बगाएका छन्, पुलमा ओछ्याएका छन्, चन्दा बाँडेका छन्, विदेश सयर गरेका छन् । त्यति गर्दा पनि पैसा नसकिएर वर्षैपिच्छे बजेट फ्रिज भएका समाचार आउँछन् । ल हेर्नुस्, नेपालमा पैसा ! त्यत्तिकै नेपाललाई गरिब राष्ट्र भनेर हेप्न पाइन्छ ?

पैसाको मात्र होइन, नेपालमा बेरोजगारीको पनि समस्या बाँकी छैन अब । पछिल्लो अनुमानअनुसार सम्पूर्ण जनसंख्याको ५० प्रतिशत नेपाली पत्रकारितामा संलग्न छन् । उति नै संख्यामा ज्योतिषी छन् । ८० प्रतिशतभन्दा बढी नेपाली राजनीतिज्ञ छन् । प्रायः सबै नेपाली इन्जिनियर र चिकित्सक छन् । सबै नागरिक जान्ने-सुन्ने, नेता र अगुवै अगुवा छन् । धनले कोही गरिब छन् भने पनि ज्ञानले नेपाल गरिब छैन । आइन्दा कसैले नेपाललाई गरिब नभनून् । चेतना भया ।

प्रकाशित: भाद्र २२, २०७६

ट्याग: झटारो
×