[सम्पादकीय] जासुसी उपन्यास काण्ड र 'स्मल कन्ट्री सिन्ड्रोम'
उपन्यास इन्साइड नेपाल र त्यसमा आधारित भएर गत साता छापिएका खबरले । यो प्रेसको कमजोरी मात्रै होइन, काठमाडौँका विचार अड्डाहरूमा उपस्थिति देखाउँदै आएका मानिस पनि यसैका पछाडि दगुर्न पुगे ।
भारतीय अभिनेता ऋतिक रोशनले नेपालीलाई हियाएर बोले रे भन्ने हल्लालाई पुष्ट्याइँबिनै चितवनको एक पत्रिकाले खबर बनाउँदा दुई दशकअघि देशै ठप्प भयो । सप्तरीमा एकको ज्यान गयो भने असंख्य घाइते । काठमाडौँमा मधेसी र केही भारतीय मूलका बासिन्दामाथि कुटपिटका घटना भए ।
हल्लाराजका दृष्टान्त अरू पनि छन् । नेपाल-भारत दुवैतिरका मानिसले यस्ता हल्लामा आनन्द लिने गरेका छन् । प्रणव मुखर्जी भारतका विदेशमन्त्री छँदा मध्यपूर्वको एक कार्यक्रममा गएर भने, 'नेपालमा राजतन्त्र फाल्न हामीले भूमिका खेलेका हौँ ।' ००७ सालयताका विभिन्न परिवर्तनमा भारतीय लोकतन्त्रको ऐक्यबद्धता, सहायता र चलखेललाई झिनो रेखाले छुट्टयाउने गरेको छ । यही रेखाले यथार्थ र षडयन्त्र सिद्धान्तबीचको अन्तर धूमिल बनाइदिएको छ । सन् १९५० तिर जवाहरलाल नेहरुले मातृकाप्रसाद कोइरालालाई लेखेका चिट्ठीदेखि सन् २०१० को दशकमा प्राध्यापक एसडी मुनीको नेपाल इन् ट्रान्जिसन् : फ्रम पिपुल्स वार टु फ्रजाइल पिस पुस्तकभित्रका लेख यसैको सिलसिलामा देखिन आउँछन् ।
भारतीय सत्तावृत्तका मानिसहरू जति चलखेल गर्छन्, त्योभन्दा बढी चलखेलको भ्रम दिन रुचाउँछन् । प्रगतिशील, लोकतन्त्रवादी होऊन् या दक्षिणपन्थी- जोसुकै भारतीयको नेपाल-नीति र प्रवृत्ति उही छ । कुनै बेला माओवादी बैठक चल्दाचल्दै गेट-क्रयास गरेर प्रचण्डको लाजिम्पाट निवास छिर्ने राकेश सुददेखि, जयन्त प्रसाद, रणजीत राय, जयशंकर सबैको रवैया एकैनास थियो । आजपर्यन्त यो प्रवृत्ति उस्तै छ । यहाँका नेताले जेसुकै निर्णय लिए पनि त्यसमा भारतीय प्रभाव छ भनी तर्क गर्नेलाई कूटनयिकका यस्ता व्यवहारले पुट दिने गरेका छन् ।
यस्तैमा आइपुगेका छन्, भारतीय गुप्तचर संस्था 'रअ' का भूतपूर्व विशेष निर्देशक अमर भूषण । आज सञ्चारले डिजिटल फड्को हानिसक्दा पनि सही सूचनाको अनिकाल अझै छ भन्ने प्रस्ट्याए- यिनको उपन्यास इन्साइड नेपाल र त्यसमा आधारित भएर गत साता छापिएका खबरले । यो प्रेसको कमजोरी मात्रै होइन, काठमाडौँका विचार अड्डाहरूमा उपस्थिति देखाउँदै आएका मानिस पनि यसैका पछाडि दगुर्न पुगे ।
पुस्तक कुन विधाको हो, हिजोआज गाताहरू बोल्दैनन् । प्रकाशक हार्पर कलिन्सले नेपालको राजतन्त्र हटाउन रअले सन् १९९० देखि नै अपरेसन थालेको, तर त्यसले २००६-२००९ मा मात्रै पूर्णता पाएको भूषणको लेखनलाई उपन्यास हो भनी बाहिरी गातामा उल्लेख गरेको थिएन । पुस्तकबारे पहिलो खबर छाप्ने भारतीय पत्रिका डीएनएले भित्री गाताको सूचना प्रस्ट्याइदिन सक्थ्यो । नेपालबाट प्रकाशित खबरहरू त्यही समाचारमा आधारित भएर बिनासवाल प्रमुखतासाथ छापिए । गल्ती पत्ता लाग्दासम्म लाखौँ पाठकले खबर पत्याइसकेका थिए ।
प्रेसबाट पनि यदाकदा त्रुटि हुन्छन् । यो प्रकरणले हामी भारतभन्दा भूगोल, जनसंख्या र आर्थिक आधारमा कमजोर भएर बाँचेको सानो देश हुनुको लघुताभासबाट कतिसम्म ग्रस्त रहेछौं भन्नेबारे विगतदेखिको कुण्ठाको पुनरावृत्तिसमेत गराइदिएको छ । भारतलाई पनि नेपालमा 'नभएको प्रभाव' समेत देखाउने मौका 'रअ' कर्मचारीको पछिल्लो काल्पनिक पुस्तकजस्ता घटनाहरूले दिइरहेका छन् । आखिर तिनको के जान्छ, पत्याइदिने यहाँ छँदै छन् !
जनताको बहुसंख्या भने ठीकै सोच्छ । जसले जतिसुकै कथा हाले पनि राजा फाल्ने आन्दोलनमा बीसौं लाख नेपाली ओर्लिएको सत्य हो । इतिहासमा राजतन्त्रबाट पटक-पटक धोका पाउँदै आएका सार्वभौम जनताको निर्णयलाई कुनै पनि निहुँ झिकेर अवमूल्यन गर्ने छूट कसैलाई छैन । गणतन्त्र हाम्रो संविधानको अभिन्न अंग भइसक्यो । सत्तासञ्चालकका अनेक कमजोरी छन्, तर तिनलाई देखाएर राजतन्त्रको औचित्य अब पुष्टि हुन्न ।
जहाँसम्म भारतको प्रसंग छ, नेपाली सानो देश हुनुको हीनभावबाट अब माथि उठ्नुपर्छ । हामी त यसै पनि भूपी शेरचनले लेखेझैँ हल्लैहल्लाको देशका नागरिक पर्यौँ । तर आइन्दा नेपालबारे लेख्दा भारतीय प्रेसबाट थप संवेदनशीलताको अपेक्षा गर्नु अनुचित हुँदैन । अनि हाम्रा लागि पनि यो उपन्यास काण्ड एउटा पाठ बन्न गएको छ ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...