नदेखिएका बीपी
बुबा बीपी कोइरालाको सार्वजनिक जीवनका प्रायः सबै पाटा देशलाई थाहा छ ।
बुबा बीपी कोइरालाको सार्वजनिक जीवनका प्रायः सबै पाटा देशलाई थाहा छ । फेरि सुन्दरीजल, जेल जर्नल र आत्मवृत्तान्तजस्ता कृति, लेख-रचना र स्मरणमा उहाँको सार्वजनिक जीवनवृत्तान्त देशका सामु छर्लंगै छ । उहाँको व्यक्तिगत र वैचारिक उचाइ विश्वलाई थाहा छ । उहाँको अदम्य साहस, उच्च कल्पनाशीलता, दूरदृष्टि र राष्ट्रप्रेम हामी सबैका लागि आज पनि प्रेरणा-स्रोत हुन् ।
पछिल्लो दशकमा गणेशराज शर्मा र प्रदीप गिरिले अप्रकाशित सामग्री प्रकाशित गरेर बीपीलाई युवा पुस्तामाझ लोकपि्रय बनाएको त सर्वविदितै छ । यसै मेसोमा पदमबहादुर थापा पनि जोडिइनुभएको छ । थापालाई म बनारसको संघर्षका दिनदेखि जान्दछु । बीपीलाई व्यक्तिगत र वैचारिक यो उचाइ कुन पृष्ठभूमिले दियो, त्यो थोरैलाई मात्र थाहा छ । आम मान्छेको जस्तै उहाँको जीवनमा पनि पीडा र गरिबीको पाटो कति कहरपूर्ण थियो, त्यो पनि थोरैलाई मात्र थाहा छ । जीवनभरि आफ्नो पीडा लुकाउने र देशको पीडा मेटाउने अभियानमै उहाँ व्यस्त रहनुभयो । आफ्नो निजी र पारिवारिक आवश्यकता बिर्सेर देशको आवश्यकतामा केन्दि्रत हुनुभयो । यस स्थितिमा घर-परिवार कसरी चल्यो, पारिवारिक र राष्ट्रिय आवश्यकताबीच सन्तुलन कसरी कायम भयो, त्यो भने थोरैलाई थाहा छ ।
००८ देखि ०१३ सम्म लिखित बुबाको डायरी पहिलोपल्ट यस स्वरुपमा देशसामु आउन लागेको छ । यसले तमाम बीपीप्रेमी, विद्यार्थी, अन्वेषक र पत्रकारलाई जीवनका केही नयाँ पाटासँग पनि परिचित गराउने मेरो विश्वास छ ।
डायरीमा बुबाको दैनन्दिनीका तीन महत्वपूर्ण पाटा छन् । पहिलो, राजनीति । पाँच वर्षका महत्वपूर्ण राजनीतिक घटनाक्रम र तिनमाथि उहाँको दृष्टिक्षेप समेटिएको छ । यो राजा त्रिभुवनको निधन र राजा महेन्द्रको सत्तारोहणको समय हो । यसको अर्थ, अपेक्षाकृत उदार राजाबाट एक अनुदार राजाको हातमा देश पुगेको समय हो । यो बेला परास्त राणा शासनबाट प्रजातन्त्रवादी नेतृत्वको हातमा परेको देश पुनः परामर्शमण्डलका नाममा केही पुरातन चिन्तनका समर्थकको हातमा पुगेको समय हो । यो भर्खरै स्वतन्त्र भएको र अनेक महत्वाकांक्षासहित अगाडि बढिरहेको नयाँ भारतको उदयको पनि समय हो, जसको प्रत्यक्ष चासो नेपालमाथि थियो । यसैकारण सम्बन्धमा अनेक प्रकारका खटपट पनि थिए । यो नेपाल र चीनबीच पहिलोपल्ट द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको समय पनि हो । विविध पार्टीको जन्म, विलय र विग्रहबीच नेपाली कांग्रेसले एउटा राष्ट्रिय पार्टीका रुपमा ठोस स्वरुप ग्रहण गरेको समय हो । ठूलोबुबा मातृकाप्रसाद कोइराला सरकारको उदय र पतन, प्रजापरिषद् र गोर्खा परिषद्को उदय, टंकप्रसाद आचार्यको राजनीतिक उत्कर्ष र पतन अनि एक शक्तिशाली राष्ट्रशक्तिका रुपमा नेपाली कांग्रेसको उदयको समय पनि ।
डायरीमा बुबाको जीवनको व्यक्तिगत पाटो निकै कारुणिक छ । परिवार, त्यहाँ व्याप्त गरिबी, सन्तानको जन्म र बढ्दो आवश्यकता, खस्कँदो स्वास्थ्य आदि विषयले पनि प्रवेश पाएका छन् । बुबाको जीवनको अधिकांश समय गरिबीको अकल्पनीय कहरमै बाँचेको थियो । सुशीला कोइरालाले यी सबै पीडा संयमका साथ सहँदै बुबालाई अविच्छिन्न रुपमा देशको सेवामा लागिरहन बल दिइरहनुभयो । हामी त्यसै गरिबीमा हुर्कियौँ । मनभरि घर, परिवार र सन्तानको पीडा बोकेर पनि बुबा राष्ट्रयज्ञमा लागिरहनुभयो । हाम्रो परिवारमा गरिबी र अव्यवस्थाको ग्रहण उहाँको जीवनकालमा कहिल्यै हटेन । तर कसैले पनि उहाँको अनुहार र कार्यशैलीमा त्यो पीडा अभिव्यक्त भएको देखेन । ठूलोबुबासँगको राजनीतिक घर्षण, आमाका अनेक कारुणिक कथा, सन्तान लालनपालनको व्यथा अनि पेट र घाँटीको समस्या उहाँको दैनन्दिनीका अक्षुण्ण पाटा थिए । तर तिनको छाया उहाँको ध्येय र उद्देश्यमा कहिल्यै परेन ।
डायरीको तेस्रो महत्वपूर्ण पाटो कला र साहित्य हो । उपन्यास, नाटक, राजनीतिक लेखन र चलचित्रका प्रसंग डायरीभरि छरिएका छन् । युरोप भ्रमणताका चित्रकला र मूर्तिकलाको चर्चाले उहाँमा समालोचकीय चेत कति प्रचुर रहेछ भन्ने बुझिन्छ । सामान्य मान्छेलाई असामान्य चिन्तक बनाउनमा अध्ययनको कति ठूलो भूमिका हुन्छ, त्यो प्रेरणा सबै पाठकले लिन सक्छन् । डायरीमा घरको बिचल्ली, यात्रामा देखिएका सुन्दर दृश्यमा आमा नहुँदाको रिक्तता, सम्बन्ध, प्रेम र यौनमाथिको दृष्टि तथा साहित्यमा तिनको चित्रणलगायत रुमानी र भावुक पाटो भेटिन्छन् । यसले नेपालको लोकतान्त्रिक र कांग्रेसको इतिहासका साथै व्यक्तिगत तथा निजी जीवनका विविध अध्ययनमा एउटा बलियो इँटा थपेको छ ।
(शिखा बुक्सको प्रकाशोन्मुख बीपी डायरीबाट)
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...