सिंगापुर लर्को : स्नेह कि स्वार्थ

- माधव बस्नेत

आज सिंगापुरमा प्रधानमन्त्रीज्यूको स्वास्थ्योपचारको जानकारी लिने मौका मिल्यो । सामान्य स्वास्थ्य अवस्था तथा सोमबार र बुधबारको जाँचपछि नेपाल र्फकने खबरले असाध्यै खुसी लाग्यो । थप स्वास्थ्यलाभको कामना !

नेकपा स्थायी समिति सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले १४ भदौमा फेसबुक स्टाटस लेखे । प्रधानमन्त्री केपी ओलीको नेसनल युनिभर्सिटी हस्पिटलमा मृगौलासम्बन्धी ‘एन्टी बडी’ उपचारअन्तर्गत सुरु गरिएको ‘प्लाज्माफेरेसिस’ १८ भदौमा पूरा भएको थियो । यसअघि १८ साउनमा सिंगापुर गएका ओली उपचारपछि २७ साउनमा फर्किएका थिए ।

प्रधानमन्त्री ओली ५ भदौमा स्वास्थ्योपचारका लागि दोस्रोपल्ट सिंगापुर उडेसँगै उद्योगी, व्यापारी र नेकपाका शीर्षदेखि मध्यम तहसम्मका नेताहरू स्वास्थ्यलाभको कामना गर्न, शुभकामना दिन भन्दै लाम लागेर पुगे । यसरी सिंगापुर पुग्नेमध्येका ऊर्जामन्त्री पुनले मात्रै यसबारे औपचारिक रूपमा लेखे ।

वीरगन्जस्थित विवादित नेसनल मेडिकल कलेज सञ्चालक बसुरुद्दिन अन्सारीले पुनभन्दा पहिल्यै सिंगापुरमा ओलीलाई भेटेको प्रचार गरिसकेका थिए । नेकपाको प्रचार विभाग उपप्रमुख सूर्य थापाका भनाइमा प्रधानमन्त्री उपचारका सिलसिलामा महाराजगन्ज शिक्षण अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रहँदासमेत शुभचिन्तकले भेट्न पाउँदैनथे भने झन् अन्तर्राष्ट्रिय अस्पतालमा भेट्न पाउने कुरै हुँदैन । "सिंगापुरमा प्रधानमन्त्रीको अत्यन्त संवेदनशील उपचार भएको हो । भीडभाड गरेर धेरै मान्छेले भेट्ने विषय नै होइन," थापा भन्छन्, "उहाँको स्वास्थ्यलाभको कामना गर्नेले त पूर्ण आराम गर्न दिनुपर्छ । उल्टै सिंगापुर पुगेर उहाँलाई धपेडी थपिदिने काम भयो ।"

स्रोतका अनुसार नेता, उद्योगी, व्यापारी गरी दुई दर्जनभन्दा बढी व्यक्ति प्रधानमन्त्री ओली भेट्न सिंगापुर पुगेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, व्यवसायी चन्द्र ढकाल, व्यापारी दीपक मलहोत्रा, सौर्य एयरलाइन्सका प्रमुख दीपक पोखरेल, क्याप्टेन रामेश्वर थापा, व्यापारी दिनेशलाल श्रेष्ठ, सोनाम छिरिङ शेर्पा, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलगायत सिंगापुर पुगे ।

पूर्वमन्त्री कृपाशुर शेर्पा, पूर्वप्रहरी नायब महानिरीक्षक तथा हाल ललितपुर-३ का सांसद नवराज सिलवाल, डीआईजी तथा प्रहरी प्रवक्ता विश्वराज पोखरेललगायत पनि प्रधानमन्त्री ओलीप्रति शुभेच्छा जनाउँदै सिंगापुर पुगे । जानकारका अनुसार ओली भेट्न सिंगापुर पुग्नेमध्ये धेरैजसो प्रधानमन्त्रीका स्वकीय सचिव राजेश वज्राचार्यलाई भेटेर फर्किए । डाक्टरले प्रधानमन्त्रीलाई भेट्न नदिएपछि वज्राचार्यलाई आफूहरू आएको खबर सुनाइदिन भनेका थिए । सिंगापुर जाउआउमा विमान भाडा ८० देखि ८५ हजार र होटल, खानपिनमा ७० हजारमाथि खर्च हुन्छ । नेकपाका एक स्थायी समिति सदस्य भन्छन्, "त्यहाँ पुग्नेमध्ये धेरैजसो व्यक्तिगत स्वार्थमा लिप्त र यहाँ भेट्न नपाउनेहरू छन् । नेतृत्वलाई रिझाएर व्यक्तिगत फाइदा लिने एउटा पंक्ति जो सत्तामा आए पनि यस्तै चाकरी गर्छ ।"

ओली सिंगापुर उड्नुअघि नै सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीको उपचार खर्च राज्यकोषबाट नहुने बताएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव यमलाल भुसालका अनुसार प्रधानमन्त्रीको उपचार खर्च सरकारी कोषबाट बेहोरिएको छैन । भन्छन्, "प्रधानमन्त्रीज्यूको उपचार खर्च सरकारी कोषबाट नबेहोरिएकाले हाम्रो कार्यालयलाई यसको जानकारी छैन ।"

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय बैठक डाक्ने तयारी गरेपछि महासचिव विष्णु पौडेलले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई १६ भदौमा यसको जानकारी दिए । भोलिपल्टै ओलीले सिंगापुर बोलाएपछि पौडेल १७ भदौमा उडे । प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई पनि ओलीले ‘मलाई भेट्न नआउने’ भन्दै बोलाएको स्रोत बताउँछ । गौतम र पौडेल सँगै सिंगापुर जाने तयारीमा थिए ।

प्रचण्डले गृहजिल्ला चितवनबाट फोन गरेर गौतमलाई सिंगापुर जान रोकेका थिए । तर १८ भदौमा सिंगापुर उडे । "बिरामी भेट्न गएको भन्ने भ्रम मात्र हो," नेकपाका एक सचिवालय सदस्य भन्छन्, "खासमा सचिवालय बैठक बस्न नदिन र हामी एक ठाउँ छौँ भन्ने देखाउन ओलीले दुवैलाई सिंगापुर बोलाएका हुन् ।"

साथमा यो पनि पढ्नुहोस् : प्रधानमन्त्रीको स्वास्थ्यमा राजनीति

प्रकाशित: भाद्र २५, २०७६