‘पार्टीमा यतिसम्म धोका सोचेकै थिइनँ ’
राज्यका सबै अंगमा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित भइसक्दा पनि सत्तारुढ नेकपाले महिलाविहीन सचिवालय बनाएकामा उनको असन्तुष्टि छ ।
पञ्चायती कालमा १० वर्षे भूमिगत राजनीति गरेकी अष्टलक्ष्मी शाक्य तत्कालीन एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भइन् । राज्यका सबै अंगमा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित भइसक्दा पनि सत्तारुढ नेकपाले महिलाविहीन सचिवालय बनाएकामा उनको असन्तुष्टि छ । आफूलाई प्रदेश ३ को मुख्यमन्त्री हुन नदिन राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पार्टी अध्यक्ष केपी ओलीसम्म संलग्न रहेको उनको आरोप छ । शाक्यलाई जनक नेपालका प्रश्न :
सत्तारुढ नेकपाको मूल नेतृत्वमा महिला छैनन् । किन ?
पूर्वएमाले होस् वा पूर्वमाओवादी, महिलाको त्याग र बलिदान कम छैन । लोकतन्त्र, गणतन्त्र ल्याउन पुरुषजत्तिकै महिलाको भूमिका छ । नेकपाको ९ सदस्यीय सचिवालयमा महिला छैनन् । सिंगो कमिटीमा पुरुष मात्र बस्दा अप्ठेरो मान्नुपर्ने हो ।
महिलालाई नेतृत्वमा ल्याउन नचाहनुको कारण ?
हामीले सामन्तवादी व्यवस्था फाल्यौँ । तर आफ्नै नेताहरूको दिमागबाट हटाउन सकेनौँ । नेताहरू पनि सामन्तवादी र पितृसत्तात्मक सोचले ग्रसित छन् । हैन भने यति ठूलो पार्टीको सचिवालयमा महिला पनि हुनुपर्छ भनिरहनुपर्ने हो र ? ४५ सदस्यीय स्थायी कमिटीमा दुई जना मात्र अटायौँ । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सहभागिता छैन । यो त हामीले आफैँले स्थापित गरेको समानताको मुद्दाविपरीत हो । हामीले लामो संघर्ष गरेर संविधानमै राष्ट्रपति-उपराष्ट्रपति, सभामुख-उपसभामुख, स्थानीय सरकार प्रमुख-उपप्रमुखमध्ये एक महिला हुनुपर्ने व्यवस्था गर्यौ । यो पुरुषले अंशभाग दिने कुरा होइन । शीर्ष नेतृत्वले फराकिलो ढंगले सोच्नु पथ्र्यो ।
पार्टीका तल्ला कमिटी एकीकरणमा नेतृत्वमा कत्तिको महिला आए ?
त्यहाँ पनि स्थिति उस्तै छ । इन्चार्ज, अध्यक्ष र सचिव हुन योग्य धेरै महिला पन्छाइए । महिलाले सक्दैनन्, नेतृत्व पुरुषले लिनुपर्छ भन्ने मानसिकता देखियो ।
पार्टीमा गुटबन्दी पनि छताछुल्लै छ...
त्यो त भनिसाध्यै छैन । कम्युनिस्ट पार्टी अहिले विकृत भइसकेको छ । इमानदार पछाडि पर्ने र अवसरवादी अगाडि बढ्ने अवस्था छ । पहुँच र नाताका आधारमा योगदान वा क्षमता केही नभए पनि माथि तान्ने प्रवृत्ति छ । मन नपरेको मान्छे जतिसुकै क्षमतावान होस्, उसलाई मतलब गरिँदैन । यो विकृति नहटाएसम्म पार्टीका आम कार्यकर्ताको मनोबल बढाउन सकिँदैन ।
दुई वर्षभित्रै महाधिवेशन हुने सम्भावना छ ?
अहिलेकै स्थितिमा पार्टी महाधिवेशनमा जान सक्दैन, जानु पनि हुँदैन । अहिलेकै वैचारिक, राजनीतिक अस्तव्यस्तता र संगठनले महाधिवेशन छिट्टै होलाजस्तो लाग्दैन । एकताको काम लगभग सकिएको छ । भावनात्मक एकता हुनै बाँकी छ । कमीकमजोरी सच्याएर पार्टीलाई एउटा पद्धतिमा ल्याएर मात्र महाधिवेशन गर्नु उपयुक्त हुन्छ ।
“हामीले सामन्तवादी व्यवस्था फाल्यौँ । तर आफ्नै नेताहरूको दिमागबाट हटाउन सकेनौँ । नेताहरू पनि सामन्तवादी र पितृसत्तात्मक सोचले ग्रसित छन् । हैन भने यति ठूलो पार्टीको सचिवालयमा महिला पनि हुनुपर्छ भनिरहनुपर्ने हो र ? ”
पूर्वएमालेका एक उपाध्यक्ष वामदेव गौतमलाई नेकपाको उपाध्यक्ष बनाउने प्रस्ताव गरिएको छ, तपाइर्ं भने अझै सचिवालयबाहिर...
दुई भिन्न आन्दोलन, विचार र पृष्ठभूमिका कम्युनिस्ट पार्टी मिलेर नेकपा बन्नुलाई हामीले गर्वको विषय मानेका छौँ । यो चानचुने एकता थिएन । त्यसैले निर्वाचित उपाध्यक्ष त्यागेर एकतालाई सघाएकै हो । वामदेव कमरेडलाई उपाध्यक्ष बनाउन लागिएकामा मेरो भन्नु केही छैन । ९ सदस्यीय सचिवालयमा दुई महिला थपेर ११ सदस्यीय बनाउँदा के बिगि्रन्थ्यो ?
तपाईंलाई मुख्यमन्त्री बन्नचाहिँ कसले रोक्यो ?
भन्न हुन्छ-हुँदैन, त्यसमा राष्ट्रपतिजी पनि लाग्नुभयो । अध्यक्षले समेत चाहनुभएन । गुटबन्दी नगरिएको भए सांसदलाई होटलमा राखेर भोट हाल्ने बेला मात्र किन ल्याइयो ? सातमध्ये एउटा महिला मुख्यमन्त्री हुँदा कसैले छिः भन्थेनन् होला । मलाई चुनावदेखि भाग्ने तपाइर्ं भनियो । अष्टलाई ल्याउनुहुन्न भनेर योजनाबद्ध रूपमै लागिएको रहेछ । आफ्नै पार्टीभित्र यतिसम्म धोका दिइन्छ भन्ने मैले सोचेकै थिइनँ ।
चुनावअघि नै शीर्ष नेतृत्वबाट मुख्यमन्त्रीको आश्वासन दिइएको थियो ?
म पार्टी काम गर्ने, संसदीय फाँटबाट बिदा लिने मनस्थितिमा थिएँ । तीन पटक सांसद र दुई पटक मन्त्री भएँ । अरूले पनि अवसर पाउनुपर्छ भन्ने विचार थियो । केपी कमरेडले बारम्बार प्रस्ताव गर्दासमेत ०७२ सालमा मन्त्री हुन गइनँ । प्रदेश ३ को सचिवालय बैठकले मुख्यमन्त्री हुने गरी मलाई काठमाडौँ- ८ ( ख) बाट उम्मेदवार बनाउने निधो गरेको थियो । चुनाव जितेपछि डोरमणि पौडेलजीले पनि तपाइर्ंको मन्त्रिपरिषद्मा मन्त्री भएर काम गर्ने इच्छा छ भन्नुभएको थियो । तर अकस्मात् उहाँ नै उम्मेदवार भएर आउनुभयो ।
राष्ट्रपति वा अध्यक्ष ओलीले तपाईंलाई किन चाहनुभएन ?
थाहा छैन । मैले स्थायी कमिटीमै संघीयतामा पहिलोपल्ट जान लागेकाले वरिष्ठ नेताहरूले नेतृत्व लिनुपर्ने कुरा उठाएकी थिएँ । शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ त्यसरी नै प्रदेशमा गएका हुन् । मैले त केपी कमरेडलाई कहिल्यै पनि नकारात्मक ढंगले हेरेकी छैन । तर मलाई हराइयो । मैले बालकोटले हरायो भनिदिएँ । केपी कमरेड मसँग रिसाउनुभयो । अध्यक्षले चाहँदाचाहँदै त मैले पक्कै हारेकी होइन होला । विद्याजीलाई मैले भूमिगत कालमै चिनेकी हुँ । ०४६ सालको जनआन्दोलनअघि म अनेमसंघकी अध्यक्ष हुँदा उहाँ केन्द्रीय सदस्य हुनुहुन्थ्यो । माक्र्सवादीसँग एकतापछि सहाना ( प्रधान) दिदी अध्यक्ष हुनुभयो, म महासचिव । पछि विद्याजी अनेमसंघ अध्यक्ष हुनुभयो, म महिला विभाग प्रमुख । खराब सम्बन्ध त होइन तर त्यस्तै भयो ।
तपाईंले पनि त उहाँलाई राष्ट्रपतिमा दोहोरिन रोक्न खोज्नुभयो...
एउटै व्यक्तिले दोहोर्याई-तेहर्याई अवसर पाउनु हुन्न भन्ने मेरो कुरा थियो । राष्ट्रपतिमा झलनाथ खनाललाई लैजाऔँ भन्ने प्रस्ताव मैले राखेकी हुँ । विद्यालाई नदोहोर्याउन त्यति धेरै जोडबल गर्नुमा मुख्यमन्त्रीमा मैले पाएको धोकाको आक्रोश पनि थियो ।
राष्ट्रपतिसँग अहिले कस्तो छ सम्बन्ध ?
उहाँ राष्ट्रपति भएपछि म एक पटक शीतलनिवास गएकी छु । त्यत्ति हो । राष्ट्रपतिले नबोलाई अर्को भेट हुने कुरा पनि भएन ।
“अहिलेकै स्थितिमा पार्टी महाधिवेशनमा जान सक्दैन, जानु पनि हुँदैन । अहिलेकै वैचारिक, राजनीतिक अस्तव्यस्तता र संगठनले महाधिवेशन छिट्टै होलाजस्तो लाग्दैन । ”
यो सरकार कस्तो लागिरहेको छ ?
केपी कमरेडमा केही गर्छु भन्ने आत्मविश्वास छ । उहाँ दृढ इच्छाशक्ति भएको नेता पनि हो । तर उहाँको शैलीमा समस्या देख्छु म । त्यसैले असल नियत र इमानदारीसाथ गर्न खोजेका कामले पनि परिणाम दिएका छैनन् ।
प्रदेश ३ सरकारबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
प्रदेश सरकारले जे क्षमता राख्नुपर्ने हो, जति प्रभावकारी हुनुपर्ने हो, हुन सकेको छैन । प्रदेश इन्चार्जका रूपमा म डोरमणिजीको नेतृत्व सफल गराउन चाहन्छु । तर गुटबन्दीको असर अझै छ । पौने दुई वर्षसम्म अस्थायी मनस्थितिमा रहनुपर्यो । त्यो छिटो टुंग्याउनुपर्यो ।
पार्टी नेतृत्व नि ?
नेकपाको एक नम्बर नेता केपी कमरेड नै हो । नवौँ महाधिवेशनपछि हामीले उहाँलाई भेटेर भनेका थियौँ, अब तपाइर्ं हामी सबैको नेता हो । तर उहाँ सबैलाई परिचालन गर्न र सबैको साझा नेता बन्नै सक्नुभएन ।
अध्यक्षद्वयको कार्यविभाजनबारे के भन्नुहुन्छ ?
केपी कमरेडलाई धेरै धपेडी भयो । स्वास्थ्य पनि ख्याल गर्नुपर्यो । एउटाले सरकार र अर्कोले पार्टी हेर्ने नितान्त जिम्मेवारी बाँडफाँट हो । पार्टी निर्णय र बैठकमा त दुवै अध्यक्ष रहिरहनुहुन्छ नि । मुख्य कुरा शीर्ष नेतामा अविश्वास हुनु भएन ।
सम्बन्धित
‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विका...
'तीन वर्षपछाडि नेपालको कृषि व्यवस्था नयाँ स्वरूपमा आउनेछ'
सम्हाल्न नसक्ने स्थितिमा पुग्यौँ । प्रदेश र संघीय सरकारलाई भनिरहेका छौँ तर हाम्रो कुरा सुन...
‘विशेष स्वास्थ्य टोली नपठाए नरैनापुरको स्थिति नियन्त्रणबाहिर'
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनताला...
'महाधिवेशनबाट ओली र प्रचण्डलाई बिदा गर्नुपर्छ'
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण ...
‘त्यसो भए नेकपा नै विघटन गरिदिऊँ’
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्न...
‘नेकपाको सचिवालय विघटन गरौँ’
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्...