आवरण « पहिरनको संसार

- सुनिता लोहनी

उखानै छ- खाएको देखिन्न, लाएको देखिन्छ । कुनै बेला जाडो-गर्मीबाट बच्न र लाज राख्न एकसरो आङ ढाक्न पाए पुग्थ्यो मानिसलाई । बदलिँदो समयसँगै पहिरन आफैँमा सौन्दर्यदेखि सन्देशसमेत बन्दै गयो । व्यक्तित्व उजिल्याउन लगाइने वस्त्र आजको संसारमा छलफलका विषय बन्न थालेका छन् । राजनीतिकर्मीदेखि कूटनीतिज्ञसम्म, कलाकारदेखि सामाजिक अभियन्तासम्मका फेसन स्टेटमेन्टबारे कुराकानी यसमै समेटिने गर्छन् । विश्वविद्यालयमा पहिरन अध्ययनको विषय भएको छ अनि सञ्चार माध्यमका महत्त्वपूर्ण छलफल लत्ताकपडामुखी हुँदै छन् ।

कपडाले मान्छेमा आत्मविश्वास ल्याउन सघाउँछ । विवाह होस् या चाडपर्व- उत्सवमा मान्छे नयाँ-नयाँ आभूषणमा सजिन मन पराउँछन् । कपडा पसल, मलहरू, परम्परागत टेलर एवं बुटिकहरूमा मानिसको भीड लाग्छ । बच्चादेखि वृद्धसम्मले दसैँ-तिहारमा नयाँ कपडा लगाई ठूलाबाट आशीर्वाद लिने चलन छ । जन्मेपछि नै शिशुलाई सफा कपडाले बेरिन्छ । हुर्कने क्रममा कैयौँ कपडा लगाइन्छन् । हिन्दु र अन्य धर्मको संस्कारमा पनि कपडाको महत्त्व अविच्छिन्न छ ।

पृथ्वीका अरू प्राणीलाई नभए पनि हुने, मानिसलाई नभई नहुने । कहाँबाट कसरी सुरु भयो होला, पहिरन उत्पत्तिको इतिहास ? अनि नेपाली पोसाकको मौलिकता कसरी विकास हुँदै गयो ? खोज्दै जाँदा लुगाफाटोको कथा कम्ती चाखलाग्दो छैन ।

शोधकर्ताका अनुसार करिब १ लाख १७ हजार वर्षअगाडि पहिलोपल्ट मानव पाइला अफ्रीकी महादेशमा देखियो, चिम्पान्जी प्रजातिका रूपमा । सो जनावर विकसित हुँदै ढुंगे युगसम्म आउँदा विवेकशील प्राणी बनिसकेको थियो । उसले लुकेर जंगली जनावरको सिकार गर्न जानिसकेको थियो । वैज्ञानिकका अनुसार ढुंगे युगमै मान्छेले पहिलोपल्ट कपडा सिर्जना गरेको थियो । जाडोबाट बच्न मानिसले जनावरको हड्डीलाई सियो बनाई त्यसको छाला र रौँबाट शरीर ढाक्ने कपडा बनाउन सिके ।

सुती कपडा अर्थात् कटनको प्रयोग भने धेरै पछि हुन थालेको हो ।

कटन कहिलेदेखि सुरु भयो ? त्यसको ठ्याक्कै अभिलेख कतै छैन । ७ हजार वर्षअगाडि मेक्सिकोको एउटा गुफामा कटन फेला परेको मानिन्छ । अनुसन्धानकर्ताका अनुसार सो कटन अमेरिकामा फल्ने कटनजस्तै थियो । यस्तै, ईसापूर्व करिब ३ हजार वर्षमा पाकिस्तानको सिन्धु नदी उपत्यकामा पहिलोपल्ट कटन उम्रेको थियो । भनिन्छ, त्यही समय इजिप्टको नाइल नदीनजिक कटन खेती हुन्थ्यो र कपडा बनाइन्थ्यो । अरबी व्यापारीले सोही कटन युरोप पुर्‍याए, सन् ८०० मा । सन् १४९२ मा कोलम्बसले अमेरिका पत्ता लगाउँदा बआमा टापुमा कटन उमि्ररहेको थियो । सन् १५०० सम्म आइपुग्दा कटनबारे विश्व परिचित भइसकेको थियो ।

हामीमध्ये धेरैले केही वर्षअघि हिन्दी चलचित्र बाजिराव मस्तानी हेर्‍यौँ । तस्बिर हेर्दा लाग्छ, पृथ्वीनारायण शाहले लगाउने गरेजस्तो जामाबाट त्यो सिनेमाको पहिरन चेत प्रभावित छ । शाहले राज्य विस्तार नगर्दासम्म बाइसे-चौबीसे राज्यमा विभक्त नेपालझैँ भारतमा पनि अंग्रेजले नलिँदासम्म थुप्रै राज्य अस्तित्वमा थिए । नेपालका लिच्छवि, मल्ल र शाहकालका राजाहरू उतैबाट आएका हुनाले तिनको फेसन मिल्नु स्वाभाविकै हो । पचपन्ने झ्याले दरबारअगाडिको भूपतीन्द्र मल्ल, जयस्थिति मल्लको टाउकाको मुकुट र भेषभूषा बाजीरावसँग ठ्याक्कै मिल्छ । नमुना कलेज अफ् फेसन टेक्नोलोजीकी प्राध्यापक कुश्मा श्रेष्ठ भन्छिन्, "भेषभूषा भनेको संसारभरि नै आवश्यकताअनुसार बनाउने हो । सबैको शरीर उस्तै हो । शरीर ढाक्नै लगाउने हो । कसैले तलबाट लगाउँछ, कसैले माथिबाट । हामीले जामा भन्छौँ भने उनीहरू लेहेंगा । तासको जामा लगाएर बिहे गर्ने नेवारी परम्परा थियो । अहिले बनारसी साडीको चलन छ ।" कुमारीले चाहिँ जामा र चौबन्दी चोलो नै लगाउँछन् ।

युरोपमा १६ र १७ औँ शताब्दीमा नर्सले लगाउने सेतो जामा धामीका पहिरनसँग ठ्याक्कै मिल्छन् । सिउने संस्कार सुरु नहुँदासम्म संसारभर बेरेरै लगाउँथे । १२ औँ शताब्दीतिर सियोको विकास भएको मानिन्छ । इजिप्सियनको सभ्यता चरमोत्कर्षमा पुग्दा भारतवर्षमा महाभारतको बेला थियो । दुवै ठाउँमा कपडा बेरेरै लगाइन्थ्यो । सियो आविष्कारपछि इम्ब्रोइडरी विकास भयो । राजा-महाराजाको पहिरन सुनचाँदीका धागाले सिउन थाले । करिब १६ औँ शताब्दीतिर मेसिनको आविष्कारपछि सूचिकार बेरोजगार भए । त्यसपछि मानिसको श्रम कटौती गरेर बेरोजगार बनाइदिएको भन्दै मेसिन बनाउनेलाई बेलायतबाट लखेटेको देखिन्छ ।

प्राध्यापक श्रेष्ठका अनुसार वर्गविभेद युरोपमा उत्तिकै थियो । मल्लकालतिरै किसानले घुँडाभन्दा तल लगाउन नपाउने चलन थियो । युरोपमा पनि त्यस्तै थियो । राजारानी लुगा लतार्दै आउँथे भने किसान घुँडा देखाएर लगाउँथे । लुगाको लम्बाइ र ठूल्ठूलो कपालको डिजाइनले प्रतिष्ठा देखाउँथ्यो । युरोपका गरिब बस्तीमा टालटुल पारेकै कपडा लगाइन्थ्यो, १७ औँ शताब्दीसम्म । सबैले सुविधा पाउनुपर्छ भनेपछि सामूहिक उत्पादनमा विभिन्न्ा आकारका पोसाक उत्पादन हुन थाले ।

नेपालमा भौगोलिक स्थितिअनुसार फरक-फरक पोसाक छन् । हिमालमा बख्खु, दोचा लगाइन्छ भने पहाडमा दौरा-सुरुवाल, चोलो-धोती लगाइन्छ । तराईमा फरिया, जामा, धोती र भेस्ट लगाइन्छ । तराईमा कपडाको इतिहास केलाउँदा मैथिल संस्कृति पहिल्याउनुपर्ने हुन्छ । राजा जनकको पालादेखि नै वर्णअनुसार कामको व्यवस्था भएको प्राज्ञ एससी सुमन बताउँछन् । मैथिल समुदायमा मुस्लिमका जुला (सूचिकार) ले कपडा सिउने र धोबीले धुने चलन थियो । त्यो जुला प्रथा आजपर्यन्त छ । तान बोक्दै रुईलाई हानेर डोरी बनाई हातेतानमा बुन्ने परम्परा त्यहीँबाट सुरु भएको कलाकार सुमन बताउँछन् ।

उतिबेला कपडामा प्राकृतिक रंग बेसार, चियापत्ती, फूलपत्ती, गोलभेँडा, गाजर तथा जडीबुटीको रङ लगाइन्थ्यो । मैथिलहरू घर र कपडामा सोही रङ लगाउँथे । मैथिल संस्कृतिमा अहिले पनि रातो रङको धोती लगाउने प्रचलन छ ।

पछि टाई एन्ड डाईका रूपमा कपडा बाँधेर रङमा डुबाएपछि निकाल्दा नयाँ डिजाइन सुरु भयो । काठका स्ट्याम्प बनाएर सेतो कपडामा छाप्ने चलन भित्रियो, अहिले मेहन्दी छापेजस्तो । टेक्सटाइल इन्जिनियरसमेत रहेका एससी सुमन भन्छन्, "हामीले नयाँ-नयाँ फेसन समात्दै गयौँ । भारतले चाहिँ टेक्सटाइल उद्योगको विकास गर्‍यो । राजस्थानको टाई एन्ड डाई विश्वविख्यात छ । युपी ह्यान्डलुम प्रख्यात छ । अन्तर्राष्ट्रिय फेसन शोमा तिनीहरू मैथिल कलाबाट बनेका साडीको फेसन शो गर्छन् ।" हाल मैथिल चित्र घरघरमा मात्र नभई सारी, तन्ना, सिरानीको खोल, पर्दा, टाई, सर्ट, कपडाका झोलामा पनि देख्न सकिन्छ ।

उतिबेला काठमाडौँ उपत्यकामा नेवार समुदाय घरघरै कपडा बुन्थे । आम मानिसले लगाउनेलाई घरबुना कपडा भनिन्थ्यो । लठ्ठी गाडेर लट्टाईजस्तोमा बेरेर बिनमा रोल गरेर तानमा हालेर बुन्ने चलन थियो । प्रायः  कटनको कपडा बुनिन्थ्यो । विवाह नभएकाले अलि फरक डिजाइनको दौरा-सुरुवाल लगाउने चलन थियो । त्यो सुरुवाल अहिले ठमेलमा पर्यटकले लगाउँछन् ।

लुभुस्थित आरके टेक्सटाइलमा चर्खामा धागो कात्दै


हिमालका शेर्पा या तराईका थारु, धिमाल, मैथिली नै किन नहोऊन्, धागोबाट आफैँ कपडा बनाउँथे । राउटेहरू अझै आफ्ना लागि आफैँ कपडा बनाउँछन् । कति ठाउँमा सुतीको खेती हुन्थ्यो भने कतै जनावरको रौँबाट बनाइन्थ्यो । जयस्थिति मल्लले मानिसको वर्गीकरण गरेर सबै जातिलाई पेसा सुम्पिदिएका थिए । अहिलेजस्तो सबैले सबै काम गर्दैनथे । सबैलाई कामको जिम्मा दिइएको हुन्थ्यो । कोही भाँडा बनाउँथे, कोही जुत्ता त कोही लुगा सिउँथे ।

तर पछिल्लो समय सर्ट, पाइन्ट, लेहेंगा, कुर्ता, स्कर्टजस्ता पहिरन नेपाल प्रवेश गरेका छन् । फेसन डिजाइनर राजेश धाख्वालाई लेहेंगा, शेरवानी लगाएर हिन्दी गीतमा पार्टीमा नाचेको मन पर्दैन । "हामी नेपाली हौँ । आफ्नै मौलिक पहिरन छ, त्यसैलाई व्यावसायिक बनाउन लाग्नुपर्छ । नेपालले भारत र चीनले जस्तो आम उपयोगका लागि उत्पादन गर्न सक्दैन," धाख्वा भन्छन्, "हाम्रो विशेषता भनेको ढाका, पस्मिना, दौरा-सुरुवाल, भादगाउँले टोपी, गाँजाबाट बनेका कपडा हुन् । प्राकृतिक रेसाबाट बनेका कपडाको अन्तर्राष्ट्रिय स्तरमा ठूलो माग रहेकाले त्यसको उत्पादनमा जोड दिनुपर्छ ।"

डिजाइनर धाख्वासँग कपडा व्यापारमा तीनपुस्ते अनुभव छ । उनका बाजे उतिबेलै बेलायतबाट कपडा मगाएर कोलकाताबाट काठमाडौँ अनि कालिम्पोङ हुँदै ल्हासामा व्यापार गर्न जान्थे । कपडा बेच्ने मात्र होइन, डिजाइन सिर्जना गर्न पनि जान्नुपर्छ भन्ने सोच बोकेर ०५० सालमा उनले फेसन डिजाइन पढे । सिंगापुरबाट फेसनमा थप अध्ययन गरे र कुपन्डोलमा पहिलो बुटिक खोले । अहिले कुपन्डोलमा घरैपिच्छे बुटिक भेटिन्छन् । हातेतानमा लुभुमा हाकुपटासी बनाइन्छ ।

पाल्पाली ढाका, गाँजा र सिस्नोजस्ता प्राकृतिक रेसाका कपडा नेपालमा पाइन्छन् । धाख्वाका अनुसार उतिबेला बजारमा कच्चापदार्थ पाउन कठिन थियो । कपडा डाई गर्न गुणस्तरीय फेब्रिक अभाव हुन्थ्यो । नेपाली कपडामा मात्र निर्भर हुन गाह्रो भएपछि उनले भारतबाट आयातीत सुती कपडामा डिजाइन गर्न थाले । भारतीय सिल्क र कटन महँगिएपछि चीनबाट कपडा आयात थालेको उनको भनाइ छ ।

दोस्रो विश्वयुद्ध समाप्तिपछि कपडा सिउने आधुनिक मेसिन भेटिए । पहिले धनीले मात्र किन्न सक्ने कपडा गरिबले पनि किन्न थाले । ५० को दशक नाघिसक्दा पनि नेपाल भने फेसन डिजाइनबारे बेखबर रहेको डिजाइर तरुनिका महतोको बुझाइ छ । ०५३ सालबाट चलचित्रमा फेसन डिजाइनरको काम थालेकी महतो भन्छिन्, "पहिले ग्राहकले यस्तो-यस्तो डिजाइनको पहिरन बनाइदिनू भन्थे । अहिले फोटो देखाएर यस्तो बनाइदिनू भन्छन् । बीचमा आएर डिजाइनरसँग 'मलाई कस्तो सुहाउँछ' भनी सोध्थे । अहिले फेरि डिजाइनर भनेको काम पूरा गरिदिने मात्र भएको छ ।"

महतोको भनाइमा यिनै कारणले अचेल डिजाइनर आफ्नो धारणा दिन सक्दैनन् । हिरोइनले जस्तो लगाउँछन्, उस्तै खोज्छन्, तर सबैको शरीर एकैखाले हुँदैन । "टेलरले बुटिकको काम गर्न सक्दैन । हामीकहाँ पढेर बुटिक खोल्नेभन्दा खोलेपछि पढ्न जाने प्रवृत्ति बढेको छ," उनी थप्छिन् ।

थुप्रै नेपाली चलचित्रमा डिजाइनिङ गरेकी महतोले पैसा दिन किचकिच गर्ने निर्माताबाट दिक्क भएर त्यसलाई चटक्कै छाडिन् । उनका अनुसार भारतमा जस्तो चलचित्र र फेसन शो हेरेर बजारमा त्यही फेसन चल्ने, किन्ने परम्परा नेपालमा छैन्ा, न त नेपाली सेलिबि्रटीले लगाएका कपडाले बजारमा प्रभाव पर्छ । बरु भारतीय टेलिफिल्म र चलचित्रको प्रभावले नेपाली बजार प्रभावित हुने स्थिति छ ।

पहिले-पहिले फेसन सिनेमाद्वारा निर्देशित हुन्थ्यो । सन् ७० को दशकदेखि नै भारतीय सिनेमाले नेपाली फेसन बजार प्रभावित पारेको थियो । अमिताभ बच्चनले लगाएका ठूल्ठूला मोहता भएका बेलीबटम पाइन्ट र हेयरकट आउँथे । अहिले पनि अवस्था उस्तै छ । यद्यपि फेसन शो भने भइरहेका छन् । बजारमा फेसन पढेका नयाँ डिजाइनर ओइरिएका छन् । न्युयोर्कस्थित नेपाली मूलका प्रबल गुरुङदेखि धाख्वा र गहना डिजाइनर अर्पणा रायमाझीलगायतको पुस्ता नेपाली पहिरन, बुट्टा र रङलाई नेपालमा मात्र नभई बाहिरसमेत चिनाउन लागिपरेको छ ।

हिमाली जिल्ला मनाङका मान्छे गरिब थिए । पूर्वाधार नबनेकाले रोजगारीका अवसर थिएनन् । सहायक प्राध्यापक विष्णुप्रसाद शर्माका अनुसार राजा महेन्द्रले मनाङे व्यापारीलाई भन्सार छूट दिए । अन्तर्राष्ट्रिय उडान अन्त खासै थिएन । नेपाल एयरलाइन्स थाइल्यान्ड उड्थ्यो । त्यहाँ कपडा र सुन एकदम राम्रो पाइने । मनाङेहरू थाइल्यान्डबाट तयारी पोसाक जिन्स ल्याएर काठमाडौँमा बेच्थे । यहाँका व्यापारी सामानको सूची मनाङेलाई दिन्थे । त्यही सामान काठमाडौँका व्यापारीले बेच्थे ।

०३० तिर थाइल्यान्डबाट सर्ट, जिन्स पाइन्ट र टिसर्ट ल्याएर काठमाडौँमा बेचेको वीरबहादुर तामाङ, ५२, अझै सम्झन्छन् । भन्छन्, "पहिलोपल्ट हवाईजहाज चढेर बैंकक गएको थिएँ । कपडा किन्न जाने समूह नै हुन्थ्यो । साहूले पैसा दिन्थे । किनेका लुगा सबै लगाउने अनि यहाँ बेच्थे ।"

१६ र १७ औँ शताब्दीमा पोलिस्टरजस्ता कपडा बनिसकेका थिए । तर औद्योगिक क्रान्तिपछि मात्र कपडा उद्योगमा आमूल परिवर्तन भयो । सन् १७६० देखि १८४० सम्म बेलाबेला भएका औद्योगिक क्रान्तिका कारण सामूहिक उत्पादनका लागि मेसिन प्रयोग थालियो । प्राकृतिक रेसाले मात्र सबैलाई कपडा बनाउन नपुग्ने भएपछि कृत्रिम धागो बन्न थाले । दोस्रो विश्वयुद्धपछि यी सामान नेपाल भित्रिए । सर्वसाधारणले फेसन गर्ने सामथ्र्य त्यसपछि मात्र भएको प्राध्यापक कुश्मा श्रेष्ठ बताउँछिन् । भन्छिन्, "पहिले राजपरिवार, शक्तिशाली तथा उच्च ओहोदाका मानिसले मात्र फेसन गर्न पाउँथे र सक्थे पनि । फेसनले र्‍यांक, स्ट्याटस र व्यक्तित्व पनि देखाउने ।"

इतिहासविद्का अनुसार नेपालमा गोपाल, किराँत, लिच्छवि, मल्ल र शाह वंशले राज्य गरे । गोपाल वंशमा कपडा भिर्ने चलन थियो । धामीको पहिरन त्यसबेलाको पोसाकको प्रतिनिधित्व हो । पहिलो कपडा छालाको भएको विज्ञहरू बताउँछन् । महादेवले बाघको छाला लगाएको चित्र देखिन्छ । बाघ र चितुवाको छाला लगाउनु शक्तिको प्रतीक बुझिन्थ्यो । इजिप्टका पुजारीले पनि छालाकै लुगा लगाउने चलन रहेको श्रेष्ठ बताउँछिन् ।

००७ सालपछि सीपमूलक काम गराउन सरकारले केही महिलालाई भारतमा सिलाइ तालिम लिने व्यवस्था मिलायो । नमुना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक ज्ञानीशोभा तुलाधरले भारतबाट पढेर आएपछि नमुना सिलाइ स्थापना गरिन् । उनीसँगै गएका अन्य फेसन डिजाइनर मिलेर त्यसबेलाको फेसन बजार धानेको कुश्मा श्रेष्ठ बताउँछिन् । राणा, राजा, उच्च ओहोदा तथा व्यापारी, सर्वसाधारण र चलचित्रमा फेसन डिजाइन सुरु गरेका थिए ।

दक्षिण एसियामा फेसनमा नेपाली अगाडि रहेको फेसनविज्ञहरू बताउँछन् । नेपालमा फेसन छिटोछिटो परिवर्तन भइरहन्छ । पहिला च्यातेका कपडा टालटुल पारिन्थ्यो भने अहिले च्यातेका पहिरनको फेसन छ । काउ ब्वाईका लागि बलियो कपडा बनाउने चक्करमा डिजाइन गरेको जिन्स अहिले फेसनमा संसारभर छाएको छ । केरा, जुट, पस्मिना, ढाका, सुती ऊनी, पोलिस्टरका कपडा चलनचल्तीमा छन् । मध्यम वर्गीय र निम्न वर्गका लागि चिनियाँ र भारतीय कपडाकै होडबाजी छ । चीनका कपडा दिनानुदिन प्रयोगमा छन् भने भारतका प्रायः पार्टी र उत्सवका लागि ।

रङका हिसाबले नेपाली प्रायः रातो रङका कपडा लगाउँछन् । चाडपर्वमा उज्याला रङ र अरू बेला सौम्य रङमा युवायुवती सजिएको देखिन्छ । नेपालको राष्ट्रिय पहिरन दौरा-सुरुवाल २० औँ शताब्दीको मध्यतिर सरकारी कार्यालयमा अनिवार्य थियो । बीचतिर दौरा-सुरुवाललाई हेला गरेर तल्लो वर्ग र गरिबले मात्र लगाउने सोचिन्थ्यो । अहिले दौरा-सुरुवालको फेसन फेरि फर्केकामा धाख्वा खुसी छन् । भन्छन्, "नयाँ युवाले दौरा-सुरुवाललाई माया गरेका छन् । बिहे भोजमा लगाउन थालेका छन्, जुन शुभ संकेत हो ।" उनी प्राकृतिक रेसाबाट बनेका सिस्नो र गाँजाका पहिरन विदेश निर्यात गर्न चाहन्छन् । चार वर्षदेखि न्युयोर्क फेसन विकमा सहभागी भइरहेका धाख्वा अमेरिकामा यसको ठूलो बजार रहेको बताउँछन् ।



ढाकाको डिजाइनमा लुभु

घरैपिच्छे कपडा बुनिने भएकाले ललितपुरको लुभुलाई ‘मिनी जापान’ भन्न थालिएको छ । लुभुमा १९९५ सालदेखि कपडा बुनाइ सुरु भएको थियो । लुभु, देवननीका रामलाल श्रेष्ठले बनेपाको चण्डेश्वरी कपडा कारखानामा कपडा बुनाइको आधारभूत तालिम लिए । त्यही क्रममा उनले घरेलु साना तथा मझौला उद्योगबाट हातेतान किने । त्यतिबेला कपडा बुन्न चाहिने धागो घरेलुले नै उपलब्ध गराउँथ्यो । पछि उनले टेक्निकल स्कुल अफ काठमाडौँबाट कपडा बुनाइ तालिम लिए ।

स्वचालित मेसिनले ढाका बुन्दै, लुभु ललितपुर


उतिबेला हातेतानबाट कोरा कपडा मात्र बुनिन्थ्यो र रंग्याउनुपरे काठको बोक्रा, रातो माटो आदि प्रयोग गरेर खैरो रङमा रंगाइन्थ्यो । ००२ सालतिर उनले हातेतानको नक्कल गरी अन्य हातेतान बनाए र कपडाको विस्तार हुँदै गयो । ०१० सालदेखि ०२५ सम्म सक्कली ढाका कपडा बुनिन्थ्यो । कपडामा बुट्टा राख्नेमा बाबुकाजी श्रेष्ठ उत्कृष्ट थिए । उनलाई घरेलुले जागिर दिएर पाल्पा पठायो । त्यहाँ पनि उनले यस किसिमको कपडा बुनाइ फैलाए । लुभुबाट ढाका पाल्पा पुगेको उद्योग वाणिज्य संघ ललितपुर क्षेत्र-२ का अध्यक्ष केशव श्रेष्ठ सुनाउँछन् ।

०२५ सालसम्म नेवारी भाषामा वःटांगाबाट पनि कपडा बुन्ने काम हुन्थ्यो । यसबाट खासगरी रातो पारी भएको कालो साडी (हाकुगु पर्सी) मात्र बुनिन्थ्यो । साडी प्रचलन नेवारी समुदायमा अझै भए पनि वःटांगा प्रयोग भने बन्द छ । त्यसअघि कृषि र पशुपालन अपनाएका लुभुबासी यो काम फुर्सदमा मात्र गर्थे । ०२६ सालमा घरेलुबाट रामबहादुर श्रेष्ठले नेपालमा बनेको सेमी अटोलुम ल्याए । यो मेसिन तानबिना विद्युत् पाउदानीको साथमा सञ्चालन हुन्थ्यो । घरेलुबाट धागो ल्याई ज्यालादारीमा कपडा बुनिन्थ्यो र घरेलुमै बेचिन्थ्यो ।

त्यतिबेला लुभुमा हातेतान, ज्याकार्ड लुम, अर्धस्वचालित र स्वचालित तान थिए भने हाल पावर लुम, रायपियर लुम, ज्याकार्ड लुम र स्वचालित तान छन् । मजदुर अभावले रायपियर लुम सुरु भएको केशव बताउँछन् । धेरै किसिमका ढाका उत्पादन गर्ने केशव भन्छन्, "लुभुलाई औद्योगिक हब बनाउने योजना छ । यसका लागि सरकारले सीपमूलक तालिम दिनुपर्‍यो । भारतबाट डिजाइन किनेर ल्याएर पि्रन्ट गरिरहेका छौँ । डिजाइन सफ्टवेयरको तालिम दिनुपर्‍यो ।"

लुभुमा ८८ वटा उद्योग छन्, जसमा करिब १५ सयले रोजगारी पाएका छन् । लुभुको खास उत्पादन सुती र ढाका कपडा हो । यहाँका कपडा ठमेलमा बेचिन्छ । अमेरिका र फ्रान्समा पनि निर्यात हुन्छ । लुभुबाटै ढाकाको काम सुरु भएको हो ।

भारतीय नागरिक जहाँगीर अन्सारी २४ वर्षदेखि काठमाडौँमा कपडा बुनिरहेका छन् । लुभुमा २० वर्ष पुरानो हातेतानमा ढाका बुन्दै बसेका अन्सारीका अनुसार ह्यान्डलुमको बानी भएकाले अटोमेसिन चलाउन गाह्रो हुन्छ । आधुनिक मेसिनको आवाज ठूलो र बोक्न पनि गह्रौँ हुन्छ ।

किरण श्रेष्ठले प्राकृतिक हस्त बुनाइ तथा रंगाइको स्थापना ०५० सालमा सुरु गरेका थिए । हातेतान, प्राकृतिक रेसा र डाईमा ध्यान दिने उनी बजार खुम्चिएको अनुभव सुनाउँछन् । भन्छन्, "बजार र उत्पादन राम्रो छैन । नयाँ पुस्तामा यसप्रति रुचि छैन । पुराना पुस्ताले गर्न सक्दैनन् ।"



बिरामी उद्योग

सन् २०१२ को एक अध्ययनअनुसार प्रतिव्यक्ति २५ मिटर कपडा आवश्यक पर्छ । कपडा उद्योग संघका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ८० अर्ब रुपैयाँको कपडा भित्रिने गरेको छ । यी कपडा प्रायः चीन र भारतबाट ल्याइन्छ । ७ करोड मिटर कपडा देशमै उत्पादन हुन्छ भने १३ करोड मिटर बाहिरबाट ल्याइन्छ ।

संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानका अनुसार करिब साढे ३ खर्ब रुपैयाँ कपडाजन्य वस्तुमा खर्च हुन्छ । सबैलाई चाहिने कपडा नेपालमै उत्पादन गर्न किन असमर्थ ? प्रधान भन्छन्, "०७५/७६ मा सरकारले कपडामा मूल्य अभिवृद्धि कर लगायो । मोबाइलजस्तै एउटै बास्केटमा हालेर नियम बनाउँदा कपडा उद्योग अहिले बिरामी छ ।"

कपडा उद्यमीका अनुसार २४ मंसिर ०७५ मा सरकारले बैंक ब्याज सुविधा र विद्युतीय महसुलमा छूट दिने भने पनि कार्यान्वयन भएको छैन । सरकारले सीमामा चोरी-निकासी रोक्न नसक्दा र मूल्य अभिवृद्धि कर बढाउँदा टेक्सटाइल उद्योग बन्द हुने क्रम बढेको छ । हाल देशमा सानाठूला गरी करिब २ सय टेक्सटाइल उद्योग दर्ता छन् ।



कपडाको प्रदूषण

युनाइटेड नेसन इन्भाइरोमेन्टको अनलाइन समाचारअनुसार अन्तर्राष्ट्रिय उडानको दाँजोमा विश्वमा २० प्रतिशत प्रदूषित पानी र १० प्रतिशत कार्बनको उत्सर्जन फेसन उद्योगबाट हुन्छ । कपडा रंग्याउँदा वा डाई कार्यले विश्वमै दोस्रो ठूलो प्रदूषण हुने गरेको छ । एक जोडी जिन्सका कपडा डाई गर्न २ हजार ग्यालेन पानी लाग्छ । प्रतिसेकेन्ड कपडा बोकेको भारी ट्रक ल्यान्डफिल्ड साइटमा थुपार्ने वा जलाउने गरिन्छ । कपडा धुँदा मात्र प्रतिवर्ष आधा मिलियन टन माइक्रोफाइबर समुद्रमा जम्मा हुने गरेको तथ्यांक छ । यस्तै अवस्था रहे सन् २०५० सम्म फेसन उद्योगले कार्बन कटौतीका लागि सम्पूर्ण बजेटको एक चौथाइ रकम खर्चनेछ ।

सुती र सिल्क मात्र प्राकृतिक रेसा हुन् । बजारमा आएका पोलिस्टर, सिन्थेटिक, टेरिकटन, नाइलनजस्ता कपडा रसायनबाट मान्छेले बनाएका हुन् । यी रेसाबाट बनेका कपडा लगाउँदा चिलाउने, घोच्ने र मनोवैज्ञानिक रूपमै असर पर्ने विज्ञहरू बताउँछन् । धाख्वाका अनुसार पोलिस्टर भनेको एक्रेलिक नै हो । तर त्यसमा कटन थोरै मिसाएर राम्रो भन्दै बेच्नु भने गलत हो । भिस्कस, सिन्थेटिक, ऊनी स्वेटर सबै एक्रेलिक नै हो । यस्तै, राम्रो देखिने चक्करमा आराम र गुणस्तरमा ध्यान दिन भुल्दा उपभोक्ताले दुःख पाइरहेका छन् ।

आवरण तस्बिर : महेश प्रधान

प्रकाशित: आश्विन १३, २०७६

ट्याग: आवरणफेसन
×