[सम्पादकीय] भूराजनीतिमा निर्णायक दिशानिर्देश

- बसन्त बस्नेत

उदीयमान शक्तिराष्ट्रबाट महाशक्ति बन्ने दिशाउन्मुख चीनका राष्ट्रपति सी चिनफिङ अघिल्लो साता काठमाडौँ ओर्लंदै गर्दा उनका पदचापहरू देशान्तरसम्म सुनिएका छन् । विगतमा एकअर्काको शुभेच्छुकका रूपमा देखिएका दुवैतर्फका नेतृत्वहरू खुलेर अब कनेक्टिभिटी, विकास, सुरक्षा सहकार्य, जनस्तरका सम्बन्ध आदिमा रणनीतिक साझेदारीको दिशामा अग्रसर हुने वातावरण बन्दै गर्दा भूराजनीतिक वृत्तमा तरंग उठ्नु स्वाभाविक छ ।

छिमेकमै रहेर पनि नेपालले २३ वर्षसम्म चिनियाँ उच्च भ्रमणको प्राथमिकता पाउन सकेको थिएन । बीचका यी वर्षहरूमा चीन भूगोल र जनसंख्याले विशालतम देश त छँदै थियो । तर विश्वकै पहिलो ठूलो अर्थतन्त्र बन्दै सैन्य-सामरिक आयतन र पुरानो रेशममार्ग ब्युँताउने बीआरआई कूटनीतिमार्फत मौजुदा महाशक्ति अमेरिकालाई चुनौती दिने हैसियतमा उक्लियो । चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ महाधिवेशनमार्फत थप शक्ति सञ्चित गर्दै सर्वकालीन महासचिव बन्न पुगेका सी अहिले 'सी विचारधारा' मार्फत आफूलाई थप प्रभावी बनाउन प्रवृत्त छन् । तिनै सीको बहुप्रतीक्षित भ्रमणलाई लिएर काठमाडौँमा चल्ने आकलन र संशयहरू अब सकिएका छन् किनभने आफैँले नेपाल उनी चीनका लागि निकै प्राथमिक रहेको सन्देश प्रवाहित हुने गरी कूटनीतिक हाउभाउ पेस गरे ।

चीनले नेपालसँगको सधैँको मित्रतालाई अब रणनीतिक साझेदारीका रूपमा विकास गर्ने घोषणा गरेको छ । भूपरिवेष्ठित हुनुको पीडाबाट नेपाललाई मुक्त गर्दै रेल, सडकमार्फत भूजडित बनाई छाड्ने सीले बताए । अनि नेपालको सार्वभौमिकता र अखण्डताको विषयलाई निकट मित्रका हिसाबले सधैँ सम्मान गर्ने भनाइ फेरि दोहोर्‍याए । चिनियाँ भ्रमण टोलीका शृंखलाबद्ध वार्तापछि जारी संयुक्त वक्तव्यमा आर्थिक विकासलाई उच्च गति दिइने उल्लेख छ । बीआरआईको नेपाली संस्करणका रूपमा ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटीमार्फत द्विदेशीय सम्बन्ध अघि बढ्ने मार्गचित्र कोरिएको छ । सीले नेपाली जनतासँग चिनियाँ जनताको स्तरमा सम्बन्ध उकास्ने अनि सुरक्षालगायत संवेदनशील विषयमा रणनीतिक सहकार्य गर्ने उल्लेख गर्दै गर्दा हालसम्मको भूराजनीतिक अवस्थामा आधारभूत हलचल आउने आकलन गर्न सकिन्छ ।

कुरो यत्तिमा सकिन्न । चीनले यसअघि पनि नेपालसँग विभिन्न चरणमा भएका छलफलको निष्कर्ष संकेतमा सुनाएको छ । सीले घुमाउरो पारामा बोल्दै नेपालसँग समझदारीको कार्यान्वयनमा शंका जनाएका छन् । यसतर्फ व्यवहारबाटै स्पष्ट पार्ने दायित्व नेपालको छ । र, कहिले दक्षिणतर्फ अनि कहिले उत्तरतर्फ ढल्कँदै आएको भनी नेपाली नेतृत्वमाथि विगतमा लाग्दै आएका आरोपभन्दा माथि उठेर स्वायत्त र आत्मविश्वासपूर्ण कूटनीति सञ्चालनमा  तत्परता देखाउने बेलासमेत नेपालसामु आएको यो भ्रमणले प्रस्ट गरेको छ । नेपालमा लामो संक्रमणकाल र त्यससँगै जोडिएका राजनीतिक अलमलहरू सकिएपछि शान्त र स्पष्ट राजनीतिक माहोलमा चिनियाँ राष्ट्रपतिको भ्रमण भएको छ । यसप्रति अन्य छिमेकी र विश्व शक्तिकेन्द्रहरूका आफ्नै खाले रुचि देखिएका छन् । भूगोलमा मझौला आकारको भएर पनि नेपालसँग निहित भूसामरिक संवेदनशीलता नै यसको कारक हो ।

तसर्थ, विगतभन्दा अझै संवेदनशील र सतर्क भएर नेपाल सरकार, यहाँका राजनीतिक पार्टीहरू परराष्ट्र मामिला सञ्चालनमा अग्रसर हुनुपर्छ । हाम्रा मतभेदहरू हामीभित्रै छन् । राष्ट्रिय स्वार्थको परिभाषा र त्यसको संरक्षणमा नेपाली नेतृत्व एकजुट भएर लागिपर्ने अपेक्षा नागरिकहरूले राख्नु यो बेला प्रासंगिक हुन्छ ।

प्रकाशित: कार्तिक ३, २०७६