जनतामाथि चलाइएको विकासको डोजर

- यम बम

काठमाडौँ– बाटो खन्दै गरेको डोजर (एक्साभेटर) ले एक महिलालाई आक्रमण गर्छ । ती महिलालाई माटो सोहोरेझैँ बकेटले सोहोर्छ, कान्ला मुनी फ्याँक्छ । सिनेमाको दृष्यझैँ लाग्ने यो घटना बैतडी जिल्ला, दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकको हो ।

ग्वाल्लेककी गौरा जोशी ४ कात्तिकमा घाँस काट्न जाने तयारीमा थिइन् । घर नजिकै आफूहरूको जग्गासमेत पर्ने क्षेत्रमा अचानक डोजरले खन्न थाल्यो । उनीसहितका स्थानीय हतारिँदै त्यसतर्फ लागे, सडक खनिरहेको डोजरलाई रोक्न । तर गौरा उल्टै अचेत हुने गरी डोजरको आक्रमणमा परिन् । भाउजुलाई डोजरले हुत्याएर घाइते बनाएपछि तल कुद्छन् सुरेन्द्रप्रसाद जोशी । उनीमाथि ढुंगा प्रहार हुन्छ । यसरी डोजरले मान्छे आक्रमण गर्ने चालक हुन् देहीमाडौँका किशोर बोहरा । उनी प्रहरी नियन्त्रणमा छन् । 

दशरथचन्द नगरपालिकाको ग्वाल्लेकको सुण्नाखानदेखि पार्ससम्म सडक बनाउने काम भइरहेकोमा ग्वाल्लेकको करिब ५ सय मिटर क्षेत्रमा लामो समयदेखि विवाद थियो । सडक बनाउने भनिएको क्षेत्रमा पर्ने १५/१६ घरपरिवारको जग्गाको अंशवण्डा बाँकी रहेको र केही गुठीको जमिन समेत रहेकाले स्थानीयले समय दिन माग गरेका थिए ।

दशरथचन्द नगरपालिकाका मेयर नरेद्रसिंह थापाको भनाइमा स्थानीयको मागअनुसार तिहार पश्चातमात्र सडक विस्तारको काम थाल्ने सहमति भएको थियो । यसअघि २२ असोजमा सडक खन्न आएको डोजर पनि स्थानीयको आग्रहअनुरुप नै फिर्ता भएको थियो । सडक विस्तारका लागि वडा कार्यालयले ४ लाख बजेट छुट्याएको छ ।

तर सहमतिविपरीत निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीको निर्देशनमा सडक खन्न डोजर आइपुग्यो । ग्वाल्लेककी गोमती जोशीको भनाइमा सुरुमा स्थानीयले ‘केही समय दिनुस्, अहिले सडक नखन्नुस्’ भनेर हात जोडे पनि निर्माण समिति मान्न तयार भएन । स्थानीयको अवरोधका बाबजुद डोजर चलेपछि ढुंगा हानाहानको स्थिति सिर्जना भयो । “अवरोध हुन्छ भनेर थाहा भएर नै होला, डोजरसहित २५/३० जना आएका थिए,” गोमती भन्छिन्, “यहाँका ४/५ जनामात्र थियौँ, हामीमाथि आक्रमण गरे । तर अस्पताल गएर पट्टी गराउँदै उल्टै हामीमाथि दोष थुपारेका छन् ।”

गौरालाई डोजरले आक्रमण गरेपछि स्थानीयबासी थपिए र अर्काे समूहसँग ढुंगा हानाहान भयो । भाउजुलाई बचाउन गएका सुरेन्द्रको दाहिने कान क्षेत्रमा चोट लागेको छ । गौरा अचेत भइन् । डडेल्धुरामा रहेका उनका पति जगदीश जोशी घटना भएको थाहा पाउने बित्तिकै बैतडी पुगे । जिल्ला अस्पताल बैतडीमा उपचार गरी उनलाई थप उपचारका लागि धनगढी पुर्‍याइयो । पत्नी गौराको धनगढीको माया मेट्रो अस्पतालबाट पनि रिफर भएर नेपालगञ्ज मेडिकल कलेज कोहलपुर गइरहेका जगदीशले नेपालसँग भने, “बाहिर त ठूलो चोटपटक देखिँदैन, डोजरले नै तानेर पछारेकाले भित्री शरीरमा चोट लागेको अनुमान छ, अब कोहलपुरमा थाहा हुन्छ ।” उनी ५ असोज बिहानमात्र धनगढीमा रहेको माया मेट्रो पुगेका थिए ।

सोही घटनामा घाइते भइ गौरासँगै उपचारका लागि कोहलपुर गइरहेका सुरेन्द्र आफूमाथि ढुंगाप्रहार भएको बताउँछन् । घटनामा सडक निर्माण गर्नुपर्छ भन्ने पक्षका पनि घाइते भएका छन् । ६ जना जिल्ला अस्पताल बैतडीमा उपचार पश्चात फर्किसकेका छन् । 

मेयर थापा मान्छेमाथि डोजर चलाएर विकास नहुने टिप्पणी गर्छन् । भन्छन्, “हामीले त जथाभावी गर्ने निर्माण समिति नै बन्द गर्न भनेका थियौँ । मनोमानी ढंगबाट डोजर चल्यो।”

बैतडीका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डे पीडितपक्षबाट जाहेरी नआए पनि चालकलाई पक्राउ गरी अनुसन्धान थालिएको बताउँछन् । डोजर चालक बोहराले ‘डोजर सञ्चालक भानदेव जाेशीले बाटो खन्न भनेपछि आफू गएको’ बयान दिएका छन् । ढुंगा प्रहार भएपछि आफूले केही नदेखेको र आक्रमणमा महिला परेपनि नियतबस नगरेको’ प्रहरीलाई बयान दिएका छन् । घटनाबारे निर्माण समितिका अध्यक्ष जोशीको मोबाइलमा सम्पर्क गर्न खोज्दा ‘स्वीच अफ’ थियो। 

प्रकाशित: कार्तिक ५, २०७६

ट्याग: विकास