कोइरालालाई पन्छाएर त्रिविमा बाँस्कोटालाई यसरी बनाइयो उपकुलपति
कोइरालालाई काउन्सिलमा लैजानुको भित्री उद्देश्य चाँहि राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत रहेका धर्मकान्त बाँस्कोटालाई त्रिविको उपकुलपति नियुक्त गर्नुसँग जोडिएको थियो ।

१७ कात्तिक ०७६ दिउँसो नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त भएको खबर एक्कासी बाहिरियो । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि अपेक्षित व्यक्ति काउन्सिलको अध्यक्ष नियुक्त भएको खबर आउँदा धेरैलाई आश्चर्य लागेको थियो ।
अर्कातिर, समग्र चिकित्सा क्षेत्रलाई नियमन गर्ने काउन्सिलको अध्यक्षमा कोइरालाको नियुक्तिलाई सराहना पनि गरिएको थियो । तर, कोइरालालाई त्यसरी काउन्सिलमा लैजानुको भित्री उद्देश्य चाँहि राष्ट्रपति विद्यादेवी भण्डारी निकटस्थ धर्मकान्त बाँस्कोटालाई त्रिविको उपकुलपति नियुक्त गर्नुसँग जोडिएको थियो । बाँस्कोटा त्रिविको उपकुलपतिका लागि सम्भावितमध्ये दोस्रो नम्बरमा सिफारिस भएका थिए ।
२० साउन ०७६ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा सर्च कमिटी गठन भएको थियो । ५ भदौमा ७ वटा विश्वविद्यालयको उपकुलपति खाली हुँदै थिए । त्यसकारण १५ दिन पहिला नै सर्च कमिटी गठन भएको थियो तर समयमा नाम सिफारिस गर्न अक्षम भइदियो । र, दुई महिनापछि असोज पहिलो साता तीन जनाको नाम सिफारिस गर्यो, भगवान कोइराला, धर्मकान्त बाँस्कोटा र चन्द्रमणि पौडेल ।
कोइरालालाई अन्यत्र व्यवस्थापन गरेपछिमात्रै बाँस्कोटाको लागि बाटो खुल्ने थियो । त्यति कुरा बुझेर नै सरकारले कोइरालालाई काउन्सिलमा लैजान मनाएको थियो । बाँस्कोटाको नाम चर्चामा आउनुभन्दा पहिला नै कोइरालालाई प्रधानमन्त्री ओलीले त्रिविको उपकुलपतिका लागि प्रस्ताव गरेका थिए ।
कोइरालाले जवाफमा रेक्टर र रजिस्ट्रार आफूले सिफारिस गरेको नियुक्त गर्नुपर्ने सर्त राखेका थिए । त्यही बीचमा सर्च कमिटीले कोइराला, बाँस्कोटा र चन्द्रमणि पौडेलको नाम कुलपति तथा प्रधानमन्त्री ओलीसमक्ष सिफारिस गरेका थिए ।
बाँस्कोटा राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत हुन् उनी । उनी नाक, कान, घाँटी (ईएनटी) का विशेषज्ञ हुन् ।
नियुक्तिमा राष्ट्रपतिको चासो
पछिल्ला दिनमा राष्ट्रपति भण्डारीले राजनीतिक नियुक्तिमा भागबण्डा खोजिरहेकी छन् । त्यही कोटाबाट बाँस्कोटा त्रिविको उपकुलपति हुने सौभाग्य पाए । राष्ट्रपति भण्डारीको म्यानमार र जापान भ्रमण टोलीमा जानु अगावै डा. बाँस्कोटा उपकुलपतिका लागि सिफारिस भइसकेका थिए । त्यसअर्थमा नियुक्तिको दौडमा रहेका व्यक्ति राष्ट्रपतिको भ्रमण दलमा सहभागी हुनु अनैतिक हुन्थ्यो ।
तर, बाँस्कोटा निजी चिकित्सकको हैसियतमा भ्रमणमा गएको दावी गर्छन् । ‘बाहिर के के भन्छन् सबै कुराको जवाफ दिन सम्भव हुँदैन, म निजी चिकित्सक भएकोले गएको हुँ’ बाँस्कोटाले नेपालसँग भने ।
बाँस्कोटाको जीवनकालमा एउटा ‘दु:खद’ घटना पनि छ । ०६९ मा त्रिविका तत्कालीन उपकुपति हिराबहादुर महर्जनले चिकित्साशास्त्र अध्ययन संस्थानमा ३ महिनाका लागि निमित्त डिन नियुक्त गरेका थिए । तर, वरिष्ठता मिचेर बाँस्कोटालाई नियुक्त गरेको भन्दै गोविन्द केसी अनशन बसे । अनि, ४ दिनमै बाँस्कोटाको डिन पद खुस्कियो । र, वरिष्ठतामा ५ औँ नम्बरमा रहेका प्रकाश सायमीलाई डिन नियुक्त गरियो ।