वज्रयानको मूलथलो स्वयम्भूको अन्तर्कथा

  • सम्पदा

- सुनिता लोहनी

नयाँ पुस्ता स्वयम्भूको फोटो खिचेर सामाजिक सञ्जालमा प्रोफाइल अपलोड गर्न व्यस्त छ । विदेशी पर्यटकका लागि स्वयम्भू 'मंकी टेम्पल' का रूपमा चर्चित छ । स्वयम्भू न सुन्दर दृश्यावलीका लागि मात्र हो, न त बाँदरका लागि । उत्पत्ति र विकाससम्बन्धी मिथकले स्वयम्भूलाई रहस्यमय बनाइदिएको छ ।

काठमाडौँ उपत्यकाको सिर्जनासँगै स्वयम्भूको कथा जोडिएको छ । पाँचौँ शताब्दीतिर उत्पत्ति भएको मानिने स्वयम्भूमा शताब्दीयौँदेखि मानव पूजाआजा गर्न जान्छन् । र, स्वयम्भूको उत्पत्तिसँगै काठमाडौँ उपत्यकामा मानव बस्ती बसेकाले यसको वास्तु, मूर्तिकला, मूर्ति, मन्दिर, चैत्य र त्यहाँ विकासित दर्शनको मिहीन अध्ययन भइसकेको छैन ।

पौराणिक कथाअनुसार स्वयम्भू नहुँदो हो त काठमाडौँमा बस्ती बसाल्नु असम्भव हुन्थ्यो । स्वयम्भू चैत्यपुराणअनुसार लाखौँ वर्षपहिले काठमाडौँ ठूलो दह थियो, जसको चर्चा सर्वत्र थियो । विपश्वी बुद्ध यहाँ आए । चन्द्रागिरिमा बसेर ध्यान गरे । दहमा नागको बसोबास थियो । ध्यान गरेपछि उनले कमलको बीउ दहमा फालिदिए । ८० हजार वर्षपछि कमल फुल्यो ।

कालान्तरमा त्यही फूलको दर्शन गर्न मञ्जुश्री २ पत्नी र ५ सय विद्यार्थीसहित तिब्बत हुँदै साँखुको मणिचुर आए । हिँड्न नसकेका जेठी पत्नीलाई फूलचोकी र पछि कान्छीलाई मच्छेगाउँमा छाडे । नागार्जुन पुगेपछि उनमा विचार आयो, बस्ती बसाउन पाए कति सुन्दर होला !

खड्गले गोकर्णबाट काट्न खोज्दा असफल भए । अनि चोभारमा गएर काटे । दहको सम्पूर्ण पानी बाहिर जानुका साथै दहमा बस्ने नाग पनि बगे । नाग बगेपछि कालान्तरमा पानीको हाहाकार हुन्छ भन्ठानेर उनले टौदहमा कर्कट नागलाई बस्ने व्यवस्था गरिदिए । उनीसँगै आएका धर्माकरलाई राजा उर्फ कोटवाल बनाए । धर्माकरले उनीबिना बस्न नसक्ने भनेपछि श्रीपञ्चमीको हरेक रात आउने, १ वैशाखसम्म बस्ने र शिक्षा दिने वाचासहित मञ्जुश्री फर्किए ।

तर इतिहासविद् प्रमाणलाई मात्र विश्वास गर्छन् । वैज्ञानिक युगमा हरेक कुरालाई परीक्षण गरिन्छ । सम्पदाविद् सुदर्शनराज तिवारी स्वयम्भूको उत्पत्ति कथालाई फरक तरिकाले अथ्र्याउँछन् । उनी कथालाई मिथक मात्र भन्न रुचाउँदैनन् । बरु त्यसको पछाडि अर्थपूर्ण तर्क हुन सक्ने अनुमान गर्छन् । भन्छन्, "यी सुनिएका कथा किंवदन्ती हुन्, कथाकारले विम्ब प्रयोग गरेका हुन्छन् । त्यसलाई अर्थ्याउन सक्नुपर्छ ।"

सम्पदाविद् तिवारी यसलाई आध्यात्मिक साम्राज्यवादको पक्ष मान्छन् । मञ्जुश्री पहिले साँखुको मणिपुर जानु, त्यसपछि नागार्जुन, चन्द्रागिरि र फूलचोकीजस्ता थातथलो कथामा बारम्बार आउनुमा यी सब घटनाको मञ्जुश्रीभन्दा अगाडि नै ती ठाउँ अर्थपूर्ण हुनुपर्छ । नाम बारम्बार आइरहनुले यी चार डाँडामा पक्कै केही छ भन्ने अर्थ लाग्छ ।

स्वयम्भू पुराण १४ औँ शताब्दीमा लेखिएको मानिन्छ । सम्पदाविद् तिवारीका अनुसार जसले स्वयम्भू पुराण लेखे, उनको संस्मरणमा यी ठाउँ रहेछन् । साँखु वारिपट्ट लिच्छवि कालमा निर्मित चाँगुनारायण मन्दिर छ । चाँगुनारायण विष्णुको प्रतीक हो । साँखुभित्रको विहार पनि लिच्छविकालीन रहेको तिवारी बताउँछन् ।

फूलचोकीतिर विशंखुनारायणको मन्दिर छ । चम्पादेवीको छेउमा शेषनारायणको मन्दिर र नागार्जुनमुनि इचंगुनारायण । इतिहासकारका अनुसार चार नारायण लिच्छवि शासकले तेस्रो शताब्दीतिर राखेका हुन् । कथाअनुसार हरिदत्त वर्माले ती मन्दिर बनाएको भनिन्छ । लिच्छवि शासक जब वैष्णव थिए, बस्ने ठाउँलाई मण्डलाको रूपमा सोच्ने गर्थे । त्यसको एउटा केन्द्र हुन्छ र वरिपरि चार किल्ला ।

हिन्दु, बौद्ध परम्पराअनुसार सहर होस् या घर, सबैको प्रारूप सोही 'कसमस' वा वास्तुअनुसार गर्नुपर्छ । चार नारायण चारतिर बसे । बीचका सत्यनारायण हाँडीगाउँमा बसे । सत्यनारायण रहेको ठाउँ लिच्छवि राजधानीको केन्द्र हो । मल्ल युगमा त्यो राजधानी भक्तपुर सर्‍यो । कालान्तरपछि पनि चार नारायणको पूजा भइरहेको छ भने पाँचौँ नारायण सत्यको पूजा हुन छाड्यो । यस समय काठमाडौँमा वैष्णव र वज्रयान दुवै मानिन्थ्यो ।

स्वयम्भू चैत्यपुराणअनुसार मञ्जुश्रीले कमलको फूल काटे । मञ्जुपटन सहर बनाए । मञ्जुश्रीले कमल टिप्दा जरा टुक्रियो । त्यो जरा गुह्यश्वेरीमा रहेको विश्वास गरिन्छ । तसर्थ, मञ्जुपटन स्वयम्भू र गुहेश्वरीको बीचमा छ । पहिले डाँडाको टुप्पामा बस्ती थियो । पछि तलतिर सर्‍यो । बुङमतीमा ठडिएको सात सय फिट कालो माटो सबैभन्दा ढिलो सुकेको विज्ञहरूको अनुमान छ ।

हिन्दु ग्रन्थमा जस्तो सत्य र त्रेता युगबाट नभई द्वापर युगबाट चर्चा सुरु हुन्छ, स्वयम्भू पुराण । द्वापर युगमा स्वयम्भू मासिन्छ भनेर चैत्य बनाइयो । स्वयम्भू ग्रन्थअनुसार बंगालबाट प्रचण्डदेव आए । उनी दीक्षित भएपछि शान्तिकराचार्यमा परिणत भए । उनैले स्वयम्भू महाचैत्य बनाए । स्वयम्भूमा अवस्थित शान्तिपुर त्यसैको प्रतिविम्ब हो । शान्तिकरलाई वज्रयान 'बुद्धिज्म' को प्रारम्भकर्ता पनि भनिन्छ । पहाडको टुप्पोमा बसेको स्वयम्भू महाचैत्य ५ औँ शताब्दीमा बनेको र पछि १७ औँ शताब्दीमा पुनर्संरचना भएको मानिन्छ ।

के हो वज्रयान ?

वज्रयानको विकास काठमाडौँ उपत्यकाभित्रबाट भएको विज्ञहरूको एकमत छ । सम्पदाविद् वसन्त महर्जनका अनुसार सारा जगतले चिन्ने तिलौराकोटका सिद्धार्थ गौतम, जो शाक्यमुनि बुद्ध बने । उनले सुरुमा दिएको उपदेशलाई थेरवाद ज्ञान भनिन्छ । यस्तै, बुद्ध धर्ममा त्रियानको पनि चर्चा छ - हिनयान, महायान र वज्रयान ।

बुद्धले धेरै ज्ञान दिए पनि जसको क्षमता जति छ, उसले त्यही रूपमा बुझ्यो । आफूले ध्यान गरेर र बुद्धत्व प्राप्त गरेर जन्म र मृत्युबाट बच्नेलाई हिनयान भनियो । साधना गरेर अरूलाई पनि दुःखबाट मुक्ति दिन बोधिसत्वयान उर्फ महायान भनियो । रोचक के भने स्वयम्भू थेरवाद सिद्धान्तमा बनेको छैन । बरु बुद्ध जन्मेको ५ सय वर्षपछाडि विकास भएका सिद्धान्तमा आधारित स्वयम्भू बनेको देखिन्छ, जुन वज्रयान हो । वज्रयानमा तन्त्रमन्त्रको साधना गरिन्छ ।

थेरवादअनुसार ४ असंख्य कल्प र एक लाख अरू कल्प पार गरेपछि बुद्धत्व प्राप्त हुने हुँदा वज्रयानले एउटै जन्ममा तन्त्रमन्त्रको साधनाबाट बुद्धत्व प्राप्त गर्न सकिने दर्शनका आधारमा यसको प्रादुर्भाव भएको हो । अनुसन्धानकर्तासमेत रहेका महर्जनका अनुसार स्वयम्भूमा वज्रयानको ठूलो प्रभाव छ । करिब १० वर्षअगाडि त्यहाँका मूर्तिको लगत राख्दा भेटिएका करिब ६ सय १६ मूर्तिमा शाक्यमुनि बुद्धका जम्माजम्मी १५-१६ वटा मात्र मूर्ति भेटिएको उनी बताउँछन् ।

महर्जनका अनुसार बुद्ध र बौद्ध भनेको फरक हो । बुद्धिस्ट दर्शनमा आधारित अन्य देउताको मूर्ति बौद्धअन्तर्गत पर्छ । सात बुद्धमध्येका शाक्य मुनि एक र अन्तिम बुद्ध हुन् । स्वयम्भूमा पञ्चबुद्धका धेरै मूर्ति छन्, जुन मानव-बुद्ध होइनन् । ती ध्यानी बुद्ध हुन् । ध्यान गरेपछि बनाएका मूर्ति ।

करिब ८-९ औँ शताब्दीतिर बंगालबाट तन्त्रविद्या नेपाल भित्रिइसकेको इतिहासविद्को मत छ । तर तिवारी यस भेगमा तन्त्रविद्या किराँती समयदेखि नै सामान्य प्रचलनमा रहेको बताउँछन् । उनका अनुसार बलि दिने कुरा लिच्छविको पालामा भेटिएका शिलापत्रमा उल्लेख छ । शक्ति कल्टको उत्पत्तिसँगै तन्त्रविद्या सुरु भएको मानिन्छ । वज्रयानको मूल पक्ष पनि बलिदान हो ।

वरिष्ठ मूर्तिकार एवं थेरवाद बुद्धिस्ट एकेडेमीका सहायक प्रधानाध्यापक महेन्द्ररत्न शाक्यका अनुसार ६-७ औँ शताब्दीमै वज्रयानको उल्लेख भएको अंशुवर्माको अभिलेखमा भेटिन्छ । वज्रयानको उदयसँगै बौद्ध धर्ममा थुप्रै 'भगवान्' को सिर्जना भयो, जसमा करिब ३ सय देवदेवीको वर्णन छ । हिन्दु ग्रन्थमा भएका ब्रह्मा, विष्णु, शिव, कुँवेर, गणेश सबै वज्रयानमा समाहित छन् ।

वज्रयानको अर्को विशेषता देवीको उपस्थिति हो । बौद्ध धर्ममा देवीको उपस्थिति छैन । तर वज्रयानले पञ्चदेवीको सुरुआत गरेर लैंगिक समानता भित्र्याएको छ । १० र ११ औँ शताब्दीतिर यहाँ वज्रयानको विकास भइसकेको केही विज्ञहरूको मत छ । "मानदेवकै पालामा काठमाडौँमा बौद्ध धर्म प्रखर थियो । सबैभन्दा पुरानो गोपाल वंशावलीअनुसार मानदेवलाई पितृहत्याको आरोप लगाइयो," सम्पदाविद् तिवारी भन्छन्, "चैत्य राजारानीको सम्झनाको सन्दर्भमा बनाइन्छ । मानदेवका बुबा धर्मदेवलाई हरिशयनी एकादशीको दिन पारेर काटियो र चैत्य बनाइयो । त्यसबेला लिच्छविकालमा यसरी समाधि लिने चलन थियो ।" धर्मदेवका बाबु वृषदेवलाई पनि त्यसरी नै सोही दिन काटिएको तिवारीको तर्क छ । यस कारण हरिशयनी एकादशीको भोलिपल्ट अझै पनि हाँडीगाउँमा जात्रा हुने गरेको उनी सुनाउँछन् ।

आफूलाई काटेर समर्पण गरिने चैत्य, स्तुपामा बुद्धको अस्तु या बुद्धका सामग्री राखेर बनाइन्छ । देहान्तपछि बुद्धको अस्तु ८ भागमा बाँडियो र ७ राज्यलाई दिइयो । एक भागचाहिँ नवलपरासीको रामग्राममा भएको स्तुपामा रहेको पुरातत्त्वविद् तिवारी बताउँछन् । मौर्यवंशका राजा अशोकले बाँकी सातै ठाउँको अस्तु झिकेर हजार-हजार भागमा बाँडेर विश्वभर सात हजार स्तुप बनाएका थिए ।

स्वयम्भूमा पञ्चबुद्धको मूर्ति पनि भेटिन्छ । लिच्छविकालीन दोस्रो अन्तिम राजा जयदेव द्वितीयले सबै राजाबारे अभिलेखमा उल्लेख गरेका थिए । वृषदेवबारे बौद्ध धर्मको पक्षपाती भनेर अभिलेखमा उल्लेख गरेका छन् । वृषदेवले नै पञ्चबुद्धको मूर्ति बनाएका हुन् भन्ने केही विद्वानको मत छ । पञ्चबुद्धको अवधारणालाई पञ्चज्ञान र पञ्चतत्त्वसँग पनि जोड्ने गरिन्छ । पञ्चबुद्धमा वैरोचन, अक्शोभ्य, रत्नसम्भव, अमिताभ र अमोकसिद्धि । वैरोचनलाई आदिबुद्ध पनि भनिन्छ । उनी धर्मचक्र मुद्रामा हुन्छन् । अमिताभ ध्यान मुद्रामा र रत्नसम्भव वरद (वरदान) मुद्रामा हुन्छन् । नेपालका राजा पनि यही मुद्रामा हुने गरेका तस्बिर भेटिन्छन् ।

बुद्धका मूर्ति प्रायः ३ अवस्थामा भेटिन्छन्- शान्त, अर्धशान्त र क्रोध मुद्रा । क्रोध मुद्राका मूर्ति वज्रयानमा पर्छन् । वज्रयानमा ध्यान देवताको महत्त्व ठूलो छ । ध्यान गरेपछि आएको आकृतिलाई चित्र वा मूर्तिमा उतार्छन् । शिवमा कुनै शक्ति छ भने त्यो शक्ति आफूमा पनि आओस् भनेर त्यहीअनुरूप अन्तमा चित्र कोर्ने र मूर्ति बनाउने गर्छन् । मूर्ति बनाएपछि त्यो मनको आकाशमा आएको भन्दै हटाउँछन् । बौद्ध धर्मले ब्रह्मा, विष्णु, शिव मानेको छ । तर तिनलाई संसारको सृष्टिकर्ताको रूपमा भने हेरेको छैन । बुद्धले आफ्नो भाग्य आफैँले बनाउने भन्नेमा विशेष जोड दिएको मूर्तिकार शाक्य बताउँछन् । उनका अनुसार बुद्धले देवता छैन भनेको छैन र बुद्ध नास्तिक पनि होइन ।

युनिक आँखा

महर्जनका अनुसार स्वयम्भूमै गहिरो ध्यान दिँदा संसारमै नभएको दर्शन पाइन्छ । स्वयम्भू महाचैत्यमा दुई आँखा छन्, जुन संसारमा कतै नभएको उनी बताउँछन् । मुस्ताङमा पनि आँखा छ । स्वयम्भूकै आँखा बनेपछि त्यहाँ बनाइएको हो । मुस्ताङमा स्थानीय संस्कृति छ तर बुद्धको दर्शन अनुसरण गरिएको छ । आँखा भएको स्थानलाई हर्मिका भनिन्छ । स्तुपाको चार दिशामा चार बुद्ध छन् । विशेष अवस्थाबाहेक अन्य बेला आदिबुद्ध मूर्ति राखिँदैन । आँखालाई त्यही आदिबुद्धको प्रतीकका रूपमा बुझिन्छ ।

महर्जनका अनुसार नेपालमा थेरवाद राणाकालमा मात्र विकास भएको हो । तर वज्रयानबारे सातौँ शताब्दीमै अभिलेख भेटिन्छ भने थेरवादको प्रमाण भने भेटिएको छैन । काठमाडौँ उपत्यकामा भएका बौद्ध स्तुप सबै महायान र वज्रयानमा आधारित रहेको पुरातत्त्वविद्को भनाइ छ ।

कतिपयले बुद्ध जीवित छँदै काठमाडौँ आएको तर्क गरेका छन् । स्वयम्भू पुराणमा बुद्ध काठमाडौँ आएको उल्लेख छ । तर प्रमाण केही छैन । बुद्धको सय वर्षसम्मै १८ वटा 'स्कुल अफ थट' थियो भनिन्छ । तेस्रो शताब्दीमा महायानको विकास भयो । दक्षिण भारतबाट सुरु भई बंगालमा चरम विकास भई तन्त्र काठमाडौँ आयो । तर वज्रयानको त्यही विकास उता भने हुन सकेन । महर्जन भन्छन्, "यसरी यहाँ महायान र वज्रयान छ्यासमिस भयो । यसलाई नेवार बुद्धिज्म भन्न थालियो ।"

तन्त्रको तपोभूमि

बुद्ध भनेको अहिंसा हो । तर वज्रयानको विकाससँगै तन्त्रको विकास भयो । वज्रयानमा बलिदान दिने प्रथा भएकै कारण यसको विकासमा बेलाबेला अवरोध भइरहेको विज्ञ बताउँछन् । यसलाई पुष्टि गर्न सम्पदाविद् तिवारी भन्छन्, "लिच्छविकालमा माछा, कुखुरा, राँगो, प्याज, लसुनमा कर लगाएको अभिलेख भेटिन्छ ।"

यस्तै, शान्तिकराचार्यले समाधि लिएको विश्वास गरिने शान्तिपुरमा तान्त्रिक अभ्यास गरिन्छ । त्यहाँ बुद्धाचार्यका थकालीले मात्र पूजा र ध्यान गर्न पाउँछन् । स्वयम्भूकै पुजारीलाई पनि त्यहाँ प्रवेश निषेध छ । पुजारी बुद्धाचार्यका अनुसार थकाली बितेपछि मात्र उनले शान्तिपुरमा प्रवेश पाउँछन् । त्यहाँ जाँदा माछामासु खान नहुने, चोखो बस्नुपर्ने र मान्छे मर्दा जुठोसमेत बार्नु नपर्ने उनी बताउँछन् ।

शान्तिपुरको अर्को रोचक पक्ष भनेको त्यहाँ कुँदिएका पेन्टिङ हुन् । ती पेन्टिङ कलाको प्राविधिक दृष्टिकोणले उत्कृष्ट नभए पनि शान्तिपुरका पुजारीले ध्यान गरेर आएपछि कोरेका हुन् । बनारसको शंकराचार्य मठबाट शंकराचार्य दुई पटक काठमाडौँ आएको अभिलेख स्वयम्भूको छाउनी म्युजियममा छ । त्यसबेला भारतमा शैवतन्त्रको विकास भइसकेको थियो । उनले आनन्ददेव युवराजलाई दीक्षा दिएको अभिलेखमा उल्लेख छ ।

प्रतापपुर र अनन्तपुर

मिथकअनुसार राजा गुणकामदेवको पालामा अनावृष्टि भयो । त्यसपछि शान्तिपुरमा नागको सभा भयो तर कर्कट नागले भाग लिएनन् । गुणकामदेवले फर्काएर ल्याए । मच्छिन्द्रनाथको कथा पनि यसैसँग जोडिएको मानिन्छ । फेरि राजा प्रताप मल्लको पालामा पानी परेन । उनले शान्तिपुर भित्रबाट नागको रगतले लेखेको पुस्तक निकाल्दा वृष्टि भएको विश्वास छ । उनले स्वयम्भूमा प्रतापपुर र अनन्तपुरको निर्माण गरे । शिखर शैलीका यी चैत्य वज्रयानका देउताका लागि बनाइएको हो ।

स्वयम्भू चैत्यसँगै रहेको बिहार, जहाँ स्वयम्भूका पुजारी बुद्धाचार्यको कार्यालय छ । यसको अगाडि लिच्छवि चैत्य छ । स्वयम्भू चैत्यको १३ भुवनले निर्वाणका १३ चरण देखाउँछन् । १३ चरण पार गरेपछि मात्र बुद्धत्व प्राप्त गर्न सकिन्छ । स्वयम्भूमा जलचरलाई सम्मान दिई नाग राजाको प्रतीकको रूपमा नागपुर छ ।

सन् १९५४ मा बनाइएको कर्मराजा महाविहार तिब्बती शैलीको काग्युप्पाको मोनास्ट्री छ, जहाँ बुद्धको ठूलो चित्र छ । यस्तै, भासुपुर र वायुपुर पञ्चतत्त्वको सिद्धान्तका मन्दिर हुन् । ज्योतिकीर्ति महाविहारमा ५ ध्यानी बुद्धका चित्र छन् । वज्रयाना देवताको प्रतिनिधित्व गर्ने १० देवताको प्रतिमा अक्शोभ्य, वैरोचन, मामाकी तारा, रत्नसम्भव, पानडारा आदिको प्रतिमा पनि स्वयम्भूमा छ ।

स्वयम्भूको विकास

पुरातत्त्वविद् महर्जनका अनुसार एउटै आँखाले स्वयम्भूको विकासलाई हेर्नु हुँदैन । आज हेर्दा तिब्बती प्रभाव बढी छ । स्वयम्भूमा ५-६ औँ शताब्दीदेखि हालसम्मका सानाठूला थुप्रै मूर्ति छन् । अझ कति मूर्ति त हेर्नसमेत पाइँदैन । साथै, स्वयम्भूको विकासमा दर्शन मात्र नभई त्यसमा आधारित कलाको विकास भएको छ । थान्का, पौभा र प्रस्तर कला त्यसैका नमुना हुन् ।

लुम्बिनीमा जन्मेका शाक्यमुनि बुद्धले जुन दर्शन बाँडेका छन्, त्यसलाई अनुसरण र अभ्यास गर्ने क्रममा त्यसको क्षेत्रफल बढाइयो । ध्यान गर्दा आएको विचारलाई चित्र, मूर्ति बनाइयो । धेरैजसो मूर्ति सोही अवस्थाका हुन् । महर्जनका अनुसार मुख्य मूर्तिले अर्को मूर्तिलाई टेकेको देखिन्छ । धेरैजसो नांगा मान्छे र आइमाईले कुल्चेको भेटिन्छ । त्यस्ता मूर्ति मनमा भएका विचार, दम्भ कुल्चेर माथि आएको भन्ने बुझिन्छ । कतिपय नांगा मूर्ति हुन्छन् । महर्जनका अनुसार शुद्ध ज्ञान देखाउन ती मूर्ति बनाइएको हो । नबुझ्नेले अश्लील ठान्छन् तर काम, लोभ, मोह केही छैन भनेर यसले देखाएको हो ।

०७२ को भूकम्पले भित्ता भत्कायो । शान्तिपुरलाई पनि असर पार्‍यो । तर शान्तिपुरमा कति तला छ, मुख्य थकालीबाहेक अन्यलाई थाहा छैन । पुरातत्त्व विभागका सूचना अधिकारी सुरेशसुराश श्रेष्ठका अनुसार शान्तिपुरमा धेरै तला छन् र २७ भन्दा बढी कोठा भएको अनुमान छ ।

मुलुकमा पटक-पटक आएको भूकम्पका कारण स्वयम्भूले कति भार थाम्न सक्छ ? भू-इन्जिनियरले त्यसको अनुसन्धान गरेको पुरातत्त्व विभागले दाबी छ । ३५ फिट उचाइमा बनाउन पाइने नियमलाई अहिले २४ फिटमा झारिएको छ ।

प्रकाशित: कार्तिक १९, २०७६