‘भाग मिल्खा भाग’
हिलो घटनाबाट शिक्षा लिएपछि दोस्रो घटनामा भने मैले बुद्धि पुर्याएँ । १०० मा फोन गर्ने टन्टो गरिनँ । प्रहरी बोलाउँछु भनेर पनि धम्क्याइनँ । सिधै ज्यान जोगाएँ ।

एम सरको ‘गम्भीर गल्ती’
एम सर अर्थात् कृष्णबहादुर महराले ढाँटेकोमा अध्यक्ष प्रचण्डलाई ठूलो दु:ख छ । दाङ पुगेर भने– ‘महराजीले नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गर्नुभयो ।’ प्रचण्डले थाहा नपाएझैँ गरिदिए– महराले नेतृत्वलाई मात्र होइन, पूरै देशलाई ढाँट्न खोजेका थिए । कर्मचारी समायोजनको रिस पोख्न तथा आफ्नो राजनीतिक प्रतिष्ठा सिध्याउन भएको षडयन्त्रका रुपमा उनले घटनालाई अर्थ्याएका थिए ।
जब मिडियामार्फत घटना सार्वजनिक भयो, तब महराको सचिवालयले भन्यो– घटना भएको भनिएको दिन उनी बालुवाटारमै थिए । मिडिया रिपोर्टलाई ‘भ्रामक’ भन्दै ‘कठपुतली तयार गरी सामाजिक रुपमा बदनाम गर्ने दुस्प्रयास भएको’ सचिवालयले दाबी गर्यो ।
महराले दुनियाँलाई ढाँट्न खोजेका रहेछन् भन्ने एकपछि अर्को समाचारका तथ्यहरू र प्रहरीसँग रहेको सीसीटीभी फुटेजले प्रस्ट्यायो । दोस्रो गल्ती महराले राजीनामा दिँदा गरे । ‘छानबिन नसकिँदासम्म’ भन्दै उनले राजीनामामा सर्त राखे । छानबिन सकिएपछि निर्दोष सावित भइहाल्छु भन्ने महराको मनसाय देखिन्थ्यो । दोस्रोपटक उनले सर्त हटाएर राजीनामा दिए ।
मिडियामा खबर छरपस्ट भएपछि प्रचण्डले जोखबहादुर महरा र नारायणकाजी श्रेष्ठलाई बुझ्न पठाएछन् । त्यसपछि प्रचण्ड आफैँ पुगेछन्– ‘जे हो त्यो जस्ताका तस्तै भन्नुस् ।’ सकभर देशलाई अल्मल्याउन खोजेका महराले किन सत्य भन्थे ? त्यसपछि देश दसैँमा रमाएका बेला महरा कसरी बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ परे र डिल्लीबजार कारागार पुगे सबैलाई थाहा छ ।
एकछिनलाई प्रचण्डले भनेको मानिदिऔँ– महराले नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गरे रे । तर नढाँटीकन नेतृत्वलाई सबै कुरा भनेका भए पनि एम सरको ‘नियति’ फेरिन्थ्यो होला र !
सडकभरि डरैडर
दसैँको फूलपातीको दिन । पत्रपत्रिकालाई दसैँ लागे पनि अनलाइनहरू अपडेट थिए । महराविरुद्ध बानेश्वर प्रहरी वृत्त, तीनकुनेमा संसद् सचिवालयकी कर्मचारीले बलात्कार प्रयासको आरोपमा उजुरी दिएकी थिइन् । एम सरकै कारण दसैँमा पनि पाठकको अभाव थिएन । ‘महराविरुद्ध बलात्कार प्रयासको उजुरी...’ सहितका समाचार पोस्ट गरेर म घर फर्किंदै थिएँ । सडक खालीखाली थियो ।
तीनकुने पुगेपछि सोचेँ– बानेश्वर प्रहरी वृत्त भवनको दुईचार फोटो लिइहालूँ, काम लाग्न सक्छ ! फोटो खिचेर सिभिल अस्पतालपट्टिको सडकबाट नयाँ बानेश्वरतर्फ हुत्तिँदै थिएँ, अचानक कसैले रोक्यो । ‘ब्रदर...’ उसले अँगालो हाल्दा ‘दसैँ’ ह्वास्स गन्हायो । सकभर तर्किन खोजे पनि उसले फेरि बाटो छेक्यो । नजिकै रहेका साथीहरूलाई पनि बोलाइसकेको रहेछ ।
‘म कामबाट फर्केको मान्छे । बाटो किन छेक्छौ ?’ म फुत्किन खोजेँ । सिभिल अस्पतालको गेट पुग्न पाए त्यहाँ मान्छेहरू हुन्थे भन्ने पनि लाग्दै छ । जसोतसो फुत्केर भाग्न खोजेँ । मलाई पछ्याएका उनीहरूले सिभिल गेट पुग्नै लाग्दा फेरि समाते । चारजनासँग प्रतिकार गर्ने स्थिति पनि थिएन । ‘मलाई छोडिदेओ नत्र पुलिस बोलाउँछु’, मोबाइल निकालेर १०० मा कल गरेँ । लोकेसन दिएँ – सिभिल अस्पताल गेट अगाडि ।
‘किन पुलिस बोलाइस् ?’ उल्टै मलाई झम्टे । अस्पताल गेटमा टन्नै मानिसहरू थिए । ‘उनीहरू मलाई कुट्न खोज्दै छन्, जोगाउनुस्’ सबैले सुन्ने गरी कराएँ । अहँ ! कोही आउँदैन । प्रहरीले पनि समय लगायो । यतिन्जेलमा मैले एक मुक्का र एक लात्ती भेटिसकेको थिएँ ।
प्रहरीले एकजनालाई समात्यो । भागेर पर पुगेकाहरूलाई पनि भ्यानमा कोचियो । ‘तपाईं पनि हिँड्नुस्,’ फेरि पुगियो बानेश्वर वृत्तमा । मैले ‘नपिट्नुस्’ भन्दाभन्दै ती भाइहरूले प्रहरीको खुब गोदाइ भेटे । उनीहरूमाथि मुक्का बज्रिएर मेरो दुखाइ कम हुनेवाला थिएन । त्यो रात उनीहरू ‘मामाघर’ मै बसे । ११/१२ पढ्दै गरेका ती भाइहरू भोलिपल्ट कागज गरेर छुटे ।
‘भाग मिल्खा भाग’
पहिलो घटनाबाट शिक्षा लिएपछि दोस्रो घटनामा भने मैले बुद्धि पुर्याएँ । १०० मा फोन गर्ने टन्टो गरिनँ । प्रहरी बोलाउँछु भनेर पनि धम्क्याइनँ । सिधै ज्यान जोगाएँ । अस्ति मात्रै ‘धोबीखोला करिडोर’ हुँदै घर फर्किंदै थिएँ ।
कोही अपरिचितले बाटो छेक्यो– ‘ब्रदर मोबाइल पाउँ न, मेरो ब्यालेन्स सकियो ।’ एक मन त लाग्यो– रातको बेला उसलाई अप्ठ्यारो परेको पनि हुन सक्छ । उसलाई ढाँटेँ– ‘मेरो मोबाइलमा पनि पैसा छैन यार ।’ यति भनेर म बाटो लागेँ ।
‘ए पख् पख्’, ऊ त मेरो पछि पो आउँदै छ । अलि परबाट अरु दुई जना दौडिँदै यतै आउँदै छन् । लाग्यो– उसैका साथी हुन् । दह्रोगरी खुट्टा टेकेँ । पहिलो घटनाबाटै मैले बुझिसकेको थिएँ । ऊ जोसिँदै आयो र मलाई दुई हातले काँधमा समातेर लडाउन खोज्यो । मैले न्वारानदेखिको बल लगाएर उसलाई धकेलेँ र सडकमा पछारेँ । म भागिसकेको थिएँ । तर ऊ लड्दा कुनै मेटलको चर्को आवाज आएजस्तो लाग्यो । पछाडि फर्केर हेर्ने स्थिति थिएन । सोचेँ– ऊसँग रडजस्तै केही थियो, जुन ऊ लड्दा सडकमा बज्रियो ।
पुगनपुग एक मिनेट दौडेपछि म अडिएँ । सास तान्दै पछाडि फर्कें । बाटो खाली थियो । लाग्यो– उसले मलाई ‘फलो’ गर्न सकेन । बाँचियो, म खुसी भएँ ।