[भिडियो] काठमाडौंमा खेलिँदैछ ब्राजिलको ५०० वर्ष पुरानो मार्सल आर्ट

- सुनिता लोहनी

कापोइरा ब्राजिलको मार्सल आर्ट हो ।  ब्राजिलको पुरानो खेलमध्ये एक कापोइराको त्यहाँ राष्ट्रियस्तरको प्रतिस्पर्धा नै हुन्छ । समुद्रपारीको यो खेलमा नेपाली बालबालिका पनि रम्दैछन् ।

उपनिवेशसँग जोडिएको यो खेल नेपालमा ल्याएर स्कुले बालबालिकालाई सिकाएका हुन् सुरोज लामाले । नेपाली मूलका बेलायती नागरिक लामा तीन वर्षदेखि नेपाली बालबालिकालाई कापोइरा मार्सल आर्ट सिकाउँदैछन् । ५ सय वर्ष पुरानो यो खेल गीत गाउँदै, बाजा बजाउँदै खेलिन्छ ।

उपनिवेश विस्तारका क्रममा पोर्चुगल अफ्रिका पुग्यो । त्यहाँ कयौँ अफ्रिकीहरूलाई दास बनाइयो । उनीहरूलाई अफ्रिकादेखि ब्राजिल पुर्‍याइयो । अफ्रिकीहरूले आफ्नो संस्कृति छोड्न सकेनन् ।लुकीलुकी नाच्ने गाउने गर्न थाले । र, यही क्रममा जन्मियो कापोइरा मार्सल आर्ट ।

“सुरुमा खेल्नका लागि मालिकबाट लुक्नु पर्ने भएपछि नृत्यमा परिवर्तन गरी मार्सल आर्ट खेल्न थालियो”, यसबारे अध्ययनसमेत गरेका लामा भन्छन् । उनी फर्पिङको बालगृहका ४० बालबालिकालाई नियमित कापोइरा मार्सल आर्ट सिकाउँछन् ।

कापोइरा बाटोमा, कक्षाकोठमा पनि खेल्न मिल्छ । कापोइरा खेलको लागि बाजा अनिवार्य छ । र, बाजासँगै नाच पनि । हेर्नुस् भिडियोः

प्रकाशित: कार्तिक २९, २०७६

×