महिला बन्छन् ट्रोलको सिकार

- सुनिता लोहनी

सामाजिक सञ्‍जालमा ट्रोल हेरेर/पढेर तपाईँ खुब हाँस्नुभएको होला । ट्रोलहरू हाँसो लाग्ने गरी नै बनाइएका हुन्छन् । ट्रोलले तपाईँ हामीलाई क्षणिक मनोरञ्जन पक्कै दिन्छन् ।

तर ट्रोलले बनाउने सामाजिक मनोविज्ञानका बारेमा कहिल्यै घोत्लिनुभएको छ ?

क्याम्ब्रिज डिक्सनरीका अनुसार ट्रोलको एउटा अर्थ हो- कसैलाई नियतबस चिढ्याउने गरी इन्टरनेटमा राखिएको आपत्तिजनक सन्देश ।

यस्तो सन्देश कि त कसैलाई दुखी बनाउन वा कसैको ध्यान केन्द्रित गर्न वा कसैलाई हैरान बनाउन इन्टरनेट तथा सामाजिक सञ्‍जालमा राख्ने गरिन्छ । 

सामान्यतया समाजको एक वर्ग, तप्का वा व्यक्तिलाई दुरुत्साहित गर्न वा बेइज्जत गर्न ट्रोल बनाउने गरिन्छ । सामाजिक सञ्‍जालको बढ्दो प्रयोगसँगै नेपाल पनि यसबाट अछुतो छैन । महिलालाई विषय बनाएर इन्टरनेटमा फैलिएका ट्रोलको संख्या पनि कम छैन । इन्टरनेटमा उनीहरूले व्यक्त गरेका मतका कारण उनीहरू ट्रोलमा पर्ने गरेका छन् । 

दुर्गा कार्कीले ट्‍वीटरमा लेखिन् : 'आफू कामबाट फर्कँदा भात पकाएर राख्ने, बाहिर धेरै नडुल्ने, बोलेको कुरामा मुख नफर्काउने, बाउआमा राम्ररी पाल्दिने एउटा सोझो केटो बिहे गर्न मन छ ।’ यो २०१७ को कुरा हो ।

ट्‍वीटरको रमाइलो क्षणभरमै तितो करेला काँच्चै खाए बराबर भयो जब उनी ट्‍वीटरमै ट्रोल भइन् । लामो समयसम्म त्यही ट्‍वीटलाई लिएर कमेन्ट झेलेपछि कार्कीले सो विषयमा लेख नै लेखिन् – सोझो केटो । 

यस्तो भोग्ने कार्कीमात्र छैनन् । पोडकास्ट समूह ‘बोजु बजै’ ले शनिबार गरेको कार्यक्रममा कार्कीसहित लेखक रिता बरामु र अधिवक्ता जेस्सेलिना राणाले ट्रोलबारे आफ्ना तिता अनुभव साटेका थिए ।

इन्टरनेटमा महिलाहरूको अनुभवबारे उनीहरूको भोगाइ उस्तै छ - महिलाहरु ट्रोलका सिकार हुन्छन् । सामाजिक सञ्‍जालमा महिलाका विचार र दृष्टिकोण प्रस्तुत गर्दा ट्रोल हुनु परेको अनुभव राणासँग छ ।

“यस्ता ट्रोल गर्नेलाई कि त समय नै लगाएर गतिलो तर्कले आफ्नो पक्षमा पार्नुपर्छ”, बरामुले भनिन्, “वा ट्रोललाई बेवास्ता गर्न सक्नुपर्छ ।“ तर यसका लागि समय र शक्ति दुबै लगाउनुपर्ने उनको भनाई छ । “तर तपाई यसलाई कत्तिको महत्वपूर्ण ठान्नुहुन्छ, त्यसमा भर पर्छ ।”

वक्ताहरूले बलात्कारका विषय आउँदा सामाजिक सञ्‍जालमा ऐक्यबद्धता जनाउने गरेको बताए । तर कुनै विषयमा आफूले सही मत व्यक्त गर्दा ट्रोलको सिकार भइ एक्लै बस्नु परेको अनुभव पनि उनीहरूसँग छ । कार्की र राणाले सामाजिक सञ्‍जालमा ऐक्यवद्धता महत्वपूर्ण भएको तर सोचे जस्तो नपाएइको बताए ।

बरामुले भने सामाजिक सञ्‍जालमा प्रस्तुत गर्ने मत आफ्ना लागि भएकोले कसैले ऐक्यबद्धता जनाउनु वा नजनाउनुले फरक नपार्ने बताइन् । “मैले गर्ने ट्‍वीट आफ्नो लागि हो, जुन कुरामा मेरो विश्वास छ, मेरो मत छ, त्यसबारे लेख्ने हो”, उनले भनिन्, “कसैले ऐक्यवद्धता नजनाउँदैमा मैले व्यक्त गर्ने विचारमा त्यसले फरक पार्दैन ।”

बोजु बजै’ पत्रकार भृकुटी राई र लेखक इतिसा गिरिले संयुक्त रुपमा सञ्चालन गर्दै आएका छन् । लैँगिक हिंसाका विषय बोजु बजैले प्राथमिकताका साथ उठाइरहेको छ ।

प्रकाशित: मंसिर १, २०७६

×