यस्तो छ नेपालमै बनेको यात्री मोटरसाइकल
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त मोटरसाइकल ३ पुसमा काठमाडौँमा सार्वजनिक भएको छ ।

मानिसका रुचि फरक–फरक हुन्छन् । कोही फरक ठाउँ घुम्न रुचाउँछन्, कोही घन्टौँसम्म पुस्तक पढेर बस्न रुचाउँछन् । एकछिन फरक रुचिमा रमाउने युवाहरुको कुरा गरौँ ।
काठमाडौँमा फरक रुचि भएका युवा अनि उनको समूह छ । उनीहरु आफ्नै देशमा आफैँले बनाएको मोटरसाइकल चढ्न रुचाउँछन् । त्यही रुचिले ३ वर्षदेखिको निरन्तरको मिहिनेत र लगावले नेपालमै पहिलो पटक यात्री नामक मोटरसाइकल बनाउन सफल भए ।
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त मोटरसाइकल ३ पुसमा काठमाडौँमा सार्वजनिक भएको छ । उनको टोलीले काठमाडौँमा ३ वर्षअघि नै यात्री डिजाइन स्टुडियो स्थापना गरेको थियो ।
यात्री प्रोजेक्ट जिरो नाममा उनीहरुले बाइक बनाउन सुरुआत गरेका थिए । क्याफे रेसर डिजाइनबाट प्रभावित उनीहरुको यात्री बाइकमा विशेषत: सहरी क्षेत्र र आधुनिकताको राम्रो कम्बिनेसन छ । कार्बन फाइबरको प्रयोग गरिएकाले अन्य बाइकभन्दा हलुका र सुरक्षित पनि ।
विद्युतीय बाइकको परिकल्पनासहित थालिएको प्रोजेक्ट जिरोको सम्पूर्ण डिजाइन नेपालमै गरी अमेरिका, चीन, भारत तथा युरोपेली मुलुकका कम्पनीसँगको सहकार्यमा बाइक तयार भएको हो । उक्त बाइकको ३० किलोवाट ब्याट्री क्षमता छ, जसअनुसार सिंगल चार्जमा पनि बाइक २ सय ३० किलोमिटर गुड्न सक्छ । कम्पनीले पहिलो पटकमा ५० बाइक निर्माण गर्ने तयारी थालेको छ ।