फेसबुक पेज र ग्रुपमा तन्नेरीहरुकाे सुकर्म
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा
नयाँ दिल्लीमा आमाको उपचार गराइरहेका फिल्म निर्देशक निश्चल बस्नेतलाई तत्काल रगत चाहियो । अस्पतालमा दौडधुप गरे तर पाएनन् । नयाँ ठाउँमा रगत कहाँ खोज्ने ? उनको बेचैनी बढ्यो । यो पीडा उनले मेन्स रूम रिलोडेड (एमआरआर) नामक फेसबुक ग्रुपका सक्रिय सदस्य सन्तोषकुमार थापालाई पोखे ।
सन्तोषले तत्कालै ग्रुपमा रगत समूह, दिल्लीको अस्पताल उल्लेख गरेर सहयोगको अपिल गरे । त्यसको आधा घन्टा नबित्दै दिल्लीमा चिकित्साशास्त्र पढिरहेका तीन नेपाली विद्यार्थी रगत लिएर अस्पताल पुगे । उनीहरू एमआरआरकै सदस्य थिए । विदेशी भूमिमा यतिविघ्न साथ पाएपछि निश्चलले फेसबुकमै लेखे, ‘मेरो आमाको जीवन बचाइदिनुभएकामा धेरै–धेरै धन्यवाद ।’
केही समयअघि ललितपुरका सात वर्षीय बालक घरबाट भागेछन् । परिवारले खोजखबर गरे तर भेट्दै–भेट्नन् । अपहरणमा परे कि भन्ने डर बढ्न थाल्यो । फेसबुक पेज रुटिन अफ नेपाल बन्दमा बालकको तस्बिर पोस्ट गरेर कसैले देखे प्रहरी वा परिवारमा सम्पर्क गरिदिन आग्रह गरियो । पेज लाइक गरेका एक जनाले बालकलाई पोखरामा देखेछन्, उनले प्रहरीलाई खबर गरे । पेजका संस्थापक भिक्टर पौडेलका अनुसार त्यही दिन बालकलाई घर फर्काउन सम्भव भयो ।
सामाजिक सञ्जाल फेसबुक वरदान कि अभिशाप भन्ने बहस सुरु भइसकेको छ । फेसबुकले मानव जीवन र सम्बन्धमा अनेक जटिलता र दुर्दशा निम्ताइरहेको छ । नेपालमै फेसबुकको उच्च प्रयोग घातक बनिरहेको विभिन्न अनौपचारिक अध्ययनको निष्कर्ष छ । दैनिक जीवनमा हामी आफैँले भोगिरहेका छौँ । तर माथिका दुई उदाहरणले सकारात्मक पाटो उघार्छ । खासमा फेसबुक आफैँमा नराम्रो होइन, सिर्फ हामीले मानवीय हितका खातिर प्रयोग गर्न चुकेकोचाहिँ वास्तविकता हो । एमआरआर र रुटिन अफ नेपाल बन्द यसका प्रमाण हुन् । अरू पनि छन्, जुन आयआर्जन, सार्थक बहस, मनोरञ्जन, सामाजिक सेवा/एकता र मनको बह पोख्ने गतिलो माध्यम बनिरहेका छन् ।
वुमन्स रुम रिलोडेड (डब्लुआरआर), मिम नेपाल, ट्रोल नेपाल, ठग लाइफ नेपाल, नेप्लिज् ब्रदर्स आदि–आदि । त्यहाँ हजारौँ फेसबुक प्रयोगकर्ताको प्रत्यक्ष ‘इन्गेजमेन्ट’ हुन्छ । रुटिन अफ नेपाल बन्दका भिक्टर भन्छन्, “हामी सूचना, मनोरञ्जन र सेवाको डिजिटल प्लेटफर्म हौँ, जसमा सबैको पहुँच सरल र सहज छ ।” मूलधारे मिडियाले गर्न नसकेको, नसक्ने र नचाहेको कन्टेन्टमा स्वतन्त्र पेज र ग्रुप केन्द्रित भएको उनको भनाइ छ ।
रमाइलो के भने, अहिले यति प्रभावकारी बनिरहेका पेज र ग्रुप को सुरुआतीचाहिँ ख्यालठट्टामा भएको थियो, खास ठूलो उद्देश्य, ऊर्जा र लगानी थिएन । रुटिन अफ नेपाल बन्दकै कुरा गरौँ । नेपालमा सम्भवत: सबैभन्दा धेरै प्रयोगकर्ता सक्रिय हुने स्वतन्त्र पेज हो यो, लाइक्स नै १५ लाख नाघेको छ ।
पेज खोल्दा भिक्टर १० कक्षामा पढ्दै थिए । तिनताका नेपाल बन्द भइरहन्थ्यो, घन्टाैँ लोडसेडिङ हुन्थ्यो । भिक्टरले बन्द र लोडसेडिङ सेड्युलबारे जानकारी दिने हेतुले पेज बनाए । उनी सम्झन्छन्, “बन्दको विरोध गर्ने पार्टी आफैँ बन्द गर्थे, लोडसेडिङको आतंक नै थियो । त्यसैले सूचना दिन भन्दै व्यंग्यात्मक शैलीमा पेज खोलेको थिएँ ।” केही समयपछि रगत चाहिँदा, कसैको नागरिकता, लाइसेन्स, पासपोर्ट हराउँदा वा भेटिँदा सम्बन्धितकहाँ पुगोस् भनेर ‘हेल्प पोस्ट’ गर्न थाले । पेजको लाइक बढ्दै गयो ।
चाहे जनचासोका घटना होस् वा नेपालको सौन्दर्य झल्काउने भिडियो/तस्बिर । चाहे उत्प्रेरक कथा हुन् वा जोक्स, रुटिन अफ नेपाल बन्दमा बरोबर पोस्ट भइरहन्छ । भिक्टर नागरिक पत्रकारिताको प्रयास गरिरहेको बताउँछन् । यस अलावा बलात्कारविरोधी र दुर्गम भेगमा पुस्तकालय खोल्न पनि यो पेजले पहलकदमी लिने गर्छ । फिल्म, म्युजिक भिडियो वा अन्य व्यावसायिक उत्पादनको पैसा लिएरै प्रचार पनि गर्छन् । पेजको चार एड्मिन छन् भने सयभन्दा धेरै स्वयंसेवक । भिक्टर भन्छन्, “तर हामी सामाजिक उत्तरदायित्वबोध गरेर विश्वसनीय र आवश्यक कुरा मात्र पोस्ट गर्छौं । सामाजिक कार्य पनि हाम्रो प्राथमिकतामा छ ।” हास्यपरक कन्टेन्टका लागि मिम नेपाल प्रिय मानिन्छ । ६ वर्षमा १२ लाख लाइक्स कमाएको छ । निर्जन तिमिल्सिना बेलायतमा थिए, व्यस्त दैनिकीबाट समय निकालेर मनोरञ्जन गरौँ र बाँडौँ भनेर पेज सुरु गरेका थिए । अहिले यसबाटै ६ जनाको रोजीरोटी चलेको छ ।
भूकम्पपछि पेजमा जोक्स र ट्रोल केही समय निषेधजस्तै गरियो । कालो लोगो राखेर भूकम्पपीडितलाई सहयोगार्थ सक्रिय भए, पेजका प्रयोगकर्ता नै स्वयंसेवी बनेर खटिए । त्रिपाल, औषधी र रगत जोहो गर्न थाले । केही समयमै पेजको लाइक्स ५० हजारबाट ५ लाख पुग्यो । त्यसपछि फेरि कमेडीमा केन्द्रित भए । मौलिक जोक्स र ट्रोलका लागि यो पेज परिचित छ । निर्जन भन्छन्, “इन्टरनेट र सामाजिक सञ्जालको विस्तारले पेज/ग्रुपको महत्त्व बढाएको छ । हामी यसलाई सामाजिक हितमा जोडेर व्यावसायिक बनाउन प्रयासरत छौँ ।”
बाढीपहिरो, हुरीजस्ता विपद् आउँदा आर्थिक सहयोग र फिल्डमा स्वयंसेवी जुटाउने गर्छ । विपन्न बालबालिकाको शिक्षाका लागि रकम जम्मा गर्छन् । वीरविक्रम २ को हास्यपरक समीक्षा गरेपछि मिम नेपाल विवादमा परेको थियो । यसबाहेक ठग लाइफ नेपाल, नाज इन्टरटेन्मेन्ट, ट्रोल नेपाललगायतका पेज सूचना र मनोरञ्जनमूलक सामग्री प्रवाह गर्न र प्रयोगकर्तामार्फत सेवामूलक कार्यमा अग्रसर छन् । ठग लाइफ नेपालका शर्माजी प्युठान भन्छन्, “यतिबेला नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने पोस्टलाई पेजले प्राथमिकतामा राखेको छ ।” चार वर्षअघि उनका भाइ सुजन शर्माले पेज सिर्जना गरेका थिए ।
प्रयोगकर्ताबीच आत्मीय पैदा गर्ने मामलामा फेसबुकका ‘ओपन पेज’ भन्दा ‘क्लोज ग्रुप’ अगाडि छन् । समूहका सदस्यबीच प्रत्यक्ष सम्बन्ध स्थापित भएपछि सेवामूलक कार्यमा एकजुट हुन सहज भइहाल्यो । केटाहरूको एमआरआरमा ९८ हजार सदस्य छन् । नक्कली प्रयोगकर्तालाई निरुत्साहन गर्न समूहका सदस्यको सिफारिस र एड्मिनले स्वीकृत गरेपछि मात्र नयाँ सदस्यले एमआरआरमा प्रवेश पाउँछ । संसारका दुई दर्जन देशमा बसेका नेपाली केटाहरू ग्रुपमा आबद्ध छन्, त्यसैले ग्रुप २४ घन्टा नै सक्रिय हुन्छ । केटाहरूले आफ्नो व्यक्तिगत भोगाइ पोख्ने गर्छन् । राजनीतिक र सामाजिक विषयमा विमर्श हुने गर्छ ।
७७ जिल्लाकै सदस्यहरूको ब्लड गु्रपको डाटाबेस तयार पारिएको छ, जहाँ आवश्यक पर्छ, नजिकका सोही समूहको सदस्यमार्फत रक्तदान गरिन्छ ।ग्रुपका सन्तोषकुमार थापा भन्छन्, “हामीले हिन्दी शब्द र प्रचारात्मक सामग्री निषेध गरेका छौँ । अपशब्द प्रयोग गर्ने सदस्यलाई आवश्यकताअनुसार म्युट वा ब्लक गर्छौं ।” यो ग्रुप यतिबेला महावीर पुनको आविष्कार केन्द्रका निम्ति रकम जुटाउन लागिपर्दै छ ।
४० हजार सदस्य भएको डब्लुआरआर युवतीमाझ सबभन्दा लोकप्रिय हो । यसको सुरुआत पाँच वर्षअघि श्रद्धा क्षत्रीले गरेकी थिइन् । पहिले जोक्स आदानप्रदान हुन्थ्यो, अहिले आफ्ना व्यक्तिगत भोगाइसमेत साटासाट गर्छन् । ‘कन्फेसन’ लेख्छन्, केही समस्या आइलागे सुझाव माग्छन् । ग्रुपकी एड्मिन जुनी श्रेष्ठ भन्छिन्, “हामी सदस्यको गोपनीयतालाई विशेष महत्त्व दिन्छौँ । त्यसबाहेक सकारात्मक कार्यका लागि एकअर्कालाई उत्प्रेरणा दिन्छौँ ।”
कोही सदस्य बिरामी भए तर खर्च छैन भने अरूले सहयोग गर्छन् । पानीपुरी र चटपटे बेचेर संकलित रकमले ललितपुर, भक्तपुर र बुटवलका विपन्न विद्यार्थीलाई दुई वर्षदेखि पढाइरहेका छन् । महिला हिंसाविरुद्ध ग्रुपमा मात्र होइन, सडकमै उत्रन्छन् । सरसफाइमूलक गतिविधि गर्छन् । गायन, लेखन, पेन्टिङ वा अरू कुनै क्षमता छ भने गु्रपमा व्यक्त गरेर सुझाव लिने/दिने गरेको जुनीले जानकारी दिइन् । भन्छिन्, “यो फेसबुक ग्रुप हो तर हामीलाई आफ्नै परिवारजस्तो लाग्छ । आइपर्दा डटेर सहयोग गर्छौं ।” डब्लुआरआरबाहेक वुमन्स वारियर, गल्र्स राइजिङ रुम, सिस्टर हुड, बुहारी संगठनजस्ता ग्रुप पनि छन् ।
सम्बन्धित
जब हामी मस्तिष्कभन्दा धेरै कृत्रिम बौद्धिकतामा भर पर्न थाल्छौं, मान्छेमा निर्णय गर्ने अधि...
डाभोसमा हरारी : प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति
काठमाडौँ विश्वविद्यालय र आबारीको संयुक्त प्रयासमा नेपाली मौलिकता झल्काउने बाँसबाट निर्मित ...
बाँसको कार्गो बाइक
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छ...
नियन्त्रित गणतन्त्र - ५ : सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण
फेसबुक पेज र ग्रुपमार्फत तन्नेरीहरु सकारात्मक अभियानमा ...
फेसबुक पेज र ग्रुपमा तन्नेरीहरुकाे सुकर्म
असीम पाण्डे नेतृत्वको सात युवाको समूहले यात्री नामक विद्युतीय मोटरसाइकल बनाएको हो । उक्त म...
यस्तो छ नेपालमै बनेको यात्री मोटरसाइकल
ट्रोलले तपाईँ हामीलाई क्षणिक मनोरञ्जन पक्कै दिन्छन् । तर ट्रोलले बनाउने सामाजिक मनोविज्ञान...