[पोडकास्ट] हार्लेमको बायाँ घुम्ती

न्यायको खोजीमा पाइला चालिरहने र असल मान्छे बन्ने प्रयत्न गरिरहने बिजुहरुले हार्लेमको कथा पढ्न सक्छन् । बिस्तारै नवधनाढ् यको कब्जामा पर्न थालेको हार्लेम बदलिएको खबर राख्न सक्छन् ।

- उज्ज्वल प्रसाई

कवि अमृता प्रीतमले सहरलाई एक लम्बेतान बहस भनेकी छन् । कहिलेकाहीँ लाग्छ, सहरसँग जानीबुझी सर्जकका धुन र शब्दमा सवार हुने क्षमता हुन्छ, जिज्ञासु अन्वेषकका अघिल्तिर प्रश्न बनेर उभिने सामथ्र्य हुन्छ । आफ्ना मौलिकता र नक्कल, साउती र चिच्याहट, संगति र असंगति, रुप र बहुरुप, प्रतिरोध र समर्पणजस्ता विशेषताको कलात्मक रुपान्तरण गर्न जानेरै सायद कुनै ठाउँ सहर बन्छ । आफ्ना नाममा गतिला कविता वा गीत नलेखाएका सहर, सहरै होइनन् । पुँजी र नाफाको नीरस खेलमा निमग्न सहरको सतह उक्काएर हेर्न सके त्यहाँ गीत र कविताको प्रचुरता देखिन्छ ।  

सन् १९६२ मा न्युयोर्क पुग्दाको विस्मयलाई बब डिलनले गाए, ‘पीपल गोइङ डाउन टु द ग्राउन्ड, बिल्डिङ गोइङ अप टु द स्काई... ।’ मानिस जमिनमुनि गइरहेका, घर आकाशतिर लम्किरहेका । धमाधम आकाश ताकेर उँभो लम्केका असंख्य घरअघिल्तिर सडकमा पाइला चाल्दा मैले न्युयोर्केली कवि एलेन गिन्सबर्गलाई पनि सम्झेको थिएँ । भनिन्छ, वाचन गर्दा मात्र अर्थ खुलाउन सकिने उनको ‘हाउल’ कवितामा स्वयं म्यानहाटन गुन्जिन्छ । ‘ड्रिम्स ! एडोरेसन्स ! इल्युमिनेसन्स ! रिलिजन्स ! द होल बोटलोड अफ सेन्सिटिभ बुलसिट !’ न्युयोर्कजस्ता सहर निर्माण गर्ने व्यवस्थाको असली आवाज सुनाउन सहरले नै गिन्सबर्गहरु हुर्काउँछ ।  

न्युयोर्क यात्राको योजना सुनाएपछि एक मित्रले भनेको थियो, ‘पुँजीवादको त्यो किल्लाको प्रभाव तिमीमा कस्तो पर्छ, थाहा पाउन म आतुर छु ।’ यो सहरका केही प्रसिद्ध विश्वविद्यालयमा आयोजित गोष्ठीदेखि विद्यार्थीका चियागफसम्म, पुस्तक पसलदेखि सडकपेटीका नाङ्ले पसलसम्म यत्रतत्र मैले व्यवस्थाविरोधी प्रतिरोधका आवाज सुनेँ । प्रतिरोधी त्यो धुन न्युयोर्कमा मात्रै होइन, बोस्टन, मेरिल्यान्ड र वासिङ्टनमा पनि उही तीव्रतासाथ बजिरहेको थियो । हार्लेमका सडक नाप्दा होस् वा हार्वर्ड विश्वविद्यालयका भित्ता नियाल्दा होस्, यथास्थिति बदल्ने चाहना अभिव्यक्त भएको देखिन्थ्यो । त्यसो त लगभग पाँच दशकअघि डिलनले आफ्नो गीतमा भनिसकेका थिए, ‘असंख्य मान्छेको टेबलमा खाना छैन, बरु त्यहाँ चक्कु र काँटा छन् । र, जरुरी छ, तिनले केही न केही काट्न ।’ समृद्ध मुलुकले भोकै राखेका मान्छे असंख्य छन् । दिनरात नछुट्याई तुजुक प्रदर्शन गरिरहने सहरले इज्जतिलो जीवन जिउन नदिएका मान्छेको संख्या उति नै ।

त्यो “र्‍याडिकल” किनारा

न्युयोर्कस्थित द न्यु स्कुलको इन्डिया–चाइना इन्स्टिच्युटले प्रसिद्ध भारतीय बौद्धिक भीमराव अम्बेडकरको सम्मान र सम्झनामा आयोजना गरेको गोष्ठीको अवसर थियो । आफ्नो समयको सामाजिक एवं शैक्षिक यथास्थिति बदल्न महफ्वपूर्ण योगदान गरेका जोन डुवीले स्थापना गरेको विश्वविद्यालय हो द न्यु स्कुल । अम्बेडकर उनै डुवीका मेधावी विद्यार्थी थिए । डुवी र अम्बेडकरको त्यही बौद्धिक सम्बन्धले हामीलाई न्युयोर्कसम्म डोर्‍याएको थियो । अद्यापि सान्दर्भिक रहेको अम्बेडकरको बौद्धिक विरासतको औपचारिक चर्चा गर्नु गोष्ठीको मुख्य उद्देश्य थियो । 

कार्यक्रमको औपचारिक सुरुआत हुनुअघि नै द न्यु स्कुलभित्र प्रतिरोधको धुन बजेको सुनिन थाल्यो । आयोजक संस्था बसेको भवनको एउटा कुनामा भेटिइन् इलाई नडिउ, जो न्यु स्कुलकी विद्यार्थी र शिक्षक दुवै हुन् । उनीसँग भेट हुनुअघि नै उनको टेबलमा लहरै सजाइएका किताबले एकसरो परिचय दिएको थियो । प्रकृति र मानव समाजको सम्बन्धको व्यापकतालाई पुँजीवादको साँघुरो घेराबाहिर गएर बुझ्न सघाउने किताबको बाहुल्य त्यहाँ देखिन्थ्यो । जेसन डब्ल्यु मुअरले सम्पादन गरेको 

‘एन्थ्रोपोसिन अर क्यापिटलोसिन ?’ होस् वा लौरन बर्लेन्टको ‘क्रुअल अप्टिमिज्म’ होस्, ज्ञानको स्थापित सत्तालाई चुनौती दिने प्रयत्न झल्किन्थ्यो, त्यो कुनोमा ।  

सन् २०२० को अप्रिलमा ‘र्‍याडिकल इकोलोजी’ शीर्षकको गोष्ठी आयोजना गर्ने ध्याउन्नमा थिइन्, इलाई । राजनीतिशास्त्र विभागको सहयोगमा विद्यार्थीले हरेक वर्ष यस्ता प्रतिरोधी विषयमा कार्यक्रम गर्न ‘र्‍याडिकल डेमोक्रेसी’ नामक समूह गठन गरेका छन् । दु:खले जुटाउने सानो स्रोतका भरमा प्रभावकारी अन्तरक्रिया सञ्चालन गर्ने प्रयत्नमा तल्लीन रहन्छ, त्यो समूह । आसन्न गोष्ठीको तयारी बैठकमा सहभागी हुँदा सुनिएको आवाज उही प्रतिरोधको थियो । 

‘र्‍याडिकल इकोलोजी’ बारे बोल्न को निम्त्याउने ? छलफलको मुख्य विषय यो थियो । मौजुदा अर्थ–सामाजिक संरचनाको उच्चासनमा बसेर ‘अन्य’ लाई पाठ पढाइरहेको कुनै सर्वोच्चतावादी गोरो पुरुषलाई निम्ता नदिनेमा उनीहरु दृढ सुनिन्थे । वचनमा मात्रै होइन, कर्ममा समेत पर्यावरणका संकटबोध गरेको र त्यसलाई बदल्ने अठोटमा लागेको मान्छे निम्त्याउन सहज हुँदैन । आधारभूत तहका कृषकलाई बजारको माखे साङ्लोमा कैद गर्ने मोन्सान्टोजस्ताको असलियत उजागर गरिरहेकी बौद्धिक अभियन्ता वन्दना शिवाजस्ता नाममा उनीहरु छलफल गरिरहेका थिए । ‘पेट्रोक्यापिटलिज्म’ को बजार–सत्ता टिकाउन प्लास्टिकको भूमिका कस्तो छ भनेर अन्वेषण गरिरहेकी हिथर डेभिस पनि उनीहरुको छनोटमा परेको नाम थियो । मौजुदा व्यवस्थामा अन्तरनिहित सर्वनाशक विशेषता उजागर गर्ने र त्यसलाई बदल्ने साहस जुटाउने यत्नमा थिए, ती ‘र्‍याडिकल’ विद्यार्थीहरु । 

रंगभेद र जात–व्यवस्थाको साइनो

न्युयोर्क पुग्दापुग्दै देखिएको त्यो सानो प्रतिरोधी स्वर गोष्ठी सुरु भएसँगै गिन्सबर्गको ‘हाउल’ मा परिणत भयो । एसियाली र अमेरिकी ब्राह्मणवादको पोल खोल्दै त्यसले न्यायको अपिल गर्‍यो । दक्षिण एसियाको जब्बर जात–व्यवस्था, त्यसलाई थप बलियो बनाउँदै उदाएको राजनीतिक हिन्दुत्ववादको असलियत उदांगो पार्‍यो । अमेरिकामा बौरिएर आएको नश्लवाद र त्यसलाई मलजल गरिरहेको श्वेत सर्वोच्चतावादसँग हिन्दुत्ववादको साइनो गाँसिएको दाबी सप्रमाण पेस गर्‍यो । 

अमेरिकामा जात–व्यवस्था फैलिँदै र बलियो बन्दै गएको तथ्यांक प्रस्तुत हुँदा मौजुदा लोकतन्त्रमा परेका भ्वाङ देखिएको थियो । लोकतान्त्रिक चरित्रको विस्तार गर्ने होडमा सबैभन्दा अघिल्लो पंक्तिमा रहेको मुलुकले रंगभेद मात्र होइन, हिन्दुवादी जात–व्यवस्थासमेत हुर्काउने वातावरण उपलब्ध गराएको इक्वालिटी ल्याब्सको सर्वेक्षण प्रतिवेदनमा स्पष्ट देखिन्थ्यो । दक्षिण एसियाबाट न्युयोर्कजस्ता सहरमा बसाइँ सरेर गएका दलित, शुद्र र आदिवासीले स्वतन्त्र एवं इज्जतिलो जीवनको अपेक्षा गरेका थिए । त्यहाँ पुग्दा पनि आफ्नो असली पहिचान खुलाउन सकेनन् । पहिचान खुलेकाहरुको बँचाइ सकसपूर्ण रह्यो ।

डोनाल्ड ट्रम्पजस्ता प्रकट रंगभेदी शासकले आफ्नो घाँटी राजनीतिक हिन्दुत्ववादलाई सहर्ष वरण गरेका नरेन्द्र मोदीसँग जोडेपछि अवस्था अझै विकराल बन्यो । अमेरिकी सहरमा बसोबास गर्ने हिन्दुत्ववादीले विद्युतीय सञ्जालमार्फत प्रचार गरेको ‘अन्य घृणा’ को असर भारतमा मात्र सीमित थिएन । अन्यायी सत्ताको जाँतोमा पिसिएका र त्यसलाई बदल्ने कोसिस गरिरहेका प्रत्येक दक्षिण एसियालीको आवाज दबाउन फेसबुकजस्ता संस्था नै सहयोगी भएको पोल त्यहाँ खोलिएको थियो । सम्बन्धित विषयका अध्येताले फेसबुकट्‍वीटरजस्ता आवरणमा लोकतान्त्रिक देखिने विद्युतीय आमवृत्त पूर्णतया दक्षिणपन्थीको हातमा पुगेको सप्रमाण पुष्टि गरेका थिए । 

उदारवादी पुँजीवादको कच्चा धरातलमा परेका अनेक क्षीद्रबाट रंगभेदी दक्षिणपन्थको उदय भएको स्पष्ट भएसँगै प्रतिरोधको स्वर तीव्र हुन थाल्यो । त्यसैले गोष्ठीमा मात्र होइन, खुला सडक र डबलीमा युवाहरु प्रतिरोधी धुन बजाउन तल्लीन देखिन्थे । यथास्थितिसँग असन्तुष्टि पोख्ने मात्रै होइन, बदल्ने उपायको खोजी गर्न उत्प्रेरित गर्दै उनीहरु र्‍याप, ज्याज र ब्लुज सिर्जना गरिरहेका सुनिन्थे । 

विद्रोही बिजुसँग हार्लेमतिर

बन्दकोठामा बजेको प्रतिरोधको धुन त्यति मुखर नहुन सक्छ, जति खुला सडकमा सुनिन्छ । कुर्सीमा बसेर बोझिलो बनेको आङ तन्काउँदै दुई–चार किलोमिटर पैदल हिँडे त्यो धुनको प्रभाव अझ गहिरो हुन सक्छ । गोष्ठी आयोजक संस्थाका नेता अशोक गुरुङले बुझेर होला, एक हुल सहभागीलाई बिजु म्याथ्युको जिम्मा लगाइदिए । 

दुई लहर अग्ला भवनबीचबाट देखिने एक धर्सो आकाशमा बादल मडारिएको थियो । मौसम अनुमान गर्ने वेबसाइटले वर्षाको सम्भावना अधिक रहेको बताउँदै थियो । वासिङ्टन हाइट्सको १६५ औँ सडकको एउटा कुनामा कुरिरहेका बिजुलाई भेट्दा बादल अझै बाक्लियो । अग्लो र मोटो ज्यानमा उनिएको सामान्य रातो ज्याकेट, धेरै घामपानी पचाएर खुइलिसकेको ठूला गोजीसहितको जिन्स र एक काँधे झोला झुन्ड्याएका उनी सुरुमै फरासिला सुनिए । रुझिने डर यसै कम भयो । 

२००३ मा इलिजाबेथ क्याटलेटले हार्लेममा बनाएको राल्फ इलिसनको स्मारक । तस्बिरः जोसेफ मिचेल लोपेज/न्युयोर्क टाइम्स


करिब तीन दशकदेखि हार्लेममा बसिरहेका बिजु पेसाले प्राध्यापक हुन् । मार्क्सवादलाई समाज बुझ्ने र बदल्ने प्रयत्नमा सहयोगी विचार ठान्ने उनी बहिष्कृत समुदायको पहिचानको आकांक्षालाई बुझ्न सक्छन् । भारतमा विद्यार्थी छँदै वामपन्थमा प्रवृत्त भएका उनले अमेरिका आएदेखि मजदुर संगठनका काम गरे । यल्लो क्याब भनिने ट्याक्सी चलाउने चालकलाई संगठित गर्न सघाए । ट्याक्सी–मजदुरको संगठनको कामलाई प्राज्ञिक कर्मसँग जोडे र त्यसैबारे किताब लेखे । ट्याक्सी: क्याब्स एन्ड क्यापिटलिज्म इन न्युयोर्क नामक किताबमा उनले पुँजी र श्रमको सम्बन्धका पहेली खुलाउने प्रयत्न गरे । आफ्ना प्राज्ञिक काम र राजनीतिक संघर्षका कारण विद्यार्थी र प्राध्यापक मात्र होइन, समुदायमा भिजेर काम गर्ने असंख्य अभियन्ताका मित्रका रुपमा परिचित भए, बिजु । 

पैदल यात्रा सुरु गर्नुअघि पिठ्युँपट्टिको भवन औँल्याउँदै बिजुले भने, ‘म्याल्कम एक्सलाई गोली हानेर मारेको त्यही भवनमा हो । धेरै यस्ता ऐतिहासिक भवनमा जस्तै अहिले यहाँ पनि व्यापार व्यवसाय चल्छ ।’ त्यति भनेर उनले हामीलाई हार्लेमका सडकतर्फ हिँडाए । हार्लेममा हुर्के–बढेका नामी लेखक जेम्स बाल्ड्विनले आजभन्दा करिब पाँच दशक पहिले लेखेथे, ‘हार्लेमका सडक हुँदै हिँड्नु र थाहा पाउनु हामी कस्ता भएका छौँ, यो मुलुक कस्तो बनेको छ ?’ सम्भवत: बाल्ड्विनको स्मरण गर्दै बिजुले त्यो भवनको ताजा अवस्था देखाएर अमेरिकाको एकसरो परिचय गराउन खोजेका थिए । 

हार्लेमका सडकमा हिँड्दै उनले डब्लु इबी डुबोइस र ल्यांग्स्टन ह्युज सम्झाए । अफ्रिकी–अमेरिकी आन्दोलनका उतारचढावका पहलु बताए । अफ्रिकी मूलका मानिसको बाहुल्य हुनुभन्दा पहिले बनेका भवनका बँचेका नमुना देखाए । डुबोईसले जीवनकालको लामो खण्ड बिताएको घरको एउटा तलामा बिजुको बास छ । त्यो भवनबाट तल हेर्दा हार्लेम खोलो बगिरहेको देखिन्छ, जसको गर्भमा सिंगो हार्लेम भेगको बदलावको कथा छ । न्यायको खोजीमा पाइला चालिरहने र असल मान्छे बन्ने प्रयत्न गरिरहने बिजुहरुले हार्लेमको कथा पढ्न सक्छन् । बिस्तारै नवधनाढ्यको कब्जामा पर्न थालेको हार्लेम बदलिएको खबर राख्न सक्छन् । मध्यमवर्गीय घेराबन्दीको प्रक्रिया अर्थात् ‘जेन्ट्रिफिकेसन’ ले हार्लेमको ऐतिहासिक महफ्वलाई धुमिल बनाउन सक्नेमा सचेत हुन सक्छन् ।

देब्रे मोडको त्यो बुकस्टोर

जेन्ट्रिफिकेसनले न्युयोर्कको असली अनुहार छोपिँदै छ, वर्षौंदेखि यही सहरमा श्रम गर्दै आएका मानिसकै लागि यो परचक्री बन्दै छ । पीई मोस्कोविजले आफ्नो पछिल्लो पुस्तक हाउ टु किल अ सिटीमा यस्तो चिन्ता व्यक्त गरेका छन् । यही सहरमा हुर्केका यी तन्नेरी लेखक आफूले देख्दादेख्दै न्युयोर्कले अनौठो रुप धारण गर्न थालेको बताउँछन् । केटाकेटी छँदा सित्तैमा एक–दुई टुक्रा पिज्जा दिने पसले पत्तै नपाई बसाइँ सर्‍यो । कुनै एक बिहान त्यही ठाउँमा झकिझकाउ ठूलो र महँगो रेस्टुराँ खुल्यो, जहाँ उनी पस्नै सक्दैनन् । खाना खाने परको कुरा, भित्र पसेर एकसरो हेरे पनि पैसो लाग्ला भनेर हच्किन्छन् । चिनारुका हेलो–हाई कतै सुनिँदैन, जता ढल्के पनि लेनदेनको ऊहापोह मात्र देखिन्छ । 

हाउ टु किल अ सिटी मेरो हातमा राख्दै बुकस्टोरका कर्मचारीले भने, ‘सामान्य मान्छेका लागि दिनप्रतिदिन असुरक्षित बन्दै गएको सहरबीच एउटा सुरक्षित स्पेस निर्माणको प्रयत्न हो, यो बुकस्टोर ।’ वामपन्थी झुकाव राख्ने लेखक, कलाकार र अभियन्ताका लागि निर्माण गरिएको ब्लुस्टकिंग्स नामको त्यो पुस्तक पसल सामूहिक प्रयत्नको उपज हो । रंगभेदी, लैंगिक विविधता अस्वीकार गर्ने, नाफा र बजार मात्रलाई सर्वेसर्वा ठान्ने जमात शक्तिशाली बन्दै गर्दा सुरक्षित ठाउँको खोजी भयो । सामूहिक प्रयत्न नगरी त्यस्तो ठाउँ बनाउनु असम्भव थियो । परिवर्तनको तीव्र आकांक्षा भएका पढैयाहरु भेला भए र सुरु गरे, ब्लुस्टकिंंग्स बुकस्टोर क्याफे एन्ड एक्टिभिस्ट सेन्टर । 

न्युयोर्कका सडकपेटीमा पैदल घुम्दाघुम्दै ब्लुस्टकिंग्स फेला परेको थियो । पस्दै गर्दा सँगै गएका रोशनराज बरालले दिल्लीमा आफूले पढेको विश्वविद्यालय जेएनयु सम्झे । उनले भने, ‘उता जेएनयु सिध्याउन लागेका बेला यता जेएनयुको झल्को आउने ठाउँमा आइपुगियो ।’ परचक्री र हेपाहा बन्न थालेको दुनियाँको चरित्र बुझाउने किताब र तिनलाई बदल्न उत्साहित तुल्याउने पुस्तिका देखिन्थे त्यहाँ । एउटा सानो पसलसमेत प्रतिरोधी आवाज जगेर्ना गर्ने थलो बन्न सक्छ । वैचारिक निकटताले निर्माण गरेको त्यो सानो समूहले पेस गरेको गतिलो उदाहरणका रुपमा बुझ्यौँ, हामीले ब्लुस्टकिंग्सलाई । सत्तालाई चुनौती दिने आमवृत्त खुम्चन थालेका बेला त्यति प्रयत्न पनि लोकतन्त्रको त्राण बन्न सक्छ । 

पसलका विपरीत कुनोमा कफी पिएर पढिरहेका र साउतीमा बात मारिरहेका मान्छे देखिन्थे । यो सानो स्पेस सबैका लागि सहज र सुरक्षित बनोस् भन्नेमा सबै सचेत थिए । गफ गर्नेले पढ्नेलाई असर गरेको थिएन । र्‍याकमा पुस्तक छानेर यताउता डुलिरहेकालाई अप्ठेरो नपरोस् भन्नेमा सचेत देखिन्थे ।काउन्टरमा बसेकाहरु ग्राहकका जिज्ञासा सुन्न र तिनलाई पुस्तक खोजिदिन उत्तिकै तत्पर थिए । किताब किनेपछि त्यही दिन बेलुका हुने कार्यक्रममा आउन निम्ता दिँदै काउन्टरमा बसेका एक जनाले भने, ‘हामी राती एघार बजेसम्म खुलै राख्छौँ, यहाँ आज बुक रिडिङको कार्यक्रम छ । समय भए आउनुहोला ।’

नटराजनको रुपान्तरण

ब्लुस्टकिंग्सको साँझ भेलामा उपस्थित हुन सकिएन । दोस्रो पटक त्यहाँ पुगेर थप केही अभियन्ताहरुसँग गफिने रहर अपूरै रह्यो । पढ्न र काम गर्न न्युयोर्क पुगेका नेपालीलाई यस्ता ठाउँ फेला पार्न त्यति सहज नहोला । धेरैलाई यस्तो आवश्यकताको महसुस नभएको पनि हुन सक्छ । इस्टकोस्टका विभिन्न सहरमा भेटिएका केही नेपाली युवाले अफ्रिकी/अमेरिकी समुदायप्रति खुला द्वेष व्यक्त गरे । उनीहरु हाकाहाकी भन्थे, ‘सबै कालाहरु काम नलाग्ने बद्मास हुन्छन्, जोगिनुपर्छ ।’ ब्लुस्टकिंग्समा पुग्न, त्यहाँ राखिएका किताब पढ्न र ती अभियन्तासँग संगत गर्न पाउँदा उनीहरु बदलिन सक्थे । उनीहरुको गहुँगोरो रंग पनि त खतरा मोलिरहेको छ ।  

संगतबाट बदलिएका थिए, भारतीय युवा बालमुर्ली नटराजन । न्यु जर्जीस्थित एक विश्वविद्यालयमा एन्थ्रोपोलोजी अध्यापन गर्ने यी प्राध्यापक भारतबाट अमेरिका आउँदा इन्जिनियर र डाक्टर भए मात्र मान्छे भइन्छ भन्ठान्ने कट्टर तामिल ब्राह्मण थिए । परिवार र समुदायले चाहेअनुरुप इन्जिनियरिङ एक तहको अध्ययन सकेर ठूलो इन्जिनियर बन्न अमेरिका आइपुगेका थिए । विद्यार्थीका रुपमा उनी यहाँ आइपुग्दा अमेरिकी विश्वविद्यालयमा एकसाथ मार्क्सवाद, नारीवाद, ल्याटिन अमेरिकी आन्दोलन र रंगभेदविरोधी आन्दोलन प्रभावी बनेको थियो । उनले भारतबाट सँगै बोकेर आएको ब्राह्मणवादले यी आन्दोलनसँग ठक्कर खायो । संगत गर्न पुगेका विद्यार्थी अभियन्ताले उनलाई बदलिन सघाएका थिए । विस्तारै उनका पुरातन मान्यता र बुझाइ खण्डित भए । अनलर्निङको तीव्र प्रक्रियाबाट गुज्रँदै जाँदा उनी सोसल साइन्सका विद्यार्थी बने, न्यायिक अभियानका सक्रिय सदस्य बने । उनलाई आजकल बालमुर्ली नटराजन होइन, मुर्ली भनेर बोलाउँछन्, विद्यार्थी र मित्रहरु । 

भारतीय समाजमा अहिलेसम्म जब्बर रहेको जात–व्यवस्थाको आलोचना गर्दै मुर्लीले किताब लेखे । उनको चाहना थियो, आवश्यकता महसुस गर्नेले आफ्नो किताब सहजै पढ्न पाऊन् । उनी चाहन्थे– जुन समुदायबारे उनले किताब लेखे, कम्तीमा त्यो समुदायका विद्यार्थी र अभियन्ताले उनलाई पढून् । आफ्नो किताबलाई उनले नि:शुल्क डाउनलोड गर्न मिल्ने बनाइदिए । मुर्लीको हँसिलो अनुहारमा न जातको दम्भ देखिन्छ, न त ज्ञानको तुजुक ।  

सहरको सतहमा जति देखिन्छ, त्यति मात्रै हेरेर आउने काम पर्यटकको हो । त्यसैले उनीहरु बजारु गाइड बुकको सहारा लिन्छन् । पर्यटक हुने हैसियत र रुचि दुवै नहुनु मेरा लागि सुखद भयो, मैले गाइड पढिनँ । डिलन र गिन्सबर्ग, बाल्डविन र ह्युज, मोरिसन र बिजु, इलाई र मुर्ली, द न्यु स्कुल र ब्लुस्टकिंग्सले एक पत्र सतह उक्काएर देखाएको अमेरिका हेर्न पाएँ । 

प्रकाशित: मंसिर २, २०७६

×