साइकलमा ब्राजिली परिवार

- नेपाल संवाददाता

सहरमा महोत्सवको माहोल छ ।

कुनै बेला कला–संस्कृतिमा उर्बर रहेको काठमाडौँ उपत्यकामा अहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनी चलिरहेका छन् । सधैँ ब्राजिली फुटबलको स्वाद चाखेका नेपालीले यो साता भने ब्रजिलियन चलचित्रको स्वाद चाखे । याला इन्टरनेसनल इन्डिपेन्डेट फिल्म फेस्टिबल र काठमाडौँस्थित ब्राजिलियन दूतावासको संयुक्त पहलमा नेपाली चलचित्र लज्जा र ब्राजिलको चलचित्र द मिडल अफ द वल्र्ड देखाइएको थियो ।

चलचित्र लज्जाले नेपाली समकालीन राजनीतिक समाजमाथि व्यंग्य हानेको छ । दाङमा थारु जातिलाई कमैया बनाइयो । पछि सरकारले कमैया उन्मूलन त गर्‍यो । तर रोजगार र आर्थिक पाटो उकास्न कुनै सहयोग गरेन । चलचित्रका मुख्य पात्रले आफ्नो लंगौटी छोप्न एक मिटर कपडा नपाएपछि अन्तत : राती पार्टीबारे लेखिएको तुल चोरेरै आफ्नो लाज छोप्छन् ।

गरिबीको परिचय ब्राजिलबासीका लागि पनि फरक छैन । ब्राजिलमा १ हजार रुपैयाँ कमाएर परिवार पाल्ने सपना छ, रोमाओ र रोजको । पारैबाबाट साइकलमा ५ जना छोराछोरी बोकी उनीहरु रियो दि जेनेरियो आउँछन् । साइकलमा एक जना यात्रा गर्नु त अचम्म लाग्छ भने डेढ वर्षको बच्चासहित रोमाओको पूरै परिवार साइकलमा यात्रा गर्छन्, मीठो खाने र राम्रो लगाउने सपना देखेर ।

कथामा भोक, गरिबी, लैंगिक असमानता, विसंगति मार्मिक ढंगले प्रस्तुत गरिएको छ । भिसेन्ट अमोरिमले निर्देशन गरेको फिल्म सत्य घटनामा आधारित हो । छोराछोरी भोकाएर रुन थालेपछि रोजले ‘सुत, सुतेपछि भोक लाग्दैन’ भन्दै पेट मुसारेको दृश्यले मन छुन्छ । यस्तै, भोक, गरिबी र धुलोमैलोमा पनि परिवार हाँस्दै गीत गाउँदै गरेको देख्दा रमाउन के पैसा नै चाहिन्छ भन्ने प्रश्न पनि खडा गरेको छ । ब्राजिलको क्लासिक चलचित्रबाट प्रभावित द मिडल अफ द वल्र्डले जीवनको मिठास बोकेको छ ।

प्रकाशित: मंसिर ३, २०७६

×