मित्र शिशिरलाई दुई प्रश्न

जब यो ठगी र कृतज्ञताको विरोधाभासी कथा रचिँदै थियो, त्यो बेला मित्र शिशिर बालखै थिए । अहिले अविदित क्षेत्रमा प्रवेश गेरेर शब्दवाणले ब्ल्याङ्क फायर गर्न खोज्दा शब्दहरू बुमराङ भई उनीतिरै फर्केका देख्दा मलाई बडो नमज्जा लागेको छ ।

- खगेन्द्र संग्रौला

शिशिर वैद्य र म एकअर्कालाई ‘दाजु’ र ‘भाइ’ ले सम्बोधन गर्छौं । दाइले उच्चासनबाट आज्ञा दिने र भाइले निम्नासनबाट आज्ञा पालन गर्ने खालको उचनीचको नाता यो होइन । यो त समान तहको र बराबरीको नाता हो । रोचक कुरा, उमेरको यत्रो फरकले यो बराबरीमा कुनै व्यवधान पैदा गरेको छैन । बराबरीको यो धरातलमा उभिएका भले मानुष शिशिर मेरा प्रिय तरुण मित्र हुन् । मेरा केही वचनवाणबाट मेरा यी मित्रको चित्त दुखेछ । यो त्यही चित्त दुखाइउपरको मेरो सानो प्रतिक्रिया हो ।

यस साप्ताहिकको गतांकमा ‘खाँटी अनुवादक’ शीर्षकमा मेरो व्यक्तिचित्र छापिएको थियो । त्यो व्यक्तिचित्र शब्दका कुशल चित्रकार राजकुमार बानियाँकृत अनुवाद वार्ताद्वारा बुनिएको थियो । वार्तामा प्रसंगवश मेरा दुईवटा वाक्य परेका छन् । ‘वैद्य दाइले मलाई ठगे’ र ‘म दाइप्रति कृतज्ञ छु ।’ यी वैद्य दाइ निरञ्जन गोविन्द वैद्य हुन्, शिशिर वैद्यका पिता । पितालाई ‘ठग’ भनेकोमा मित्र शिशिर वैद्य ‘रन्थनिए’ छन् । र, सँगसँगै ‘म दाइप्रति कृतज्ञ छु’ भन्ने वाक्यले राजकुमारले कतै सुन्न पो बिराए कि भन्ने आशंका उनको मनमा पैदा भएछ ।

यथार्थ कुरो यसो हो । अनुवाद वार्तामा ‘वैद्य दाइले मलाई ठगे’ मैले भनेकै हुँ, र साथै ‘दाइप्रति म कृतज्ञ छु’ पनि भनेकै हुँ । ठगिनेले फलानाले मलाई ठग्यो भन्नु मित्र शिशिर वैद्यको समझमा ‘कुण्ठा’ पोख्नु हुँदो रहेछ । यसको अर्थ इतिहासमा वञ्चना–पीडित सामाजिक समूहहरूले वञ्चनाको क्रूर इतिहास पल्टाउँदै फलानाले मलाई ठग्यो भन्नु कुण्ठा पोख्नु हो ? वञ्चनाबाट उत्पन्न घाउको उपचार गरिपाऊँ भनी दाबीको भाकामा तिनले आक्रोश पोख्नु पनि कुण्ठा पोख्नु हो ?

यो ठगीको अन्तर्कथा बडो अनौठो छ । यो माओ त्सेतुङका ठेलीहरूको नेपाली अनुवादसँग गाँसिएको छ । प्रगति प्रकाशन, भोटाहिटीका स्वामी वैद्य दाइले कृष्णदास श्रेष्ठलाई धेरै र मलाई थोरै ज्याला दिएर जानीबुझी ठग्ने काम गरे । माओको पहिलो ठेलीको अनुवाद कृष्णदासले गरेका थिए, बाँकी ठेलीहरूको अनुवाद मैले गरेँ । दोस्रो ठेली पहिलोभन्दा दोब्बर ठूलो छ, तर दाइले ज्याला पहिलोका अनुवादकलाई भन्दा मलाई झन्डै आधा दिएछन् । कृष्णदासले कति ज्याला थापे दाजै भनेर दसौँचोटि सोध्दा पनि वैद्य दाइले मरिगए गुह्य खोलेनन् । वैद्य दाइ मुख बिगार्दै ‘त्यो कृष्णदासका चैँ कुरै नगरुँ’ भनेर टकटकिइरहे ।

पछि गोप्य सूत्रबाट कुराको पोल खुल्दा थाहा भयो– वैद्य दाइले मलाई साँच्ची नै ठगेछन् ! आफ्नो प्रतिक्रियामा पिता निरञ्जन गोविन्द वैद्य वितेको १५ वर्ष भयो, कृष्णदास श्रेष्ठ बितेको वर्षदिन भयो, अब सत्य–तथ्य कसरी थाहा पाउने भनी मित्र शिशिरले रोषयुक्त जिज्ञासा प्रकट गरेछन् ।

मित्र शिशिर सोझा छन् । हुस्सु मुद्रामा प्रमाण उनैले अघि सारे । र, मलाई प्रमाण पेस गर्नुपर्ने लेठोबाट छुटकारा दिए । आमाले भनेको भन्दै उनले भने– कृष्णदासलाई पहिलो ठेलीको ज्याला १० हजार रुपैयाँ दिएको हो । तर वैद्य दाइले मलाई दोस्रो ठेलीको ज्याला केवल ६ हजार रुपियाँ टक्य्राएका थिए । मैले पहिलो ठेली सरह पाएको भए दोस्रो ठेलीको ज्याला लगभग २० हजार हुन्थ्यो ।

यो ठगीको प्रसंग मैले उठाएको पाँच–सात वर्ष भयो । बोलेर पनि, लेखेर पनि । मित्र शिशिरलाई थाहा रहेनछ । कसैलाई थाहा नहुँदैमा इतिहासमा घटित घटना मानव स्मृतिबाट ओझेल परिहाल्दैन । स्मृति जब्बर चीज हो । कागतका लिखतहरू नष्ट गर्न सकिन्छ । स्मृतिको लिखत मेट्ने कसका बाउको पिताम !


खगेन्द्र संग्रौलाको अनुवाद जीवनबारेको स्टोरीः खाँटी अनुवादक


वैद्य दाइ आवरणमा बनियाँ मार्काका मक्खीचुस प्रकाशक थिएनन् । हुँदा हुन् त ठगीको यो प्रसंग उठ्ने नै थिएन । बनियाँको त धर्म नै ठग्नु हो । वैद्य दाइ नेपाल कम्निस्ट पार्टीका संस्थापकमध्ये एक थिए । कृष्णदास माड्साप् र म वैद्य दाइको वैचारिक पाठशालाका सहयात्री थियौँ । त्यसैले कमसेकम सिद्धान्तमा वैद्य दाइका दृष्टिमा कृष्णदास र म बराबरी हुँदा हौँ । तर वैद्य दाइको चित्तमा जर्ज अरवेलको कटाक्ष क्रियाशील भयो । र नै उनको दृष्टिमा कृष्णदास खगेन्द्रभन्दा अलि बढी बराबर ठहरिए । विडम्बना ! त के भने ‘कृष्णदासका चैँ कुरै नगरुँ’ भनेर वैद्य दाइले कृष्णदासको धरी कुरुप बिम्व निर्माण गरिदिए ।

आयो अब ‘म वैद्य दाइप्रति कृतज्ञ छु’ को प्रसंग । तिनताक म शाही सत्ताको आखेटमा परी चितवनबाट भाग्दै काठमाडौँ आएको थिएँ । मेरो फर्केर चितवन जाने बाटो बन्द भएको थियो । मेरो न कतै गाँसको प्रबन्ध थियो, न त थियो बासको ठेगाना । इलमविहीन त्यो संकटकालमा ज्याला ठगेरै भए पनि वैद्य दाइले मलाई अनुवादकको काम दिए । माओका ठेलीहरू अनुवाद गर्ने काम मेरा लागि प्रीतिकर र आनन्ददायी थियो । त्यसैले मैले भनेको हुँ– ठगिए पनि ‘म वैद्य दाइप्रति कृतज्ञ छु !’


शिशिर वैद्यको प्रतिवादः केही फाइदा बालाई भयो होला, केही फाइदा संग्रौलालाई 


मित्र शिशिरको प्रतिक्रियामा केही अर्थ न बर्थ एवं ताल न तुकका कुरा परेका छन् । प्रतिक्रियामा एकातिर आमा विस्मरणको व्यथाले आक्रान्त भएको उल्लेख छ, अर्कातिर तिनै आमाको मुखबाट केही असंगत कुरा बोलाइएका छन् । हास्य नाटक ‘फाटेको लगौँटी, टालेको दिमाग’ को दोस्रो संस्करण हजार थान छाप्ने सहमति भएको थियो, सुटुक्क छापियो दुई हजार थान ।

तर मित्र शिशिरको प्रतिक्रियामा कुरा यसको ठीक उल्टो छ । यहाँ मलाई थाहै नदिई हजार थान ठग्ने दाउ थियो । तर दाउको पोल खुल्यो र मैले विरोध जनाएँ । सहमतिअनुसार हजार थानको पारिश्रमिक मैले लिइनँ । पारिश्रमिक आफ्नै पोल्टामा राख र छापिएका जति सबै थान जलाइदेऊ भनेर म हिँडेँ । त्यसपछि वैद्य गृह र पसलमा म फर्केर गइनँ । 

प्रतिक्रियामा अर्को एउटा तिलस्मी प्रसंग छ । यस प्रसंगमा कोही एक बिरामी मानव चितवनबाट आएर उपचारार्थ वीर अस्पतालमा भर्ना भएको र पछि बुटीटाट शरणार्थीका रूपमा वैद्य गृहमा महिनादिन बसेको किस्सा छ । यो किस्साको प्रतीकात्मक संकेत मतर्फ छ । तर कठोर वास्तविकता के हो भने त्यो तिलस्मी मानव म होइन । त्यो भाउजूको विस्मरणग्रस्त एवं विभ्रमित मस्तिष्कको उपज हो ।

जिन्दगीमा म वैद्य दाइकहाँ जम्मा एक रात सुतेको छु । दाइका अभिन्न मित्र राम असारे वर्मा भारतबाट आएका थिए । ‘कम्युनिस्ट शिक्षा’ नामक नामी जेबी पुस्तिकाका लेखक उनै राम असारे वर्मा । उनीसँग संगत गराउन दाइले मलाई उदार दिलले एक रातको गाँस र बास दिएका दिए । बस्, त्यसअघि र त्यसपछि दाइकहाँ गाँस र बासको सुयोग मलाई कहिल्यै जुरेन । 

बस्, मित्र शिशिरसँग मेरा कुरा यति नै हुन् । जब यो ठगी र कृतज्ञताको विरोधाभासी कथा रचिँदै थियो, त्यो बेला मित्र शिशिर बालखै थिए । अहिले अविदित क्षेत्रमा प्रवेश गेरेर शब्दवाणले ब्ल्याङ्क फायर गर्न खोज्दा शब्दहरू बुमराङ भई उनीतिरै फर्केका देख्दा मलाई बडो नमज्जा लागेको छ ।

मित्र शिशिरसँग यहाँ मेरा दुईवटा प्रश्न छन् । प्रत्येक व्यक्तिको जीवन उसको आफ्नै हो । उसका गुण–दोष केवल उसैका हुन्, जसको जस–अपजसको भागिदार ऊ स्वयं हो । के कुनै पुत्र आफ्ना मातापिताका अर्घेल्याइँहरूको प्रतिरक्षा गर्न कर्तव्यबद्ध हुन्छ ? के ऊ आफ्ना मातापिताका भूलचूकहरूको ढाकछोप गर्न अभिशप्त हुन्छ ?

प्रकाशित: मंसिर ४, २०७६

×