विशिष्टहरूलाई शिष्ट सुझाव 

- लक्ष्मण गाम्नागे

कल्पनै नगरेको, यो मुलुकको पाँचौँ नम्बरका उच्च अधिकारी महराजी जेलको हावा खान पुग्नुभयो । जनताका माननीय प्रतिनिधिका पनि प्रतिनिधि सम्माननीय सभामुख । सत्ताविरोधी हिंसात्मक आन्दोलन गर्दा पनि उहाँ जेल पर्नुभएको थिएन होला । हेर्दा नै मायालाग्दो भद्र भलाद्मी मान्छे । मृदुभाषी । इमानदार पनि हुनुहुन्छ रे भन्ने सुनेको हो । पार्टीमा पनि अध्यक्षको प्रिय पात्र । असल भएरै होला, कहिल्यै सत्तासुखबाट वञ्चित हुनु नपरेको सुकिलो, मुकिलो, सुकोमल व्यक्तित्व । त्यस्तो मुलायम व्यक्तित्वले आज ‘बलात्कार प्रयास’ जस्तो निम्न स्तरको अभियोगमा जेल बस्नुपरेको छ । बरु ड्याम्मै केही करोडको भ्रष्टाचार अभियोग लागेको भए पनि इज्जतै रहन्थ्यो,  ‘बलात्कार प्रयास’ जस्तो असफल र निम्छरो घटनामा इज्जतै स्वाहा हुनु, पदै जानु, जेलै जानु, कस्तो विडम्बना † दशा लागेको भनेको यही होला ।

पार्टीका दुई नम्बर अध्यक्षले एक कार्यक्रममा बताएअनुसार महराजीले त्यस्तो ठूलै अपराध गरेको पनि होइन रहेछ, नैतिक दृष्टिले अलि नमिल्ने कुरा गरेको भन्ने बुझियो । बलात्कार प्रयासभन्दा पनि ठूलो गल्तीचाहिँ उहाँले नेतृत्वलाई ढाँटेर गर्नुभएछ । प्रचण्डजीले आफैँ घरमा गएर ‘कुरा के हो खसोखास बताउनुस्’ भनेर र्‍याखर्‍याख पार्दा पनि उहाँले साँचो कुरा बताउनुभएनछ । उहाँले ‘धोका खाएँ, बचाइपाऊँ’ भनेको भए बचाउन सकिने सम्भावना हुने रहेछ । यसरी विचार गर्दा पार्टीका नेता–कार्यकर्ताले जे–जसो गरेको भए पनि पोल खुलेपछि सत्य कुरा नेतृत्वलाई बताउनुपर्ने रहेछ भन्ने पोल खुल्न बाँकी विशिष्टहरूले ध्यानमा राख्नुहोला । 

एक जना महराजीको बलिदानीबाट बाँकी धेरै विशिष्टज्यूहरूले पाठ सिक्ने सुनौलो अवसर आएको छ । विभिन्न राजनीतिक दलका ठूल्ठूला नेताहरूबारे बजारमा त्यस्तै सम्बन्धका हल्ला आइरहन्छन् । संयोगले अहिलेसम्म उहाँहरू जोगिइरहनुभएको होला । कति नेताहरूका नाम बजारमा आए पनि चर्कोसँग आएका छैनन् । युट्युबरहरूले रंगेहात भेट्टाएका छैनन् । ती चर्चामा आइरहने पात्र अवश्य पनि सावधान हुनुभयो होला । नभए अब सतर्क रहनुहोला । 

यस प्रकरणबाट पाठ सिक्दै आइन्दा त्यस्ता गोप्य सम्बन्धहरू अत्यन्त होसियारीपूर्वक कायम राख्नुहोला । ठूलो र सार्वजनिक पदमा बस्ने व्यक्तिले त्यसरी अवैध सम्बन्ध राखेको भए दिनदहाडै पार्टनरकहाँ जाने काम बन्द गर्नुहोला । साइरन बजाउँदै, बाटो जाम गर्दै, सुरक्षाकर्मीसहित गाडीको ताँती लगाएर पनि नजानु होला । सुरक्षाकर्मी वा सवारी चालकबाट पोल खुल्ने खतरा हुन्छ भन्ने त लाटोबुंगोले पनि थाहा पाउने कुरा हो । त्यस्ता विशिष्ट व्यक्तिले गाडी आफैँ चलाएर वा कसैले थाहा नपाउने गरी मुखमा मास्क लगाएर ट्याक्सीमा जानुहोला । परिवारका सदस्यले, श्रीमतीले, गेटमा बसेका सुरक्षाकर्मीले वा घरको कुकुरले पनि थाहा नपाउने गरी आधाराततिर लुसुक्क निस्कनुुहोला । सडकका सीसीक्यामेरालाई छल्दै गन्तव्य स्थल छिर्नुहोला । 

त्यतिले मात्र पुग्दैन, आफ्नो पार्टनरलाई बिच्किन नदिन आर्थिक, शारीरिक, पदीय आदि सबै कुरामा सन्तुष्ट पारेर राख्नुपर्ने रहेछ भन्ने पाठ सम्बन्धितहरूले सिक्नुहोला । घटना घटिसकेपछि र सम्भावित खतराको ज्ञान भइसकेपछि ‘फर्गेट एस्टर्डे’ वा यस्ता कुनै शंकास्पद सन्देश नपठाउनु होला । जे–जसरी हुन्छ यस्ता सम्बन्धलाई बाहिर विस्फोट गराएर दुनियाँलाई हँसाउने काम नगर्नुहोला । भित्रभित्रै एक्लै हाँस्नुहोला ।

प्रकाशित: मंसिर ५, २०७६

ट्याग: झटारो
×