तेस्रो ध्रुव कि सानो गुट ? कांग्रेसमा सिटौला फ्याक्टर

  • कांग्रेस

- सन्तोष आचार्य

कांग्रेसको १२ औँ महाधिवेशन । ०६७ । पार्टी परम्परावादी भयो, वैचारिकता भुत्ते भयो, कार्यपद्घति पनि बासी भयो भन्दै जन्मियो, तेस्रो धार । लामो समय पार्टीको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाको निधन भइसकेको थियो । महाधिवेशनको मैदानमा थिए, सुशील कोइराला र शेरबहादुर देउवा । सभापतिका लागि दुवैको उम्मेदवारी थियो । कोइराला र देउवालाई चुनौती दियो, .भीमबहादुर तामाङ र नरहरि आचार्यको गठजोडले । चक्रप्रसाद बाँस्तोलादेखि सुप्रभा घिमिरेसम्मका हस्तीहरूले अन्तिम समयसम्म यही ध्रुवको खाँबो समातिरहे । तर नतिजा ! मूल्य, मान्यता र आदर्शको राजनीति गर्ने किरिया खाँदाखाँदै पनि तेस्रो ध्रुवले लज्जास्पद पराजय भोग्नुपर्‍यो । महाधिवेशन प्रतिनिधिले पत्याएनन् । त्यसपछि यो समूह लाखापाखा लाग्यो । आफ्नो राजनीतिक भविष्यको सुनिश्चितताका लागि गुटमा गएर लुटपुटिए । बीपी कोइरालापछि कांग्रेसभित्र वैचारिक धारको अन्त्य भएको सन्देश थियो, त्यो ।

वर्षपछि अर्थात् ०७२ । कांग्रेसकै १३ औँ महाधिवेशन । सभापति पदका लागि आमने–सामने थिए, शेरबहादुर देउवा र रामचन्द्र पौडेल । तर अचानक भुत्ते भइसकेको भनिएको तेस्रो धार फेरि देखापर्‍यो । खेलाडी भने नयाँ । कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको यो धु्रवमा समाहित थिए, गगन थापादेखि उमाकान्त चौधरीसम्म । महाधिवेशनमा देउवाले बाजी मारे । पौडेल दोस्रो भए । सिटौला पहिलो चरणमै ‘रिङ आउट’ भए । १२ औँ महाधिवेशनमा पराजित हुनासाथ तेस्रो ध्रुवको अस्तित्व मटियामेट भयो । १३ औँ महाधिवेशनपछि पार्टीभित्र सिटौलाले नेतृत्व गरेको तेस्रो ध्रुवले आफ्नो अस्तित्व भने जोगाइरहेको छ । 

पार्टीभित्र देउवाले नेतृत्व गरेको संस्थापन पक्ष र पौडेलले नेतृत्व गरेको संस्थापनइतरको बीचमा रहेको सिटौलाको सानो समूह यी दुवै पक्षका लागि कम चुनौतीपूर्ण छैन । १३ औँ महाधिवेशनको कार्यकाल सकिन १४ महिना बाँकी रहँदा पार्टीको केन्द्रीय समितिदेखि भ्रातृ संगठनसम्म सिटौला समूहको उपस्थिति हस्तक्षेपकारी देखिएको छ । रमाइलो के भने संस्थापन समूह र संस्थापनइतर समूह (पौडेल) बीच घोषित रूपमै नभए पनि ६० र ४० प्रतिशतको भागबन्डा कायमै छ । यो दुवै समूह आफ्नो भागबाट सिटौला समूहलाई केही दिन चाहँदैन । तैपनि देउवा र पौडेलले एकअर्कालाई सन्तुलनमा राख्न खोज्दा सिटौला समूह लाभान्वित हुन्छ । जस्तो,  उपनिर्वाचनका लागि उम्मेदवारी छनोटमा संसदीय समितिको अधिकार पार्टी पदाधिकारीलाई दिइयो । आन्तरिक विवादले संसदीय समिति नै बन्न नसकेपछि त्यसको अधिकार पार्टी पदाधिकारीलाई प्रत्यायोजन गरियो । कांग्रेसभित्र सभापतिसहित आठ सदस्यीय पदाधिकारी छन् । 

रमाइलो त त्यतिबेला भयो, जतिबेला संस्थापन इतरका रूपमा रामचन्द्र पौडेल र पार्टीभित्रको तेस्रो गुटको संयोजकका रूपमा कृष्णप्रसाद सिटौलालाई पनि उम्मेदवार छनोट बैठकमा समावेश गरियो । अर्थात्, पार्टी संस्थापन पक्षले आफूइतरको पौडेल र १३ औँ महाधिवेशनमा तेस्रो धारको नेतृत्व गर्ने सिटौलाको अस्तित्वलाई पनि स्वीकार गर्‍यो । पदाधिकारीपछिको पहिलो वरीयतामा रहेका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई यो बैठकमा सिटौला राखेको चित्त बुझेनछ । भन्छन्, “मभन्दा मुनिको वरीयतामा रहेका सिटौलालाई गुटगत आधारमा पदाधिकारी बैठकमा किन बोलाइयो ? के यो भागबन्डाको राजनीति होइन ?” 

सिटौलाका अनुसार पार्टीभित्र एउटा धारको नेतृत्व आफूले गर्ने भएकाले पदाधिकारी बैठकमा निम्त्याइएको हो । यसले के संकेत गर्छ ? सिटौलासँग जवाफ छ, “१३ औँ महाधिवेशनको तेस्रो धारको अस्तित्व अझै छ ।” ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेश सभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुँदै छ । कास्की–२ प्रतिनिधिसभामा पौडेल, प्रदेश सभा निर्वाचनअन्तर्गत भक्तपुर र दाङमा देउवा र बाग्लुङमा सिटौला समूहलाई टिकट दिने निर्णय गर्‍यो, पदाधिकारी बैठकले । 

कांग्रेसभित्र प्रकाशमान सिंहदेखि महेश आचार्यसम्मलाई पाखा लगाउँदै सिटौलाले आफ्नो अस्तित्व कायम राखिरहेको उम्मेदवार छनोटमा उक्त समूहले महत्त्व पाउनुको संकेत चानेचुने छैन । यो समूहसँग केन्द्रीय सदस्यहरू न्यून छन् । तर केन्द्रीय समितिमा महत्त्वपूर्ण मुद्दा उठाउनेमा यो समूह प्रभावशाली देखिन्छ । भ्रातृ संगठनदेखि शुभेच्छुक संस्थाहरूमा यो समूहबाट कोही न कोही नेतृत्व तहमै छन् । यसले पनि यो समूह पार्टीमा प्रभावशाली देखिएको बुझ्न सकिन्छ । अझ त्यसमाथि संस्थापन र संस्थापनइतर समूहमा रहेर पनि भूमिकाहीन बनाइएकाहरूको ओत लाग्ने थलो बनेको छ, सिटौला समूह । सिटौला गुटमा उनीभन्दा कम उमेर समूहका नेताहरू बढी देखिन्छन् । जस्तो, गगन थापा, उमाकान्त चौधरी, भीमसेनदास प्रधान, जगदीशनरसिंह केसी, प्रदीप पौडेल, कुन्दनराज काफ्ले, शिव हुमागाईं, हर्ष बम आदि ।

“तेस्रो धार कसैका विरुद्घको अभियान होइन, पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकढिक्का बनाउने प्रयास हो,” नेता भीमबहादुर तामाङले १२ औँ महाधिवेशनका सन्दर्भमा नेपालसँग भनेका थिए, “भोलि हामी को कहाँ हुन्छौँ तर यो अभियानको आवश्यकता कांग्रेसभित्र अझै खट्किँदै जानेछ ।” तर के सिटौला त्यही अभियानमा हिँडिरहेका छन्, जसको सपना तामाङले देखेका थिए ? केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ त्यो मान्न तयार छैनन् । उनका अनुसार गुटगत लेनदेनबाट सिटौलालाई पार्टीभित्रको यो शक्ति आएको हो । “भीमबहादुरजीहरूले पार्टीभित्र मूल्य, मान्यता र आदर्श खोजेका थिए, सिटौलाजीहरूले केवल भाग खोज्नुभएको छ,” श्रेष्ठ भन्छन्, “यसैले यो कुनै धार होइन, फगत एउटा गुट मात्र हो ।”

सिटौला केन्द्रीय समितिमा संख्याको हिसाबले आफ्नो समूह न्यून भए पनि यसले पार्टीलाई वैचारिक रूपमा ठीक बाटोमा हिँडाउन खोजेको दाबी गर्छन् । “सभापतिजीसँग अत्यधिक बहुमत छ, उहाँले चाहेको निर्णय गर्न सक्नुहुन्छ,” सिटौला भन्छन्, “संख्याको हिसाबले सभापतिपछि रामचन्द्रजी नै हो । उहाँको तागत भनेको गलत निर्णयलाई रोक्न सक्ने नै हो । तर उहाँले त्यसको पनि प्रयोग गर्न सक्नुभएको छैन । सकेको हामीले गरेका छौँ ।” 

विधानअनुसार अर्को वर्षको फागुनभित्र कांग्रेसले महाधिवेशन गर्नुपर्ने हुन्छ । कांग्रेसको क्षेत्रीय अधिवेशन सकिनासाथ महाधिवेशन प्रतिनिधि चयन हुन्छ । त्यसपछि कसको पक्षमा कति महाधिवेशन प्रतिनिधि आए भन्ने स्पष्ट हुन्छ । सिटौलाले त्यसपछि आफ्नो समूहबाट आफू सभापति बन्ने वा ‘किङमेकर’ बन्ने भन्ने त्यति नै बेला निर्णय गर्नेछन् । त्यतिबेला संस्थापन वा संस्थापनइतरको पौडेल समूहसँग मिलेर पदीय भागबन्डा गर्ने वा महाधिवेशनमा तेस्रो धारका रूपमै आफ्नो समूहलाई बढाउने, स्पष्ट छैन । 

१३ औँ महाधिवेशनमा जस्तो संस्थापनलाई सहयोग गर्छन् वा संस्थापनबाट सहयोग लिन्छन्, यसै भन्न सकिन्न । सभापतिको दाबेदारी गर्दै आएका कोइराला परिवारका एक सदस्य शेखर कोइराला यदि महाधिवेशनको सँघारमा यो समूहभित्र आएको खण्डमा सिटौलाको रणनीति के होला ? कांग्रेसभित्र यो कौतूहल छँदै छ । तर सिटौलालाई नजिकबाट चिन्नेहरूका अनुसार राजनीतिक उपलब्धि हासिल गर्ने सन्दर्भमा उनी पौडेलभन्दा पनि देउवा निकट हुन् । 

यस्तो स्थितिमा के आगामी महाधिवेशनमा सिटौला पनि सभापतिको दाबेदार होलान् ? सिटौलालाई सोधियो । “१३ औँ महाधिवेशनमा बिनातयारी त्यो पनि अन्तिम समय हामी चुनावमा लड्यौँ । शेरबहादुरजी र रामचन्द्रजीलाई नेतृत्व मानेर जान सकेनौँ । त्यही सन्देश दिनका लागि मेरो उम्मेदवारी आयो,” ७० वर्षीय सिटौला भन्छन्, “मुलुकको राजनीतिक परिदृश्य फेरिएको छ । नयाँ परिस्थितिमा महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि आफ्ना विचार लिएर हामी कार्यकर्ता तहमा जान्छौँ । त्यसबेला हाम्रो समूहको उम्मेदवारीको निक्र्योल हुनेछ ।” 

प्रकाशित: मंसिर ९, २०७६

×