सशस्त्र युद्धका घाइतेको सकसपूर्ण जिन्दगी

  • प्रदेश ५

- दुर्गालाल केसी

सपनाजस्तै जीवन

सल्यान मलेबाङकी तुलसा केसीलाई १६ वर्षे जवानीमा देशको चिन्ता भयो । दाइ इन्द्रबहादुर माओवादी पार्टीमा लागेका थिए । उनी पनि १० कक्षाको पढाइ छोडी पूर्ण सर्वहारा हुने, मृत्यु स्वीकार्ने र साम्यवादमा पुग्ने पार्टीको सिद्धान्त स्वीकार्न तयार भइन् ।

 तुलसासँग सम्पत्तिको नाममा सुनको फुली थियो, त्यो निकालेर पार्टीलाई दिइन् । घरमा पनि आफ्नो भागमा पर्ने जग्गा छुट्याउन लगाएर पार्टीलाई दिने निर्णयमा पुगिन् । 

जनयुद्धमा त्यागेको गहना उनले अहिले पनि लगाएकी छैनन् । कतिपयले सोध्छन्, ‘तपाईंका श्रीमान् छैनन् ?’ उनी केही बोल्न सक्दिनन् । उनको न निधारमा सिन्दूर छ, न त नाकमा फुली, हातमा चुरा । पति, १० वर्षे छोरी र ८ वर्षे छोराका साथमा रहेकी तुलसा गहनाको प्रसंग आउँदा भावुक हुन्छिन्, “गरगहना लगाउने हाम्रो आर्थिक हैसियत पनि भएन । मेरो सिद्धान्तले पनि मानेन ।”

०५३ मा पार्टीमा संगठित भएकी तुलसा इलाका कमिटी हुँदै कलाकार र महिला संगठकका रूपमा स्थापित भइन् । त्यहाँ पाँच वर्ष महिला संघ अर्घाखाँचीको जिल्ला अध्यक्ष भएर बसिन् । १ फागुन ०६४ मा उनले रोल्पा जंकोटका जगदीश पुनसँग जनवादी विवाह गरेकी थिइन् । त्यसपछि उनी अर्घाखाँची र पति पाल्पामा खटिए । ०६९ मा उनीहरूलाई दाङ सरुवा गरियो । यसबीचमा छोरी जन्मिइन् । सुरुका दिन निकै कष्टकर भए । के खाने ? कहाँ बस्ने ?

जगदीशको रोल्पा, जंकोटस्थित घर सुरक्षाकर्मीले आगो लगाएर ध्वस्त पारिदिएका थिए । गाउँमा गएर बस्ने अवस्था पनि थिएन । दुई वर्ष तुलसीपुरमा बसेर किराना पसल गरे । अन्तमा घोराहीमा आएर बंगुरको मासु बेच्न थाले । “क्षत्रीकी छोरी, कहिलै बंगुर नछोएकी मान्छे । दैनिक २०–२२ किलोको सपेटा उचाल्नुपर्छ,” उनी भन्छिन्, “बिहान ५ देखि राती ८ बजेसम्म सुंगुरको मासु काट्छु । पूरै जीवन सपनाजस्तै लाग्छ ।”

पार्टी शान्ति प्रक्रियामा आएपछि बिस्तारै नेताहरूको नजरमा पर्न छाडेको उनी सुनाउँछिन् । “पहिले पार्टीले हामीलाई खोज्थ्यो । जसरी पनि राजनीतिमा लगाउँथ्यो । अहिले पार्टीमा नयाँ मान्छे पसेका छन्,” उनी भक्कानिन्छिन्, “हामीजस्ता युद्ध लडेका अधिकांश मानिस बाहिर छन् । कोही विदेश पलायन भए, कोही गरिखाउँ न मरिजाउँको अवस्थामा छन् ।” उनलाई लाग्छ, “अब छोराछोरीले सुन्दा पनि के पत्याउलान् र ? त्यस्तो पनि भएको थियो र भन्लान् । आधा जीवनको कथा छुट्टै छ, आधा जीवनको छुट्टै ।”

युद्धकालीन दिन सम्झँदा उनी तनावमा हुन्छिन् । कतिले अझै पनि मान्छे मारेर आएको भनेर घृणा गर्छन् । युद्धकालमा उनको घर नै पार्टीमय थियो । दिनहुँजसो लडाकु र नेताहरूलाई खाना खुवाउन मेस चल्थ्यो । दाइ पनि नेता । भाइ चन्द्रबहादुर पनि लडाकु । भाउजूलाई खाना पकाउन र खुवाउन ठीक्क हुन्थ्यो । सुरक्षाकर्मी आएर उनलाई यातना दिन्थे । यही कारण भाउजू अहिले मानसिक बिरामी भएकी छन् । भाइ अहिले वैदेशिक रोजगारीमा छन् । “सत्तामा गएपछि नेताहरू बिग्रँदा रहेछन् । जनताका नेता जनताकै भएर मरून् । भ्रष्टाचार र गलत कामले बदनाम नहोऊन्,” उनको कामना छ, “अबको पुस्ताले हामीले जस्तो दु:ख नपाऊन् । हाम्रा सन्तानले सही मार्गदर्शन पाउन सकून् ।”

पति जगदीश पनि मगरात राज्य समिति सदस्यसम्म भए । वर्षमान पुन उनका भिनाजु हुन् । “अहिले पार्टीलाई हाम्रो आवश्यकता परेको देखिँदैन,” जगदीश भन्छन्, “हामीले युद्ध लड्दाको लक्ष्यअनुसार काम भएको पनि छैन । हामीले जेनतेन ज्यान पालेका छौँ तर धेरै साथीहरू अशक्त छन् ।” 

०५४ मा वाइसीएलमा संलग्न भएर पार्टी राजनीतिमा पसेका पुन १० कक्षाको पढाइ छाडेर पूर्णकालीन भए । लडाकु भएर हिँडेका भाइ कुशल मलेसियामा छन् । अहिले उनी घोराहीको ढोडेनीमा बंगुरका ११ माउ र ४३ पाठा पालिरहेका छन् । उनले पनि यसलाई जीवनको नयाँ सुरुआत ठानेका छन् । भन्छन्, “पहिले राजनीतिक आदर्श मात्रै थियो । अहिले जीवनले नयाँ बाटो लिएको छ ।”

रुकुम, हुकामका भुलबहादुर विकको दायाँ खुट्टा छैन । जुम्लाको खलंगा आक्रमणमा खुट्टामा गोली लाग्यो । जंगलमा हिँड्दाहिँड्दै उपयुक्त समयमा उपचार पाएनन् । अन्त्यमा उनको खुट्टा नै काट्नुपर्‍यो । देश परिवर्तन गर्ने सपना बोकेर युद्धमा पसेका विक शान्ति प्रक्रियापछि एउटा खुट्टा गुमाएर घर फर्के । 

घरपरिवारमा रुवाबासी भयो । उनले कसैलाई सम्झाउन सकेनन् । उनीसँग पहिलेजस्तो जोश, जाँगर र राजनीतिक आदर्श थिएनन् । परिवारलाई सम्झाउन नसकेपछि आफैँ दाङ फर्के । तुलसीपुर उपमहानगरपालिका–१८ धनखन्यामा बाँसले बेरेको छाप्रो बनाए । त्यसैमा बसेर जीविका चलाउन थाले ।

दाङकै संक्राम ब्यारेकमा बस्दा विकको विवाह भएको थियो । उनले पनि छाडेर गइन् । उनीबाट एक छोरा र एक छोरी छन् । दोस्रो विवाहपछि दुई छोरी जन्मेका छन् । साँझबिहान खान–लाउनै समस्या छ । सरकारले उपचार खर्चका लागि मासिक ६ हजार रुपैयाँ दिन्छ । “यसले केही पुग्दैन । खान–लाउनकै निम्ति धेरै ऋण लागिसक्यो । कसरी तिर्ने भन्ने चिन्ता छ,” उनी भन्छन्, “हाम्रोबारे कसले सोच्छ र ? हिजो लड्न सक्ने हुँदा सबैले खोज्थे । अहिले सबैले छाडे । आफ्ना दु:ख आफैँसँग छन् ।”

घाइते, अपांंगता भएका लडाकुको अवस्था झनै दुर्दशापूर्ण छ । सल्यानबाट युद्धमा हिँडेका चक्रपाणि शर्मा अहिले तुलसीपुर उपमहानगरपालिका–१८ दूधराशमा बस्छन् । बैसाखीको भरमा हिँडडुल गर्छन् । “हाम्रा कारणले देशमा परिवर्तन भयो । हामीले अंग दिएका कारण देश बदलिएको हो,” शर्मा भन्छन्, “तर सरकारले हाम्रा कुरा सुन्दैन ।” 

२५ चैत ०६१ मा रुकुमको खारामा भएको सैनिक ब्यारेक आक्रमणका क्रममा बमको धमाकाले शर्माको मेरुदण्डमा नराम्रोसँग चोट लाग्यो । त्यसपछि उनी बैसाखीको सहाराबिना हिँड्न नसक्ने भए । “हाम्रो गुमेको अंग त आउँदैन तर भएको अवस्थामा सहज हुने सहायता सामग्री दिए पनि सन्तोष मिल्छ,” उनी भन्छन्, “हामीले दु:ख गरेर नयाँ संविधान आयो तर हाम्रो बलिदानीको मूल्यांंकन कतै भएको छैन ।”

सशस्त्र द्वन्द्वपछि शान्ति प्रक्रियाका क्रममा १९ हजार ६ सय २ लडाकु प्रमाणीकरणमा परेका थिए । त्यसमध्ये १ हजार ४ सय २२ लडाकु सेनामा समायोजन भए भने अन्य अवकाश रोजेर घर फर्के । अनमिनको प्रमाणीकरणका क्रममा अयोग्य भएका ४ हजार ८ जनामध्ये एक तिहाइले त आत्मग्लानि भएर पहिले नै शिविर छाडिसकेका थिए । अनमिनको अभिलेखअनुसार औपचारिक बहिगर्मन कार्यक्रमका क्रममा देशभरका सात वटै शिविरबाट २ हजार ३ सय ९४ जना मात्रै बिदा भएका थिए । 

प्रकाशित: मंसिर १०, २०७६

×