हिमाली गाउँका फुर्सदिला केटाकेटी

  • हाम्रो नेपालमा

- छम गुरुङ

लार्के पास, ५ हजार १ सय ६ मिटर । गोरखाको उपल्लो भेग, तिब्बत सीमा पुग्ने बाटोभन्दा देब्रे पारेर उँभो लागेपछि पुगिने चुली–भन्ज्याङ । माथ्लो गोरखाको स्याला उकालो पार गर्नेबित्तिकै प्रवेशढोका, हिमाल, गाउँ, केटाकेटी आँखामा आइहाले । आँगनमा होटल–दिदी तान बुनिरहेकी छन् । 

ल्होदेखि सामागाउँ जाँदा गाउँको मुखैमा सामा स्कुल भेटिन्छ । अध्यक्ष वीरबहादुर लामाले आफ्नो होटल मनास्लुको आम्दानीको केही हिस्सा स्कुलमा खर्चिंदा रहेछन् । आईएनजीओले सहयोग गर्दै आएको रहेछ । म पुग्दा स्कुल हातामा केही विद्यार्थी बोरा बोकेर यताउता हिँडिरहेको देखेँ ।

भोलिदेखि पढाइ सुरु रहेछ । उनीहरूको झे (याकको गोबर) सफा गर्ने दिन रहेछ । झे बटुलेर आँगनमा सुकाइएको रहेछ । खाना पकाउँदा काम लाग्ने र जाडोमा आगो ताप्न प्रयोग पनि हुने । प्राविसम्म पढाइ हुने यस विद्यालयमा ४९ विद्यार्थी र १२ शिक्षक रहेछन् । हिमाल फेदीको सुन्दर बस्ती सामा गाउँमा मैदान पनि छ ।

सामा स्कुल भनिए पनि बोर्डमा चाहिँ गौरीशंकर प्रावि लेखिएको रहेछ । गाउँमै किन्डरगार्टेन स्कुल पनि सञ्चालनमा आएको रहेछ । प्राय: विद्यार्थी गाउँमा पढ्नभन्दा काठमाडौँ या पोखरै ताक्ने रहेछन् । यहाँका विद्यार्थीको पनि सहरमा पढाउने स्पोन्सर व्यवस्था भइसकेको हुँदो रहेछ । 

भोलिपल्ट ४ हजार मिटर उचाइको अन्तिम हिमाली गाउँ साम्दो पुग्यौँ । सन् १९५९ दलाई लामाको तिब्बतबाट निर्वासनसँगै बस्ती बसालिएको रहेछ । चारैतिर हिमालले घेरिएको यो गाउँमा ४५ घरधुरी रहेछन् । शिक्षा र स्वास्थ्यमा यहाँको जनताको पहुँच छैन । 

स्कुल प्रावि भए पनि पढाइ शिशुकक्षासम्म मात्रै हुँदो रहेछ । स्टाफ एक्लै रहेछन्, छिरिङ लामा । व्यवस्थापनमा १२ पढेका । विद्यार्थी ९ जना । स्कुल जानुपर्ने कतिपय बच्चा आमाकै पिठ्युँमा झुन्डिरहेको देखिए । पाठ्यपुस्तक र भाषाको समस्याले ६ महिनाजति मात्र राम्ररी पठनपाठन हुने रहेछ । 

सामा गाउँलाई एउटा मूल बाटोले दुई फ्याक पारेको छ । मूलबाटो पर्ने होटलवाला परिवारको आर्थिक स्तर अनेक पहुँचमा विस्तार भएको छ भने उही गाउँमै अधिकांश सीमान्तकृत घरहरू । केही प्रतिशत परिवारले पर्यटन व्यवसायमार्फत अर्थोपार्जन गरे पनि उपभोगको केन्द्रचाहिँ राजधानी या सहरै हो । 

प्रकाशित: मंसिर १५, २०७६

×