राष्ट्र निर्माता धर्नामा

  • झटारो

- लक्ष्मण गाम्नागे

प्रधानमन्त्री ओलीजीले विकास निर्माणमा ढिलासुस्ती गर्ने वा खराब काम गर्ने ठेकेदारलाई कडा कारबाही गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएपछि अबचाहिँ यिनीहरू फेला पर्ने भए भन्ठानेको त उल्टै बालुवाटारमै धर्ना बस्न पो थालेछन् । यही बेला एक ठेकेदार मित्रसँग चिया दोकानमा जम्काभेट भयो । कुरैकुरामा मैले भनेँ, “के हो ठेक्दारसाब, आफैँ काम नगर्ने, आफैँ धर्ना बस्ने ? खराब काम गर्नेलाई कारबाही गर्नै नपाउने माग राखेर पनि धर्ना बस्न सुहाउँछ ?” 

मेरो कुरा सुनेर मुखमै पुर्‍याएको चियाको गिलास टेबुलमा बजार्दै मतिर फर्किए र चर्किन थाले, “के ठेक्दार ठेक्दार भनेको ? निर्माण व्यवसायी भन्न आउँदैन ? अझ राष्ट्र निर्माता भन न ! राष्ट्र मात्रै होइन, हामी त विश्व निर्माता हौँ । संसारभरिकै हेर्नलायक संरचना बनाउने हामी नै होइन ? ठूल्ठूला भवन, राजमार्ग, पुल, स्कुल, हाइड्रो, रेल, हवाईमार्ग, सुरुङमार्ग, स्मारक कसले बनायो ? हामी थिएनौँ भने यो संसार अहिलेसम्म ढुंगे युगमै हुने थियो ।” 

“हरेक चौबाटोमा सालिक स्थापना गरेर पूजा गर्नुपर्ने राष्ट्र निर्मातालाई कालो सूचीमा राख्ने कानुन बनाउँछ सरकार । मुलुकलाई युगौँसम्म अविकसित राख्ने नेताहरू, प्रशासकहरूलाई चाहिँ कालो सूचीमा राख्नुपर्दैन ? हाम्रो माग छ, राष्ट्र निर्मातालाई कालो सूचीमा राख्ने कानुन तुरुन्त खारेज गर्नुपर्छ । हाम्रो रोजीरोटी खोस्ने गरी सरकारले स्थापना गरेको निर्माण कम्पनी विघटन हुनुपर्छ । निर्माण गर्ने काम सरकारको होइन, हाम्रो हो । त्यस्तो कम्पनी खोल्ने अधिकार हाम्रो मात्र हुनुपर्छ ।” 

“समयमा काम नसकिनुमा ठेकेदारको होइन, सरकारको पनि दोष छ । कर्मचारीले गोजीभरि कमिसन नपाई फाइल अघि बढाउँदैनन् । मन्त्री, नेता, कार्यकर्ता, डन, गुन्डा सबका सब मुख बाएर बसेका हुन्छन् । हजार झन्झट पार गरेर काम हात परिहाल्यो भने काम गर्ने कामदार पाइँदैन । सरकारले देशमा रोजगारी नदिएर सबै कामदारजति विदेशतिर गएका छन् । यो हाम्रो कमजोरी हो ?”

“तिमी लेखक, पत्रकारहरू दिमागमा पट्टी लगाएर हाम्रो बेइज्जत गर्छौ । हामीले खोलो भएकै बेला त्यहीँमाथि पुल बनाएको हुन्छ, कालान्तरमा खोलाले बाटो बदलेर पुल अन्तै पुग्यो भने हाम्रो के दोष ? विदेशतिर देखेका छैनौ, हुन्डरीले घर भत्काएको, गाडी उडाएको ? अनि हुरीबतासले पुल लडायो भन्दा नपत्याउने ? सरकारले असारको झरीमा हतारहतार बजेट सक्न पिच गराउँछ अनि पिचलाई कार्पेटजस्तो पट्याएर फोटो खिचेर हामीलाई नै सराप्छौ । धेरैतिर बजेट बाँडचुँड गर्नु परेपछि काममा थोरबहुत लटरपटर हुन्छ अनि केही कमसल निर्माण हुनु कुन अधर्मको कुरा भयो ? नेताहरू त जोगी हुन राजनीति गरेको होइन भन्छन्, हामी त नाफा कमाउनैलाई ठेकेदार भाको होइन ?”

“हामी कति अपमानित भएर बाँच्ने ? हुँदाहुँदा हाम्रा ठेकेदार साथीहरूको तस्बिर ढेडुबाँदरसँग जोडेर रूख–रूखमा झुन्ड्याइएको छ । राष्ट्र निर्माताको यस्तो अपमान हुँदा पनि सरकार मौन छ । त्यस्तो गर्नेहरूलाई कारबाही गर्नु पर्दैन ? उल्टै हामीलाई कारबाहीको धम्की दिने ? यस्तो असह्य स्थिति भएपछि धर्ना नबसेर के सरकारको जयजयकार गर्ने ? हेरिराख, यसपालि पनि हामी सरकारलाई घुँडा नटेकाई छाड्ने छैनौँ । म हिडेँ, तिम्रो चिया तिमी नै खाऊ ।”

यति भनेर उनी पाखुरा सुर्कंदै धर्ना बस्न हिँडे । म त हेर्‍याहेर्‍यै भएँ । 

 

प्रकाशित: मंसिर १५, २०७६

ट्याग: झटारो
×