तेन्जिङ र हिलारीको सम्झनामा
न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखरमा राखेको पहिलो पाइलोले आज पनि उत्तिकै महत्त्व राख्छ। किम्फमा उनीहरूको सम्झना भइरहेको छ ।
प्रकृतिले जति नै कठिनाइ दिए पनि मानिस अहोरात्र खटेर निरन्तर चुनौती दिइरहेको छ । कहिले शिखर चढेर त कहिले विशाल आकाशमा हवाईजहाजमा उडेर । प्रकृतिमाथिको एउटा जितको कडी बन्दै आएको छ, सगरमाथाको चढाइ । हिजोजस्तै आज पनि सगरमाथाको चुचुरोमा पाइला टेक्न मानव उत्तिकै लालायित छन् ।
१६ जेठ ०१० सालमा पहिलो मानव पाइला सगरमाथा शिखर चढ्यो । न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले चढेको त्यो पहिलो फत्ते आज पनि उत्तिकै महत्त्व राख्छ। यिनै हिलारीले यस धरतीमा भ्रमण गरेको यो वर्ष सय वर्ष पूरा भएको छ । मानव साहसका प्रतीक हिलारीको योगदानलाई स्मरण गरिएको थियो, काठमान्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिबल (किम्फ) मा।
२५ मंसिरदेखि सुरु भएको महोत्सवमा हिलारीको जीवनीमा आधारित दुईवटा वृत्तचित्र द एसेन्ट अफ एभरेस्ट रओसन टु स्काई देखाइएको थियो । पहिलो वृत्तचित्र ५६ मिनेट २७ सेकेन्ड लामो एन्टोनेल्लो पादोभानोले निर्माण गरेका थिए भने दोस्रो माइकल डिलनले निर्देशन गरेका थिए ।
एसेन्टअफ एभरेस्टमा हिलारी र शेर्पाको जोडीले सगरमाथा आरोहण गरेको साहसिक कथा देखाइएको छ । साथमा सगरमाथा चढ्दा भोगेका कठिनाइ, नभनिएका कथाहरू र दुई आरोहीको मित्रता र शिखर चढ्नुको उद्देश्य चित्रांकन गरिएको छ ।
महोत्सवमा वृत्तचित्र देखाउन र फिल्म मेकिङको मास्टर क्लास चलाउन काठमाडौँ आएका डिलन नेपाल म्यागजिनसँग गफिए । उमेरले ७३ काटिसकेका डिलनले पहिलोपल्ट १० वर्षको कलिलो उमेरमा हातैले कागज काटेर रिलजस्तै बनाई फिल्म बनाएका थिए,अ हिस्ट्रीअफ द अर्थ । उनले बनाएको सो कागज चलचित्रको स्क्रिप्ट दिदीले पढेर सुनाइन् भने कुकुर र अभिभावकले चलचित्र हेरेर छक्क परेका थिए । यति भन्दै डिलन हाँसे र सँगै रहेको उनकी पत्नी रोबिन पनि हाँसिन् ।
विश्वविद्यालयमा पार्ट टाइम जागिरको रुपमा डिलनले वृत्तचित्र बनाउने, स्क्रिप्ट लेख्ने काम पाए । सोही कामको हौसलाले उनी ०२५ मा सगरमाथा क्षेत्रको लागि व्यावसायिक ट्रेकमा जोडिए । सगरमाथा यात्राका टिम नेता बिरामी भएपछि उनले क्यामेरा बोक्न पाए । यसरी फिल्म मेकिङमा हात हालेका डिलनले पछि हिमालयको साहसिक यात्राबारे बनाएको फिल्म बीबीसीले किन्यो । त्यहाँबाट आएको पैसाले पुन: नेपालमा अर्को फिल्म बनाउन उनी कुदे ।
बाल्यकालमा ८ वर्षकै उमेरमा हिलारीबारे सुने पनि डिलनको पहिलो भेट भने सन् ७० को दशकमा मात्र सम्भव भयो । हिलारीले चलचित्र बनाउन नयाँ समूह खोजेको पत्रिकाको विज्ञापनबाट थाहा पाएपछि डिलनले हिलारीलाई चिट्ठी लेखे । अन्त्यत:उनले हिलारीसँग काम गर्ने मौका पाए । ओसन टु स्काई त्यसै सहकार्य मध्येको एक हो । उनले हिलारीसँग मिलेर ६ वटा चलचित्र बनाएका छन् ।
सन् १९७५ मा हवाईजहाज दुर्घटनामा हिलारीले पत्नी र छोरी गुमाए । त्यही समयमा हिलारी ठूलो यात्रामा निस्के,जसलाई ओसन टु स्काईमा देखाइएको छ । समुद्रको जेट डुंगाको अनुभवदेखि भारतको गंगा हुँदै हिमालयात्रा वृत्तचित्रमा देखाइएको हो ।शालीन स्वभावका डिलनले हिलारीलाई भलाद्मी तथा विनम्र व्यक्तित्वको रुपमा सम्झन्छन् । भन्छन्, “उनी चर्चित थिए । तर उनमा घमन्ड पटक्कै थिएन । सबैसँग बोल्थे, हाँस्थे ।”
२५ पटक नेपाल आइसकेका डिलनलाई नेपाल पानीपँधेरो भइसकेको छ । हिमाली भेगका संस्कृति, दृश्यावली र मानिसको मिलनसार व्यवहार देखेर प्रभावित डिलन अझै चुनौतीपूर्ण फिल्म बनाउन चाहन्छन् । समुद्रदेखि सगरमाथा टुप्पोसम्मको यात्रालाई देखाउन उनले एभरेस्ट सी टु समिट नामक वृत्तचित्र बनाए । अस्ट्रेलियाली आरोहीको ३ महिने यात्रा देखाइएको सो वृत्तचित्रले ९ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।
थुप्रै पुरस्कृत वृत्तचित्र बनाएका डिलन आफ्नो अन्तर्मुखी स्वभावले फिल्म मेकिङ सहज भएको बताउँछन् । भन्छन्, “अन्तर्मुखी भएकै कारण म बढी संवेदनशील छु । वरपर भइरहेका घटनाहरुलाई ध्यान दिन्छु । यसले कथा भन्न मद्दत पुर्याउँछ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...