कसरी जोगाउने अल्पसंख्यकका भाषा ?
सुखद र उज्ज्वल भविष्यप्रतिको चिन्ताले अल्पसंख्यक भाषाहरू अभिभावकबाट सन्तानमा सर्न सकिरहेका छैनन् ।
विश्वमा मानिसले कहिलेदेखि बोल्न र लेख्न थाले होलान् ? करिब १.८ मिलियन वर्षअगाडि होमो हाविलिस र ०.६ मिलियन वर्षअगाडिदेखि होमो इरेक्टस वा हाइडलब्रगनसेस सांकेतिक भाषाको प्रयोग गर्दै आएको अनुसन्धानहरूले पुष्टि गरेका छन् ।
भाषामाथि गरिएका विभिन्न अनुसन्धानले फरक–फरक धारणा ल्याए पनि केही हदसम्म मिल्दोजुल्दो धारणालाई आधार मान्न सकिन्छ । मान्छेले उच्चारण गरेको पहिलो अक्षर फ र स मानिएको छ । इसापूर्व ७ सय ५० मा यो अक्षर प्रयोग गरिएको अनुसन्धानले देखाउँछ । संसारमा सबैभन्दा पुरानो लेखिआएको भाषा ‘सुमरियन’ हो । इसापूर्व ८ हजारबाट यो भाषा लेख्न थालिएको तथ्य छ । कनिइफरम (वज सेप) मा यो लिपि लेखिएको पाइन्छ ।
साउथ मेसोपोटामियामा यो भाषाको विकास भएको मानिन्छ । तर, यो भाषाको मृत्यु इसापूर्व दुई हजारमा भयो । यो भाषा अक्काडियन भाषामा रूपान्तरण भएको पाइन्छ । विशेषगरी अक्काडियन भाषा मेसोपोटामिया र अहिलेको आधुनिक इराक र सिरियामा प्रचलनमा थियो । तर हाल यो भाषा अस्तित्वमा छैन ।
विश्वमा बाँचिरहेको सबैभन्दा पुरानो भाषा हो, तामिल । त्यसपछिको पुराना भाषा संस्कृत र इजिप्सियन हुन् । करिब ५ हजार बर्षअघिदेखि यी भाषा मानव जातिले प्रयोग गर्दै आइरहेको छ । ७७ मिलियन मानिसले विश्वमा तामिल भाषा बोल्छन् । श्रीलंका, सिंगापुर, भारत, मलेसिया, माउरिटियस, साउथ अफ्रिकालगायत देशहरूमा तामिल भाषा बोलिन्छ ।
झन्डै १४ हजारले संस्कृत भाषा बोलिरहेको तथ्यांकले बताउँछ । विशेषगरी भारत, इन्डो युरोपियन, इन्डो इरानियनहरूले यो भाषा बोल्छन् । धेरै पुरानो इजिप्सियन भाषा १५ सय वर्षअघिदेखि बोल्न छाडिएको हो । करिव ५४ मिलियन इजिप्सियनहरू अरबिक भाषा बोल्ने गर्दछन् । युनाइटेड अरब इमिरेट, यमन, इजरायल, जोर्डन, इराक, लिविया, इथोपिया र कुवेतलगायत देशमा यो भाषा बोल्ने गरिन्छ । विश्वमा नेपाली भाषा ५७ औँ नम्बरमा पर्छ । २५ मिलियनले नेपाली भाषा बोल्ने गर्छन् ।
चिनियाँ भाषा विश्वमा सबैभन्दा धेरै मानिसले बोल्छन् । १.३ विलियन मानिसले चिनियाँ भाषा बोल्ने गरेको तथ्यांकले देखाउँछ । विश्वको जनसंख्याको १६ प्रतिशत मानिसले यो भाषा बोल्छन् । स्पेनी र अंग्रेजी भाषा क्रमश: दोस्रो र तेस्रो स्थानमा पर्छ । सबैभन्दा थोरैले बोल्ने भाषा हो, क्यामिकुरो । यो भाषा जम्मा २० जनाले मात्र बोल्छन् । क्यामिकुरो भाषा दक्षिण अरवाखानमा बोल्ने गर्छन् । विश्वमा करिब ६५ सय वटा भाषा प्रचलनमा रहेको पाइन्छ । साथै प्रत्येक दुई हप्तामा एउटा भाषाको अन्त्य भइरहेको तथ्य विभिन्न अनुसन्धानमार्फत बाहिर आएको छ ।
प्रत्येक २ हप्तामा एउटा भाषा मरिरहेको अवस्थामा आफ्नो पहिचान जगेर्ना गर्न विभिन्न देशमा ‘भाषा बचाऊ’ आन्दोलनहरू पनि चलिरहेका छन् । आफैँ सक्रिय भएर आफ्नो भाषा बचाउन विभिन्न जाति, समुदाय र समाज निरन्तर लागिरहेका छन् । भाषा किन मर्छ या मरिरहेको छ ? सन् २०१५ मा न्यु रिपब्लिकले जनाएअनुसार भाषा मर्नुमा बसाइँसराइ सबैभन्दा ठूलो कारण हो ।
एक देशदेखि अर्को देशमा मानिस अवसरको खोजीमा बसाइँ सरिरहेका छन् । सुखद र उज्ज्वल भविष्यप्रतिको चिन्ताले अल्पसंख्यक भाषाहरू अभिभावकबाट सन्तानमा सर्न सकिरहेका छैनन् । अवसरको खोजीमा विभिन्न देशमा स्थानन्तरण भइरहेको अवस्थामा मातृभाषा वा राष्ट्रिय भाषाभन्दा सोही गन्तव्य मुलुकमा प्रचलित भाषाप्रतिको झुकाव बढ्दो छ ।
प्राकृतिक प्रकोप, हावापानी, मौसम आदि कारणले पनि मानिस बसाइँ सर्न बाध्य भइरहेका छन् । सन् २००८ मा २० मिलियन मानिस प्राकृतिक प्रकोपका कारण नयाँ देशमा पुगेका थिए । सन् २०१० मा इन्डोनेसियाको पपाउ क्षेत्रमा बाढीका कारण डसनर भाषा बोल्नेहरूको धेरै संख्यामा मृत्यु भएको थियो । अहिले उक्त भाषा बोल्ने मानिस अति थोरै संख्यामा जीवित छन् । उक्त भाषा दस्तावेजीकरण मात्र हुन सक्ने अवस्थामा रहेको छ ।
भाषा मर्नुको अर्को कारण हो– अर्थतन्त्र । गरिब देशहरूमा अर्थतन्त्र बलियो नहुँदा स्वाभाविकै रूपमा त्यहाँका जनता सहज र अवसरमय जीवनको खोजीमा अन्य देशमा अस्थायी या स्थायी रूपमा सरेर जाने गर्छन् । नेपालका करिब ४७ लाख युवा वैदैशिक रोजगारीका क्रममा कैयौँ मुलुकमा छन् । ४० प्रतिशत नेपाली युवा नेपालबाहिर रहेका छन् । दिनहुँ १६ सयको हाराहारीमा नेपालका युवाहरू देश छाड्न बाध्य छन् ।
प्रविधिले संसारलाई एउटा सानो गाउँजस्तो बनाइरहेको अवस्थामा विश्वव्यापीकरणको प्रभावस्वरूप विश्वमा भाषाहरू लुप्त हुन सघाएको छ । विशेषगरी धेरैजसो आदिवासीहरूको भाषा मरिरहेको अनुसन्धानहरूले पुष्टि गरेका छन् । जस्तो : नेपालमा कुसुण्डा भाषा बोल्ने एक मात्र व्यक्ति केही वर्षअगाडि बितिसके । उनको मरणसँगै उक्त भाषाको वक्ताको समेत अन्त्य भयो । यो भाषाको दस्तावेजीकरणमा समेत चुनौती पैदा भइसकेको अवस्था छ ।
भाषा कसरी बचाउने त ? सर्वप्रथम यो राज्यको दायित्व हो । श्रम र रोजगारको उचित अवसर सिर्जना भइरहेका र आफ्ना जनशक्तिहरूको उपयुक्त व्यवस्थापन गरिरहेका देशहरूमा बोलिने भाषाहरू शक्तिशाली भाषाको रूपमा प्रचलनमा रहँदै आएका छन् । देशको अर्थतन्त्र, बजार, कलकारखाना वा उद्योगधन्दा जति बलियो भयो, त्यति उक्त देशको समृद्धि कायम रहने गर्छ । त्यससँगै उक्त देशका भाषाहरू पनि पुस्तान्तरण हुँदै जाने अवसर पैदा हुने गर्छ । ५ हजार वर्ष पुरानो, बोली आएको र लेखिआएको संस्कृत भाषा अहिले सीमित मानिसले मात्र बोल्ने गर्छन् । संस्कृत भाषा रोजगारका लागि नभएर एउटा सम्भ्रान्त परिवार वा जातिले कर्मकाण्ड वा संस्कार गर्दा मात्र प्रयोगमा ल्याइरहेको अवस्था छ । त्यसैले यो भाषा लोपोन्मुख अवस्थामा पुगेको छ ।
नेपालमा विभिन्न जातीय समुदायहरूले आ–आफ्नो भाषा बचाउन विभिन्न अभियान संचालन गर्नु प्रशंसनीय छ । तर पनि नेपालमै नेपाली भाषाको समृद्धि दिनानुदिन खस्किरहेको पनि छ । नेपाली भाषा अंग्रेजी भाषाबाट अतिक्रमित भइरहेको छ । धेरैजसो सार्वजनिक कार्यक्रम वा सञ्चारका माध्यममा पनि नेपाली र अंग्रेजी सरोबरी बोल्ने प्रचलन व्याप्त छ । ठेट नेपाली भाषा बोल्ने व्यक्ति नगन्य भेटिन्छन् । अझ नेपालीबाहेक भाषा बोल्नेहरूको अवस्था नाजुक छ ।
ठेट नेपाली भाषा वा अन्य भाषाहरू बोल्नुलाई अझै पनि समाजमा पाखे, पहाडिया, अनपढजस्ता तिरस्कृत शब्दवली प्रयोग गरिन्छ । यो आ–आफ्नो भाषिक पहिचान गुमाउँदै जानु र विश्वव्यापीकरणको चेपटामा परेको संकेत हो । नयाँ पुस्ताले अंग्रेजी लवजमा बोल्नु र गीत गाउनु समय सान्दर्भिकजस्तो लागे पनि त्यसले भाषिक पहिचानलाई निमिट्यान्न पार्दै लगेको अर्को पाटोप्रति सचेत हुनु उत्तिकै जरुरी छ ।
बढ्दो सहरीकरण र प्रविधिको विकाससँगसँगै जीवन पद्धति चलाउने चुनौती पनि हामीसामु छ । भाषिक पहिचान र भाषाको अस्तित्व टिकाउनमा यसले समस्यासमेत निम्त्याएको छ । यस्ता समस्या सिर्जित हुनुको पछाडि पुँजीवादी जीवनशैलीको अर्धनक्कल र अर्धचेतनाको उपजले हानि गरेको छ । अवसरसँगै आवश्यक सुविधा पूरा हुने भएकाले यसलाई सजिलै नकार्न सकिन्न ।
जुन भाषा जसले लेख्न पढ्न जान्दछ, उसले सजिलै रोजगार प्राप्त गर्दछ । यिनै समस्याका कारण नेपाली भाषा पनि दिनानुदिन संकटमा परिरहेको छ । अबको विश्वमा अंग्रेजी, चिनियाँ र स्पेनी भाषाको प्रभुत्व स्थापित भई अन्य भाषा नाजुक र कतिपय त लोप हुने अवस्थामा पुग्न नदिने खालका अभियान आवश्यक भइसकेका छन् ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...