कुहिरोले पनि छेक्न नसकेको शुक

- सुनिता लोहनी

गीतकार एवं संगीतकार शुक गुरुङ, ५७, लामो समयदेखि मिर्गौलासँग सम्बन्धित रोगसँग लड्दा लड्दै अन्तत: ६ पुसमा बिहान ६:३० बजे संसारबाट बिदा भएका छन् ।*

दिग्गज कलाकार अरुण थापादेखि पप गायक राजु लामासहित  १२ वटा एल्बममा गुरुङले शब्द संगीत रचेका छन् । नेपथ्य (चर्चित लोक रक ब्यान्ड) को छेक्यो, छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँखैमा झल्झली जस्ता गीतका सर्जक गुरुङ हुन् । ती गीतका गीतकार एवं संगीतकार समेत रहेका गुरुङलाई सम्झदै नेपथ्यका प्रमुख गायक अमृत गुरुङले ट्‍वीट गरेका छन् ।

उनले ट्‍वीटमा नेपथ्यको सिग्नेचर गीत छेक्यो छेक्यो शुक गुरुङले दिएर ठूलो गुण लगाएको बताएका छन् । २६ अगस्टको भेट नै अन्तिम रहेको भन्दै अमृतले शुक गुरुङलाई सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जलि दिएका छन् । अहिले नेपथ्यको टोली अस्ट्रेलियामा कन्सर्ट गरिरहेको छ । 

अमृतले ट्‍वीटरमा लेखे- 'हार्दिक श्रद्धान्जली - शुक गुरुङ । गत अगस्त २६, मा संगीतकार शुक गुरुङसँग भएको भेट नै हामीबीचको अन्तिम भेट लेखिएको रहेछ। शुकजीले नेपथ्यको प्रारम्भकालमा ‘छेक्यो छेक्यो’ गीत दिएर हामीलाई ठुलो गुण लगाएका थिए। उनको मृत्युको खबरले म दुखी छु । उनको आत्माको चीर शान्तिको कामना गर्दछु ।'

अरुण थापाको ०४९ मा जिन्दगीको यात्रा एल्बममा रहेको गीत दोष  कसैलाई दिन चाहन्न गुरुङको पहिलो चर्चित गीत थियो ।

रचनाकार रमेश कश्यप गुरुङलाई मिजासिलो व्यक्तित्वको रुपमा सम्झन्छन् । गुरुङ नेपथ्य र पोखराको बसाइँ छोडेर स्वतन्त्र परिचय बनाउन करिब ०५२ सालतिर काठमाडौँ आएको कश्यप सुनाउँछन् । भन्छन्, “त्यहीबेला हो उहाँसँग पहिलो भेट भएको । संगीतका बारेमा कुरा हुन्थ्यो । स्टुडियोमा भेटघाट हुन्थ्यो । शब्दसँग मज्जाले खेल्न सक्ने ।”

कश्यपका अनुसार उनले कयौँ शब्द र संगीत विदेशमा रहेका नेपाली गायकहरुका लागि समेत रचेका थिए ।

संगीतकार बीबी अनुरागी गुरुङको योगदान नेपाली संगीत क्षेत्रमा अतुलनीय ठान्छन् । करिब १० वर्ष अगाडि पोखरामा सम्पन्न सांगीतिक कार्यक्रममा भेट भएको सम्झदै अनुरागी भन्छन्, “नेपथ्य भनेको लोकरक धार । लोकरक संगीत सिर्जना गर्ने भनेपछि गेटअप पनि आधुनिक होला भनेको उहाँलाई भेट्दा छक्क परेँ । अति साधारण र सरल व्यक्तित्व ।” अनुरागीका अनुसार गुरुङको आफ्नै सांगीतिक धार थियो । उनका अधिकांश रचना लोकसंगीतमा आधारित आधुनिक गीत थिए । ती आधुनिक सुगम संगीत र रक गीत भन्दा भिन्न शैलीका छन् ।

नेपथ्यका लागि थुप्रै चर्चित गीतहरू सिर्जना गरेका शुक नेपथ्यमा कसरी सम्मिलित भए र छुट्टिए भन्ने कसैलाई थाहा छैन । यसबारेमा बताउन सक्ने नेपथ्यका अमृत यतिबेला अस्ट्रेलियामा छन् ।

दुई छोरा र पत्नी जुना गुरुङका साथमा पछिल्लो समय पोखराको बुढीबजार बस्दै आएका गुरुङ लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । पछि दुवै मिर्गौला बिग्रिएपछि उपचारका लागि ०७३ मा पोखरामा ‘शुक गुरुङ उपचार सहयोग समिति’ गठन भएको थियो ।

रचनाकार सुमन श्रापित गुरुङले राज्यबाट भोगेको उपेक्षाबाट निराश भएको बताउँछन् । उनीसँग गुरुङ भन्ने गर्थे, 'म एउटा गुरुङको छोरा । पैसा कमाउन विदेश लागिनँ । गीत संगीतमा लागे । समस्या पर्दा राज्यले चासो नदिने, टुलुटुलु हेर्ने, यो समस्या अरुलाई नपरोस् ।'

गुरुङका रचनाहरू संकलित यी मेरा अन्तर बेदनाहरु ०७२ मा प्रकाशित भएको थियो । रचनाकार बसन्त वित्यासीले १० वर्षअगाडि गुरुङको एकल शब्द र संगीतमा सूचना एल्बम निकालेका थिए । वित्यासीको भेट गुरुङले काठमाडौँको सुन्धारामा रेस्टुराँ व्यावसाय गर्ने क्रममा भएको थियो । 

गुरुङ गीत मात्र होइन, कथा पनि लेख्थे । करिब दुई वर्षअगाडि गुरुङ भन्थे, ‘कथा लेखेर आफैं चलचित्र निर्देशन गर्ने हो भाइ’, वित्यासीले सम्झिए ।

दुई दशक लामो सांगीतिक क्षेत्रमा साधना गरेका गुरुङको आइतबार नै गुरुङ संस्कृति अनुसार पोखरा रिठ्ठेपानी आर्यघाटमा अन्तिम संस्कार भएको छ । उनी नरहेपनि उनले सिर्जना गरेका भाइटिकामा भेट्न आउला... लगायतका गीत कालजयी छन् । आउने पुस्ताले पनि यी गीतहरू निरन्तर गुनगुनाइरहने छन् ।


*पुस हुनुपर्नेमा मंसिर भएकोले सच्याइएको । -सम्पादक

प्रकाशित: पुस ६, २०७६

×