(पुस्तक समीक्षा) जनजाति महिलाको अस्तित्वबोध

- दोभान राई

 नेपाली महिला पहिचानभित्र ‘आदिवासी जनजाति महिला’ नअटाएको तर्क गर्दै समग्र महिला र आदिवासी जनजातिभित्र ‘आदिवासी जनजाति महिला’ आफ्ना विशेष पहिचान खोज्दै छन् भन्ने मूल आशयमा उभिएको छ, पहिचानको खोजी । उनीहरुले खोजेको पहिचान के हो ? के ‘आदिवासी जनजाति महिला’ को पहिचान कायम गर्न छुट्टै संगठन, अभियान र आवाज आवश्यक छ ? त्यस्तो आन्दोलनले महिला आन्दोलन र आदिवासी जनजाति आन्दोलनलाई कमजोर वा फराकिलो बनाउँछ भन्ने तर्कको सेरोफेरोमा पुस्तकका लेख समेटिएका छन् । पुस्तकमा नेपालका आदिवासी जनजाति महिलाका सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ समेटिएका विसं ०१६ देखि ०७३ भित्र प्रकाशित लेखबाट चुनिएका २५ प्रतिनिधि लेख रहेका छन् । जनजाति तथा गैरजनजाति समुदायका लेखक, अभियन्ता, अनुसन्धानकर्तालगायतका लेखलाई अनुसन्धाता कैलाश राईको सम्पादनद्वारा पुस्तकको स्वरुपमा ढालिएको छ । 

नेपालमा महिला आन्दोलन र जनजाति आन्दोलनको इतिहास छोटो छ । आदिवासी जनजाति महिला आन्दोलनको छोटो इतिहासमा आदिवासी जनजाति महिला कसरी चित्रित छन्, उनीहरुबारे बाह्य समुदायको दृष्टिकोण के कस्तो थियो, स्वयं समुदायका महिलाले आफ्नो पहिचान र सवाल सदृश्य गर्न के–के गर्दै आए भन्ने विषय पुस्तकले राम्रोसँग समेटेको छ । २०२० भित्र लेखिएका लेखले तत्कालीन आदिवासी जनजाति महिलालाई स्वतन्त्र तर जंगली र अशिक्षितको रुपमा चित्रण गरेका छन् । ती लेखले आदिवासी जनजाति महिलाको ‘एक्जोटिसाइज्ड’ र ‘नोबल स्याभेज’ छवि प्रस्तुत गर्छन् । अहिलेको समय ती लेख पढ्दा अनौठो लाग्ने भए पनि त्यसले हाम्रो समाजमा रहेको पृथक् पहिचान र समुदायप्रतिको साँघुरो हेराइको प्रतिविम्ब बोक्छ । पछिल्ला लेख ‘पोलिटिकल्ली करेक्ट’ देखिए पनि आदिवासी जनजाति महिलाप्रतिको ‘स्टेरियोटाइप’ छवि कायमै रहेको बुझ्न सकिन्छ । 

पुस्तकमा नेपालमा बढ्दै गइरहेको हिन्दुकरण र समुदायभित्रै बढ्दै गरेको पितृसत्ताको प्रतिरोध गर्न आदिवासी जनजाति महिलाको छुट्टै संगठन र आन्दोलन आवश्यक रहेको तर्क छ । क्रमश: आदिवासी जनजाति महिलाको सुषुप्त अवस्थामा रहेको आन्दोलनको औचित्य र भूमिका, संविधान र राज्य पुनर्संरचनाको सन्दर्भमा समावेशिता, पूर्ण समानुपातिकतामा विशेष जोड, बेचबिखन, वैदेशिक रोजगार, कमलरीलगायत जटिल सवाल र चुनौती समेटिनुका साथै नेपाली महिलाभित्रैका असमानता  र आदिवासी जनजातिभित्रैको आन्तरिक विविधताका जटिलतालाई समेत दर्शाएका छन् ।

आदिवासी जनजाति महिलाबारे नेपाली बौद्धिक जमातमा पर्याप्त अध्ययन–अनुसन्धान गर्न बाँकी रहेको दर्शाउँछ । जे–जति लेखन भएका छन्, ती प्राय: समुदायभित्रकै जनजाति महिलाकै संलग्नता र रुचिमा गरिएको छ । उपलब्ध सामग्री संकलित एवं परिमार्जित स्वरुप भएकाले यो पुस्तकभित्रका सबै लेख उत्तिकै वजनदार र विषयवस्तुमा स्पष्ट छैनन् । जनजाति महिलाको पहिचानलाई हिन्दुत्वको ‘फ्रेम अफ रेफरेन्स’ भित्रै राखेर केलाइनु सही होइन भन्ने पुस्तकको तर्कले इन्टरसेक्सनालिटीको अवधारणा अपनाएको छ । 

आदिवासी जनजाति महिला शिक्षा, सत्ता, आय, पैतृक सम्पत्तिमा अधिकारजस्ता सूचकमा समग्र नेपाली महिला र आदिवासी जनजाति पुरुषभन्दा निकै पछि छन् । पृथक पहिचानका निम्ति हिन्दुकरणको विरोधमा उत्रे पनि हिन्दुत्वकै चस्मा छाड्न नसक्नु त्यसको एउटा कारण हो । लैंगिक असमानताको मापन हिन्दु दृष्टिकोणअनुरुप गर्नु र हिन्दु समाजको दबाबपूर्ण छायामा आफूलाई कमजोर पारिएको हीनताबोधको बचाउमा आदिवासी जनजाति समुदायले यस्तो भन्नु प्रतिरक्षात्मक अवस्था हो । पुस्तकमा पुरुष लेखकहरुले हिन्दुकरण र पितृसत्तालाई प्रधान समस्या मानेका छन् भने महिलाले ती दुईका साथै समुदायभित्रकै पितृसत्ता, असमानता र पुरुषकै वर्चस्वलाई पनि उत्तिकै जोड दिएका छन् । यसले सीमान्तीकरण र सशक्तीकरणको बहुआयामबारे छलफल गर्ने ठाउँ दिएको छ । त्यस अर्थमा विश्लेषणात्मक ‘न्यारेसन’ सहित संरचनात्मक स्पष्टता पेस गरेको यो पुस्तक सम्पादकको व्यक्तिगत लगाव र कौशलको प्रतिफल हो भन्न सकिन्छ, जुन नेपाली समाजको विविध संरचनागत राजनीतिक र सामाजिक आह्वान बोकेको दस्तावेजको रुपमा उपयोगी हुन सक्छ । कुनै एक पहिचानभित्रका वर्ग, लिंग, जाति, भूगोलजस्ता बहुआयाम केलाएर नै शक्ति, सत्ता, सीमान्तीकरण र सशक्तीकरणको वस्तुस्थिति बुझ्न यस्ता पुस्तकको अझ खाँचो छ । 

पुस्तक : पहिचानको खोजी

सम्पादक : कैलाश राई

प्रकाशक : इन्डिजिनियस मिडिया फाउन्डेसन

पृष्ठ : ३०१

मूल्य : ४०० रुपैयाँ

प्रकाशित: पुस १७, २०७६

×