शक्तिको आडमा राज्यको दोहन : आङछिरिङ परिवारको नालीबेली 

  • विशेष

यती समूह, जसले शक्तिको आडमा आफूअनुकूल नीतिगत निर्णयहरू गराई राज्यस्रोतको दोहन गरिरहेको छ

- माधव बस्नेत

‘...पासाङलाई एउटा प्रतिमूर्ति (इदोल) बनाइयो किनभने ल्हाक्पा सोनाम (उनका पति) र उनका भाइ छिरिङ व्यापारिक मान्छे हुन् । उनीहरू पैसा कमाउने मान्छे हुन् । ....पासाङका श्रीमान्ले त अर्को विवाह गरिहाले । त्यो त ‘सगरमाथा चढ्ने पहिलो नेपाली महिला’ भनेर व्यापार गर्ने तरिका मात्रै हो, त्यसमा कुनै शंका छैन ।’ (त्यो नेपाल : फ्रान्सेली अनुभव पृष्ठ १९८) 


प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीको अभिभावकत्व प्राप्त मार्क बातासँग पत्रकार ददि सापकोटाले एक दशकअघि गरेको कुराकानी हो, यो । बाताले सगरमाथा, थामसेर्कु आरोहण गर्नुका साथै दर्जनौँ पटक नेपाल भ्रमण गरेका छन् । ल्हाक्पासोनाम र आङछिरिङले बाताकै आर्थिक सहयोगमा ०४२ सालमा थामसेर्कु ट्रेकिङ प्रालि स्थापना गरेका थिए । ०४७ सालमा बाताले नै पासाङल्हामुलाई सगरमाथा आरोहणका लागि आफ्नो टिममा समावेश गरेका थिए । उनले आरोहण गर्न नसक्ने ठम्याएपछि बीचबाटै फर्काइदिए । त्यसअघि ०४२ मा बाताले ल्हाक्पासोनामलाई समेत थामसेर्कु आरोहण गराएका थिए ।

त्यो नेपाल : फ्रान्सेली अनुभव प्रकाशित हुँदा शेर्पा दाजुभाइको व्यवसाय उत्कर्षतिर चढिरहेको थियो । बाताले उल्लिखित आक्षेप लगाउँदा शेर्पा परिवारले कुनै खण्डन गरेन । प्रथम प्रयासको ३ वर्षपछि ०५० वैशाखमा सगरमाथा आरोहण गर्दा पासाङल्हामुको निधन भयो । उनी सगरमाथा आरोही पहिलो नेपाली महिलाको ‘रेकर्ड’ राख्न भने सफल भइन् । 

पासाङको निधनपछि नेपाल आउने पर्यटक थामसेर्कुबाट ‘ट्रेकिङ/माउन्टेनरिङ’ गर्न भीड लाग्न थाले । त्यसमाथि पर्वतारोहण क्षेत्रमा स्थापित मार्क बाताले नै नेपाल आउने फ्रान्सेलीलाई थामसेर्कुबाटै ट्रेकिङ गर्ने प्रबन्ध मिलाएका थिए । ०५३ को अन्तिमसम्म आइपुग्दा ल्हाक्पासोनाम/आङछिरिङ रिसोर्ट र एयरलाइन्स स्थापना गर्ने हैसियतमा पुगे । पासाङको निधनपछि ल्हाक्पासोनामले मनाङकी युवती बिहे गरे । ल्हाक्पासोनाम र आङछिरिङ परिवारले व्यापारमा पछि फर्केर हेर्नु परेन ।

१५ फागुन ०७५ मा ताप्लेजुङको पाथिभरामा हेलिकप्टर दुर्घटनामा परेर आङछिरिङको निधन हुँदासम्म थामसेर्कु ट्रेकिङ, यती होलिडेज, यती माउन्टेन होम, यती एडभेन्चर, ब्लुसिप जर्निज, मुस्ताङ रिसोर्ट, इजी फ्लाई ट्राभल, एयर डाइनेस्टी, डाँफे ट्राभल्स, केयर एन्ड डाउनी रिसोर्ट, क्रियटिभ नेपाल, कोरा टुर्स, थामसेर्कु ट्राभल, अल्टिच्युड एयर, एडभेन्चर क्वेस्ट, कसरा रिसोर्ट, थामसेर्कु डेभलपर, नेपाल माउन्टेन लज, लुम्बिनी होक्के होटल, गोकर्ण फरेस्ट रिसोर्ट, ले शेर्पा होटल, ले शेर्पा रिसोर्ट, केके मार्ट, यती एयरलाइन्स, तारा एयर र हिमालयन एयरलाइन्स गरी २६ वटा कम्पनीका मालिक भइसकेका छन् । यी कम्पनीमा सबैजसो पार्टीका उपल्लो तहका नेतादेखि व्यापारीसम्म साझेदार छन् । 

२६ कम्पनीमध्ये कतिपयका थुप्रै शाखा छन् । जस्तो, यती माउन्टेन होमको लुक्लादेखि कोङदेसम्म आधा दर्जन शाखा छन् । सबै कम्पनीमा गरी शेर्पा परिवारको मात्र करिब ३० अर्ब रुपैयाँ लगानी रहेको पर्यटन क्षेत्रका जानकार अनुमान गर्छन् । सामान्य परिवारका उनीहरू पहिलो ट्रेकिङ कम्पनी स्थापना गरेको ३२/३३ वर्षभित्र कसरी अर्बौंका मालिक बने त ? नेपाल प्रतिनिधिले ल्हाक्पासोनाम र आङछिरिङबारे जानकार, उनीहरूसँग ‘दोस्ती’ गाँसेका एक दर्जनभन्दा बढी अगुवा पर्यटन व्यवसायीसँग भेटघाट/कुराकानी गरेको थियो । शेर्पा दाजुभाइले व्यवसायमा जम्न गरेका प्रयास सुन्दा पत्याउन मुस्किल पर्छ ।

नेपालले ल्हाक्पासोनाम र आङछिरिङपत्नी चन्दा राईसँग कुराकानीको प्रयत्न गरेको थियो । यती एयरलाइन्सका प्रवक्ता भीमराज राईलाई पटक–पटक फोन र एसएमएस गर्दा पनि उनीहरूसँग कुराकानी हुन सकेन । राई शेर्पा परिवारका विश्वासपात्र हुन् । ०५५ मा हेलिकप्टर दुर्घटनामा निधन भएका तेन्डी र राईबीच मितेरी थियो । ०५४ मा यती एयरलाइन्सको स्थापना भएसँगै राई त्यहीँ कार्यरत छन् । पछिल्लो पटक १५ पुस अपराह्न राईले नेपाल प्रतिनिधिको फोन उठाएका थिए । उनले भनेका थिए, “म प्रयास त गरूँला । तर उहाँहरू मिडियामा आउनु चाहनुहुन्न ।” 

ल्हाक्पासोनामलाई जानकारी दिएर आफैँले फोन गर्छु भनेका राई सम्पर्कमा आउन छाडे । स्रोतका अनुसार राईले मिडियाले लेखेर शेर्पा परिवारको व्यवसायमा केही फरक नपर्ने ‘चेतावनी’ दिने गरेका छन् । 

भलै हेलिकप्टर दुर्घटनामा आङछिरिङको निधन भएयताको १० महिनामा शेर्पा परिवारभित्र विस्तारै कलहको प्रवेश भएको छ । तर त्यो अहिलेसम्म झिल्कोकै रूपमा छ । स्रोतका अनुसार ल्हाक्पासोनाम र उनका दुई छोरा एकातिर छन् भने आङछिरिङपत्नी चन्दा, उनका दुई छोरा र कान्छा तेन्डीका दुई छोरा अर्कातिर । ल्हाक्पासोनाम र उनका छोराले पेलेको र आर्जन अपारदर्शी बनाएको असन्तुष्टहरूको ठम्याइ छ । निकट स्रोत भन्छ, “अहिल्यै विस्फोट नहोला तर असन्तुष्टि सुरु भएको छ ।” 

सुरुमा यती एयरलाइन्सको महाप्रबन्धक ल्हाक्पासोनामका छोरालाई तोकिएको थियो । पारिवारिक कलहकै कारण ल्हाक्पासोनामका छोराले जिम्मेवारीबाट पछि हट्नु परेको जानकारहरू बताउँछन् । कतिसम्म भने आङछिरिङ र तेन्डी पुत्रहरूको खुसामदका कारण यतीका कर्मचारी ल्हाक्पासोनामका छोराको विरोधमा उत्रिए र आङछिरिङपत्नी चन्दा राईलाई यतीको प्रमुख बनाइएको छ ।

पाङगोमबाट उदय

सोलुखुम्बुको साविक जुभिङ गाउँ विकास समितिको पाङगोममा सामान्य परिवारमा शेर्पा दाजुभाइको जन्म भएको हो । चार दाजुभाइमध्ये जेठा ट्रेकिङमै कार्यरत भए पनि कलिलैमा बिते । ल्हाक्पासोनाम माइला, आङछिरिङ साइँला र तेन्डी कान्छा हुन् । तेन्डीको ०५५ मा हेलिकप्टर दुर्घटनामै निधन भएको थियो । 

काठमाडौँ चाबहिलमा शेर्पा दाजुभाइका दिदीभिनाजु आङदाली र आङकामीले ‘शेर्पा सोसाइटी ट्रेकिङ एन्ड माउन्टेनियरिङ प्रालि’ खोलेका थिए । सुरुआती दिनमा दिदीको कम्पनीमा तीनै दाजुभाइ पोर्टर थिए । केही वर्ष काम गरेपछि दिदी आङदालीसँग झगडा गरेर ल्हाक्पासोनाम बाहिरिए । त्यसको केही वर्षपछि आङछिरिङले पनि उसैगरी दिदीको कम्पनी त्यागे । र, दरबारमार्गस्थित ट्रान्स हिमालयन एन्ड टुर्समा काम गरे । दुई दाजु निस्किएको केही वर्षसम्म तेन्डी दिदीकै कम्पनीमा कार्यरत थिए । तर उनी बाहिरिँदा भने घटनाले ठूलै रूप लियो । 

जानकारका अनुसार दाजुहरूकै निर्देशनमा तेन्डीले दिदी र उनका परिवारका सदस्य नभएको मौका छोपेर ट्रेकिङ कम्पनीका सम्पूर्ण सामग्री उठाए । आफैँले संरक्षण गरेका भाइहरूले सडकमा ल्याइदिएपछि दिदी दु:खी त हुने नै भइन्, उनले तत्कालीन जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा उजुरीसमेत गरिन् । प्रहरीले तीनै दाजुभाइलाई बोलाएर केरकार गर्‍यो । केही सामग्री फिर्ता गरे तर दिदीभाइको थुप्रै वर्ष बोलचाल भएन । त्यसपछि आङदाली चाबहिलको घर बेचेर कपन तीनचुली सरिन् । भिनाजु बिते ।

आङदालीका छोरा नुर्बु नेपाल वायुसेवा निगमभित्र दक्ष पाइलट मानिन्छन् । स्रोतका अनुसार उनीहरूले भान्जालाई त्यहाँबाट निकाल्न ठूलै मिहिनेत गरे पनि सफल भएनन् । यसपछि पटक–पटक सम्बन्ध विस्तारको प्रयास गरे पनि भान्जासित अझै बोलचाल छैन । 

शेर्पा परिवारले थप चम्कने मौकाचाहिँ  ०५३ मा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बनेपछि पायो । राप्रपाकै गठबन्धनमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकार ढालेर चन्द नेतृत्वमा नयाँ सरकार बनेको थियो । यो खेलका ‘डिजाइनर’ सोलुखुम्बुमै जन्मथलो भएका राप्रपा नेता सोनामछिरिङ शेर्पा थिए । 

त्यसअघि देउवा नेतृत्वको सरकारबाट एयरलाइन्स खोल्ने ‘लाइसेन्स’ लिन आङछिरिङ, ल्हाक्पासोनामले ठूलै दौडधुप गरे पनि पाउन सकेका थिएनन् । त्यसैले चन्द सरकारबाट लाइसेन्स पाउन उनीहरूले वैशाली होटलको सम्पूर्ण खर्च बेहोरेका थिए । राजनीतिज्ञ शेर्पा चन्द सरकार बनाउन आफ्नो महत्त्वपूर्ण भूमिका रहेको र वैशाली होटलमा भएको सबै खर्च आङछिरिङ परिवारले नै तिरेको स्वीकार्छन् । स्रोतका अनुसार शेर्पा परिवारले वैशाली होटलमा ३५ लाख रुपैयाँ तिरेको थियो । 

सोनामछिरिङकै पहलमा प्रधानमन्त्री चन्द, उपप्रधानमन्त्री वामदेव गौतमले निर्देशन दिएपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका सलिम मिया अन्सारीले शेर्पा परिवारलाई एयरलाइन्सको लाइसेन्स दिए । सोनामछिरिङ शेर्पा भन्छन्, “ल्हाक्पासोनाम, आङछिरिङ परिवारलाई एयरलाइन्सको लाइसेन्स दिने पहल मैले नै गरेको हुँ ।”

राजनीतिक “लबी”

०५३ को अन्त्यमा चन्द सरकार बन्नुअघिसम्म शेर्पा परिवार राप्रपामा थियो । ०५१ को निर्वाचनमा यो परिवारले सहयोग गरे पनि सोनामछिरिङ शेर्पा थोरै मतले मात्र पराजित भए । एयरलाइन्सको लाइसेन्स प्राप्त गरेपछि भने शेर्पा परिवार एमालेमा वामदेव गौतम निकट हुँदै केपी ओलीको विश्वासपात्र बन्न सफल भयो । नवौँ महाधिवेशनको चन्दा प्रकरणपछि माधवकुमार नेपालले ‘हेरौँ न, ओलीले यिनीहरूलाई कति दिन बोक्दा रहेछन्’ सम्म भनेको स्रोतको भनाइ छ । 

०५४ को स्थानीय निर्वाचनमा तेन्डी एमालेबाट जुभिङ गाविसको वडा सदस्य जितेर तत्कालीन २ नम्बर इलाकाको प्रतिनिधित्व गर्दै जिल्ला विकास समितिको सदस्य भए । अर्को वर्ष दुर्घटनामा बितिहाले । ०५८ तिर शेर्पा परिवार बलबहादुर केसी र देउवासँग पनि टाँसिन पुग्यो । दुई उदाहरण पढौँ । 

पहिलो घटना– ०५८ को सुरुआतमै यती एयरलाइन्सको एक जहाज दुर्घटनामा परेपछि नागरिक उड्डयन प्राधिकरणले सूक्ष्म निरीक्षण गरी उडान भर्न नपाउने भनी ‘ग्राउन्डेड’ गरिदिएको थियो । कांग्रेस सोलुखुम्बुका पूर्वसभापति आङगेलु शेर्पाका अनुसार यती एयरलाइन्सले ‘ग्राउन्डेड’ जहाजको बिमा असुलेर अन्तिममा त्यही जहाजलाई रङरोगन गरेर यात्रु बोक्न थालेको भेद खुल्यो । 

संसारभरको प्रचलित मान्यता यस्तो अवस्थामा लाइसेन्स खारेज र ठूलो जरिवाना हुन्छ । यती एयरलाइन्सको लाइसेन्स खारेज मात्र होइन, जरिवाना पनि ठूलै हुने भयो । अनि, शेर्पा परिवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सोलुकै बलबहादुर केसीको शरणमा पुग्यो । र, मन्त्री केसी र प्रधानमन्त्री देउवालाई रिझाएर ‘अबउप्रान्त उडान भर्न नपाउने’ मात्र निर्णय गराउन सफल भयो । उनीहरूले जरिवानासमेत तिर्नु परेन । त्यसबेला नागरिक उड्डयन प्राधिकरणका प्रमुखले उनीहरूलाई त्यत्तिकै उन्मुक्ति दिन नहुने अडान राखेका थिए । शेर्पा भन्छन्, “नागरिक उड्डयन प्राधिकरणका डिजीलाई नै त्यहाँबाट हटाइयो ।”

दोस्रो घटना– ७/८ वर्षयता शेर्पा परिवार हिमचुलीहरू आफूले भाडामा लिएर पर्वतारोहीलाई आरोहण गराउने ठेक्का लिने अथक प्रयासमा छ । यस्तो अभ्यास हिमचुली भएका फ्रान्सबाहेक सबै देशले प्रतिबन्ध लगाएका छन् । नेपालका हिमचुली आफूले भाडामा लिने ‘मिसन’ अन्तर्गत आङछिरिङले सन् ०१४ को फेब्रुअरी/मार्चमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत समूहलाई फ्रान्स घुमाउन लगे । त्यहाँबाट फर्किएपछि मन्त्रालयका कर्मचारीले हिमचुलीहरू निजी क्षेत्रलाई भाडामा दिने प्रस्ताव अघि बढाए पनि एउटा उल्झन देखियो । नेपाल सरकारले ऐनमै व्यवस्था गरेर ३३ वटा हिमचुली (उचाइ बढी निर्धारण गरिएकाले हाल २७ वटा) नेपाल पर्वतारोहण संघ (एनएमए) लाई दिएकाले आरोहण अनुमति उसैसँगै लिनुपर्छ । 

हिमचुलीहरू एउटै निकायसँग भए मात्र भाडामा दिन मिल्ने सरकारी प्रावधान छ । तर धेरैजसो हिमचुली नेपाल सरकार र केही एनएमएसँग गरी दुइटा निकायसँग थिए । त्यसैले प्रस्ताव अघि बढ्न सकेन । एनएमएका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा (पर्यटन क्षेत्रमा स्थापित व्यक्तित्व) का अनुसार त्यसपछि ल्हाक्पासोनाम दाजुभाइले संसद्को लेखा समितिमा एनएमएबाट हिमचुलीहरू खोसी पाउँ भनी निवेदन दिए । जनार्दन शर्मा नेतृत्वको लेखा समितिले एनएमएजस्तो देश/विदेशमा स्थापित संस्थाबाट हिमचुलीहरू खोस्न नहुने निर्णय गर्‍यो । 

लेखा समिति आफ्नो पक्षमा नदेखिएपछि शेर्पा परिवार त्यही माग लिएर अर्थ समितिमा पुग्यो । अर्थ समितिले पनि लेखाकै निर्णय सदर गरिदियो । दुइटा समितिबाट पार नलागेपछि संसद्कै अन्तर्राष्ट्रिय श्रम तथा सम्बन्ध समितिमा धायो । उक्त समितिका सभापति प्रभु साह ढलपल भइसकेका थिए । तर हाल प्रधानमन्त्रीका विदेश सल्लाहकार राजन भट्टराई, पेम्बा लामा, विराज विष्टलगायत विपक्षमा उभिए । 

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गामा शेर्पा परिवारले बनाउँदै गरेको भवन । तस्‍विर : कविन अधिकारी


त्यहाँबाट पनि आफू अनुकूल निर्णय गराउन नसकेपछि शेर्पा परिवारले अधिवक्ता दीपकविक्रम मिश्रलाई अघि सारेर एनएमएबाट हिमचुली खोसी पाऊँ भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गर्‍यो । वकालतका लागि उनीहरूले १४ जना अधिवक्ता राखेका थिए । तर अदालतबाट पनि पार नलाग्ने सुइँको पाएपछि मन्त्रिपरिषद्तिरै फर्किए । किनभने त्यसबेलासम्म उनीहरू पासाङल्हामु प्रतिष्ठानका अध्यक्ष रहेका आफ्ना विश्वासपात्र कृपासुर शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउन सफल भइसकेका थिए । सुशील कोइराला नेतृत्वको सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकले मन्त्री शेर्पाको प्रस्तावअनुसार एनएमएलाई दिएका सबै हिमचुलीहरू खोस्ने निर्णय गर्‍यो । कोइराला मन्त्रिपरिषद्ले निर्णय गरेको दुई दिनपछि केपी ओली प्रधानमन्त्री बने । प्रधानमन्त्री ओलीलाई भेट्न एनएमए अध्यक्ष आङछिरिङ शेर्पा, सांसदसमेत रहेका एनएमएका सदस्य प्रा. गणेश गुरुङ र एमालेकै नेता राजेन्द्रमान श्रेष्ठ बालुवाटार पुगे । तीन घन्टाभन्दा लामो पर्खाएका ओलीलाई उनीहरूले सरकारले निर्णय फिर्ता नलिए अदालतको शरणमा जान बाध्य हुने बताए । त्यतिबेला ओलीको जवाफ स्मरण गर्दै एनएमएका पूर्वअध्यक्ष शेर्पा भन्छन्, “प्रधानमन्त्री ओलीले पर्वतारोहण संघ नामको एउटा एनजीओलाई राजस्व उठाउने अधिकार दिनुहुन्न । एउटा एनजीओले सरकारसँग निहुँ खोज्ने ? यस्ता एनजीओ ३२ हजार छन् भन्नुभयो ।” 

उनीहरू ओलीसँग बिदा भएर एनएमएको कार्यालय पुगेका मात्र के थिए ! एउटा फोन आयो । फोन गर्नेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव हुँ भन्दै ‘तपाईंहरू न्यायालय नजानूस् । नत्र राज्यसँग तपाईंहरूको चलअचल सम्पत्ति खोस्नेसमेत अधिकार छ’ भनेका थिए । त्यसपछि उनीहरू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलकहाँ समेत पुगे । पोखरेलबाट पनि ओलीकै जस्तो जवाफ पाए । ओलीको भित्री नियत शेर्पा परिवारको निजी प्रालिलाई हिमचुली आरोहणको अनुमति दिनु थियो । 

अन्तत: एनएमए सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुग्यो । फैसला उनीहरूकै पक्षमा आयो । त्यसपछि शेर्पा परिवारकै प्रभावमा सरकारले ऐन संशोधनको मस्यौदा तयार पार्‍यो पनि । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले त्यो विधेयक ‘नेपालका लागि नेपाली अभियान’ लगायतको विरोधका कारण संसद्मा पेस गर्न सकेनन् । आङछिरिङसँगै मन्त्री अधिकारीसमेत दुर्घटनामा परे । तर ल्हाक्पासोनाम र आङछिरिङका छोराहरूको प्रयास भने जारी छ ।

स्रोतका अनुसार दिदीलाई धोका दिएर ०४२ मा थामसेर्कु ट्रेकिङ स्थापना गर्दा शेर्पा दाजुभाइले राष्ट्रिय पञ्चायतका अध्यक्ष मरिचमान सिंह श्रेष्ठमार्फत रकम खोजेर लगानी गरेका थिए । मरिचमानको प्रतिनिधिका रूपमा उर्मिला श्रेष्ठ टिममा थिइन् । अर्को वर्ष मरिचमान नै प्रधानमन्त्री भए । ०४६ पछि शेर्पा दाजुभाइले मरिचमानलाई रकम फिर्ता नगरेको स्रोतहरू बताउँछन् । मरिचमानले अन्तिम दिनसम्म शेर्पा दाजुभाइप्रति दुखेसो पोखिरहने गरेको जानकारको भनाइ छ । 

शेर्पा परिवारका ‘मास्टर माइन्ड’ भने ताप्लेजुङ दुर्घटनामा ज्यान गुमाउने आङछिरिङ नै भएको नेपालले सम्पर्क गरेका सबैको मत छ । आङछिरिङ आफूलाई लागेको कुरा फ्याट्टफुट्ट भन्ने पनि गर्थे । तर ल्हाक्पासोनाम भने बोल्दैनन् । उनले छायामा बसेर आफ्ना प्रतिस्पर्धीहरू तह लगाउने भित्रभित्रै योजना बनाउने भुक्तभोगीको अनुभव छ ।

उसो त शेर्पा परिवारले जहाँ–जहाँ हात हालेको छ, विवाद नभएको स्थान एउटा पनि छैन । जस्तो, फ्रान्सेली पाइलट दिदिए देलसालले त्यही निर्मित एकुरोई बी–३ हेलिकप्टर सगरमाथाको चुचुरोमा अवतरण गराए, २२ वैशाख ०६२ मा । उनलाई सगरमाथाको चुचुरोमा हेलिकप्टर टेकाउने अनुमति ल्हाक्पासोनाम शेर्पाले नै मिलाएका थिए । देलसालले भनेकै छन्, ‘...अनुमति लिनका लागि मलाई थामसेर्कु ट्रेकिङका ल्हाक्पासोनाम शेर्पाले खुब सहयोग गरे । राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने अनुमति नै माग्नु नपरेको देखेर म पनि छक्क परेँ ।’ (त्यो नेपाल : फ्रान्सेली अनुभव, पृष्ठ २१९) 

देलसालले सगरमाथाको चुचुरोमा हेलिकप्टर अवतरण गराएको विषय पछि धेरै ठूलो विवादमा आयो । नेपाल सरकारले अहिलेसम्म त्यसलाई मान्यता दिएको छैन । तर  देलसालले ‘गिनिजबुक अफ द वल्र्ड रेकर्ड’ मा आफ्नो नाम दर्ज गराएका छन् । उनी थप्छन्, ‘फर्किने अनुमति लिने बेला नागरिक उड्डयन प्राधिकरणले भन्यो, तपाईंले नेपाली कानुन उल्लंघन गर्नुभएको छ । सगरमाथाको चुचुरोमा हेलिकोप्टर टेकाउने अधिकार तपाईंलाई थिएन । ...उनीहरूले लुक्लाबाट माथि सगरमाथासम्म अवतरण गराउन नपाइने निषेधित राष्ट्रिय निकुञ्ज क्षेत्र हो भने ।...ल्हाक्पासोनाम शेर्पाले सक्नेजति सबै सहयोग गरे, उनी पनि सफल भएनन् ।’ (उही, पृष्ठ २२७) निकुञ्ज कानुनअनुसार कोङदेमा बनाएको रिसोर्टमा समेत हेलिकप्टर लैजान पाइँदैन । तर सत्तासँगको पहुँचले ल्हाक्पासोनामहरूलाई बेरोकटोक छ ।

०६८/६९ मा शेर्पा दाजुभाइले जिल्ला विकास समितिको सर्वदलीय बैठकमा सगरमाथाको वेसक्याम्पमा पुग्ने ‘ट्रेकिङ रुट’ नै परिवर्तन गर्ने प्रस्ताव ल्याएका थिए । टाकसिन्धु गुम्बाबाट नुनथला, फुलेली, जुभिङ, खरिखोला, खार्ते, पैयाँ, सुर्के, चौँरीखर्क, लुक्ला, घाट, फाकदिङ, जोरसल्ले, नाम्चे, थामे हुँदै वेसक्याम्प पुग्ने पदमार्ग छ । तर शेर्पा दाजुभाइले टाकसिन्धुबाट यावा, ताते, कोङदे, थामे, रञ्जुला पास हुँदै वेसक्याम्प पुग्ने पदमार्ग बनाउन चाहेका थिए । यो पदमार्ग कायम भए टाकसिन्धुभन्दा माथि तातेमा बाहेक सबै सरकारी जग्गा पथ्र्याे । तातेका ६/७ घर शेर्पाहरूको निजी जग्गा उनीहरूले खरिद गर्ने तयारी गरेका थिए । नुनथलादेखि थामेसम्मका १० हजारभन्दा बढी व्यवसायीको रोजीरोटी खोस्न नहुने भन्दै कांग्रेसका तत्कालीन सभापति आङगेलु शेर्पाले यस्तो प्रस्ताव पारित हुन दिएनन् । भन्छन्, “यसपछि ल्हाक्पासोनाम र आङछिरिङ मसँग रुष्ट भए ।”

१२ र १३ वैशाख ०७२ को भूकम्पमा सगरमाथामा मात्र झन्डै तीन दर्जन नागरिक बेपत्ता भएका थिए । आङगेलुकै शब्दमा सरकारले संकलन गरेको तथ्यांकअनुसार क्षतिको हिसाबले सोलुखुम्बु ११ औँ जिल्लामा पथ्र्याे । तर शेर्पा परिवारले नै ‘क्षतिग्रस्त जिल्ला घोषणा गरिए पर्यटक आउँदैनन्, जसले राज्यलाई घाटा पर्छ’ भन्ने बहाना बनाएर सोलुलाई क्षतिग्रस्त जिल्लामा पारिएन । रोचक के भने रामेछाप र ओखलढुंगा क्षतिग्रस्त जिल्लामा परेका थिए । तर यी दुई जिल्लाकै बीचमा रहेको सोलुलाई छुट्याइएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल भएको काठमाडौँ नै क्षतिग्रस्त जिल्लाको सूचीमा भएकाले सोलुलाई मात्र छुट्याउनुको कुनै अर्थ थिएन । तर शेर्पा दाजुभाइको स्वार्थअघि सबै नतमस्तक भए । ट्रेकिङ एजेन्सी आफ्नै, हेलिकप्टर/हवाईजहाज आफ्नै र होटल पनि आफ्नै भएकाले सोलु पर्यटनमा शेर्पा परिवारको एकलौटी छ । 

शेर्पा परिवारले केबुलकार सञ्चालन गर्ने तयारी गरेको ताप्लेजुङको पाथिभरामा पनि विवाद छ । त्यहाँ नगरपालिकाले अनुमति नै दिएको छैन । सोलुको कोङदेमा स्थापना गरिएको होटलको जग्गा फर्जी गरेको प्रमाणित भइसकेको छ । नेपाल ट्रस्टअन्तर्गतका जग्गा गोकर्ण रिसोर्ट, दरबारमार्गको जग्गाको विवाद सतहमै छ । लुम्बिनीका होटल पनि विवादमै छन् । शाही शासनकालका बेला ०६० चैतमा धरानको घोपामा विमानस्थल बनाउने भन्दै शेर्पा परिवारले सर्वसाधारणबाट सस्तो मूल्यमा ७ बिघा ३ कठ्ठा ५ धुर जग्गा २८ देखि ४० हजार कठ्ठाका दरले खरिद गरेका थिए । निजी क्षेत्रले विमानस्थल बनाउन पाउँदैन । त्यसैले उनीहरूले ०७३ मा नागरिक उड्डयन प्राधिकरणलाई प्रतिकठ्ठा ३० लाखका दरले बिक्री गर्ने तयारी गरेका थिए । आफू अनुकूल निर्णय भएन भने उनीहरू कसरीसम्म बदला लिन्छन् ? धरानको जग्गा प्रकरण एउटा प्रतिनिधि उदाहरण हो । 

त्यसबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका आनन्दप्रसाद पोखरेलले शेर्पा परिवारले सस्तो मूल्यमा लिएको जग्गा  महँगोमा बेचेर ठूलो मात्रामा ‘कमिसन’ खान खोजेको भेउ पाएपछि प्राधिकरणलाई खरिद गर्ने अनुमति दिएनन् । ०७४ को निर्वाचनमा पोखरेलले दोलखाबाट टिकट नै पाएनन् । स्रोतका अनुसार आङछिरिङले उनलाई फोन गरेर ‘पोखरेलजी थाहा पाउनुभयो नि’ भनेका थिए । पोखरेल भने आङछिरिङ नै मरिसकेकाले यसबारे टिप्पणी नगर्ने बताउँछन् । 

कोङ्दे काण्ड

छोटो समयमा सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ मा नाम दर्ज गराएका काजी शेर्पाले पनि थामसेर्कुबाट ट्रेकिङ गराएका थिए । नेपाल पर्वतारोहण संघको निर्वाचन हुँदा पनि काजी आङछिरिङसँगै थिए । कोङ्दे हिमालको फेदीमा शेर्पा दाजुभाइले रिसोर्ट सञ्चालन गरेको जग्गा वैधानिक भएको भन्दै उनले स्थानीय र शासन आफ्नो हातमा लिएका बेला राजा ज्ञानेन्द्रसमक्ष समेत पैरवी गरेका थिए । त्यसबेला काजी दुर्गम क्षेत्र विकास समिति सदस्य थिए । जग्गा लिँदा ठूलो बेइमानी भएको जानकारी पाएपछि भने उनी विगतमा पैरवी गरेकोमा पश्चात्ताप मान्छन् । अमेरिका पुगेका बेला काजीले आङछिरिङहरूले सरकारी जग्गा गलत तरिकाबाट आफूहरूको स्वामित्वमा लिएको तथ्य बुझेका थिए । अमेरिकामा रहेका आङमायाका भाइले दिदीलाई समेत जानकारी नै नदिई आङछिरिङहरूले ‘डमी’ खडा गरेको भेद खोलेका थिए, जुन कुरा आङमायाले अख्तियार दुरुपयोग अनुन्धान आयोगसमक्ष पनि स्वीकारेकी छन् ।

शेर्पा परिवारले नेपाल ट्रस्टबाट भाडामा लिएको गोकर्ण फरेस्ट रिसोर्ट


खरिखोलाकी आङमाया शेर्पाका नाममा दाइजो दिएको भनी सुरुमा ‘डमी’ खडा गरिएको थियो । खासमा सरकारी जग्गा शेर्पाहरूले चौँरीपालन खर्कका रूपमा प्रयोग गर्थे । आङमायाका बाबु छेतरी शेर्पा त्यस क्षेत्रका तालुकदार थिए । त्यसैले आङछिरिङ दाजुभाइले ठूलै बुद्धि प्रयोग गरी बाबुले आङमायालाई दाइजो दिएको देखाएर सुरुमा उनका नाममा लालपुर्जा बनाइएको थियो । 

काजीका अनुसार आङमायाको लालपुर्जामा उनले बच्चा बोकेको फोटो टाँसिएको छ । “आफूबाहेक अरू कसैको हित नचाहने देखेपछि उहाँहरूसँग सम्बन्ध तोडेँ”, काजी भन्छन्, “नेपाल पर्वतारोहण संघमा रहेका हिमचुलीसमेत व्यक्तिका नाममा लैजानु खोज्नुभन्दा ठूलो स्वार्थ के होला ? हिमाल जोगाउनुपर्छ र राज्यस्रोतको दुरुपयोग गर्नुहुन्न भन्ने मेरो मान्यता हो ।”

स्रोतका अनुसार सोलुकै तिङला, घुन्साका अमिनकुमार बस्नेत र सल्यानका अमिन टंक निरौलाले आङछिरिङ परिवारको स्वामित्वमा जग्गा पुर्‍याउन नापचाँज गरी जिल्ला मालपोत कार्यालयलाई लालपुर्जाका लागि सिफारिस गरेका थिए । त्यसबेला उनीहरू नापी कार्यालय सोलुमा कार्यरत थिए । ८ मंसिर ०५८ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बलबहादुर केसी, आङछिरिङ शेर्पा र अन्य दुई जना हेलिकप्टरमा फाप्लु उत्रिए र अमिनद्वय कुमार र टंकलाई हेलिकप्टरमै राखेर कोङ्दे पुगे । 

०५० को नापीअनुसार कोङ्देमा अढाई रोपनी जग्गा मूलाबारी उल्लेख गरी व्यक्तिको नाममा थियो । बाँकी जग्गा श्री ५ को सरकार भनी नापी नक्सामा जनाइएको थियो । त्यही अढाई रोपनी व्यक्तिको जग्गामा टेकेर अमिनद्वयले ५० रोपनी सरकारी जग्गा व्यक्तिका नाममा सिफारिस गरेका थिए । कोङ्देबाट बेलुकी मन्त्री केसी, आङछिरिङ, अमिनद्वय फाप्लु फर्किएर सल्लेरीमा बसे । ९ मंसिर बिहानै मन्त्री केसी, आङछिरिङ काठमाडौँ फर्किए । त्यसैले १० मंसिरमा त्यो जग्गा पास गरिएकै होइन ।

अमिनद्वयको सिफारिसमा टेकेर मालपोत कार्यालय सोलुखुम्बुमा कार्यरत खोटाङका खरिदार तेजनाथ पौडेलले शेर्पा परिवारको नाममा लालपुर्जा बनाएर दिएका थिए । पौडेलले लुक्लाकी शेर्पा युवतीसँग दोस्रो बिहे गरेका छन् । उनले नाम्चेमा घर जोडेका छन् भने हाल काठमाडौँ कपनमा घर बनाएर बसेका छन् । बस्नेतले पनि सदरमुकाम सल्लेरी र काठमाडौँ काँडाघारीमा घर बनाएका छन् । 

स्रोतका अनुसार चाबहिलमा बसेर कोङ्देको जग्गाको लालपुर्जा बनाइएको थियो । मालपोत कार्यालयका कागजात जले पनि पौडेलको कोठामा केही कागजपत्र रहेछन् । तिनै कागजपत्र प्रयोग गरी लालपुर्जा बनाइएको स्रोतको दाबी छ । बस्नेत, निरौला र पौडेल तीनै जना सेवानिवृत्त भइसकेका छन् । रोचक के भने सोलुखुम्बु जुवुका गोपाल गिरी दुर्गम क्षेत्र विकास कोषका सदस्य भएका बेला माओवादी नेताहरू प्रयोग गरी शेर्पा परिवारले सरकारी बजेट छुट्याउन लगाएर थामेबाट कोङ्दे पुग्ने गोरेटो बाटो खनाएको थिए ताकि त्यसलाई वैधानिकता दिन सकियोस् । त्यसअघि त्यहाँ पुग्ने गोरेटो बाटोसमेत थिएन ।

नेपाल पर्वतारोहण संघको कोषाध्यक्ष भएका बेला आङकाजी शेर्पाले मासिक तलब लिएर ल्हाक्पासोनाम र आङछिरिङको धन्दाबारे थुप्रै प्रमाण संकलन गरेका थिए । त्यसबेला नेपाल पर्वतारोहण संघ र शेर्पा परिवारबीच हिमचुलीका विषयमा ठूलो बखेडा थियो । पछि आङछिरिङका छोराले आङकाजीको मामाको छोरी विवाह गरे । यसपछि आङकाजी मौन छन् । 

आङकाजीले नेपाल प्रतिनिधिलाई ९ पुस बिहानै बौद्ध पीपलबोट नजिकै रहेको आफ्नै निवास बोलाएका थिए । त्यहाँ पुग्दा शेर्पा सोलुकै मंगलसिं तामाङसँग चिया पिइरहेका थिए । बाध्यताका कारण आफू धेरै नबोल्ने उनी बताउँछन् । “तर यतिचाहिँ हो कि शेर्पाहरूले देवता मान्ने हिमाल र भूमिमाथि ल्हाक्पासोनामहरूले अनावश्यक आँखा गाडे”, उनी भन्छन्, “यसले तपाईंहरूलाई शुभ हुँदैन भन्ने खबर मैले ल्हाक्पासोनामको कानमा पुग्ने गरी पठाइदिएको छु । म योभन्दा बढी बोल्दिनँ ।” 

सोलु कांग्रेसका पूर्वसभापति आङगेलु शेर्पा यतीवालाहरू र सरकार चलाउनेहरूको प्रवृत्ति मिल्ने भएकाले निर्लज्ज घटना भइरहेको बताउँछन् । “एउटासँग नैतिकता छैन, अर्कोसँग सिद्धान्त छैन”, शेर्पा भन्छन्, “नैतिकताविहीन व्यवसायी र सिद्धान्तहीन नेता/सरकारको जम्काभेट हो, ल्हाक्पासोनाम/आङछिरिङ काण्ड ।”  

प्रकाशित: पुस २१, २०७६

×