देउवाको विकल्प शेखर कि शशांक ?
देउवालाई १४ औँ महाधिवेशनमा शशांकले टक्कर दिने सम्भावना छ, तर कांग्रेसको उदारवादी वैचारिक द्विविधा चिर्दै सुधारको मार्गचित्रमा हिँडाउन शेखर उपयुक्त पात्र हुन सक्छन् ।
शेखर कोइरालालाई हामीले भेट्न एक महिनायता कोसिस गरेको । उनी त सधैँ जिल्ला दौडाहामा ।
०७४ को चुनावी पराजयले सिंगो कांग्रेसपंक्तिलाई निराश बनायो । त्यसयता शेखर काठमाडौँको बसोबास सक्दो घटाउँदै कार्यकर्तामाझ डुलिरहेका छन् । उनको शैली नै हो– एउटा जिल्लामा कम्तीमा दुई रात बिताउने । एक दिन सदरमुकाममा, अर्को दिन साना बजार र बस्तीका कार्यकर्तामाझ ।
फिल्डमै गएर भेट्नुपर्यो । यो संवाददाताले फोटोकर्मी मित्र सरोज बैजुसँग सल्लाह गर्दै गर्दा शेखरका सहयोगी दिनेशचन्द्र थपलियाले फोन गरे, “शेखर दा’ एक दिनका लागि काठमाडौं आउनुहुने भयो । त्यतै भेटौँ ।”
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका उच्च तहका नेतासँग सल्लाहै नगरी केन्द्रीय विभागको संख्या थपेको, महाधिवेशन तिथि तोकेकामा शेखर क्रुद्ध रहेछन् । अघिल्लो सोमबार अपराह्न नेपाल टिम धापासी पुग्दा उनी जेफरी स्याक्सको नयाँ पुस्तक अ न्यु फरेन पोलिसी : बियोन्ड अमेरिकन एक्सेप्सनलिज्मको पृष्ठ ८० पल्टाउँदै थिए । यो पुस्तकले अमेरिकालाई मात्रै महान् ठान्ने डोनाल्ड ट्रम्पको अमेरिका फस्ट नीतिको विरोध गर्छ । अमेरिकामुखी राष्ट्रवादी नीतिहरूको आलोचना गर्छ । र, सन् १९४१ यता अमेरिकाले नेतृत्व गरेको उदार मूल्य प्रणालीको वकालत गर्छ ।
शेखर आफूलाई स्याक्सको विचारधारा नजिक पाउँछन् । कांग्रेसमा जारी वैचारिक अलमलको समाधान यस सोचाइमा भेटिन्छ । राप्रपाजस्तो दक्षिणपन्थी पार्टीदेखि आफूलाई वैकल्पिक दाबी गर्ने पार्टीसम्म रहेका राजनीतिकर्मीहरू कुनै न कुनै रूपमा दुइटा विचार शिविरमा बाँडिएका छन्– नेकपालाई जित्ने गरी अझै राष्ट्रवादी देखिने कि अहिलेलाई अलोकप्रिय नै सही, उदार वैचारिकीको वकालत गर्ने ? शेखर आफूलाई दोस्रो कित्तामा उभ्याउँछन् ।
“कम्युनिस्टहरूको उग्र राष्ट्रवादले यो देशलाई कहिल्यै फाइदा गरेन, अब पनि गर्ने छैन । त्यस्तै क्षेत्रीय पार्टीहरूमा उग्र मधेसवाद देखियो, त्यसको पनि कुनै भविष्य छैन,” उनी व्याख्या गर्छन्, “हामीले विश्वास गर्ने राष्ट्रियता, प्रजातन्त्र र समाजवादमै हो । तर अब त्यसको पुनर्व्याख्या गर्नुपर्छ ।”
अघिल्लोपल्ट महामन्त्रीमा उम्मेदवारी दिने सोच बनाए पनि आखिरी घडीमा शशांकका लागि त्यो पद छाडेका शेखर योपल्ट सभापतिमा ‘कुनै पनि हालतमा उम्मेदवारी दिन’ दृढ देखिन्छन् । पार्टीका कतिपय नेताहरूको भनाइमा शेखरले योपल्ट पनि पहिलेजस्तै गर्ने त होइनन् भन्ने आशंका भने उत्तिकै छ । शेखर त्यो अनुमानमा अब सत्यता नभेटिने दाबी गर्छन् ।
दुई वर्षअघिको आमचुनावमा पार्टीको पराजयलगत्तै चारचौरास डुल्ने अभियान थाले, शेखर । जिल्ला–जिल्लाका कार्यकर्ताबीच एक हदसम्म उत्साह सञ्चार गर्न सफल उनी केन्द्रमा भने करिब एक्लै छन् । कांग्रेस नेतृत्वमा उदाउँदो युवा पुस्ता उनलाई परीक्षण गरी हेर्ने कि भन्ने छलफलमा लागिरहेको देखिन्छ ।
“हामी अहिल्यै युवा पुस्ताबाट सभापति दाबी गर्दैमा जित्ने अवस्थामा पुगिसकेका छैनौँ तर अहिले माथिल्लो पंक्तिमा रहेका नेताहरूप्रति हाम्रो अपेक्षा धेरै छैन,” कांग्रेसका एक नेता भन्छन्, “शेखर दाइका पनि आफ्नै खाले कमजोरी छन् तर तुलनात्मक रूपमा आज उहाँ हाम्रो विकल्प बन्न सक्नुहुन्छ ।”
ती नेताले थपे, “देउवालाई दोहोर्याएर हामी थप क्षति चाहँदैनौँ । रामचन्द्र दाइ र शशांकबाट हामीले बनाउन चाहेजस्तो पार्टी बन्दैन । भएकामध्ये उहाँ (शेखर) आशाको संकेतका रूपमा देखिनुहुन्छ । तर यो क्रियाशीलतालाई कुन स्वरूपमा ढाल्नुहुन्छ, त्यसमा मात्रै उहाँको नेतृत्व सुनिश्चित हुने/नहुने निर्भर छ ।”
५५ भन्दा बढी जिल्लाका गाउँबस्ती घुम्दै गर्दा शेखर केन्द्रमा रहेका उच्च नेतासँग भने कमै अन्तरक्रियामा छन् । शशांकचाहिँ पार्टीभित्र निर्णायक भूमिका खेल्न सक्ने ८–१० नेतासँग पछिल्ला दिनमा सम्पर्क बढाइरहेका छन् । पछिल्ला दिनमा आफ्नो समूहका बैठक महाराजगन्ज निवासमा बोलाउन थालेका छन् । अर्थात्, हिजोआज ‘पौडेल समूह’ को बैठक ‘शशांक निवास’ मै बस्छ । शेखरले देउवाइतर समूहको खातामा आफूलाई अगुवा देखाउन कुनै जाँगर चलाएका छैनन् ।
निकटस्थहरूले त्यसलाई तलबाट शक्ति लिएर आउने, माथि मिलाउन धेरै नलाग्ने शेखरको रणनीतिका रूपमा अर्थ्याएका छन् । निरन्तरको शेखर–सक्रियता नियालिरहेका शशांक केही मुखर बन्न थालेका छन् । अघिल्लो साता बाह्रखरीसँग कुरा गर्दै शशांकले भने, “दाबी (सभापतिमा) मेरो पनि हो । म त भन्छु, मेरोमै सहमति जुटोस् । अरू नेताको नाममा सहमति जुट्यो भने म तयार हुनुपर्छ ।” यही अन्तर्वार्तामा उनले पहिलोपल्ट देउवाको विरोध गर्दै अब उनीबाट पार्टी चल्न नसक्ने दाबी पनि गरे ।
महामन्त्री भएको चार वर्ष बित्दासम्म शशांक सार्वजनिक मञ्चमा खासै देखा परेनन् । तर अब त्यसको खाँचो देख्न थालेका छन् । कार्यक्रममा जान्छन् । चार–पाँच मिनेटभन्दा लामो भाषण गर्दैनन् । तिनमा पनि उस्तो सन्देश केही हुन्न । शेखर भने वैचारिक बहसमा रुचि राख्छन् । विपक्षीहरूलाई जवाफ दिन्छन् । केही ठोस विषय नपाए स्वास्थ्य शिविर चलाएरै भए पनि बिरामी जाँच्न थाल्छन् । स्तम्भकार सीके लालको भनाइमा उनमा व्यवस्थापकीय क्षमता पनि तुलनात्मक रूपमा राम्रो छ । “भलाद्मी पाराका कांग्रेसीमा उनी लोकप्रिय नहोलान् तर लडाकु कांग्रेसहरूले शेखरलाई रुचाउन थालेका छन्,” लाल भन्छन्, “कांग्रेसलाई सुधारको मार्गचित्रमा हिँडाउन शेखर उपयुक्त हुन सक्छन् ।”
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दशकभन्दा लामो नेतृत्व । अनि, दसौँ महाधिवेशनयता केन्द्रीय सदस्य । शेखरको सबलता नै उनका लागि सीमा बन्न पुगेको छ । उमेरमा कनिष्ठ भईकन पनि बीपीपुत्र शशांक पार्टी महामन्त्री भइसके । गणेशमान सिंहपुत्र प्रकाशमान उपप्रधानमन्त्री र पटक–पटक मन्त्री । दुवै जना निर्वाचित सांसद । शेखरले चुनाव यसपल्ट हारेका छन् । अनि, रामशरण महत, अर्जुननरसिंह केसी शेखरलाई सभापतिमा देख्न अनिच्छुक छन् । कृष्णप्रसाद सिटौला शेखरका सहयोगी बन्न सक्छन् । तर तिनलाई विश्वासमा लिन शेखरले अहिलेसम्म जोडबल लगाएको देखिन्न । सुजाता कोइराला सक्रिय राजनीतिमा छैनन् । तिनको सोचले अझै पनि पार्टीभित्र थोरबहुत अर्थ राख्छ ।
सहज त शशांकलाई पनि छैन । कांग्रेस नेताका रूपमा उनले संसद्, पार्टी, निर्वाचन क्षेत्र वा कुनै पनि गने–चुनिएका फोरममा प्रभाव जमाउन सकेको देखिन्न । हिन्दुत्वको अतिवादी मुद्दामा बढ्तै जोडिएका उनी पछिल्ला दिनमा त्यो छविलाई उदार देखाउने कसरतमा छन् । तर जनमानसमा पहिल्यै गलत विम्ब निर्माण हुन गएको छ । आफूभन्दा वरिष्ठ नेताहरूलाई सम्मान दिनेमा उनी उदार देखिए पनि आफूसँगै विगतमा महामन्त्री लडेका अर्जुननरसिंह, सिटौलालगायत नेताको स्वीकार्य विकल्पका रूपमा उदाउन सकेका छैनन् । यी सबै घटनाक्रम नियालिरहेका रामचन्द्र पौडेल शेखर र शशांक दुवैको रोजाइमा फेरि पनि आफू नै पर्ने अड्कलमा छन् । पार्टीभित्र विभिन्न तहका नेताहरूसँग हामीले अन्तरक्रिया गर्दा पायौँ– योपल्ट त्यस्तो परिस्थिति सिर्जना हुने सम्भावना निकै कम देखिन्छ ।
“अहिलेको नेतृत्वलाई युवा पुस्ताले अब स्वीकार्दैन किनकि यसबाट कांग्रेसको नयाँ जीवन सम्भव छैन,” केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, “नयाँ परिस्थितिमा देखिएका चुनौती सामना गर्न त्यसैअनुसारको नेतृत्व चाहिन्छ । आशा जगाउने नेतृत्वको खोजीमा हामी लाग्नु एकदमै स्वाभाविक र आवश्यक भइसकेको छ ।”
राजनीतिशास्त्री हरि शर्मा र स्तम्भकार लालको साझा बुझाइ छ, दौडिने–खट्ने मामिलामा शेखरले गिरिजाप्रसाद कोइरालाकै शैली पछ्याएका छन् । अनि, पार्टीपंक्तिको निराशा चिर्दै कार्यकर्तामा विश्वास जगाउन सफल छन् ।
“उहाँ घुमिरहनुभएको छ, कार्यकर्ताहरूको भावना बुझिरहनुभएको छ, गिरिजाबाबुको विरासत पछ्याउन उहाँले खोजेको देखिन्छ,” शर्मा भन्छन्, “सभापतिको दाबेदारीमा रामचन्द्रजी र शेखर नै देखिनुभएको छ । तर नयाँ पुस्तालाई अपिल गर्ने सामथ्र्य रामचन्द्रजीले देखाउन सक्नुभएको छैन ।”
भर्खरै केन्द्रीय विभागहरूको संख्या थप र महाधिवेशन तिथि घोषणासँगै देउवा दोस्रोपल्ट सभापति चुनिने तयारीमा लागिसके भनी अनुमान गर्न अब गाह्रो छैन । यसका लागि उनले गर्नुपर्ने थप केही छैन, केवल उनका विपक्षीहरू एकजुट नभइदिए पुग्छ । राजनीतिक न्यारेटिभ आफ्ना लागि जतिसुकै प्रतिकूल भए पनि देउवाका लागि महाधिवेशन प्रतिनिधिको अंकगणितमा अब्बल ठहरिए पुगिहाल्यो । राष्ट्रिय राजनीतिक मुद्दाहरूमा देउवाको साख अझै गिर्दो छ । तर पार्टीभित्र उनका प्रतिद्वन्द्वीहरूले पनि उल्लेख्य विश्वास भने आर्जन गर्न सकेका छैनन् ।
सभापतिको कुर्सी दाबी गर्न त प्रकाशमान र सिटौलाले पनि सक्छन् । तर पार्टीपंक्तिको बुझाइमा प्रकाशमानमा फस्ट म्यान हुन चाहिने नेतृत्व क्षमता अझै पुगिसकेको छैन । अनि, सिटौला माथि भनिएका कुनै पनि नेताभन्दा तिखा र क्षमतावान् भए पनि उनको विश्वसनीयता कमजोर छ ।
यिनै आन्तरिक परिदृश्यबीच पार्टीभित्र ३२ औँ वरीयताका केन्द्रीय सदस्य शेखर सभापति उम्मेदवारका रूपमा कांग्रेस वृत्तमा चर्चा हुन थाल्नु आशलाग्दो संकेत भएको युवा नेताहरूले नेपाललाई बताए । तर जिल्ला–जिल्लामा सक्रियता देखाउँदै गर्दा पार्टीभित्र स्वीकार्यताका लागि उनले गरेको कसरत भने न्यून भएको उनीहरूको भनाइ छ ।
उदारवादी द्विविधा चिर्दै
चुनाव हो, कहिले हारिन्छ, कहिले जितिन्छ । ०७४ को चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धनसामु कांग्रेस पराजित भयो । ०५१ र ०६४ को चुनावमा पनि कांग्रेस हारेको थियो । तर पछिल्लो पराजयमा पार्टी सम्हालिन सकेको देखिएन ।
यो पनि पढ्नुस्ः कांग्रेसमा बहुमतको बुल्डोजर कहिलेसम्म ?
“लिबरल एम्बिभ्यालेन्स (उदारवादीहरूको द्विविधा) भन्छन् यसलाई,” राजनीतिशास्त्री हरि शर्मा अर्थ्याउँछन्, “पार्टीको नेतृत्वबाट सही काम नहुँदा क्षति भयो भन्ने थाहा त हुन्छ तर त्यसपछि के गर्ने भन्नेबारे कुनै आइडिया हुँदैन ।” शर्माका अनुसार कांग्रेसको सैद्धान्तिक पुनर्जीवन देउवाबाट सम्भव छैन भन्ने चेत अरू नेता र पार्टीपंक्तिमा आएका दिन यो द्विविधा समाधान हुन्छ ।
हामीले कांग्रेसको राजनीतिलाई नजिकैबाट चिहाउने शर्मालगायत केही विश्लेषकसँग यो पार्टीका आगामी दिन कस्ता होलान् भनी विमर्श गरेका थियौँ । त्यसमध्ये उनीहरूले भनेका केही निष्कर्ष नेतृत्वको सन्दर्भमा मेल खान गए ।
महाधिवेशनको हार, त्यसपछि चुनावी हारसँगै देउवाइतर पक्षले संगठित भएर प्रतिवाद गर्ने प्रयास नगरेको होइन । केन्द्रीय कार्यसमिति बैठकमा उनीहरूले सरकार सञ्चालनका क्रममा भएका त्रुटि, अनि चुनावमा जनताले कम्युनिस्ट गठबन्धनलाई दिएको जनादेशको नैतिक जिम्मेवारी देउवाले लिनुपर्ने जिकिर गरे । तर देउवा एक्लैले त्यसको जिम्मेवारी नलिने बरु कार्यसमितिले नै लिनुपर्ने अडान लिएपछि निर्णय बरालियो । त्यसपछि देउवाइतर पक्षका नेताहरूले रामचन्द्र पौडेललाई आग्रह गरे, ‘अब यसरी हुँदैन । तपाईंले कृष्ण सिटौलासित कुरा गर्नुपर्यो ।’
रामचन्द्र भने सिटौलाबाट अघिल्लो महाधिवेशनमा पाएको ‘धोका’ अझै सम्झिराखेका थिए । अझै पनि उनी सिटौलासँग सहकार्य गर्न तयार नदेखिएको उनलाई नजिकैबाट जान्नेहरू बताउँछन् । “अहिले रामचन्द्र दाइ र सिटौला दाइ एक ठाउँ हुने हो भने देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिमध्ये झन्डै ६० प्रतिशत देउवाको विरोधमा हुन सक्छन्,” कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, “तर त्यस्तो स्थिति आउने देखिन्न । रामचन्द्र दाइ सिटौलालाई छेउ पर्न दिइराख्नुभएको छैन । सिटौला पनि त्यसै किन रामचन्द्र दाइलाई भाउ दिइरहनुहुन्थ्यो र !”
कांग्रेसकेन्द्रित आवरण, नेपाल
यी सब घटनाक्रम नियालिरहेका युवा नेताहरू १४ औँ महाधिवेशनको दृश्य कस्तो होला भनी दैनिकजसो आकलन गरिरहेका छन् । गगन थापालाई अघि लगाएर महाधिवेशन तयारीमा क्रियाशील उनीहरूसँग अहिलेको अवस्थामा केही विकल्प छन् ।
प्लान ए : देउवालाई आगामी महाधिवेशनमा कुनै पनि हालतमा हराइछाड्न उनी विरोधी खेमालाई एकत्रित तुल्याउने । त्यसका लागि न्यूनतम रूपमा रामचन्द्र, शेखर, शशांक, सिटौला र अर्जुननरसिंहबीच मतैक्य चाहिन्छ । उनीहरूमध्ये कुनै पनि नेता यो रणनीतिबाट बाहिरिएको खण्डमा त्यसको लाभ स्वत: देउवाले पाउन सक्नेछन् । पार्टीमा सुधारका लागि अगुवाइ गरिरहेको समूह एउटा मात्रै उम्मेदवार खडा गरेर देउवालाई टक्कर दिन चाहन्छ । त्यसका लागि उनीहरूसँग अर्को योजना पनि साथसाथै तयार छ ।
प्लान बी : रामचन्द्र पौडेललाई अब सभापतिमा परीक्षण गर्न अनिच्छुक रहेको यो तप्का विकल्पका रूपमा शेखरलाई हेरिरहेको छ । हामीले पार्टीभित्र पहुँच र प्रभाव राख्ने केही केन्दीय सदस्यसँग गरेको कुराकानीका आधारमा, उनीहरू रामचन्द्रलाई सभापति नभए पनि परीक्षण भइसकेका नेता मान्छन् । युवा पुस्ता सीधै सभापतिमा दाबेदारी दिँदा समग्र पार्टीको विश्वास प्राप्त हुन नसक्ने बुझाइमा छ । शशांकलाई उनीहरू लिएर जान चाहँदैनन् । सिटौलासँग प्रखरता, रचनात्मकता, रणनीति सबै भए पनि पार्टीभित्र साख आर्जन गर्न नसकेका नेताका रूपमा उनीहरू चित्रित गर्छन् । विकल्पका रूपमा उनीहरूले हेरेका छन्, शेखरलाई । शेखरलाई सभापति बनाएर नेतृत्वपंक्तिमा तरुणहरूको उल्लेख्य संख्या निर्माण गर्ने उनीहरूको रणनीति छ ।
युवा नेताहरूले भनेका छन्– शेखरसँग कोइराला हुनुको विरासत पनि छ । उनी बौद्धिक र सफा छवि भएका नेता छन् । उनी गिरिजाबाबुझैँ जिल्ला–जिल्लासम्म गएर खट्न सक्छन् । उनी अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि पार्टीका तर्फबाट उभिन सक्ने नेता बन्न सक्छन् । तर अहिलेजस्तै जिल्ला दौडाहामा मात्रै सीमित रहे शेखरलाई शीर्ष तहमा आन्तरिक विश्वास आर्जन गर्न कठिन हुनेछ ।
प्लान सी : शेखरका पक्षमा देउवा इतर पक्षको माहोल बन्न सक्ने अवस्था नदेखिएमा युवाहरूसँग अन्तिम विकल्प हुनेछ, आफैँ सभापतिमा उम्मेदवारी दिने । त्यसो गर्दा चुनाव जित्न सकिने ठानेका छैनन्, तर त्यसको देशव्यापी सन्देश जाने उनीहरूको बुझाइ छ । उनीहरूले गगन थापालाई उम्मेदवारी दिन आग्रह गर्ने, चन्द्र भण्डारी, धनराज गुरुङदेखि विश्वप्रकाश शर्मासम्मका नेताहरूलाई आफ्नो वृत्तमा समेट्न कोसिस गर्ने उनीहरूको भनाइ छ । गगन आफैँले भने सभापतिमा दाबेदारी दिने सम्भावना एकदमै न्यून रहेको बताएका छन् । उनको ध्यान उपयुक्त पात्रलाई अगाडि सारेर आफू महामन्त्री चुनिने र केन्द्रीय कार्यसमितिमा युवाहरूको संख्या बढाउनेमै छ ।
शेखर आफैँ युवाहरूबारे आलोचनात्मक मत राख्छन्, “युवाहरूले परिवर्तनको खोजी गरेकै हुन् भने त्यसैअनुसार आफूलाई संगठित गर्न जान्नुपर्यो । अरू बेला विभिन्न कुरा गरे पनि आफ्नो सुरक्षाका लागि नेताको आड खोज्ने प्रवृत्तिबाट युवाहरू अब मुक्त हुनुपर्छ ।”
हामीले आगामी महाधिवेशन र कांग्रेसको पुनर्जागरणबारे थुप्रै नेता, कार्यकर्ता र विश्लेषक भेटेर उनीहरूको धारणा जान्न चाह्यौँ । तीमध्ये छानिएका विचार नेताहरूलाई पनि सुनायौँ । कांग्रेसको दुर्भाग्य, नेताहरू आफू अग्रभागमा देखिन जति उत्सुक छन्, पार्टीको विचारवृक्ष हुर्काउन भने त्यति नै अनिच्छुक । नेताहरूको प्रश्न देउवाप्रति छ । देउवाको प्रतिप्रश्न बाँकी नेताहरूप्रति ।
अघिल्लो साता रामचन्द्र पौडेलको बोहोराटार निवासमा शेखर, शशांकसहित लामै बैठक चल्यो । प्रकाशमान, सिटौला, अर्जुननरसिंह, मीनेन्द्र रिजालसहित नेताहरूले देउवातिर साझा प्रश्न तेर्स्याए, ‘सभापति देउवा एकातिर संसद्मा दुई तिहाइ लाद्न पाइँदैन, सहमति हुनुपर्छ भन्छन्, अर्कातिर पार्टीभित्र बहुमत लाद्छन् । उनी कुन नैतिकताले एकैपल्ट दुई खाले अडान लिन्छन् ?’
देउवाको कार्यशैलीबारे प्रश्न उठाउनेमा यी नेताहरू एकमत भए पनि एकअर्कालाई स्वीकार्ने मामलामा भने संकीर्ण देखिन्छन् । उनीहरूलाई थाहा छ, आफूहरू एकजुट नहुँदासम्म देउवालाई घोडाबाट लतार्न सम्भव छैन ।
“सभापतिप्रति मेरो कुनै पूर्वाग्रह छैन । म उहाँलाई सम्मान गर्छु । रामचन्द्रजी सिनियर नेता हो, उहाँलाई पनि सम्मान छ,” अघिपछि नांगो टाउकोमा देखिने शेखरले भादगाउँले टोपी मिलाउँदै भने, “अब कांग्रेसजस्तो पार्टीलाई हाँक्न नयाँ सोच र ऊर्जा चाहिन्छ । म कार्यकर्ताहरूलाई त्यसै क्रममा भेटिरहेको छु ।”
विचारका दुई किनारा
राष्ट्रवाद र समृद्धिको नारामा नेकपासँग प्रतिस्पर्धा गर्ने कि नरम लोकतान्त्रिक छवि भएको पार्टी बन्ने– कांग्रेसभित्र अलमल देखिन्छ । सिंगै विश्वमा देखिएको उदारवादी विचारको संकटले कांग्रेसलाई समेत प्रभावित पार्नु अनौठो नभएको आकलन विश्लेषकहरू गर्छन् । महामन्त्री शशांकले आफ्ना पिता तथा पार्टीका संस्थापक बीपी कोइरालाले अगाडि सारेको धर्मनिरपेक्षताको विपक्षमा आफूलाई उभ्याउने साहस गर्नु यसैको प्रतिफल भएको उनीहरूको ठहर छ ।
“टिनोपालहरूको घेरामा परेर शशांकले हिन्दुत्वको हाराकिरी गरे,” सीके लाल आलोचना गर्छन् । उनका अनुसार केही दशकअघिसम्मै समाजवादीहरूले सादा जीवन बिताउने, खादीका लुगा लगाउने, आफैँ धुने गर्दै गर्दा सुकिला समाजवादीहरू लुगामा विशेष किसिमका जुहारत (टिनोपाल) थपेर आफूलाई अरूभन्दा विशिष्ट देखाउने प्रयास गर्थे । शशांकसँग बीपीपुत्र हुनुको सुविधा भए पनि पार्टीको समाजवादी संस्कृति फर्काउनमा उनीबाट योगदान हुन नसक्ने ठोकुवा लालसहित कांग्रेस राजनीतिका जानकारहरू गर्छन् । शशांकले संघीयता, समावेशिताबारे पनि अनुदार विचार प्रवाह गरिरहँदा त्यसको क्षति कांग्रेसले भोग्नुपर्ने उनीहरूको भनाइ छ ।
शेखर केही भिन्न देखिन्छन् । ०६२ मा माओवादी विद्रोहीसँग १२ बुँदे सहमति निर्माणका एक सक्रिय नेता शेखरले आफूलाई संघीयता र समावेशी समानुपातिक प्रणालीको मुखर पैरवीकर्ताका रूपमा उभ्याउँदै आएका छन् । उनले मधेसका असन्तुष्टि जायज रहेको भन्दै त्यसको निरुपण हुनुपर्ने विचार राख्दै आएका छन् । संविधान मस्यौदा जारी हुनुभन्दा दुई महिनाअघि जेठ ०७२ मा उनले जनजाति, आदिवासी, मधेसी, महिला नेताहरूलाई तत्कालीन पार्टी सभापति सुशील कोइराला, नेताहरू देउवा, रामचन्द्रलगायतसित भेटाउन खोजेका थिए । नेताहरूले भेट्न अनिच्छा जाहेर गरेपछि उनैले दियालो होटलमा भेला राखेका थिए । त्यस भेलाले कुनै ठोस प्रतिफल त दिएन तर कांग्रेसभित्र अल्पसंख्यक समुदायको आवाज सुन्ने नेताका रूपमा शेखरलाई चिनायो ।
त्यसयता पनि शेखरले समावेशी लोकतन्त्रको विचारलाई पार्टीभित्र राख्दै आएका छन् तर उनको भनाइले निर्णायक स्थान भने बनाउन अझै बाँकी छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...