क्रसर डनले निमोठेको आवाज

क्रसर डनहरूको दबदबा यतिसम्म छ कि उनीहरू आफ्नो विरोधमा आवाज उठाउनेहरूलाई कुटपीट र अंगभंग त परै जाओस्, ज्यानै लिन पनि पछि पर्दैनन् ।

- कल्पना भट्टराई

२५ पुस बिहान ४ बजेको हुँदो हो । घरमै सुतिरहेका थिए, दिलीप महतो ‘ओमप्रकाश’ । २४ वर्षीय दिलीपलाई घरमै उठाउन आइपुगे, उनका साथी रोशन यादव । घरनजिकैको औरही खोलामा रातारात उत्खनन् भइरहेको खबर साथीले ल्याएपछि त्यसलाई रोक्न भन्दै उनी त्यता लागे । घरबाट निस्केको केही बेरमै टिपरको ठक्करबाट दिलीपको मृत्यु भएको खबर रोशन आफैँले परिवारलाई दिएका थिए । बहिनी लक्ष्मीकुमारी खोलामा पुग्दा दिलीप ढलिसकेका थिए ।

भारतको भोपालमा मेकानिकल इन्जिनियर गरिरहेका दिलीप १४ दिनअघि मात्र धनुषाको मिथिला नगरपालिका– ५ श्रीपुरस्थित घर आएका थिए । ढल्केबरको एक उच्चमाविमा आईएस्सीको पढाइ सकेपछि उनी इन्जिनियरिङ गर्न भारत गएका थिए । 

घरदेखि डेढ किलोमिटर दूरीमा रहेको औरही खोलामा तीन वर्षदेखि क्रसर व्यवसायीले ढुंगा, गिट्टी, बालुवाको अवैध उत्खनन् गरिरहेका थिए । बस्ती छेउछाउको हजारौँ बिघा खेतीयोग्य जमिन कटान हुन थालेपछि दिलीपले खोलामा भइरहेको अवैध उत्खनन्विरुद्धमा आवाज उठाउन थालेको उनका दाजु वीरेन्द्र महतो सुनाउँछन् । 

वीरेन्द्रका अनुसार गत वर्ष खोलाबाट सय मिटरको दूरीमा चुरियामाई बालुवा प्रशोधन केन्द्रले अवैध रूपमा नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को उत्खनन् गरिरहेको थियो । ठेक्का नलिईकनै रातीमा अवैध उत्खनन् गरेपछि दिलीपले खोलामै पुगेर रोक्न खोजेका थिए । उत्खनन्ले खोलाको बीच भाग गहिरो खाल्डो परेको थियो । खोलाका विभिन्न भागमा २५–३० फिट गहिरा खाडल बनेको स्थानीय सञ्जयकुमार महतो बताउँछन् ।

स्थानीयले खोला नखोस्रिन आग्रह गर्दा उनलाई उद्योग सञ्चालक विपिन महतोले धम्क्याउँथे । राजनीतिक आडभरोसा र पैसाको बलमा नियमविपरीत खोला दोहन गर्ने डन प्रवृत्तिको धम्कीले दिलीपलाई रत्तिभर पर्वाह थिएन । 

दिलीपको ‘चिन्ता’

दिलीप घर आएको भोलिपल्टै अवैध उत्खनन् रोक्न खोलामा पुगेका थिए । “दिलीप अवैध उत्खनन्बाट हुने डुबान कटानबाट गाउँ र जमिन बचाउन चाहन्थे”, दाजु वीरेन्द्र भन्छन्, “खोला बन्द भएको समयमा समेत निरन्तर उत्खनन् हुन थालेपछि उनले पटक–पटक प्रहरी, प्रशासन र नगरपालिकामा समेत उजुरी गरे पनि क्रसर व्यवसायीविरुद्ध कारबाही भएन ।” कसैले चासो नदिएपछि क्रसर उद्योग बन्द गराउन गाउँका युवासँग छलफल गरेका थिए, दिलीपले । 

६ दिनअघि उनले चुरियामाई क्रसर उद्योग सञ्चालक विपीन महतोलाई भेटेरै अवैध रूपमा नदी दोहन नगर्न भनेका थिए । चार दिनअघि दिलीपका बुबा रामजीवन महतो जग्गा भाडामा दिएबापतको रकम माग्न क्रसर सञ्चालक विपिनकहाँ पुगेका थिए । 

विपिनले दुई दिनपछि रकम दिने वाचा गरे । ‘तिम्रो छोराले क्रसर बन्द गराउने योजना बुन्दै छ, सम्झाउनू । नत्र ज्यान लिन्छु,’ विपिनले रामजीवनलाई ‘थ्रेट’ दिएका थिए । फुर्सद नभएका कारण छोरालाई क्रसर सञ्चालकको चेतावनीबारे जानकारी दिन नभ्याएको उनी बताउँछन् । “भाइसँग गएका रोशन जीवितै फर्किए, योजनाबद्ध तरिकाले दिलीपको हत्या गर्ने उनीहरूको नियत रैछ”, वीरेन्द्र लख काट्छन्, “भाइलाई टिपरले किचेर हत्या गर्ने हत्यारालाई कडा कारबाही गरियोस् ।”

के गर्दै छ प्रहरी ?

धनुषाको बडहरी खोलामा नियमविपरीत स्काभेटरले गरेको उत्खनन अनुगमन गर्दै जिल्ला अनुगमन समितिका पदाधिकारीहरू । फाइल तस्बिर :सन्तोष सिंह 

दिलीपलाई पहिले फलामले कोखमा घोचेर गम्भीर घाइते बनाएको र त्यसपछि समातेर टिपरले कुल्चेर हत्या गरेको अनुमान प्रहरीको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेशकुमार बस्नेत भन्छन्, “पोस्टमार्टम रिपोर्ट नआएको भए पनि घटनाको प्रकृति हेर्दा हत्या नै गरेको देखिन्छ, यद्यपि घटनाको पूरा अनुसन्धान नभई यसै भन्न सकिन्न ।” 

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध मुद्दा अगाडि बढाउन पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ । हत्या आरोपमा पक्राउ परेका मिथिला नगरपालिका–५ स्थित चुरियामाई बालुवा प्रशोधन केन्द्रका सञ्चालक २७ वर्षीय विपिन महतो, महोत्तरी बर्दिवास– ९ का ३४ वर्षीय टिपर चालक मुनिन्द्र महतो, मिथिला नगरपालिकाका २५ वर्षीय रोशन यादव र लोडर चालक २४ वर्षीय जितेन्द्रकुमार महतो पक्राउ परेका छन् । क्रसर सञ्चालक विनोद महतो भने फरार छन् । 

एसपी बस्नेत आरोपीसँग बयान लिने काम सुरु भइसकेको बताउँछन् । भन्छन्, “बयानबाट धेरै कुरा खुल्छ ।” टिपर चालक र लोडर चालक महतोले क्रसर सञ्चालकको निर्देशनमा दिलीपलाई किचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक दिलीपलाई बोलाएर लगेका भनिएका रोशनलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार उत्खनन् रोक्न दिलीपले वडाध्यक्ष श्यामबाबु यादवलाई २५ पुस बिहान घर नजिकैको चोकमा भेट्न बोलाएका थिए । तर घरअगाडि बेवारिसे मोटरसाइकल रहेको जानकारी फोनमा आएपछि उनी घर फर्किएका थिए । 

दिलीप र रोशन भने खोलामा गए । खोलामा पुगेपछि दिलीपले आफूमाथि कुटपिट भएको भनी यादवलाई फोन गरेका थिए । खोलामा उत्खनन् भइरहेको खबर पनि पहिलो पटक दिलीपले नै वडाध्यक्ष यादवलाई सुनाएका थिए । टिपरले किचेर दिलीपको हत्या भएपछि पनि खोलामा सबैभन्दा पहिला यादव नै पुगेको प्रहरीको भनाइ छ । 

हत्या भएको स्थानमा घटनास्थलको मुचुल्काबिनै दिलीपको शव उठाएपछि इलाका प्रहरी ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादव विवादमा परेका थिए । हतारमा शव उठाएर घटनास्थललाई खुला छाड्दा उनी विवादमा परेका हुन् । विवादपछि उनलाई जिल्ला तानिएको एसपी बस्नेत बताउँछन् । प्रहरीले मुचुल्का गलत बनाएको भन्दै पीडित परिवारले शव बुझ्न अस्वीकार गरेका थिए । 

डनको दबदबा

बडहरी खोलामा अनुगमन टोली नियमविपरीत उत्खन्न गर्ने स्काभेटर, टिपर र ट्याक्टर नियान्त्रणमा लिँदै । फाइल तस्बिर : सन्तोष सिंह

विपिनले गत वर्ष मात्रै उद्योग सञ्चालन गरे पनि उक्त खोलामा अन्य क्रसर उद्योगका टिपर नदीजन्य पदार्थ ओसार्न आउने गरेका थिए । लोडरले अव्यवस्थित रूपमा खोला खन्दा खेतीयोग्य जमिन र वरपर वन छेउछाउ कटान हुन थालेपछि तीन वर्षअघिदेखि स्थानीयले क्रसर व्यवसायीविरुद्ध आवाज उठाउन थालेको दिलीपका दाजु वीरेन्द्र बताउँछन् । स्थानीयको नेतृत्व दिलीपले नै गर्थे । उनीहरूको मात्रै दुई बिघा जमिन खोलाले कटान गरिसकेको छ ।

डेढ वर्षअघि खोलामा ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरिएको अवस्थामा २५ वटा टिपर र चार लोडर भेटिएका थिए । प्रहरीलाई बुझाए पनि भोलिपल्टै उनीहरू छुटेको वीरेन्द्र गुनासो गर्छन् । क्रसरविरुद्धमा लागेपछि पछिल्लो समय उनलाई समेत धम्की आएको थियो ।

धनुषामा क्रसर डनहरूको कतिसम्म दादागिरी छ भने स्थानीयको खेती लगाएको खेतमा टिपर कुदाएर बाटो बनाइदिएका छन् । बडहरी खोलाको सामग्री आसोर्न आफ्नै खेतको बाटो प्रयोग गरेको र बोटबिरुवा मासिदिएको स्थानीय नरेश महतो गुनासो गर्छन् । भन्छन्, “उनीहरूको विरोध गर्दा मेरो हात नै भाँचिदिए ।” 

खोला खन्न क्रसर व्यवसायी मनोज महतोले खोला छेउमा व्यक्तिगत पोखरी खन्न भनी वडा कार्यालयबाट सिफारिससमेत लिएको उनी बताउँछन् । १७ वैशाख ०७६ मा महतोले पोखरी खन्ने सिफारिस लिएर खोलामा एक्साभेटर प्रयोग गरेर ढुंगा, गिट्टी र बालुवा निकालिरहेको अवस्थामा अनुगमन समिति खोलामा पुगेको थियो । 

खोलाबाट महतोको एउटा एक्साभेटर, २० टिपर र १० ट्याक्टर नियन्त्रणमा लिएको अनुगमनमा पुगेका मिथिला नगरपालिका वडा–९ का वडाध्यक्ष दीपकजंग थापा बताउँछन् । तर समन्वय समितिले सामान्य जरिवाना गरी छाडिदियो ।

पोखरी खन्ने बहानामा खोला दोहन गर्ने क्रसर सञ्चालक धनुषा बटेश्वर गाउँपालिका–१ का महतो हातहतियार मुद्दामा अहिले थुनामा छन् । जिल्लाका चार वटा क्रसरमा मनोजको लगानी रहेको स्रोत बताउँछ । क्रसर सञ्चालकमा नाम कतै नदेखिए पनि हालिमुहाली उनकै चल्ने गरेको छ । क्रसरसम्बन्धी सबै काम मिलाउने जिम्मा उनकै छ ।

गत वैशाखमा उत्खननको गुनासो आएपछि एक्लै बडहरी खोला पुगेका जिल्ला समन्वय समितिका उपसभापति दीपक झालाई मनोजका मान्छेले हातपात नै गरेका थिए । पहिला जिल्लाका खोलाको ठेक्का लगाउने जिम्मेवारी जिल्ला विकास समितिको थियो । अहिले त्यो जिम्मा स्थानीय तहमा सरेको छ ।

खेलाको दोहन गर्न सुरुदेखि नै सक्रिए भएका क्रसर व्यवसायीको अहिले पनि हालिमुहाली रहेको जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनइत बताउँछन् । यो गिरोहले परिवार र आफन्तका नाममा क्रसर चलाउने गरेको छ । धनुषाका खोलामा १ असोज ०७६ बाट ठेक्का लागे पनि उत्खननको अनुमति नपाउँदै औरही, गणेशमान, रातु, वडहरिया, चारनाथ र कमलालगायत नदीबाट क्रसर उद्योगले अवैध उत्खनन् गरिरहेको सभापति बनइतको भनाइ छ । 

औरही खोलामा पनि ठेक्का लागेको तर नगरपालिकाले उत्खनन् अनुमति नदिँदै क्रसर व्यवसायीले रातीको समय ढुंगा, गिट्टी, बालुवा उठाएर त्यहीँबाटै बेच्ने गरेका छन् । अवैध उत्खनन्विरुद्ध नगरपालिकालाई कारबाही गर्न निर्देशन दिए पनि निर्देशन नमान्ने गरेको जिल्ला समन्वय समितिका सभापति बनइतको भनाइ छ । स्थानीय तह र प्रहरीले नियन्त्रणमा चासो नदिँदा उत्खनन् त बढेको छ नै, दोहनबाट धन कमाउन पल्केको समूहको मनोबल पनि बढेको उनी बताउँछन् ।

नगरपालिकामा औरहीलगायत चार वटा खोला छन् । खोलामा उत्खनन् भए पनि अनुगमनमा जाँदा भने कोही नभेटिने गरेको बनइत बताउँछन् । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा हेभी मेसिन प्रयोग गर्न नमिल्ने उल्लेख भए पनि व्यवसायीले मेसिन प्रयोग गरेर उत्खनन् गर्ने गरेको अनुगमनमा भेटिएको सभापति बनइतको भनाइ छ ।

घरेलु तथा साना उद्योग धनुषामा दर्ता भएका ११ क्रसर उद्योगमध्ये अहिले तीन वटा बन्द छन् । चार वटाले मात्रै नवीकरण गराएका छन् । चार वटा बिनादर्ता सञ्चालन भएका छन् । १८ बालुवा प्रशोधन वासिङ उद्योगमध्ये १६ वटा मात्रै दर्ता छन् । दर्ता भएका क्रसर उद्योग पनि मापदण्डविपरीत चलेको सभापति बनइत स्वीकार्छन् । भन्छन्, “अब छिट्टै मापदण्डविपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द गर्ने निर्णय गर्दै छौँ ।” समन्वय समितिका अनुसार धनुषामा ठेक्का लगाउन मिल्ने १२ वटा खोला छन् । ती खोलाबाट वार्षिक ५ करोड रुपैयाँ राजस्व प्राप्त हुने गरेको छ । 

(जनकपुरबाट सन्तोष सिंहको सहयोगमा)

प्रकाशित: पुस २८, २०७६

×