चिनियाँका लामा–लामा औँला

चिनियाँहरूका लागि चपस्टिक औँलाहरूकै विस्तृत स्वरूप हुन् । पुर्खाले रचेको सभ्यतालाई पच्छ्याउँदै चिनियाँहरूले चपस्टिकमा पनि नवीनता भर्दै गए ।

- लक्ष्मी लम्साल

बेइजिङदेखि दक्षिण, हपेई प्रान्तको लाइस्वे जिल्लामा पर्ने नानयु गाउँमा गत अक्टोबर दोस्रो साता एक दर्जनभन्दा बढी नेपाली पत्रकारले चिनियाँ गरिबी निवारण कोषको निम्तो ग्रहण गर्दै थिए । होमस्टे भान्छाघरमा थरीथरीका अर्गानिक परिकार टेबुलमा आइपुगेपछि धेरैको हालत तत्कालै खराब भयो । चिनियाँ खानेकुरामा नुनको मात्रा कम हुने भएकाले नेपाली जिब्रोमा अभ्यस्त हुने कुरै थिएन । कहिल्यै नचलाएको हुनाले चपस्टिकद्वारा हातमुख जोड्नु सम्भव पनि थिएन । दोस्रो दिनदेखि लम्बेतान टेबुलमा लहरै खाना पर्खिरहेका पत्रकारका अघिल्तिर सबैभन्दा पहिला ३–४ वटा प्लेटमा नुन अनि चम्चा आउन थाले ।

रोजगारीका सिलसिलामा सन् २०१२ को मार्चमा बेइजिङ उत्रिएपछि मेरा लागि सबैभन्दा ठूलो चुनौती नै खानपान भयो । हाम्रातिर खोले पकाएजस्तो अलिनो जाउलो पनि चिनियाँले स्वाद मानीमानी खाँदा रहेछन् । उतिखेर मजस्ता शाकाहारीका लागि क्यान्टिनमा लसपस नभएका खानेकुरा पाउनै गाह्रो । झोक चलेपछि भान्छेसँग निकै माथापच्ची नै चल्थ्यो । ‘यस्तो खोले त हाम्रो देशको भैँसीले पनि खाँदैन ।’ मेरो रून्चे अनुहार देखेर उनीहरू मायालु भाव दर्शाउँथे अनि चम्चा र नुन ल्याइदिन्थे ।

चपस्टिकको देशमा पुगेपछि मेरा नेपालस्थित पूर्वसहकर्मीले जिस्क्याए, ‘यताउता हेर्ने अनि घोप्टो परेर कसैले नदेख्ने गरी कुपुकुपु खाने ।’ म कति छिटो चपस्टिक चलाउन सक्ने भएकी थिएँ भन्ने हेक्का नराखेर उनले यस्तो सुझाव दिएको हुनुपर्छ । कलम समातेजस्तै एउटा छेस्को स्थिर रूपमा र अर्को छेस्को चलायमान गर्दै खानेकुरा टिप्नु रोचक कला नै हो । चीन भ्रमण वा कार्यक्रमका सिलसिलामा आउने नेपाली वा अन्य विदेशीको ठूलो समस्या नै चपस्टिक हुन जान्छ । उनीहरू सकिनसकी चपस्टिक समातेर खानेकुरा टिप्न प्रयास गरिरहेका हुन्छन् । उनीहरूको रातोपिरो अनुहार देख्दा यस्तो लाग्छ, मानौँ सानो हथौडाले ठूलै पहाड फोड्नु परेको छ ।

यस्तो असिनपसिन भएको देखेर पनि चिनियाँ साहूजीले हत्तपत्त चम्चा सायदै ल्याइदिनेछ, बरु रमाएर हेर्न सक्छ । चिनियाँ बालबच्चादेखि बूढापाकाले समेत सहजै समातेर खाइरहेको चपस्टिकलाई एकातिर पन्छाएर हातले टिप्नु पनि उति सभ्य नहुने । यस्तो फसाद भोगेका विदेशीका कैयन् भिडियो चिनियाँ सामाजिक सन्जालमा छ्याप्छ्याप्ती देख्न सकिन्छ । चिनियाँहरू आफ्नो संस्कृति विदेशीले पछ्याउँदा खुसी हुन्छन्, त्यसैले त कुनै विदेशीले सहजै चपस्टिकले खाएको देखेमा मुक्तकण्ठले प्रशंसा नगरी रहन सक्दैनन् ।

चपस्टिकको उत्पत्ति चीनबाटै भएकाले यसको प्रभाव क्षेत्र भएका देशहरूमा पनि प्रचलित भयो । चपस्टिकको इतिहासबारे कसैले ५ हजार वर्ष पुरानो सभ्यताको दाबी गर्छन् भने तीन हजार वर्षअघि शाङ राजवंशकालदेखि चपस्टिकको प्रयोग थालिएको भन्ने अर्का थरीको विश्वास छ ।

छिन राजवंशअघि ‘च्या’ भनिने चपस्टिक अपभ्रंश भएर छिन् र हान् राजवंशमा ‘चु’ भयो । तर चुको अर्थ ‘अवरोध’ भएकाले दुर्भाग्यभाव हटाउन छेस्को प्रथालाई चिनियाँले ख्वाइ च् (छिटो) भन्ने नामकरण गरे ।

चिनियाँ हान् (२०२(२२० ई.पू.) राजवंशकालमा कोरियाली प्रायद्वीपमा यसको आविष्कार भयो । ईशापूर्वको ६ सयमा प्रायद्वीपभरि यो फैलियो । थाङ राजवंशकालका चिनियाँ भिक्षु खुङहाई जापान भ्रमणमा गएका बेला चपस्टिकको प्रचार गरे । मिङ (१३६८(१६४४) र छिङ (१६४४(१९११) राजवंशकालमा मलेसिया, सिंगापुर र अन्य दक्षिणपूर्वी एसियाली मुलुकमा चपस्टिक प्रचलित भयो । तर हिमाल नाघेर दक्षिण एसिया छिरेको देखिँदैन । अरू देशमा सहायक उपकरणका रूपमा चपस्टिक प्रचलित भए पनि चीनमा चाहिँ चपस्टिक मात्रै प्रमुख साधन हो ।

इतिहासको कुनै कालखण्डमा चिनियाँहरू हातैले भात खान्थे भन्दा अहिलेको पुस्ता पत्याउँदैन । उनीहरू नांगो हातले च्याप्प समातेर खानेकुरा खाएको देख्दा घिनाउँछन् । एक जना चिनियाँका घरमा पाहुना गएका बेला हातले खाएर नेपाली कला प्रस्तुत गर्दा उनीहरूले मुखामुख गरे । उनीहरूको मुखाकृति बुझेर मैले हात धोएँ र पुन: चपस्टिक समातेँ ।  

विसं १२ वैशाख ०७२ मा नेपालको विनाशकारी भूकम्पपछि चिनियाँ सञ्चार माध्यमहरू नेपालसँग गहिरो रूपमा गाँसिए । नजिकको छिमेकी भए पनि नेपालप्रति चिनियाँहरू भर्खर मात्रै परिचित हुन थालेका थिए । मिडियाहरूले नेपालमा चिनियाँ उद्धारकर्मीले गरेका काम देखाए, चिनियाँ सहयोगमा प्रदान गरिएका पालभित्र बसेका नेपालीको कहानी प्रस्तुत गरे र हातले भात मिचीमिची खाएका दृश्य रोचक मानेर प्रसारण गरे । नत्र अधिकांश चिनियाँले दक्षिण एसियाबारे चासो राख्दा भन्ने गर्थे, ‘भारतीयले त हातले मिचेर भात खान्छन् ।’

चम्चा र काँटा चपस्टिकभन्दा धेरै पछि मात्रै जन्मिएका हुन् । पश्चिमाले स्थिर जीवनशैली अपनाउन थालेपछि बल्ल चम्चा–काँटाको अवधारणा विकसित हुँदै गएको हो । अहिले पनि तपाईं टेबुलमा खान बसेका बेला पश्चिमाहरूले खानेकुरासँगै चम्चा, काँटा र चक्कु उपलब्ध गराउँछन् । चक्कु अशुभ र हिंसाको प्रतीक भन्दै चिनियाँ दार्शनिक कन्फ्युसियस (ई.पू.५५१ (४७९) ले चपस्टिकको प्रयोगलाई नै तर्कसहित प्रचार गर्थे ।

पाँच हजार वर्ष पुरानो सभ्यता भएको चिनियाँ समाजले आफ्नो खानपिन परम्परा आधुनिक युगमा पनि जीवन्त रहेको ठान्छ । सांस्कृतिक कूटनीतिमा अघि बढेको चीनले चपस्टिक परम्परा त्यहीबाट उत्पत्ति भएर विश्वतिर फैलिएको सोच्छ र यसको विस्तारमा अगुवाइ पनि गरिरहेको देखिन्छ । उनीहरूले चपस्टिकका लागि आफ्नै नियम पनि बनाएका छन् । जस्तो,  चपस्टिक दाहिने हातले प्रयोग गर्नुपर्छ तर देब्रे हातले प्रयोग गर्नु शालीन मानिँदैन ।

चपस्टिकले भाँडाकुँडा बजाउनु अपशकुन र दरिद्रताको संकेत हो । किनकि विगतमा चिनियाँ भिखारीले कचौरामा चपस्टिकले ठोकेर अरूको ध्यानाकर्षण गर्थे । भातमा चपस्टिक ठाडो पारेर गाड्नु हुँदैन । आफ्नो हातले आफूभन्दा ठूला वा सानाका भागमा खानेकुरा हालिदिनु राम्रो मानिन्छ । तर चपस्टिकमा लागेको खानेकुरा चाट्नु वा मुखभित्र खेलाउनु अशोभनीय हो । साथीभाइमाझ खाइरहेका बेला अचानक चपस्टिक खस्यो भने तुरुन्तै उठाउनुपर्छ र माफी माग्नुपर्छ ।

चीनमा आएका पाहुनाले चिनियाँ संस्कृति बुझेका हुँदैनन् । त्यसैले सामान्यतया उनीहरूका कमजोरी चिनियाँले पचाउन थालेका छन् । तर कसैका घरमा पाहुना लाग्न जाँदा वा औपचारिक भोजमा चपस्टिक त मानिस–मानिसबीचको प्रतिष्ठाको विषय पनि बन्न जान्छ ।

हलुका र सुविधाजनक भएकाले यसको प्रचलन निकै द्रुत गतिमा फैलियो । चिनियाँहरू आफ्नो संस्कृति विस्तार हुँदै जाओस् भन्ने सोचेर चपस्टिकका अनेकन किस्सा तयार पारेका छन् । कुनै पनि विदेशी चलाख छ कि मूर्ख छ भन्ने मापन गर्न कतिपयले चपस्टिकको प्रयोगलाई लिने गर्छन् । त्यसै आधारमा चिनियाँहरूले रसियन राष्ट्रपति भ्लादिमिर पुटिनलाई चलाख र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई त्यसको उल्टो ठान्छन् ।

चपस्टिक चिनियाँको भोजन संस्कृतिमा छुट्याउनै नसकिने अंग बनेको छ । चपस्टिकका धेरै–धेरै स्वरूप देखापरेका छन् । सांघाईमा त चपस्टिकको संग्रहालय नै खुलेको छ, जहाँ चीन, कोरिया, जापान, थाइल्यान्डका गरी १२ सय प्रकारका चपस्टिक संकलन गरिएको छ । सबैभन्दा पुरानो थाङ राजवंशकालीन चपस्टिक पनि सुरक्षित छ । कलात्मक र आकर्षक चपस्टिक विदेशतिर चिनियाँ चिनोका रूपमा पनि जाने गर्छन् ।

चपस्टिकबिना पनि खानेकुरा खान त सकिन्छ । तर पुर्खाले रचेको सभ्यतालाई पच्छ्याउँदै चिनियाँहरूले नवीनता भर्दै गए । यो विश्वास गरिन्छ कि चिनियाँले चपस्टिकलाई औँलाहरूको विस्तृत स्वरूपका ढंगले लिन्छन् । ती लामा–लामा औँलाको सहायताले अत्यधिक चिसो वा तातोबाट हातलाई जोगाउन सकिन्छ । त्यसैले पनि चिनियाँ चपस्टिक जापानी वा कोरियनभन्दा लामा र मोटा हुन्छन् ।

सन् २०१३ तिर वार्षिक बिदामा नेपाल फर्किंदा साथीभाइका लागि भनेर कलात्मक महँगा चपस्टिक किनेँ । एउटा कार्यालयका साथीहरूसँग बसेर चियागफ गरियो तर साथीका लागि भनेर किनेको सुन्दर चपस्टिक त्यतिखेर झोलामा परेनछ । अर्को दिन भेटेर ‘सरप्राइज’ दिने हुटहुटी चलिरहेका बेला ती मित्रले अचानक फोन गरे । उनले चीन फर्किने तिथिमितिबारे चासो राखे । चीनबाट उनका लागि ल्याइदिएको अमूल्य उपहार ‘चपस्टिक’ बारे अहिल्यै फोनमा के कुरा गर्नू बरु एक दिन भेटेरै दिने सोच बनाउँदै थिएँ । उल्टै उनले फोन गर्नुको कारण खोलिहाले, ‘एक जोडा चपस्टिक छ । यहाँ के काम ? तिमी चीन बस्ने मान्छे, फर्किनुअघि भेटेरै दिन पाए हुन्थ्यो ।’

(लेखक चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई), बेइजिङमा कार्यरत छन् ।)

प्रकाशित: पुस २८, २०७६

×