रानीपोखरीदेखि सानेपासम्म फैलिएको टुँडिखेल कसरी खुम्चियो
निसासिएको सहरमा टुँडिखेल
दसैँको अष्टमीको दिन गणपतिलाल श्रेष्ठ र सञ्जय अधिकारी विभिन्न शक्तिपीठ घुम्न निस्के, ०७६ मा । दुईमाजुको दर्शन गरी भद्रकाली दर्शनका लागि उनीहरू वीर अस्पतालको बाटो भएर खुलामञ्च पसे । खुलामञ्चको छेउमा रहेको दुईमाजुको धार्मिक हिसाबले ठूलो महत्त्व छ । तलेजु भवानीलाई सिम्रौनगढबाट ल्याउँदा खट पहिले भक्तपुर हुँदै काठमाडौँ ल्याइयो । जहाँ–जहाँ खट राखियो, त्यहाँ–त्यहाँ शक्तिपीठ बनाइयो । तलेजुको पूजा दुईमाजुको पूजाबिना हुँदैन ।
तर अधिकारी र श्रेष्ठ खुलामञ्च पुग्दा स्थिति फरक थियो । ट्राफिक प्रहरीले खुलामञ्च पिच गर्ने भनेर सूचना सार्वजनिक गरेको थियो । तर त्यहाँ कालो पिचको सट्टा ढलान मात्र गरिएको थियो । अधिकारी भन्छन्, “कालो पिच भनेको केही समयका लागि हो । तर ढलान गरेपछि त्यो सधैँका लागि हुन्छ ।”
ढलानको विरोध गरेपछि ट्राफिक प्रहरी र अभियन्ताबीच विवाद भयो । ट्राफिक प्रहरीलाई उनीहरूसँग केरकार गर्ने अधिकार नभएको भनेर अधिवक्तासमेत रहेका अधिकारीले प्रश्न गरेपछि दंगा प्रहरी बोलाइयो । यसपछि उनीहरूले पनि आफ्ना साथीभाइलाई फोन गरी खुलामञ्च बोलाए । केही बेरमै सम्पदा संरक्षणका अभियन्ता, संघीय सांसद भीमसेनदास प्रधान र उपमेयर हरिप्रभा खड्गी घटनास्थल पुगे ।
मेयर विद्यासुन्दर शाक्य भने डेंगु संक्रमित भएकाले अस्पतालमा थिए । महानगरले पनि ढलान गर्न नभनेको दाबी गरे । निर्माण पक्षले ढलान नरोक्ने बताएपछि अभियन्ताहरू ढलानमाथि उफ्रिए । त्यसपछि प्रहरीले ठेलठाल गर्न खोज्यो । अधिकारी सुनाउँछन्, “हामी ढलानमाथि थचक्क बस्यौँ । त्यसपछि गाडी पनि त्यसैमाथि गुड्न थाल्यो । अन्तत: ढलान रोकियो । प्रहरीले त्यहाँ बनाइरहेको संरचना हटायो ।”
अधिकारीका अनुसार दशमीको दिन राती पुन: ढलान भयो । चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्न लागेकाले काठमाडौँमा धुलो नउडोस् र सफाइ होस् भन्नकै लागि ढलान गरेको महानगरले बतायो ।
इतिहासविद्का अनुसार कुनै बेला टुँडिखेल रानीपोखरीदेखि सानेपासम्म फैलिएको २ माइलको थियो । राणाकालीन समयमै पनि टुँडिखेल एसियाकै परेड खेल्ने चउरका रूपमा चर्चित थियो । हालको टुँडिखेलको स्वरूप रानीपोखरीदेखि रंगशालासम्मको हो । यति ठूलो टुँडिखेल अतिक्रमित हुँदै अहिलेको स्वरूपमा आएको छ । टुँडिखेल जोगाउन के गर्ने ? यही सोचले अधिकारीलगायत अभियन्ताले सोचे र अन्तत: अकुपाई टुँडिखेलको योजना अघि सर्यो ।
विश्व स्वतन्त्रता दिवस (नोभेम्बर ९) को अवसर पारेर पहिलो कार्यक्रम भयो, मानवसाङ्लोद्वारा टुँडिखेल घेराउ । वालस्ट्रिट अकुपाईकै अवधारणालाई केही हदसम्म सोचेर अकुपाई टुँडिखेल सुरु गरेको अधिकारी बताउँछन् । तर उनको विचार अकुपाई टुँडिखेल एउटा अभियान हो, जसलाई नेपालीकरण गरी मुक्त टुँडिखेल भनिएको छ । यही अभियानबाट अभिप्रेरित भएर इलाम, पाल्पादेखि साथीहरूले फोन गरेर त्यहाँका टुँडिखेल जोगाउन अभियान थालेको उनी सुनाउँछन् ।
नेपालको संविधानको धारा ४८ (घ) को नागरिकको कर्तव्यअन्तर्गत ‘सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु’ उल्लेख छ । यस्तै, धारा ३२ मा भाषा र संस्कृतिको अधिकार छ । यसअन्तर्गत नागरिकले मातृभाषा र संस्कृति बोल्न र मान्न पाउने अधिकार छ । यही अधिकारको उपयोग गर्दै अहिले अभियन्ताहरू प्रदर्शन गरिरहेका छन् ।
भेला हुने ठाउँ
हरेक क्षेत्रका मानिस भेला हुने ठाउँ थियो, टुँडिखेल । र, अहिलेसम्म यो परम्परा कायमै छ । चाहे विरोधसभा होस् या सांस्कृतिक कार्यक्रम या कन्सर्ट । सबै टुँडिखेल नै आउँछन् । घाम ताप्न, बदाम खान, फुर्सदमा बात मार्न, फुटबल खेल्न मात्र होइन, सेनाले परेड खेल्ने ठाउँ पनि हो, टुँडिखेल । सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार लिच्छविकालदेखि अहिलेसम्म टुँडिखेल राजनीतिक र सांस्कृतिक चहलपहल गर्ने ठाउँको रूपमा चर्चित छ ।
वातावरणविद्का अनुसार जहाँ सबैभन्दा बढी प्रदूषण हुन्छ, त्यहाँ प्रदूषणको मात्रा घटाउन खुला ठाउँ महत्त्वपूर्ण हुन्छ । रत्नपार्क काठमाडौँको सबैभन्दा प्रदूषित स्थानमा पर्ने एक तथ्यांकमा देखिएको छ । अहिले केही ठाउँ खुला हुँदा प्रदूषण यसरी बढेको छ भने खुला ठाउँ नै नहुँदा अवस्था के होला ? यसको पनि उत्तर बनेको छ, अकुपाई टुँडिखेल ।
टुँडिखेलमा एउटा बूढो रूख बीचमा उभिएको छ । त्यो रूख गुरुमापाको हो । गुरुमापा खासमा राक्षस हो । होलीको दिनमा त्यहाँ पूजाआजा गरिन्छ । नेवा:. संस्कृतिअनुसार पाँहाचरेको बेला गुरुमापालाई राती भोज लगेर खुवाइन्छ । ०१८ मा राजा महेन्द्रलाई कालो झन्डा देखाएपछि सार्वजनिक प्रतिरोध–स्थलको रूपमा उक्त रूख चिनिन थाल्यो । पञ्चायतमा त्यो रूख काटियो । दासप्रथा, सतीप्रथा उन्मूलन गर्न होस् वा नब्बे सालको भूकम्पमा राहत बाँड्न, सोही रूखबाट घोषणा गरिएको इतिहासविद् बताउँछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीका पति मदन भण्डारीले त्यही खुलामञ्चबाट कैयौँ पटक भाषण गरे, तत्कालीन सरकारविरुद्ध आक्रोश पोखे । अहिलेका प्रधानमन्त्री, मन्त्रीहरू, नेताहरू र स्थानीय सरकार टुँडिखेल बचाउन सक्रिय हुनुपर्ने कि नपर्ने ? अभियन्ताहरूको प्रश्न छ । जनप्रतिनिधिलाई दायित्वबोध गराउन रूख रोप्ने, सम्पदाका साथीहरू, खेलाडीहरू, साहित्यकार र कलाकारसमेत खुलामञ्चमा पेन्टिङ गर्न पुगेका थिए ।
विगतको नजिर
१८ कात्तिक ०२३ सालमा ब्रिगेडियर जनरल चन्द्रबहादुर थापाले जुद्धसडकमा रहेको भूगोलपार्कलाई नगर पञ्चायतले मिच्न खोज्दा मुद्दा हालेर सो पार्क बचाएका थिए । यस्तै, लोकविक्रम थापाले ०५३ मा साविक कलंकी गाउँ विकास समितिअन्तर्गत कित्ता नं २६४ मा २० रोपनी ४ आना २ पैसा रहेको सार्वजनिक गौचरन सरकारले मिचेकामा मुद्दा दायर गरेका थिए । गोरखापत्र, मालपोत कार्यालय र मन्दिर बनाउन सरकारले ३ भागमा सो जग्गा विभक्त गरी त्यहाँका रूख काटी वातावरणीय क्षति गरेको भन्दै परेको मुद्दामाथि १७ पुस ०५८ मा सुनुवाइ हुँदा त्यहाँ सम्पूर्ण काम–कारबाही बदर हुने निर्णय भयो । यसमा नेपाल सरकार ट्रस्टी मात्र हो, सर्वेसर्वा होइन भन्ने उल्लेख थियो ।
सहरी योजनाकार पद्मसुन्दर जोशीका अनुसार अकुपाई टुँडिखेल अभियान ढिलो सुरु भएको छ । “यो पहिल्यै सुरु हुनुपथ्र्यो । औपचारिक पक्षबाट यसको अतिक्रमण हुनु दु:खदायी छ । यस्तो अभियानमा सबै नागरिक सहभागी नहुनु अर्को साझा दुखान्त हो,” उनी भन्छन्, “मैले यति नगर्दैमा के बिग्रिन्छ र भन्ने सोचाइ गलत हो । टुँडिखेल सबैको हो र यसमा सबैको साथ आवश्यक छ ।”
जोशीका अनुसार अतिक्रमणले टुँडिखेल साँघुरिँदै गएको छ । लगनखेल, जाउलाखेल, सानो गौचरनजस्ता सार्वजनिक ठाउँ अतिक्रमित हुँदै आएका छन् । नेवार संस्कृतिमा ख्य: भनेको खेल हो । यस्ता ख्य:मा देवाली गरिन्छ । प्राकृतिक आधार क्षेत्रमा देवाली गरिन्छ । तसर्थ पानी, चउरमा देवाली गरिन्छ । नेवारी समुदायको देवाली गर्ने ठाउँमा ढुंगा हुन्छ, देउता हुँदैन । बरु ढुंगालाई नै मिलाएर राखिएको हुन्छ । जोशी भन्छन्, “यसको अर्थ देवाली गर्ने क्षेत्र प्राकृतिक रूपमा संरक्षण गर्नुपर्छ । मन्दिर मात्र होइन, अन्य केही निर्माण गर्नु हुँदैन ।” यी चराचुरुंगी र मानिसले घना बस्तीबाट आउँदा स्वस्थ श्वास फेर्ने प्राकृतिक ठाउँ हुन् ।
जोशीका अनुसार काठमाडौँ उपत्यकाको हकमा यस्ता ‘खेल’ अग्ला ठाउँमा छन् । खासमा तिनको काम पानी सञ्चय हो । अग्लो ठाउँको पानी सोसिएर तल्लो ठाउँमा पुग्छ, चाहे भूमिगत होस्, चाहे माथिबाट । भन्छन्, “टुँडिखेल अन्य क्षेत्रभन्दा माथि छ, हल्का भिरालो छ । अनि, सँगै रानीपोखरी छ, जहाँ पानी सञ्चय गरिन्छ । वरिपरि रहेको सुन्धारा, भोटाहिटीलगायतका ढुंगेधारा हेर्दा टुँडिखेल रिचार्ज क्षेत्र रहेको आँखा चिम्लेर भन्न सकिन्छ ।” टुँडिखेलमा २/४ फिट खनेर हेर्दा बालुवा भेटिन्छ, जसको अर्थ यो पानी रिचार्जकै लागि परापूर्वकालदेखि बनेको हो । त्यसको मुनि लेसिलो माटोले पानी जम्मा भएर बस्छ ।
छैन भूउपयोग योजना
सरकारसँग अहिलेसम्म भूउपयोग योजना छैन । पञ्चायतकालमै काठमाडौँमा घना बस्ती भयो भनेर भौतिक पूर्वाधार योजनाले रिपोर्टमा लेखेको विज्ञहरू बताउँछन् । जोशी भन्छन्, “भूउपयोग योजना हामीसँग छैन । कुनचाहिँ क्षेत्रमा मान्छे बस्ने, कुन क्षेत्रमा उद्योग सञ्चालन गर्ने, कुन र कति क्षेत्र खेतीका लागि राख्ने र कुन क्षेत्र खुला छाड्ने भन्ने कुनै योजना छैन ।” यसका लागि भूउपयोग नक्सा हुनुपर्छ । विदेशमा घर कहाँ बनाउने, कत्रो बनाउने, झ्याल कत्रो बनाउने र रङ कस्तो लगाउने भनेर निश्चित मापदण्ड तोकिने उनको भनाइ छ ।
जोशीका अनुसार पञ्चायतकालमा प्रकाशचन्द्र लोहनीले भूउपयोग योजना बनाएर डोल क्षेत्र बन्न लाग्दा विवाद भएपछि रोकियो । त्यसपछि कसैले त्यस्तो आँट गरेका छैनन् । अहिले भूउपयोग नक्सा भनेर बनाइन्छ तर नक्सा भनेको जे छ, त्यही बनाउने हो ।
पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली टुँडिखेल बनाउन गुरुयोजना बनेको सुनाउँछन् । यसका लागि बृहत् रानीपोखरी योजना बनाई अगाडि बढ्ने उनको भनाइ छ । गुरुयोजनामा रानीपोखरीअन्तर्गत रहेको त्रिचन्द्र क्याम्पसलाई रानीपोखरीभित्रै मिसाएर, शान्तिवाटिका, रत्नपार्क र खुलामञ्चसहितको खुला स्थानको पार्क बनाउने योजना छ । सोहीअनुरूप रानीपोखरी निर्माण र त्यसभित्र रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भइरहेको छ । भन्छन्, “महानगरको सहरी योजना आयोगसँग मिली बृहत्तर रानीपोखरी बनाउने योजना छ, जहाँ भूमिगत पार्किङ व्यवस्थादेखि पार्क र पोखरी निर्माण हुनेछ ।”
काठमाडौँलाई व्यवस्थित सहर बनाउने जिम्मेवारी बोकेको छ, काठमाडौँ उपत्यका विकास प्राधिकरणले । तर स्थानीय सरकारले निरन्तर भाँजो हालेकाले कुनै काम हुन नसकेको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीको दाबी छ । महानगरले भूकम्पलाई समेत ख्यालमा नराखी जथाभावी निर्माण गरेको र नियम बिगारेर भवन निर्माण विधि निकालेको उनको आरोप छ । भन्छन्, “आफू पदमा हुँदा सही र बाहिर निक्लेपछि सोही काम गलत हो भन्ने परम्पराले गाँजेको छ ।” तर महानगरलाई आरोप लगाउने काठमाडौँ उपत्यकाप्राधिकरणसँग पनि भूउपयोग योजना छैन ।
प्रवक्ता ईश्वरमान डंगोल भने खुलामञ्च कसैले कब्जा नगरेको जिकिर गर्छन् । भन्छन्, “महानगर पदाधिकारीको सर्वसहमतिमै वीर अस्पताल र दरबार हाइस्कुलको भवन निर्माण सामग्री राखेको हो । काम पूरा भएपछि हटाइन्छ ।” तर खुलामञ्चबाट ती सामान कहिले हट्ने भन्ने जवाफ उनीसँग छैन । भन्छन्, “कार्यपालिका बैठकले निर्णय गरेर हटाउने हो । उसको बैठक कहिले हुन्छ, मलाई थाहा छैन ।”
दुई साता पहिले खुलामञ्चमा रङ लगाउँदा पनि प्रहरी हस्तक्षेप गर्न आएको थियो । “सार्वजनिक सम्पत्ति भन्दैमा जसले, जे पनि गर्न पाउँदैन,” डंगोल भन्छन्, “महानगरसँग अनुमति लिनु पर्दैन ?” यस्तै, ८० प्रतिशत घर नगर विकासको मापदण्ड मिचेर बनाइएको उनको कथन छ । डंगोल थप्छन्, “जनताको इच्छाबमोजिम घर बनाउन मापदण्ड फेरिएको हो । तर मापदण्ड मिचेर बनिसकेका घरलाई भत्काउने जिम्मा नगर विकासको हो, हाम्रो होइन ।” समृद्ध सहरको परिचायक स्वच्छ हावापानी हो तर जथाभावी बनेका घर र खुला ठाउँको बढ्दो अतिक्रमणले नागरिक चिहानभट्टीमा जस्तो निसासिएर बाँच्ने कहिलेसम्म ?
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...