अलबिदा चाचाजी !
रिपोर्टिङ, डिजाइन, प्रुफ, सम्पादन र वितरणसम्म गर्न भ्याएका चाचाजी ‘वान म्यान जर्नलिज्म’ का सफल अभ्यासकर्ता थिए ।
पुरानो पुस्ताका पत्रकार ‘चाचाजी’ अर्थात् पन्नालाल गुप्त अब रहेनन् । मुलुकको केन्द्रीय मुकामभन्दा टाढा रहेर स्थानीय पत्रकारितामा लामो योगदान गरेका चाचाजी धेरैका प्रिय पत्रकार थिए ।
९२ वर्षको उमेरमा १५ माघ साँझ नेपालगन्ज मेडिकल कलेजमा उनको निधन भयो । एउटा सरल, सादगी र सक्रिय जीवनको आर्दश भने उनलाई चिन्नेहरूको स्मृतिमा रहिरहने छ ।
चाचाजीको शुक्रबार बिहान १० बजे राप्ती नदी सिधनवाघाटमा अन्तिम संस्कार गरिनेछ । उनका श्रीमती, चार छोरा र तीन छोरी छन् ।
नेपालगन्जको पत्रकारिताको एउटा विम्ब थिए, चाचाजी । सेतै फुलेका मसिना दाह्री, ढाका टोपी र साइकल उनको पहिचान थियो । हेर्नुस्, सन्तोष रेग्मीले उपलब्ध गराएको तस्बिरमा आफ्नो साइकलसहित चाचाजी (तल) ।
जीवनभर लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा लडे । गान्धीवादी अहिंसात्मक विचारमा दृढ रहे । पत्रकारिताका माध्यमबाट झण्डै ५ दशक निरन्तर सेवा गरे । जीवनको उत्तरार्धसम्मै सम्पादकका रुपमा साप्ताहिक 'किरण' लाई निरन्तरता दिइरहे ।
उनको पत्रकारिता पञ्चायतकालीन राजनीतिक आन्दोलनबाटै सुरु भएको थियो । प्रहरीले खोजी गरेपछि उनी भारत लागे । त्यहाँ उनी काँग्रेस नेताहरूको सम्पर्कमा पुगे र पत्रकारिताबाट आन्दोलनलाई सघाउन थाले । स्थिति सहज भएपछि नेपालगन्ज फर्किएर छोरा विजय गुप्तले थालेको पत्रिका सम्पादन गर्न थाले । स्थिति यस्तो आयो कि बाबुछोराले भूमिका साटेझैँ भयो । छोरा विजय राजनीतिमा लागे, चाचाजी पत्रकारितामा । विजय नेपालगन्ज नगरका मेयर भए भने चाचाजी प्रेस स्वतन्त्रता सेनानी ।
साप्ताहिक 'किरण' का अलराउन्डर रिपोर्टर थिए, उनी । प्रकाशक र प्रधान सम्पादक पनि उनी आफैँ थिए । पत्रिका छापिने अघिल्लो साँझ अबेरसम्म बसेर डिजाइन र प्रुफ समेत आफैँ हेर्थे । पत्रिका छापिएपछि नेपालगन्जमा वितरकले बाँड्थे । बाहिर पठाउन साइकलमा च्यापेर उनी आफैँ हुलाक पुग्थे । खासमा चाचाजी ‘वान म्यान जर्नलिज्म’ का सफल अभ्यासकर्ता थिए ।
चाचाजीले पत्रकारितालाई कहिल्यै व्यवसाय स्वीकारेनन् । न त कहिल्यै विज्ञापन माग्न कतै गए । पत्रकारितालाई मिसन ठाने । समाजसेवा र पत्रकारको सामाजिक उत्तरदायित्व माने । उनी पत्रकारितालाई लोकतन्त्रको साधन मान्दथे । पत्रकारिता आम नागरिकको जीवनपद्दति बन्नुपर्छ भन्थे । विश्वसनिय पत्रकारिताको पक्षपाति थिए, चाचाजी ।
लोकतान्त्रिक आन्दोलनमा आफैँ संलग्न भएकाले हुनुपर्छ, लोकतन्त्र संस्थागत हुन नसकेकोमा उनी चिन्तित थिए । पत्रकार सम्मेलनमा उनलाई सामना गर्न नेताहरूलाई मुस्किल पर्थ्यो । पहिले उनी काँग्रेसबाट आशावादी थिए । मधेस आन्दोलनपछि उनको भरोसा मधेसकेन्द्रित दल र नेताहरूतर्फ ढल्कियो । तर पछिल्लो समय सत्तामुखी प्रवृत्ति देखिएपछि उनीहरूसँग पनि चाचाजीको मोहभंग भयो । थुप्रैपल्ट उनले पत्रकार सम्मेलनमा नेताहरूलाई नाजवाफ हुनेगरी र्याखर्याख्ती पारेका छन् ।
जतिसुकै भिन्न विचार भए पनि सम्मान गर्नुपर्छ भन्ने चाचाजीको आदर्श थियो । पत्रकार कृष्णसेन इच्छुक पहिलोपल्ट पक्राउ परेको बेला उनी बाँके पत्रकार महासंघका अध्यक्ष थिए । महासंघ केन्द्रले इच्छुकको रिहाइको माग गर्दै देशभर लालटिन जुलुस निकाल्ने निर्णय गर्यो । पत्रकारको आवरणमा हिंसालाई प्रोत्साहन गर्नुहुन्न भन्नेमा चाचाजी प्रष्ट धारणा राख्दथे । त्यतिबेला उनले भनेका थिए, ‘इच्छुकको पत्रकारिता र महासंघ केन्द्रको निर्णयप्रति मेरो विमति छ । तर, भिन्न विचारको सम्मानका लागि लालटिन जुलुसको नेतृत्व गर्न म तयार छु ।’
पत्रकार सम्मेलनहरूमा, कार्यक्रमहरूमा उनीसँग रिपोर्टिङ गर्ने पत्रकार उनका नाति पुस्ताका थिए । तर, कहिल्यै कसैलाई कनिष्ठ भएको महसुस हुन दिएनन् । उनी सबैलाई माया गर्थे, हामी सम्मान गर्थ्यौँ । नेपालगन्जका पत्रकारले केही वर्षदेखि चाचाजीको सम्मानमा उनको जन्मोत्सव मनाउन थालेका थिए । गत वर्ष रथारोहणसमेत गरियो ।
सायदै त्यस्ता कुनै त्यस्ता कार्यक्रम होलान्, निम्ता आएर पनि चाचाजी नपुगेका होउन् । त्यसैले त रिपोर्टिङ होस् वा प्रेस स्वतन्त्रताको आन्दोलन, हामी सँगसँगै रह्यौँ ।
नेपाली पत्रकारितालाई त्यो अभिभावकत्व, साथ र सक्रियताको अभाव सधैँ खड्किरहने छ ।
अलबिदा चाचाजी !
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...