वामपन्थी धारका अस्ताएका खम्बा
पाँच वर्षयता घरमै अशक्त जीवन बिताइरहेकी थिइन्, नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनकी अगुवा सहाना प्रधान ।
पाँच वर्षयता घरमै अशक्त जीवन बिताइरहेकी थिइन्, नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनकी अगुवा सहाना प्रधान । छातीको संक्रमण र मस्तिष्कघातपछि पछिल्ला चार महिना अस्पतालमै रहेकी उनको ७ असोजमा निधन भयो । ८७ वषर्ीया सहानाको निधनसँगै प्रजातान्त्रिक आन्दोलनमा लागेको पहिलो पुस्ताको महिला पंक्ति पातलिएको छ ।
सहानाको बाल्यकाल र राजनीतिक यात्रा अरूको भन्दा केही भिन्न छ । काठमाडौँको असनमा जन्मेकी उनी बाल्यकालमा बुबा, हजुरबुबा र हजुरआमासँग बर्मा पुगेकी थिइन् । व्यापार र बन्दोबस्ती राम्रै चलेको थियो । सहानाहरू किशोरीवयमा रहेका बेला दोस्रो विश्वयुद्ध सुरु भयो । बर्मामा बस्न सक्ने स्थिति नरहेपछि उनीहरू दुई महिना हिँडेर भारतको बाटो हुँदै नेपाल फर्किए । यसै कारण पनि सहानाको मनमस्तिष्कमा विद्रोहको भावना फैलिएको थियो । साथमा थिइन्, दिदी साधना -पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीकी पत्नी) । जन्मान्तर पनि दुई वर्षको मात्रै भएकाले दिदीबहिनी साथीजस्ता थिए । बर्मामा स्कुल पढिरहेका उनीहरू नेपाल आएपछि पढ्न पाउने अवस्था थिएन । किनभने, राणाहरूले महिलालाई स्कुल जानबाटै प्रतिबन्ध लगाएका थिए ।
पढ्नकै लागि पनि उनीहरूले सरकारलाई दबाब दिनु जरुरी थियो । त्यही भएर उनीहरू विद्रोह गर्ने टुंगोमा पुगे । ००४ सालमा राणा प्रधानमन्त्री पद्मशमशेरको विरोध गरेको आरोपमा सहाना १५ दिन सैनिक हिरासतमा बसिन् । उनलाई दिदी साधनासँगै अरू केही महिलाले पनि साथ दिएका थिए । उनीहरूको अभियानले मूर्त रूप लियो । दरबार हाई स्कुलमा बिहानी कक्षामा महिलाले पनि पढ्न पाउने भए । ००८ सालको नगरपालिका चुनावमा महिलालाई मतबाट वञ्चित गरिने सूचना चुहियो । सहानालगायतका महिलाले मोहनशमशेरको दैलोमा पुगेर हक मागे । राणा प्रधानमन्त्री महिलाका अघि झुके । त्यस बेलाको स्मरण गर्दै सहानाले नेपालसँग भनेकी थिइन्, 'महिलाले भोट दिन पाउनुपर्ने र पढ्न पाउनुपर्ने माग सुनेर सुरुमा राणाहरू तिलमिलाएका थिए । तर, हाम्रो अडानका अगाडि तिनको केही चलेन । हाम्रो जित भयो ।'
०१० सालमा नेपाली कम्युनिस्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठसँग सहानाको बिहे भयो । यसपछि पनि उनको राजनीतिक संलग्नता र सक्रियता रोकिएन । तर, भूमिका कमजस्तो भयो । छोराछोरी हुर्काउने र जीवन धान्ने मेलो पनि आफैँले गर्नुपर्ने हुनाले उनले लामो समय पद्मकन्या कलेजमा पढाइन् । तर, विद्यार्थीलाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा उनलाई सरकारले कामबाट मुक्त गर्यो । ०३५ सालमा पुष्पलाल बितेपछि सहाना नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष भइन् । उनी ०३६ सालमा पनि केही समय थुनामा परिन्, पञ्चायतको विरोध गरेकाले ।
मूलतः ०४६ सालको जनआन्दोलनमा उनले खेलेको भूमिकाबारे पछिल्लो पुस्ता पनि जानकार छ । जनआन्दोलनका लागि एकातिर नेपाली कांग्रेस थियो भने अर्कातिर आठवटा वाम घटक मिलेर बनेको संयुक्त मोर्चाकी अध्यक्ष सहाना थिइन् । २६ चैत ०४६ मा तत्कालीन राजा वीरेन्द्रसँग भएको वार्तामा वाम घटकका तर्फबाट उनै संलग्न थिइन् । जनआन्दोलनपछि बनेको अन्तरिम मन्त्रिपरिषद्मा वरीयताक्रममा सहाना दोस्रो स्थानमा थिइन् । त्यस बेला उनले उद्योग तथा वाणिज्य मन्त्रालय सम्हालिन् ।
०४८ सालको आमनिर्वाचनमा सहाना काठमाडौँ-४ बाट भारी मतले विजयी भइन् । ०५१ सालको मध्यावधिमा पनि सोही क्षेत्रबाट निर्वाचित भइन् । एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष पनि भइन् सहाना ।
एमाले उपाध्यक्ष विद्या भण्डारी सहानालाई महिला आन्दोलनकी अग्रणी मान्छिन् । महिला आन्दोलन सहानाहरूले खनेको बाटो हिँडेर यहाँसम्म आइपुगेको भण्डारीको कथन छ । भन्छिन्, "महिलालाई सचेत बनाउँदै तत्कालीन समाजका विरुद्ध बोल्न सक्नु र मूलधारको राजनीतिमा पुरुष सँगसँगै योगदान दिनु चानचुने कुरो होइन । यी दुवैमा सहाना दिदी सफल हुनुभयो ।"
०५४ सालमा एमाले टुक्रिएपछि नेकपा मालेकी अध्यक्ष भइन्, सहाना । तर, फुटेको पार्टी राम्रोसँग अघि बढेन । सहानालगायत वामदेव गौतमहरू माउ पार्टी एमालेमै फर्किए । पार्टी जुटाउनमा सहानाले नै मुख्य भूमिका खेलेको एमाले अध्यक्ष केपी ओली बताउँछन् । भन्छन्, "आफू अध्यक्ष भएको पार्टी नजुटोस् भन्ने उहाँको आकांक्षा भएको भए पार्टी एकीकरण सम्भव हुने थिएन ।"
०६२/६३ सालको जनआन्दोलनसँगै पुनःगठित मन्त्रिपरिषद्मा सहाना उपप्रधान तथा परराष्ट्रमन्त्री बनिन् । त्यहाँ पनि उनको कार्यसम्पादनको आलोचना भएन । ०६५ सालदेखि उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो । एमालेको बुटवलमा सम्पन्न आठौँ महाधिवे शनपछि सल्लाहकारको भूमिकामा रहिन् । उनको सक्रिय राजनीति लगभग समाप्त भइसकेको थियो । ओली सम्झन्छन्, "उहाँ असल अभिभावक, लोकतान्त्रिक आन्दोलनकी अग्रणी योद्धा र नेपाली महिलाकी प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो ।"
इमानदार छवि
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी उपाध्यक्ष पोस्टबहादुर बोगटीको निधन हुँदा भनेका थिए, 'क्यान्सरका कारण केही महिनाअघि बितेकी छोरीको बिदाइ गरेभन्दा गाह्रो भइरहेको छ ।' नुवाकोटको तुप्चे-२, भित्रिनीटारमा निम्नमध्यम वर्गीय परिवारमा जन्मेका बोगटी इमानदार राजनीतिज्ञ थिए । बाल्यकालदेखि नै गरिब-दुःखीको पक्षमा लाग्ने स्वभावले उनलाई कम्युनिस्ट बनाएको थियो । यिनै बोगटी ३१ भदौमा हृदय र मस्तिष्कघातका कारण ६१ वर्षमै संसारबाट बिदा भए ।
सुरुमा उनी गाउँकै सरकारी भेडा फार्ममा काम गर्थे । केही समय माछापालनमा लागे । घरेलु कार्यालयमा सहायक पनि भए । त्यस बेला ८ कक्षा पढ्नेले सामान्य तालिम लिएपछि शिक्षक हुन पाउँथे । यो तालिम लिएसँगै बोगटी शिक्षक भएका थिए । भेडा फामर् मा काम गर्दा होस् या माछापालनमा लाग्दा, यिनी जनतालाई राजनीतिक रूपमा सुसूचित गर्ने र कम्युनिस्ट पार्टीमा आकषिर्त गर्ने प्रयासमा लागिरहन्थे ।
०४० सालमा तत्कालीन पञ्चायती सरकारले यिनलाई झूटा मुद्दा लगाएर एक महिना बन्दी बनायो । फेरि ०४२ सालको बमकाण्डमा नुवाकोटबाटै पक्राउ परेर थुनिए । ०४४ सालमा बोगटी अखिल नेपाल किसान संघका अध्यक्ष भए । माओवादीले भूमिगत राजनीति सुरु गरेसँगै बोगटी पनि आफ्नो जायजेथा स्थानीय विद्यालयलाई दिएर दुई छोरी, छोरा र श्रीमती लिएर राजनीतिमा होमिएका थिए । भूमिगत भएलगत्तै ०५३ सालमा पार्टीले यिनलाई पश्चिम ब्युरो इन्चार्ज बनाएको थियो । बोगटीले 'ढाडमा टेकेर टाउकामा हान्ने अभियान'को नेतृत्व गरेका थिए, जसलाई माओवादीले आफ्नो सफल अभियानमध्ये एक मानेको छ ।
भूमिगतकालमै उनका एक मात्र छोरा रविको सेनासँगको मुठभेडमा मृत्यु भयो । दुई छोरीमध्ये एक अहिले पनि पार्टी संगठनमा सक्रिय छिन् भने एक छोरी माओवादी कमान्डरबाट स्वैच्छिक अवकाश लिएर पत्रकारिता गरिरहेकी छन् । श्रीमती राममाया हालै एमाओवादी कोटाबाट संविधानसभा सदस्यमा मनोनीत भएकी छन् ।
भूमिगत हुँदा प्रायः माओवादी नेता कुनै न कुनै विवादमा मुछिए । तर, बोगटी कहिल्यै विवादमा परेनन् । उनले सधैँभरि पार्टी अध्यक्ष प्रचण्डलाई साथ दिए । तर, अर्को गुटका नेताले पनि उनको समन्वयात्मक भूमिकालाई स्वीकारिरहे । "भूमिगतकालमा जब प्रचण्ड र बाबुराम भट्टराईबीच मतभेद हुन्थ्यो, हामी सबै एक-एकतिर हुन्थ्यौँ," बोगटीसँग नुवाकोटमा केही वर्ष भूमिगत जीवन बिताएका एमाओवादी नेता राम कार्की भन्छन्, "बोगटीजी अध्यक्षनजिक भए पनि विषयलाई मिलाउनतिर केन्दि्रत हुनुहुन्थ्यो । उहाँले भनेपछि सबै नेताले मान्ने स्थिति बन्थ्यो ।"
०६६ सालमा माओवादी बहुपदीय प्रणालीमा गएपछि बोगटी सचिव भए । उनलाई दिने कुनै पनि पदमा विवाद हुन्थेन । त्यही पदमा अर्को आकांक्षी भए पनि बोगटीको नाम आउनासाथ पछि हट्ने स्थिति बन्थ्यो । ०६९ सालमा हेटौँडाको महाधिवेशनमा पद बाँडफा ँटमा विवाद भयो । तर, बोगटीलाई महासचिव बनाउने कुरामा कसैले विवाद गरेनन् । र, उनी सर्वसम्मत महासचिव चुनिए । वैशाख ०७१ मा पद विभाजनमा तीन उपाध्यक्षमध्ये उनी निर्विवाद छानिए । ०६४ सालको संविधानसभा चुनावमा उनी नुवाकोट-३ बाट सभासद् भए । दोस्रो संविधानसभामा सोही क्षेत्रबाट हारे । झलनाथ खनालको प्रधानमन्त्रीत्वमा बोगटी नौदिने सूचना तथा सञ्चारमन्त्री भए । बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने । तर, बोगटी कहीँकतै विवादमा परेनन् ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका विचारमा बोगटीमा सबैसँग मिलेर जाने क्षमता थियो । सरलता, पारदर्शिता, संघर्षशीलता र सहिष्णुता उनका गुण थिए । भन्छन्, "पार्टीको रूपान्तरणका निम्ति अध्यक्षका कमीकमजोरी सुधार्ने कुरामा छिचोलेर बोल्न नसक्नेबाहेक उहाँमा कुनै समस्या थिएन । पछिल्लो समय माओवादीको घट्दो साखबारे उहाँमा चिन्ता बढेको थियो ।"
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...