एकता : के भए हुँदैन, के भए हुन्छ ?
माओवादी पुन:गठन आयोजक समितिले ३ चैतका दिन प्रज्ञा भवनमा एउटा कार्यक्रम गर्यो ।
शान्ति प्रक्रियामा प्रवेश गरेको एक वर्ष पुग्दा नपुग्दै मुख्य नेतृत्वको जीवनशैली, कार्यदिशा अनुसारको कार्यनीति, कार्ययोजना निर्माण र कार्यान्वयनका प्रश्नहरूलाई लिएर बहस सुरु भएको थियो । शान्ति प्रक्रियामा आएको केही समयपछि नै मूल रूपमा ०६४ साउनको पाँचौँ विस्तारित बैठकदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी -माओवादी)मा वैचारिक र राजनीतिक रूपमा दुई लाइनको संघर्षले प्रवेश पाएको थियो । खरीपाटी भेला र पालुङटार विस्तारित बैठकमा उच्च बहसहरू भएका थिए । अन्तत: जनमुक्ति सेनाको विघटन, संविधान नबनीकन संविधानसभाको विघटन, एकपछि अर्को गर्दै जनयुद्धका उपलब्धिहरू गुम्दै जानु र चाहेर पनि संरक्षण गर्न नसक्ने अवस्था, मुख्य नेतृत्वले आत्मसमर्पण गर्दै जानु र संसदीय व्यवस्थालाई नै स्वीकार्दै गएपछि प्रचण्ड-बाबुराम भट्टराईहरूसँग सम्बन्धविच्छेद गरी ५ असार ०६९ मा मोहन वैद्यको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी-माओवादीको निर्माण गरिएको थियो ।
रोल्पा सम्झौता, १२ बुँदे समझदारी, बृहत् शान्ति सम्झौता र अन्तरिम संविधान, जुन जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिका लिखित दस्तावेजहरू हुन्, लाई लागू गरिएन । सहमति र सम्झौताको एकपक्षीय हस्ताक्षरकर्ता माओवादीलाई पूर्ण रूपले बेवास्ता गर्दै अर्को पक्षीय कांग्रेस र एमालेले एकलौटी उल्ट्याउने काम गर्न थाले । सम्झौता र समझदारी उल्लंघन हुँदा पनि प्रचण्ड-बाबुरामहरू टुलुटुलु हेरेर बसी मात्र राखेनन् कि सम्झौता र समझदारी उल्ट्याउने नीति निर्माणमा सहभागी नै हुन थाले । विगतका सहमति, समझदारी र सम्झौताहरू उल्ट्याउनु भनेको प्रतिक्रान्ति लाद्नु हो । त्यसैले प्रतिक्रान्ति विरुद्ध तत्काल प्र तिरोधात्मक आन्दोलन बढाउनुपर्ने अनिवार्य थियो । प्रचण्ड-बाबुरामले नयाँ जनवादी क्रान्तिलाई बीचमा नै छाडे । त्यो क्रान्तिलाई निरन्तरता दिनु थियो । त्यसैले यी दुई उद्देश्यका साथ नेपाल कम्युनिस्ट पार्टी-माओवादी निर्माण गरिएको थियो ।
प्रचण्ड-बाबुरामसँग जुन उद्देश्य लिएर ३० महिनाअघि सम्बन्धविच्छेद गरिएको थियो, ती लक्ष्य र उद्देश्य अनुरूप 'ड्यास माओवादी' अगाडि बढेन । जनविद्रोह गर्ने भन्ने त्यसको कुनै तयारी नगर्ने र पछिल्लो क्रममा मुख्य नेतृत्वले नै 'अहिले क्रान्ति सम्भव छैन, विचार बचाएर बस्ने हो' भन्न थालेपछि उक्त पार्टीलाई छाडी नेपाल कम्युनिस्ट पार्टी माओवादी निर्माण भएको थियो । यसरी माओवादी विभाजित भएर धेरै माओवादी हुन पुगेको हो ।
किन एकताका कुरा ?
अहिले केही मान्छे माओवादीहरू एक हुनुपर्छ भनी पुन:गठनको नारा दिएर हिँडेका छन् । एकताको यो कुरा असाध्यै राम्रो पनि हो । उनीहरूले जे कुरा गरिरहेका छन्, ती ठीक छैनन् । उनीहरूले अहिलेका सबै माओवादीले गल्ती गरेका छन्, तिनलाई सच्याउनुपर्छ भनेका छन् । उनीहरूका भनाइमा, कुनै पनि माओवादीको कार्यदिशा सही छैन । त्यसैले नयाँ कार्यदिशा निर्माणको कुरा उठाएका छन् । तर, यी दुवै तर्क बेठीक छन् । प्रचण्ड-बाबुरामहरूले गल्ती गरेको भन्दै समयमै सजग बनाउँदै पछिल्लो क्रममा दुई लाइन संघर्ष नै छेड्नेहरू र जनयुद्धका सबै उपलब्धि बुझाउने, आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न विचार, राजनीति र क्रान्तिमाथि सौदाबाजी गर्नेहरूले गरेको गल्ती कसरी एउटै हुन्छ ? जहाँसम्म कार्यदिशाको कुरा छ, नेपाल कम्युनिस्ट पार्टी माओवादीले नयाँ जनवादी क्रान्तिको कार्यदिशा, एकीकृत जनक्रान्ति ठोस भइसकेको छ । केही मान्छेले पवित्र उद्देश्य राखेर एकताका कुरा गरेका होलान् । तर, केही मान्छेले योजनाबद्ध एकताका कुरा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी माओवादीको निर्माण भएपछि अन्य माओवादीमा भएका इमानदार, क्रान्तिकारी युवाको आकर्षण यो पार्टीतिर बढेको छ । उनीहरूलाई आफ्नै पार्टीमा रोकिराख्न एकताको कुरा गरिएको छ । सबै माओवादी एक हुँदै छन् भन्ने हल्ला फिँजाएर आमजनता, तल्लोस्तरका कार्यकर्तामा भ्रम सिर्जना गरिँदै छ कि यिनीहरूले पनि क्रान्ति नगर्ने भए । यिनीहरू पनि उस्तै हुन् भन्ने पारी फेरि निराशा, कुण्ठा, हीनताबोध बाँड्ने काम गर्दै छन् ।
मूलत: संसदीय फोहरी खेलमा चुर्लुम्म डुबेका माओवादीमाथि ठूलो संकट आइपरेको छ । उनीहरूलाई कसैले टेरपुच्छर लगाएको छैन । सौदाबाजीको शक्ति घटेर गएको छ । सबै माओवादी एकै ठाउँमा आइपुगे भन्ने बनाइयो भने त्यसले सत्ताधारीहरूसँगको लेनदेनमा भाउ बढ्छ भन्ने छ । केही माओवादी यति धेरै भ्रष्ट र अनैतिक छन् कि समाजमा डुङडुङ गनाएका छन् । उनीहरू एकताको अत्तर छरेर मगमगाउन चाहन्छन् । यस्ता उद्देश्यका लागि एकता आवश्यक छैन ।
हेडोलोजी कि आइडियोलोजी ?
पहिले नै अनुमान गरिएबमोजिम घोर जनविरोधी, राष्ट्रघाती र दलालहरूको बाहुल्य संविधानसभामा भयो । एमाओवादीको सर्मनाक हार भयो । उसको हारको कारण बाह्य शक्ति नभएर संविधान नबन्दै जनसेनालाई विघटन गर्नु, सरकारमा गएर जनताको पक्षमा केही पनि नगर्नु बरू उल्टो गर्दै जानु, सहिद, बेपत्ता परिवार, कार्यकर्तालाई बेवास्ता गर्नु, सरकार र पदमा रहँदा राष्ट्रघाती र जनघाती रवैया देखाउनु, व्यक्तिगत पद, पैसा र प्रतिष्ठा, परिवारको जोहो मात्र गर्नु हो । मूल रूपमा दोस्रो संविधानसभा माओवादीविरुद्ध रचिएको गुरुयोजना हो भन्ने नबुझ्नु हो ।
अब संविधानसभाबाट कुनै पनि हालतमा जनताको संविधान बन्दैन भन्ने कुरामा एकमत हुनुपर्छ । संविधानसभाको चुनाव, त्यसको परिणाम र कांग्रेस-एमालेको सरकार गठन र उसले गर्दै आएका क्रियाकलापले बृहत् शान्ति सम्झौता भंग, सबै खाले समझदारीको अन्त्य भई देशमा प्रतिक्रान्ति लादिँदै छ भन्न सकिन्छ । उनीहरूले लाद्दै गरेको प्रतिक्रान्तिका विरुद्ध प्रतिरोध गर्ने योजना बनाउनुपर्छ । पाँच वर्षअगाडि प्रचण्ड-बाबुरामहरूले क्रान्ति गर्न सकिँदैन भन्ने जुन तर्क गरेका थिए, अहिले आएर ड्यासका नेताहरू त्यही तर्क गरिरहेका छन् । यस्ता तर्क बन्द गरेर क्रान्तिको कुरा गर्नुपर्छ । त्यसभन्दा ठूलो कुरा नेपाली क्रान्तिको कायर् दिशा तयार भएको छ । त्यसलाई आत्मसात् गर्नुपर्छ । अनि मात्र एकता सम्भव छ ।
बाहिर ६ वटा माओवादी देखिएका भएता पनि यथार्थमा दुई किसिमका माओवादी मात्र छन् । एउटा देशी-विदेशी प्रतिक्रियावाद, संसद्वादका सामु आत्मसमर्पण गरेको, संसदीय व्यवस्थामा नै समाहित हुन पुगेका पार्टी वा झुन्डका रूपमा माओवादी ट्याग लगाएका माओवादीहरू छन् । जुन संसदीय व्यवस्थाका विरुद्ध ०५२ मा हतियारबद्ध आन्दोलनको नेतृत्व मुख्य नेताहरूले गरेका थिए, अहिले तिनै त्यो आन्दोलनको मजाक उडाइरहेका छन् । १० वर्षे जनयुद्धको खिसिट्युरी गरिरहेका छन् । माक्र्सवाद-लेनिनवाद-माओवाद पदावलीको दुरुपयोग गरिरहेका छन् । माओवादका नाममा नवसंशोधनवाद र छद्मसंशोधनवादको मुकुन्डो धारणा गरेका छन् ।
यी समूहभित्र दुई खाले प्रवृत्ति देखा परेको छ । एक किसिमका समूहहरू नेपालमा जनवादी क्रान्ति सम्पन्न भयो, अब समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने तर्क गर्नेहरू छन् । उनीहरूको पछिल्लो क्रममा वर्ग उत्थान भएको छ । उनीहरूको दिमागबाट क्रान्ति, दु:ख-कष्ट, जनताको सेवा भन्ने कुरा उडिसकेको छ । यसलाई उनीहरूले माक्र्सवादको नयाँ प्रयोग भन्ने गरेका छन् । उनीहरूले माक्र्सवाद लागू नगरी संशोधनवाद लागू गरेका छन् ।
अर्काेथरी समूह छ, जसले भन्छ कि नेपालमा पुरानै तरिकाले क्रान्ति गर्नुपर्छ, या त लेनिनको शैलीको सशस्त्र जनविद्रोहको तरिका कि त माओको दीर्घकालीन जनयुद्धको तरिका । उनीहरू जनविद्रोह गर्ने भन्छन् तर अहिले सकिँदैन पनि भन्छन् । उनीहरू माक्र्सवादका आधारभूत सिद्धान्तलाई समातेर पछिल्लो क्रममा ने पाल र विश्वमा देखा परेका विशेषताहरूको अध्ययन गर्नतिर लाग्दैनन् । यस्ता 'अर्थोडक्स' माओवादीहरूले विश्वमा आएको आर्थिक परिवर्तन, शोषण, दमन र उत्पीडनको प्रकृतिमा भएको फेरबदल र नेपालकै सन्दर्भमा सामन्तवादी राजतन्त्रको अन्त्यसँगै आएका केही परिवर्तन र नयाँ विशेषताहरूको अध्ययन गर्दैनन् । अहिले पनि शोषण छ । उत्पीडन छ र दमन छ । तर, फरक प्रकृति र प्रक्रियामा छ ।
पढ्ने-लेख्नेहरूको संख्या धेरै छ, अहिले । नेपालमा नै विद्यालय भर्नाको संख्या ९० प्रतिशतभन्दा बढी छ । तर, यसरी पढे/लेखेका मान्छे नै सबैभन्दा बढी बेरोजगार छन् । रोजगार पाइहाले पनि उनीहरूले श्रमको उचित मूल्य पाएका छैनन् । स्थानीय तहको सामन्तवादको अन्त जनयुद्धले गरिदिएको थियो । राजतन्त्रको अन्त्य विधिवत् रूपमा भएको छ । यसरी परम्परागत अवस्थामा अहिले पुरानो सत्ता छैन । राजतन्त्र हटेपछि त्यो स्थानमा नयाँ जनवादी व्यवस्था आउनुपर्ने हो । तर, दुर्भाग्य ! त्यो रिक्त स्थानमा दलाल पुँजीवाद आइपुग्यो । अहिले त्यही दलाल पुँजीवादी सत्ता सञ्चालनमा छ । यसको चरित्र सामन्तवादी छैन, न त प्र गतिशील र जनपक्षीय नै छ । यसले स्थायित्व ग्रहण गर्न पनि सकिरहेको छैन ।
विश्वकै आर्थिक चरित्र पनि बदलिएको छ । सन् '९० को दशकसम्म साम्राज्यवादी सत्ताहरूले गरिब राष्ट्र र जनतामाथि शोषण गर्थे । ती देशहरू धनी हुन्थे । अहिले त्यो ठाउँमा कर्पोरेट पुँजीवाद आइपुगेको छ । केही धनी कम्पनीका मालिकले विश्वकै सम्पत्ति कब्जा गरेका छन् । उनीहरूको हातमा पुँजीको अति केन्द्र ीकरण छ ।
नेपालकै सन्दर्भमा त झन् औद्योगीकरण परिपक्क हुनुभन्दा अगावै दलाल पुँजीवाद आइपुग्यो । दलाल पुँजीवाद नक्कली हुन्छ, छद्म हुन्छ । त्यसैको प्रभावमा परेर नेपालका केही कम्युनिस्टहरूले पुँजीवादको विकास भएको भ्रम फैलाएका छन् । नेपालकै सन्दर्भमा गाउँ र सहरबीचको भेद कम हुँदै जानु, हाम्रो अवस्थिति भूराजनीतिक महत्त्वपूर्ण हुनु, जाति, जनजाति, आदिवासीहरूबीचमा अन्तरघुलन हुनु, मध्यवर्ती तप्काको संख्या ह्वात्तै बढ्नु, देशभक्त शक्तिको उपस्थिति सबैतिर रहनु, दलाल पुँजीवादको प्रभुत्व बढ्दै जानु नेपाली क्रान्तिका लागि नयाँ विशेषता भएर आएका छन् । परम्परागत रूपमा भारतलाई विस्तारवादका रूपमा मात्र व्याख्या गरिएको छ । नेपालमा भारतको उपस्थिति सूक्ष्म व्यवस्थापनमा पनि हुन थालिसकेको जगजाहेर नै छ । जहाँसम्म विज्ञानप्रविधि, सूचनाप्रविधिको विकास र त्यसमाथि कर्पोरेट जगत्को एकलौटी कब्जाले केही माओवादीमा त्रास पैदा गरिदिएको छ । उनीहरूले के बुझ्न जरुरी छ भने, अहिलेसम्मका युद्ध क्रान्तिहरूले प्रविधि र सूचनाप्रविधिको विकासले सैन्य रणनीतिहरूको रूपान्तरणको माग गर्छन् ।
टाउकाहरू मात्र जम्मा गरेर गरिएको एकताको कुनै अर्थ रहँदैन । 'हेडोलोजी'लाई मुख्य मान्ने कि 'आइडिओलोजी'लाई ? हेडोलोजी पनि चाहिन्छ तर कम्युनिस्टहरूले मान्ने आइडिओलोजी हो ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...