समृद्धिको वैकल्पिक मोडेल
नेपाली इतिहासकै कुरा गर्दा, करिब अढाई सय वर्ष पहिले त्यतिबेलाका नेपालीहरू पनि विकास र समृद्धिकै खोजीमा थिए ।
नेपालको समसामयिक राजनीतिमा आर्थिक विकास र समृद्धि अत्यन्तै महत्त्वपूर्ण विषय बनेका छन् । विकास र समृद्धि यतिबेला थेगोजस्तै भइसकेको छ । त्यसैले हामीले हाम्रै जीवनकालका कसरी विकास र समृद्धि हासिल गर्न सक्छौँ ? यो अहिलेको ज्वलन्त प्रश्न हो ।
तर, विकासका कुराले मात्र आर्थिक विकास सम्भव छैन, समृद्धि प्राप्त हुँदैन । तसर्थ, अमूर्त कुरा होइन, मूर्त रूपमै विकासको कुरा गर्नुछ अब । आजसम्म किन नेपाल बनेन, समृद्ध हुन सकेन ? कहिले र कसरी सम्पन्न बन्छ ? सम्पन्नताको आधार के हो ? हामीले आफ्नै जीवनकालमा समृद्धि कसरी ल्याउन सक्छौँ ? नयाँ शक्तिले यही विषयलाई आफ्नो राजनीतिक एजेन्डा बनाएको छ ।
इतिहासको सन्दर्भ
जतिबेला मान्छे आदि मानवबाट विवेकशील जातिका रूपमा परिणत भयो, त्यसबेला उसले जंगलबाट सिकार गरी माछामासु खान र फलफूल टिपेर खान मात्र जानेको थियो । अनि, त्यतिबेलाको मान्छे पनि खुसी र समृद्धिको खोजीमै थियो । त्यही क्रममा उसले आगो र हातहतियारको विकास गर्यो । आगोको आविष्कार मानव जातिकै इतिहासमा ठूलो क्रान्ति थियो । त्यसपछि पशुपालन र खेतीपातीको युग सुरु भयो । मानव सभ्यताको यो विभिन्न चरण पार गर्दै आधुनिक मानव समाजको निर्माण हुन झन्डै एक लाख वर्ष लागेको मानवशास्त्रीहरूको तर्क छ । यो एक लाख वर्षमा मानव जातिले विभिन्न खोज, अनुसन्धान र आविष्कार गर्यो, समृद्धिकै लागि ।
नेपाली इतिहासकै कुरा गर्दा, करिब अढाई सय वर्ष पहिले त्यतिबेलाका नेपालीहरू पनि विकास र समृद्धिकै खोजीमा थिए । सत्ता सामन्ती र पितृसत्तात्मक थियो । शासक जातिका केही सीमित मानिसले राज्यको स्रोतसाधन आफ्नो कब्जामा लिएका थिए । उनीहरू बहुसंख्यक जनतालाई श्रम गराउँथे र आफूहरू बसीबसी खान्थे । विभिन्न भुरेटाकुरे गरेर करिब ५५ वटा राज्यमा विभक्त थियो नेपाल । यसरी छरिएर रहँदा आफ्नो अस्तित्व नै नरहने र साम्राज्यवादीहरूले हस्तक्षेप गर्ने खतरा देखेर एकीकृत राज्य बनाउनुपर्छ भन्ने धारणा पैदा भयो । केही शासकमा ती सबै राज्यलाई एकीकृत रूपले विस्तार गरेर ठूूलो राज्य बनाउने चेतना पलायो ।
त्यो भौगोलिक एकीकरणको अभियान विभिन्न राजाले चलाए । किनभने, त्यसबेला जनताको अगुवाइमा काम हुन सक्ने अवस्था थिएन । काठमाडौँका मल्ल राजा, पाल्पा र मकवानपुरका सेन राजा, बाइसे चौबीसे राज्यका केही राजाहरू र गोरखाका राजा पृथ्वीनारायण शाहले यो कामको सुरुआत गरे । चतुर, लड्न सक्ने क्षमता भएका गोरखाका राजा उनी त्यो कामको अगुवाइ गर्न पनि सफल भए । हो, पृथ्वीनारायण शाहबाट राज्य विस्तार गर्दा धेरै प्रकारका उत्पीडन लाद्ने काम नभएको होइन तर उनले त्यस बेलाको आवश्यकता अनुसार एउटा ठूलो भौगोलिक राज्य निर्माण अभियानको अगुवाइ गरे र आधुनिक नेपालको जग बसाए ।
विकास र समृद्धिको सपना देखेर भूगोलको एकीकरण त भयो तर विकासको फल आमजनताले चाख्न भने पाएनन् । आधुनिक नेपाल निर्माणसँगै फेरि विभिन्न प्रकारका तानाशाह र तिनका भाइभारदारले स्रोत–साधन आफ्नो मुट्ठीमा लिए र जनतालाई रैतीकै दर्जामा राखे । फलस्वरूप अढाई सय वर्षअघिसम्म अन्य देशहरूसँग समकक्षी र बराबरीकै हैसियतमा रहेको मुलुक बिस्तारै पछाडि पर्दै गयो । राजा–महाराजाहरूको विलासी व्यवहारका कारण बन्द–व्यापारहरू आफ्नै भाइभारदारहरूको कब्जामा रहने परिपाटी कायमै रहन गयो । सारमा सामन्ती शाहतन्त्र र राणातन्त्रले नेपालको विकास सम्भव भएन ।
त्यही चेतना जनस्तरमा पनि अंकुरण भयो र बढ्दै गएर विभिन्न चरणमा क्रान्ति र आन्दोलन भए । त्यसैको अन्तिम शृंखलाका रूपमा ०५२–०६२ सम्म माओवादीको नेतृत्वमा जनयुद्धरूपी ठूलो विद्रोह भयो । त्यसयता पनि मधेसी, आदिवासी जनजातिहरूले हक, अधिकार र पहिचानसहितको समृद्धिका लागि आन्दोलन गरे । यसरी राणा शासनमा लखन थापादेखि, ००७ को कांग्रेसको विद्रोह, ०४६ को कांग्रेस–कम्युनिस्टको संयुक्त जनआन्दोलन, ०५२ को जनयुद्ध, ०६२–०६३ को जनआन्दोलन र त्यसपछि मधेसी, थारू, आदिवासी जनजातिले गरेको आन्दोलनले लोकतन्त्र स्थापित गर्यो । यो पनि विकास र समृद्धिकै लागि थियो ।
अबको मार्गचित्र
आधुनिक नेपालको २ सय ५० वर्षको इतिहासमा भौगोलिक एकीकरण र लोकतन्त्र प्राप्तिका लागि ठूलो लडाइँ भयो र ०७२ सालमा संघीय गणतन्त्र नेपालको नयाँ संविधान पनि निर्माण भयो । अब हामीसँग भूगोल छ, राष्ट्रियता छ, लोकतन्त्र छ, आफैँले लेखेको संविधान छ । भलै, त्यो संविधानमा केही कमी छ । अब त्यसमा सुधार गर्दै राष्ट्रियता र लोकतन्त्रको जगमा टेकेर समृद्धिलाई एक मात्र एजेन्डा बनाएर अघि बढ्ने बेला आएको छ । अनि, साँच्चिकै विकास र समृद्धि ल्याउने राजनीतिमा मुख्य ‘फोकस’ अब सम्भव छ । त्यसैले हामीले ‘अबको निकास, आर्थिक विकास’, ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ नारा बनाएर विकास र समृद्धिको मार्गचित्र कोरेका छौँ । नयाँ शक्तिको आवश्यकता र औचित्य पनि यही नै हो ।
हाम्रो मार्गचित्रले भन्छ, समृद्धिका लागि सबैभन्दा पहिले समस्याको पहिचान गर्नुपर्छ । हाम्रो विकासको बाधक मुख्यत: पाँचओटा छन् । पहिलो हो, निरपेक्ष गरिबी । सापेक्षित रूपमा गरिबी सबै देशमा हुन्छ । तर, हाम्रो गरिबी त्यस्तो होइन । हाम्रो गरिबी साँझ–बिहान हातमुख जोर्न नै समस्या भएको निरपेक्ष गरिबी हो । तथ्यांक जे भए पनि व्यवहारत: यो संख्या देशको आधा जनसंख्याभन्दा बढी छ । यो नै पहिलो समस्या हो ।
दोस्रो समस्या भनेको बेरोजगारीको हो । वार्षिक झन्डै चार लाख नयाँ जनसंख्या श्रमबजारमा प्रवेश गर्छन् तर वार्षिक रोजगारीको सिर्जना अधिकतम एक लाखसम्म मात्रै हुने गरेको छ । आर्थिक विकास र समृद्धि श्रमबाट सम्पन्न हुने हो । तर, अहिले झन्डै ६५ लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशिएका छन् । यसरी श्रम निर्यात गरेर कुनै पनि देश धनी भएको छैन । विदेशबाट पुँजी, प्रविधि र ज्ञान भित्र्याएर स्वदेशमै उत्पादन नगरेसम्म समृद्धि हासिल हुँदैन ।
तेस्रो समस्या, आर्थिक परनिर्भरता हो । सुगौली सन्धिताका हामी आयातभन्दा पाँच गुणा बढी निर्यात गथ्र्यौं । अहिले आयात कुल निर्यातको १० गुणा बढी छ । यसर्थ, परनिर्भरताको अन्त्य गरेर अन्तरनिर्भरताको विकास गर्नुपर्छ ।
चौथो, धनको समन्यायिक वितरणमा समस्या हो । गरिब र धनीबीचको फाटो अर्थात् आर्थिक असमानता व्यापक छ । यो जति बढ्दै गयो, त्यति असन्तुलन बढ्न थाल्छ । केही वर्षयता यो अनुपात झन् बढ्दै गएको छ ।
पाँचौँ, विभिन्न वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक र जातपातजन्य विभेदको समस्या हो । यो
विभेदले सामाजिक, राजनीतिक, आर्थिक असमानता बढाउँछ ।
यी पाँच मुख्य समस्याको समाधान गरेर मात्र नेपाल समृद्ध बन्न सक्छ । यसका लागि उपयुक्त प्रकारको विकासको मोडेल तयार गर्नुपर्छ । संसारमा विकासका दुईवटा मोडेल प्रचलनमा छन् ।
एउटा मोडेल भनेको पुँजीवादी हो । यो मोडेलले बजार र व्यक्तिलाई खुला छाड्नुपर्छ, तब मात्र विकास र समृद्धि हासिल हुन्छ भन्छ । व्यक्तिलाई स्वतन्त्र छाड्ने हो भने उसले आफ्नो विवेक र सीपको प्रयोग गर्छ अनि आफसेआफ विकास हुन्छ भन्ने उदारवादी र नवउदारवादी विकासको मोडेल हो । यसले व्यक्ति धनी भयो भने स्वत: समाज र देश धनी हुन्छ, त्यसैले व्यक्तिलाई स्वतन्त्र कमाउन दिनुपर्छ र राज्यले कुनै हस्तक्षेप गर्नुहुँदैन भन्ने मान्यता राख्छ ।
अर्को मोडेलले त्यसरी व्यक्तिलाई स्वतन्त्र छाडियो भने केही मुट्ठीभर मान्छेहरू मात्र धनी हुन्छन् र बहुसंख्यक मानिस गरिब हुन्छन् भन्ने मान्यता राख्छ । यसर्थ, साधनस्रोत व्यक्तिले होइन, राज्यले आफ्नो नियन्त्रणमा लिनुपर्छ र त्यसलाई राज्यले वितरण गर्नुपर्छ । यसरी यो मोडेलले राज्यले वितरण गर्दा सबैलाई न्यायोचित हुन्छ भन्ने मान्यता राख्छ । यो विकासको मोडेललाई राज्य नियन्त्रित समाजवादी अर्थात् कम्युनिस्टहरूको मोडेल पनि भनिन्छ ।
हामीले आफ्नो जीवनकालमा विकासका यी दुई मोडेल देख्यौँ । अहिले यी दुवै मोडेलको बीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बहस छ । यी दुवै मोडेलका सीमा छन् । राम्रा र नराम्रा पक्ष छन् । यिनमा एउटा राम्रो अर्को नराम्रो भनेर छुट्याउन सकिने अवस्था छैन । कुनै ठाउँमा समाजवादी मोडेलले छिटो विकास गर्यो, कुनै ठाउँमा पुँजीवादी मोडेलले । रुसमा समाजवादी मोडेलबाट विकास भयो र विश्वभर यसको आकर्षण बढ्यो । अर्कोतर्फ पुँजीवादी मोडेल अपनाउने अमेरिका र बेलायतले पनि विकास र समृद्धि चुमे ।
तर, पुँजीवादी मोडेलमा पनि समस्या देखियो । यो मोडेल अनुसार विकास हुँदा केही सीमित व्यक्तिमा धन केन्द्रित हुन पुग्यो । अहिले विश्वका ८५ जना धनी घरानियाँहरूसँग विश्वकै आधा जनसंख्याको बराबर धनसम्पत्ति छ भनेर विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले नै प्रतिवेदन सार्वजनिक गरेका छन् । हो, पुँजीवादी मोडेलमा धन त आर्जन हुन्छ तर त्यसको वितरण असाध्यै कमजोर अनि अन्यायपूर्ण हुने भएकाले त्यसले मात्र समाजमा शान्ति आउँदैन । बरू, त्यसले समाजमा विग्रह र विसंगति ल्याउँछ । एउटा घरमै पनि एउटा दाइ धनी र भाइ गरिब भयो भने त्यहाँ मनमुटाव आउँछ ।
अर्कोतिर सबै उत्पादनका साधनलाई राष्ट्रियकरण गर्ने र सबैलाई समान रूपमा वितरण गर्ने भन्ने समाजवादी मोडेलले पनि मान्छेका आकांक्षालाई सम्बोधन गर्न सक्दैन । यसले मान्छेका सबै चाहना र आकांक्षालाई सम्बोधन गर्न सक्दैन । सुरुमा गरिबीलाई अन्त्य गर्ने कुरा महत्त्वपूर्ण हुन्छ तर त्यसपछि समाजवादी मोडेलले मानिसको विकासको चाहनालाई सम्बोधन गर्न सक्दैन ।
यो मोडेललाई सामाजिक लोकतान्त्रिक मोडेलका रूपमा बीपी कोइरालालगायतले पनि अवलम्बन गर्न त खोजे तर व्यवहारमा त्यो लागू हुन सकेन । अन्तत: त्यो पनि उदारवादी मोडेलकै रूपमा परिचित भयो । अहिलेको कांग्रेसको प्रजातान्त्रिक समाजवादको मोडेल सारत: उदारवादी मोडेलकै रूप हो ।
यसर्थ, हामी अहिले विकासका यी दुई प्रचलित मोडेलको बीचबाट नयाँ मोडेलको खोजी गरिरहेका छौँ । नयाँ शक्तिले त्यही नयाँ मोडेलको कुरा गरेको हो, जहाँ व्यक्तिको स्वत्व पनि रहन्छ र राज्यको भूमिका पनि । मानिस भनेको सामाजिक प्राणी हो र सामूहिक रूपमा पनि श्रम गर्छ । त्यस्तै कतिपय व्यक्तिले गर्नुपर्ने काम पनि हुन्छन् । जस्तो : खेतीपाती, बन्द–व्यापार आदि । आधुनिक प्रविधिको प्रयोगले कृषिजन्य उत्पादन बढाउन सकिन्छ । त्यसका लागि केही कुरा व्यक्तिले मात्र सञ्चालन गर्ने र केही कुरा राज्यले गर्नुपर्छ । यी दुई कुराको यकिन गरेर केही निजी क्षेत्रलाई र केही राज्यलाई छाडेर नयाँ किसिमको मोडेलेको विकास गर्नुपर्छ । जसले गर्दा निजी स्वतन्त्रता पनि कायम हुन्छ र राज्यको पनि आवश्यक दायित्व र जिम्मेवारी कायमै रहन्छ । यस किसिमको विकासको मोडेल नै नेपालका लागि वैकल्पिक विकासको मोडेल हुन सक्छ ।
(भट्टराई पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति, नेपालका अध्यक्ष हुन् ।)
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...