देउवा र दाहालको रसायन
देउवा र दाहाल राजनीतिमा आउने र मुख्य नेतृत्वमा पुग्ने प्रक्रिया र प्रवृत्तिमा केही समानता छन् ।
भन्नै पर्दैन फरक विचार, फरक दृष्टिकोण भएका पात्र हुन्, शेरबहादुर देउवा र पुष्पकमल दाहाल । अझ आमने–सामने हतियारबद्ध संघर्ष गरेका, एकले अर्कालाई वर्ग दुस्मन किटान गरेका र मार्नेसम्मको आदेश दिएका दाहाल र देउवाबीच अहिले अचम्मको रसायन र समीकरण स्थापित भएको छ । उनीहरू एउटै सत्ताअन्तर्गतको सरकारमा सामेल छन् ।
दसौँ वर्षसम्म राजनीतिक, वैचारिक र भौतिक रूपमा लडेका यी दुई कसरी एउटै गठबन्धनको सरकार बनाउन पुगे त ? उनीहरूका बीचको वैचारिक, राजनीतिक संघर्षको दूरी कसरी कम भयो ? विचार, राजनीति र अन्तर्विरोधका हिसाबले प्रतिलोममा खडा भएका यी दुई प्रवृत्तिका बीचमा कसरी एकता कायम हुन पुग्यो ? यो जान्न उनीहरूको प्रवृत्ति, मनोविज्ञान र विगतलाई केलाउन जरुरी छ ।
देउवा आदत
०२८ मा बीपी कोइरालाको ठाडो आदेशमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्षमा मनोनीत भएदेखि नै देउवाले राजनीतिमा बाजी मार्दै आएका छन् । नेविसंघको अध्यक्ष भएपछि उनले बीपीसँग लामो समय देशैभरि संगठन बनाउन हिँड्ने मौका पाए । राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका देउवाले बेलायतमा फेलोसिपको अवसर पनि पाए । ०४६ को पञ्चायतविरुद्धको आन्दोलन चलिरहँदा उनी बेलायतमै थिए । पञ्चायत ढलेर संसदीय बहुदलीय व्यवस्थाको पुन:स्थापनापश्चात्को पहिलो चुनावमा नेपाली कांग्रेसले बहुमत ल्यायो र गिरिजाप्रसाद कोइरालाको सरकार बन्यो । त्यस समयमा नेपाली कांग्रेसमा युवा नेताका रूपमा शैलजा आचार्य, रामचन्द्र पौडेल र शेरबहादुर देउवा थिए । कोइरालाले आफ्नो मन्त्रिपरिषद्मा यी तीन जनालाई मन्त्रालय छान्न भनेका थिए । नेपाल कृषिप्रधान देश भएकाले कृषिमन्त्री हुने इच्छा शैलजाले जाहेर गरिन् । स्थानीय विकास मन्त्रालयमा सबैभन्दा बढी बजेट विनियोजन हुन्छ र जनतामा पहुँच बढाउन सकिन्छ भनेर रामचन्द्रले त्यो मन्त्रालय रोजे । तर, देउवाले गृह मन्त्रालय रोजेका थिए । जब उनी गृहमन्त्री भए, त्यहीँबाट उनको खाँडो जाग्यो । सम्पत्ति र शक्ति उनको हातमा आयो नै, उनको सम्बन्ध दरबारदेखि अमेरिकासम्म फैलिन पुग्यो । यही क्रममा आरजु राणासँग उनको बिहे भएको हो । आरजुसँगको वैवाहिक सम्बन्धले अमेरिकालगायत पश्चिमासँग देउवाको सम्बन्ध सहज र सरल भयो ।
०५१ मा सरकारको नीति तथा कार्यक्रम संसद्मा पारित हुन नसकेपछि कोइरालाले घोषणा गरेको मध्यावधि चुनावमा कांग्रेस हारेको थियो । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले धेरै सिट जिते पनि स्पष्ट बहुमत ल्याउन सकेको थिएन । मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको सरकार नौ महिना मात्र टिक्यो । संसद् पुन:स्थापनाको अदालती आदेशले एमाले सरकार ढल्यो । नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न पुगेका देउवा ०५२ मा पहिलोपटक प्रधानमन्त्री भए । आफ्ना समकक्षी रामचन्द्र पौडेल र शैलजा आचार्यलाई उछिने उनले । त्यसपछि उनी ०५८ मा फेरि प्रधानमन्त्री भए । दरबार हत्याकाण्ड, माओवादी जनयुद्धका कारण देउवा बहालवाला प्रधानमन्त्री र आफ्नै पार्टीका सभापति गिरिजाप्रसाद कोइरालालाई विस्थापित गरेर दोस्रोपटक प्रधानमन्त्री बनेका थिए । तेस्रोपटक ०६१ मा राजा ज्ञानेन्द्रको कालमा प्रधानमन्त्री बनेका थिए ।
यसरी तीनैपटक प्रधानमन्त्री हुँदा देउवाले आफूभन्दा अग्रज र समकालीनलाई समेत उछिनेका थिए । देउवा कर्ममा भन्दा भाग्यमा विश्वास गर्छन् । उनका हातका प्रत्येक औँलामा विभिन्न जोगी, बाबा र सन्न्यासीले दिएका औँठी छन् । अहिलेसम्मको जीवनलाई अध्ययन गर्ने हो भने व्यक्तिगत पद र प्रतिष्ठाका लागि देउवा जे गर्न पनि तयार भएको देखिन्छ । गृहमन्त्री हुँदा नै उनीमाथि शाही कांग्रेसको आरोप स्वयं कांग्रेसी वृत्तबाटै लगाइएको थियो । उनले ८ जेठ ०५९ मा संसद् विघटन गरी मातृ पार्टीबाट अलग्गिएर आफ्नै नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेको परिघटनाले देउवामााथि लाग्दै आएको शाही कांग्रेसको आरोप पुष्टि भएको थियो । देउवाले संसद् विघटन गरेपछि नै वास्तवमा नेपालमा शाहीकाल सुरु भएको थियो । देउवाले माओवादीलाई दमन गर्न प्रयोग गर्दै आएको उच्च प्रविधि जडित भारतीय इन्सास राइफललाई विस्थापन गर्ने गरी अमेरिकाबाट एम–१६ स्वचालित राइफल भित्र्याएका थिए ।
दाहाल प्रवृत्ति
देउवा र पुष्पकमल दाहाल राजनीतिमा आउने र मुख्य नेतृत्वमा पुग्ने प्रक्रिया र प्रवृत्तिमा केही समानता छन् । एउटा गरिब किसान परिवारमा जन्मिएका दाहाल चितवनमा माध्यमिक तहमा पढ्दै गर्दा वामपन्थी आन्दोलनमा लागेका थिए । उनी राजनीतिमा प्रवेश गर्दै गर्दा नेपालको कम्युनिस्ट आन्दोलन टुटफुट हुँदै थियो । नेपाल कम्युनिस्ट पार्टी पुष्पलाल र तुलसीलाल, रायमाझी, झापाली र चौथो महाधिवेशनमा विभक्त भइसकेको थियो । नेपालको कम्युनिस्ट आन्दोलनमा सिर्जनशील, योग्य, चलायमान, कम परम्परागत, युवा नेताको खाँचो थियो ।
यही क्रममा चौथो महाधिवेशन हुँदै पुष्पकमल नेतृत्व तहमा पुग्दै गरेका थिए । उनले क्रान्तिकारी ठहरिएका मोहनविक्रम सिंह, निर्मल लामाजस्ता पुराना नेताहरूसँग प्रतिस्पर्धा गर्नुपरेको थियो । मोहनविक्रम सिंहसँग वैचारिक समस्या रहेको कुरा उनले पाँचौँ महाधिवेशनमा पहिलोपटक केन्द्रीय सदस्य हुँदा नै उठाएका थिए । त्यही महाधिवेशनबाट मोहनविक्रम पाखा लागेका थिए । सेक्टर काण्डलाई निहुँ बनाएर आफ्नै गुरु मोहन वैद्यलाई दाहालले नेतृत्वबाट च्यूत गरेका थिए । दाहाल कतिसम्म महत्त्वाकांक्षी र व्यक्तिवादी थिए भन्ने कुरा वैद्यले उनीबारे दिएको एक प्रसंगबाट बुझ्न सकिन्छ । वैद्य नेपाल कम्युनिस्ट पार्टी (मशाल)को महामन्त्री भइन्जेल पार्टीको वक्तव्य वा लेखहरूमा महामन्त्रीको नामसमेत उल्लेख गर्न प्रतिबन्ध लगाइएको रहेछ । तर, दाहाल महामन्त्री भएकै दिन उनले वक्तव्यमा आफ्नो नामले हस्ताक्षर गरेका रहेछन् ।
मशालबाट नेतृत्वको यात्रा सुरु गरेका उनी एकताकेन्द्र, माओवादी, एमाओवादी हुँदै माओवादी केन्द्रसम्म निरन्तर शक्तिशाली अध्यक्षमा विराजमान छन् । उनी शक्तिशाली अध्यक्ष मात्र छैनन् कि पार्टीमा अधिनायकत्व लाद्नसमेत खप्पिस छन् । उनले आफू समान वा प्रतिस्पर्धामा आउने जो कोहीलाई टिक्न दिएका छैनन् । यसबाट बाबुराम भट्टराई र रामबहादुर थापा सबैभन्दा पीडित भए । बाबुरामले पार्टी मात्र छाडेनन् कि माक्र्सवाद नै परित्याग गर्न पुगे भने थापाले तीन वर्षअगाडि दाहालको पार्टीसँग सम्बन्धविच्छेद गरेका थिए । तर, अहिले फेरि उनी दाहालसामु आत्मसमर्पण गर्न पुगेका छन् ।
१० वर्षे जनयुद्धको कुशल नेतृत्व गरेका दाहालले शान्ति प्रक्रियामा प्रवेश गर्दै गर्दा आफूले बोक्दै आएका मूल्य–मान्यतालाई चटक्कै छाडिदिए । सधैँ सर्वहारा सांस्कृतिक क्रान्तिलाई प्रस्थान विन्दु भन्ने, माक्र्सवाद–लेनिनवाद–माओवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा आत्मसात् गर्ने दाहालले यी सबै मान्यता परित्याग गरिदिएका छन् । नेपालमा वर्गीय र राष्ट्रिय मुक्तिको नारा दिएर भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध लड्ने तयारी गर्ने उनी अहिले भारत र अमेरिकालाई कसरी खुसी पार्ने भन्नेतिर लागेका छन् । नयाँ जनवाद स्थापना गर्दै समाजवाद भएर साम्यवादसम्म पुग्न संसदीय व्यवस्थालाई ध्वंश गर्ने नीति लिएका दाहालले नेतृत्व गरेको जनयुद्धका क्रममा नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तकले रगत बगाए, सयौँ अहिले पनि बेपत्ता छन् । हजारौँ घाइते भएका छन् । तर, उनी फेरि संसदीय व्यवस्थामा फर्किएका छन् । अझ त्यसमा पनि वर्गीय दुस्मन किटान गरिएको नेपाली कांग्रेस र त्यसमा पनि अमेरिकी साम्राज्यवादको नजिक भनेर आफैँद्वारा भनिएका देउवाको समर्थन र योजनामा दाहाल अहिले प्रधानमन्त्री बन्न पुगेका छन् ।
जनयुद्धकालमा देउवा सरकारले माओवादीलाई देख्नेबित्तिकै गोली हान्ने ‘सुट एट साइट’सम्मको आदेश दिएको थियो । त्यसै गरी माओवादीले पनि देउवालाई वर्गीय दुस्मन किटान गरेको थियो । वैचारिक रूपमा देउवा संसदीय बहुदलीय व्यवस्थाका पक्षपाती हुन् भने दाहाल वैज्ञानिक समाजवादको वकालत गर्छन् । यसरी विचार, राजनीतिमा ठीक प्रतिलोम धारणा राख्दै आएका देउवा र दाहालका बीचमा अहिले समीकरण मिलिरहेको छ ।
विगतमा पनि देउवा–दाहालबीचमा दुस्मनी–मित्रता–दुस्मनी चलेको हो । यी दुईबीचको सम्बन्ध औँसी–पूर्णेजस्तो हुने गरेको छ । यिनीहरूमा रहेको व्यक्तिगत महत्त्वाकांक्षा, अस्थिर स्वभाव, सैद्धान्तिक विचलन नै अहिले खडा भएको समीकरणको कारण हो । पार्टीभित्रको विवाद समाधान नभएको, भर्खरै सभापति बनेका कारण आन्तरिक व्यवस्थापन नबनिसकेको र दाहालको अति महत्त्वाकांक्षालाई बुझेर नौ महिनापछिको प्रधानमन्त्रीको पद सुनिश्चित गर्दै यो समीकरण बनेको छ ।
देउवा राजनीतिक–वैचारिक रूपमा आफ्नो अडानमा कायमै छन् । तर, दाहालले उनले विगतमा लिएका विचार र राजनीतिलाई परित्याग गरेका छन् । विदेशी शक्तिका सामु लम्पसार परेका छन् । अझ भन्नुपर्दा उनको वर्ग उत्थान भएको छ, वर्ग बदलिएको छ । यसरी उनको वर्ग परिवर्तन हुनु, माओवादी विचार र राजनीतिबाट च्यूत हुँदै जानुले देउवासँग रसायन मिलेको हो ।
प्रवृत्तिगत समानता
शेरबहादुर देउवा र पुष्पकमल दाहालका बीचमा प्रवृत्तिगत समानता भनेको उनीहरुको महफ्वाकांक्षा हो । देउवा पद र प्रतिष्ठाका महफ्वाकांक्षी हुन् भने दाहाल पद, प्रतिष्ठा र पैसाप्रति अति आशक्त छन् । देउवाले आफ्नो महफ्वाकांक्षा पूरा गर्न विचार, राजनीति, संस्कार छोडेनन् । बरु, उनको महफ्वाकांक्षाले उनको आदर्शमा कुनै असर परेको छैन । देउवाको कद उँचो बन्दै गएको छ ।
संसदीय पुँजीवादी राजनीतिभित्र पद र प्रतिष्ठा जोगाउन र बढाउन कुनै पनि क्रियाकलाप गर्न छुट हुन्छ । तर, कम्युनिस्ट राजनीतिमा विचार, संस्कृति र कार्यशैलीलाई महफ्व दिइन्छ । दाहालले माक्र्सवादी विचार छोडेर संशोधनवादलाई अँगाले, बुर्जुवा छाडा संस्कार र संस्कृतिलाई अंगीकार गरे । देउवा जसरी मन्दिर, ज्योतिषी, धार्मिक बाबाहरुलाई भेट्दै ग्रह काट्छन्, भविष्य बुझ्छन्, त्यसै गरी दाहाल पनि मन्दिरमा गएर पूजा गर्ने, ग्रहदशा सुधार्न भैँसी पूजा गर्ने, भाग्य हेराउने गर्छन् ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...