परिवारवाद : कम्युनिस्ट मूल्य–मान्यताविरुद्ध
पछिल्लो दस वर्षका दौरानमा यी माक्र्सवादी मान्यताबाट च्यूत भएका कारण कम्युनिस्ट पार्टी एउटा पारिवारिक पार्टीजस्तो बन्न पुग्यो ।
नेपालको कम्युनिस्ट आन्दोलनका ६७ वर्षका दौरानमा कम्युनिस्ट पार्टीकै नाममा दुईपटक हतियारबद्ध संघर्ष भइसकेका छन् । यी दुवै सशस्त्र संघर्षको एउटै उद्देश्य थियो, सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत सत्ता स्थापना गर्ने । यसका लागि सही विचार, राजनीति निर्माण गर्न सक्ने सबल र क्रान्तिकारी नेतृत्वको आवश्यकता अनिवार्य बन्न जान्छ । क्रान्तिकारी नेतृत्वका लागि दर्शन, राजनीति, संगठनमा विशिष्ट क्षमता भएको हुनुपर्छ । साथै, त्याग, बलिदान, समर्पणमा पनि नेतृत्व अग्रभागमा रहेको हुनुपर्छ । विलक्षण प्रतिभा भएको नेतृत्व पद, पैसा, प्रतिष्ठा र परिवारबाट पूर्ण रूपले मुक्त हुनुपर्छ भन्ने मान्यता क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको सर्त हो ।
नेता र परिवार
साम्यवादका प्रवर्तक कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले साम्यवादको परिकल्पना मात्र गरेका थिएनन्, आफ्नो जीवनकालमा व्यवहारमा लागू पनि गरेका थिए । माक्र्स र एंगेल्स दुवैले आफूसँग भएको परम्परागत पुँजी सक्दै गएर क्रान्तिकारी सर्वहारा हुँदै सच्चा साम्यवादी बन्न पुगेका थिए । यति मात्र होइन, उनीहरूले आफ्नो परिवारलाई पनि सर्वहाराकरण गरेका थिए । माक्र्सको बिहे धनाढ्य परिवारकी जेनी माक्र्ससँग भएको थियो । उनका सातवटा सन्तान थिए । र, ती सातै जना बाबुका अनुयायी भए । जेठी र माइली छोरी जेनी क्यारोलिन र जेनी लाउरा समाजवादी आन्दोलनका कार्यकर्ताका रूपमा विख्यात पनि थिए । जेनीले त ब्रिटिसको महिला आन्दोलनको नेतृत्व नै गरेकी थिइन् । तर, यी दुवै दिदी–बहिनीले बाबुको प्रख्याति वा प्रतिष्ठालाई कहिल्यै मोलमोलाइ गरेर सत्तामा पुगेनन् ।
विश्वमा पहिलोपटक माक्र्सवादका आधारमा वैज्ञानिक समाजवादको स्थापना गर्ने सफल क्रान्तिको नेतृत्व गर्ने भ्लादिमिर इलिच लेनिन हुन् । उनका दाजु अलेक्जेन्डर इल्यानोभलाई जार सरकारले हत्या गरेको थियो । उनले नादेज्दा क्रुप्सकायसँग बिहे गरेका थिए । लेनिन साइबेरियामा निर्वासनमा बस्दा नै प्रेमविवाह भएको थियो । उनी तत्कालीन रसियन कम्युनिस्ट पार्टी (बोल्सेविक)मा पूर्णकालीन कार्यकर्ता थिइन् । उनी साम्यवादी आन्दोलनको महिला मुक्ति र समाजवादी शिक्षामा विशेष दखल राख्थिन् । त्यसैले उनले शिक्षा क्षेत्रमा रहेर काम गरेकी थिइन् । उनीहरूका कुनै सन्तान थिएनन् । सोभियत सत्ता स्थापना भए पनि लेनिन र क्रुप्सकाय दुवैले कामदारकै हैसियतमा मासिक तलब बुझ्थे । दुवै आ–आफ्नो हैसियत राख्थे ।
विशाल भूभाग र ठूलो जनसंख्या भएको चीनमा माओको नेतृत्वमा २८ वर्षसम्म नयाँ जनवादी क्रान्ति भयो । यसबीचमा माओले आफ्नी जीवनसंगिनी याङकाई हुईलाई नाबालक दुई छोरा माओ एनिङ र माओ एकिङका सामु नै चरम यातना दिएर च्याङकाइ सेकको सेनाले हत्या गरेको थियो । युद्धकालमा नै यी दुवै छोरा पढ्न रुस गएका थिए । दोस्रो विश्व युद्धमा दुवै लालसेनामा भर्ना भएर जर्मनी साम्राज्यवादका विरुद्ध युद्ध लडेका थिए । जेठो छोरो माओ एनिङको अमेरिका–कोरियाको युद्धका लड्न जाँदा मृत्यु भएको थियो । माओले आफ्नो छोराको शव चीन ल्याउन चाहेनन् । उनले जसरी र जहाँ अन्य चिनियाँ जनमुक्ति सेनाको शवको अन्त्येष्टि गरिएको छ, त्यहाँ त्यसरी नै आफ्नो छोराको शवको पनि अन्त्येष्टि गरिदिन भनेका थिए ।
२८ वर्षसम्मको भीषण युद्ध र २७ वर्षसम्मको सत्ता सञ्चालन गरेको माओले नेतृत्व गरेको पार्टी र राज्यसत्ताको उनका सन्तान कुनै पदमा गएनन् । उनीहरूले बाबु–आमा, पद र प्रतिष्ठालाई आफ्नो हितमा प्रयोग गरेनन् । माओका सन्तानले क्रान्तिकाल र राज्यसत्ता प्राप्तिपछि दु:ख नै बेहोरिरहेका थिए । उनीहरूको सामान्य जनताका छोराछोरीको जीवनभन्दा फरक थिएन । माओका सन्तानको जीवन अझ कष्टकर थियो भन्ने ली विन क्विआओद्वारा लिखित माओ म्यान नट गडमा पढ्न पाइन्छ ।
यहाँ माक्र्स, लेनिन र माओको नेतृत्व र उनीहरूको परिवारको प्रसंगले वास्तविक साम्यवादीको सिद्धान्त र व्यवहारलाई प्रतिविम्बन गर्छ । एउटा कम्युनिस्ट नेताले आफ्ना व्यक्तिगत चाहना, इच्छालाई तिलाञ्जलि दिनुपर्छ । उनीहरूका लागि ‘गुमाउन हत्कडी र जित्नका लागि सारा संसार’ हुन्छ । यसरी माक्र्स, लेनिन र माओ साम्यवादी आन्दोलनका विचारक, नेतृत्वकर्ता मात्र नभएर सिद्धान्त र व्यवहारलाई सँगसँगै लैजाने उदाहरण पनि हुन् । साथै त्याग, बलिदान, समर्पणमा पनि अग्रपंक्तिमा रहेका उपमा हुन् । सबैखाले जोखिम र खतरामा रमाउने पनि हुन् । त्यसैले यिनीहरूलाई साम्यवादी आन्दोलनका आदर्श मानिन्छ । यसरी माक्र्स, लेनिन र माओको जीवनशैलीलाई अनुसरण गर्नु नै सच्चा माक्र्सवादी बन्नु हो । एउटा साम्यवादीले परिवारलाई कस्तो बनाउने, सत्ता प्राप्तिपछि कसरी सञ्चालन गर्ने ? त्यस समयमा एउटा नेताको भूमिका कस्तो हुन्छ ? यस्ता कुरा मूल रूपमा लेनिन र माओबाट अनुसरण गरिनुपर्छ । त्यसैले अहिलेसम्म विश्वभरिका साम्यवादी आन्दोलनमा यी तीनवटा परिवारलाई आदर्श मान्ने गरिएको छ ।
नेपालको सन्दर्भ
विसं ०१० मा पश्चिम नेपालमा भीमदत्त पन्तको नेतृत्वमा सशस्त्र विद्रोह भए पनि साम्यवादी विचारद्वारा निर्देशित सशस्त्र संघर्ष ०२८ मा झापा विद्रोहका नाममा सीपी मैनाली, मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, केपी ओलीहरूले सञ्चालन गरेका थिए । तर, त्यो लामो समय टिक्न सकेन । अहिले नेपाल कम्युनिस्ट पार्टी एमाले त्यही विद्रोहको उपज हो । उनीहरूले आन्दोलन त पूर्ण रूपले परित्याग नै गरे । साथै, उनीहरूमा साम्यवादी नेताका कुनै विशेषता अहिले पाइँदैन । उनीहरू ०५१ देखि लगातारजस्तो सरकारमा गएका छन्, त्यहाँपछिका सबैखाले सत्तालाई स्वीकार गरेका छन् ।
जुन सत्ता उनीहरूले बोलेको विद्रोहको मान्यताभन्दा ठीक विपरीत छ । ती नेताले अहिले झापा विद्रोह र तत्कालीन मालेले सञ्चालन गरेका आन्दोलनका क्रममा बलिदान गर्नेका परिवारलाई पूर्ण रूपमा पाखा लगाउँदै नेताका सन्तान, नातागोता, आसेपासेलाई सत्ताको रसास्वादन गराइरहेका छन् । अहिले एमालेमा नेताका आफन्त, ‘मनी’ र ‘मसल’वालाको बोलवाला छ । संख्याको गुणमा झापा विद्रोह त्यति ठूलो आयतनको नभए तापनि अहिले त्यो विद्रोहको नेतृत्व गरेका नेताहरूले त्यसको फल उपभोग गरिरहेका छन् । तर, त्यस समयमा दु:ख गर्नेहरूलाई सत्ता र सरकार उपयोगबाट वञ्चित गराइएको छ ।
आकार, गुण र परिणामका हिसाबले झापा विद्रोहभन्दा कैयौँ गुणा विशाल दसवर्षे जनयुद्धले नेपालको राजनीतिमा युगीन परिवर्तन ल्याइदिएको थियो । आत्मोत्सर्ग, त्याग, बलिदान र समर्पणको जनयुद्धले ऐतिहासिक विरासत तोडिदिएको थियो । त्याग र बलिदानका क्षेत्रमा कैयौँ परिवेशमा नेताभन्दा कार्यकर्ता अगाडि थिए । कार्यकर्ताले नेताको अनुसरण गर्थे । नेतालाई नमुना मान्थे ।
त्यसैले नेताका प्रत्येक आदेशको पालना हुन्थ्यो । नेतादेखि कार्यकर्तासम्मका परिवारलाई पार्टीकरण गर्ने प्रक्रिया सुरु भएको थियो । ‘जनयुद्धको अन्त्य’को घोषणा भएको एक दशक पुग्दै गर्दा नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कमजोर बनेको छ । साथसाथै कम्युनिस्ट मूल्य–मान्यतामा पनि ह्रास भएको छ । यसले गर्दा कम्युनिस्ट आन्दोलनभित्रको परिवार, सम्पत्ति र नेतृत्व निर्माण पनि असाध्यै विकृत हुँदै गएको छ ।
भ्रष्टीकरणको आयाम
जनयुद्धकालमा धेरैजसो नेताले परिवारलाई पार्टीकरण गरेका थिए । त्यसमा एउटा जनयुद्धको विकास, पुरानो राज्यले नेता र कार्यकर्ताका परिवारमाथि अपनाएको दमनकारी नीति पनि एउटा कारण थियो, केही नेताका परिवार आन्दोलनमा सहभागी हुनुको कारण । तर, धेरैजसो बुझेका, भावनात्मक र वैचारिक पक्षबाट भौतिक रूपमा नै जनयुद्धमा होमिएका थिए । त्यसैले कैयौँ नेता र उनको परिवारका सदस्यले पनि जनयुद्धमा बलिदान गरेका थिए ।
तर, अहिले आएर माओवादी आन्दोलनप्रति गद्दारी गर्ने तर आफूलाई अहिले पनि माओवादी नै भनिराख्ने पंक्ति, जो बेलाबेलामा सरकारमा सहभागी हुने, सत्ताको दुरुपयोग गर्ने, माओवादीले जनयुद्ध लडेर ल्याउन चाहेको सत्ता र संरचना यही हो भनी भ्रम छर्नेहरू, जो वास्तवमा प्रत्यक्ष युद्धमा सहभागी भएनन्, निश्चित सुरक्षा घेरामा आफ्ना अभिभावकसँग अघिपछि लागिरहे, तिनै अहिले सत्ताभोगमा अग्रपंक्तिमा छन् । उनीहरूले त्याग, बलिदान र समर्पणको माक्र्सवादी मान्यताको खिल्ली उडाएका मात्र छैनन्, यी ओजपूर्ण पदावलीलाई भ्रष्टीकरण गरेका छन् । हिजोका यी नेताले आफ्ना सन्तानलाई सहिद, बेपत्ता र घाइते योद्धाको उत्सर्गलाई पैसा र प्रतिष्ठामा बिक्री गरिरहेका छन् ।
०६३ पछि माओवादीका नाममा तीनपटक सरकार बन्दा र सरकारमा सामेल हुँदा यिनले राज्यको सम्पत्तिमा ब्रह्मलुट मच्चाएका छन् । केही नेताहरू, जसका आफन्त जो हिजो जनयुद्धमा सामेलै भएका थिएनन्, यहाँसम्म कि जनयुद्धविरुद्ध खुलेर लाग्नेहरू पनि नेताका नातापाता भएकै कारण अहिले हालीमुहाली गर्न सक्ने ठाउँमा छन् । उनीहरूले नै जनयुद्धलाई विद्रुपीकरण गरिरहेका छन् ।
यी नेताहरू जो माओवादीका नाममा शासन गर्न पुगेका छन्, उनका छोरा, छोरी, ज्वाइँ, बुहारी, भाइ–बहिनीहरूले पद, पैसा र प्रतिष्ठा कुम्ल्याएका छन् । उनीहरूको एक मात्र उद्देश्य ‘जसरी आऊ, पैसा कमाऊ’ हो । यसले गर्दा दस वर्षको जनयुद्ध बेकार थियो, नेता, कार्यकर्ता र जनताको बलिदान र समर्पणको मूल्य रहेन भन्ने भ्रम फिजाउने वातावरण तयार भएको छ ।
अहिले माओवादीका नाममा तेस्रोपटक प्रचण्ड एन्ड कम्पनीले सरकारको नेतृत्व गरेको छ । उनीहरूले देश र जनताका नाममा सिन्को भाँच्न नसक्नु, महँगी बढ्नु, भ्रष्टाचार र कालोबजारी खुलेआम हुनु, जनयुद्धमा सामेल हुँदा सामान्य आर्थिक अवस्था भएकाहरू अहिले सरकारमा पुग्दै गर्दा करोडपति बन्नु, उनीहरूका शाखा–सन्तानले लाजमर्दो आर्थिक चलखेल गर्नुले एकातिर साम्यवादी आन्दोलनमा भ्रम सिर्जना गरेको छ भने साम्यवादी मूल्य–मान्यतालाई भ्रष्टीकरण गरेको छ ।
साम्यवादी आन्दोलनका नेताहरूले पनि पुँजीवादी पार्टीमा जस्तै उत्तराधिकारी छनोट गरेका छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा जोखिमपूर्ण घडीमा परिवार वा सन्तानलाई होम्ने समस्या देखिएको छ । जब आन्दोलनले निर्णायक रूप लिन्छ अनि परिवार वा सन्तानलाई पार्टीमा भर्ती गर्ने र पदोन्नति गर्ने गलत नजिर बनेको छ । कम्युनिस्ट नेता हुनका लागि विचार (दर्शन), राजनीति, संगठन, संघर्षमा विशेष दखल राख्नुका साथै त्याग, बलिदान, समर्पणमा पनि अग्रभाग रहेको हुनुपर्छ । मूल रूपमा कम्युनिस्ट पार्टीले अँगालेको सिद्धान्त र उक्त सिद्धान्तले माग गरेको व्यवहारबीच उचित तालमेल भएको व्यक्तिको मात्र सापेक्षतामा पदोन्नति हुँदै जानुपर्छ ।
पछिल्लो दस वर्षका दौरानमा यी माक्र्सवादी मान्यताबाट च्यूत भएका कारण कम्युनिस्ट पार्टी एउटा पारिवारिक पार्टीजस्तो बन्न पुग्यो । जनवादको स्थान अराजकताले लियो भने केन्द्रीयताको स्थान नोकरशाही तन्त्र वा निरंकुशताले लिएको छ । अहिले माओवादीका नाममा जसरी सरकार चलाइएको छ, परिवारवाद लागू गरिएको छ, यो कम्युनिस्ट मूल्य–मान्यता र चरित्र होइन ।
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...