भ्रान्तिका ४० वर्ष
सञ्चित पुँजीको वृद्धिदर श्रमबाट हुने आम्दानी वृद्धिदरभन्दा बढी भएको छ । र, वृद्धि भएको पुँजी बिल गेट्स, मार्क जुगरवर्गजस्ता पछिल्लो क्रममा धनी हुन पुगेकाको हातमा सञ्चित हुन पुगेको छ ।
नेपालको वर्ष १९, अंक ४५ मा समाजशास्त्री चैतन्य मिश्रको ‘भ्रान्तिका सय वर्ष’ शीर्षकमा एउटा लेख छापियो । २८ भदौको नयाँ पत्रिकामा उनको अन्तर्वार्ता ‘नेपाल देश नरहन पनि त सक्छ’ छापियो । यी लेख र अन्तर्वार्ताबाट उनले ४० वर्षयता अँगाल्दै आएको माक्र्सवाद परित्याग गरेको पुष्टि हुन्छ । लेखमा मिश्रले अक्टोबर क्रान्तिमा भएका दुइटा कुरा ‘खराब’ भनेका छन्– ‘नागरिकको स्वतन्त्रताको हरण र सोभियत संघको औचित्य पुष्टि गर्न पुँजीवादको आयु सकियो ।’
लेनिन जुरिचमा निर्वासित भएका बखत सन् १९१६ का वसन्तमा साम्राज्यवाद–पुँजीवादको चरम अवस्था लेखे । किताबमा आजभन्दा सय वर्षअघिको पुँजीवादको चरित्रलाई व्याख्या गरिएको छ र त्यो साम्राज्यवादमा रूपान्तरण भएको भनेका छन् । लेनिनले उक्त किताबको फ्रान्सेली र जर्मन संस्करणको भूमिकाको अन्तिम हरफमा ‘साम्राज्यवाद सर्वहारा वर्गको सामाजिक क्रान्तिको पूर्वबेला हो, सन् १९१७ पछि विश्वव्यापी स्तरमा यस तथ्यको पुष्टि भइसकेको छ’ लेखे । उनले त्यसबखत साम्राज्यवादी भनेर युरोपमा बेलायत, फ्रान्स, जर्मनी भनेर किटान पनि गरे । पुस्तकमा लेनिनले साम्राज्यवादको चरित्रको खोज गर्ने क्रममा त्यसका विशेषतालाई उत्पादनको केन्द्रीकरण र एकाधिकारी मण्डलहरू, बैंकहरू र तिनको नयाँ भूमिका, वित्तीय पुँजी र वित्तीय अल्पतन्त्र, पुँजी निर्यात, पुँजीपति–संघहरूबीच विश्व विभाजन, महाशक्तिहरूबीच विश्व विभाजन, साम्राज्यवाद–पुँजीवादको एक विशेष अवस्था, पुँजीवादको परजीविता तथा ह्रास, साम्राज्यवादको आलोचना र इतिहासमा साम्राज्यवादको स्थान गरी १० बुँदामा व्याख्या गरे ।
स्वयं माक्र्सकै भनाइमा हेगेलको आदर्शवादी द्वन्द्ववाद, फायरबाखको अधिभूतवादी भौतिकवाद, कान्टको अज्ञेयवादी आदर्शवाद र प्रुधो–बाकुनिनको अराजकतावादी व्यक्तिवादविरुद्ध भीषण संघर्षबीचबाट ऐतिहासिक भौतिकवादी दृष्टिकोण बन्न पुगेको थियो । जर्मन दर्शनशास्त्री जर्ज विल्हेल्म फ्रिड्रिक हेगेलसँग त माक्र्स–एंगेल्सले प्रत्यक्ष वैचारिक भिडन्त गर्न पाएनन् किनभने माक्र्स १३ पुग्दै गर्दा हेगेलको निधन भएको थियो । तर लुडविक फायरबाख, प्रुधो, बाकुनिनसँग वैचारिक संघर्ष गरे । प्रुधोलाई त माक्र्सले असल मित्र र अग्रज नै मान्थे । जब उनले दरिद्रताको दर्शन लेखे अनि माक्र्सले पुस्तकमा रहेका दार्शनिक कमजोरी सच्याएर दर्शनको दरिद्रता लेखे । फायरबाखका बारेमा सन् १८८६ मा एंगेल्सले त एउटा निबन्ध नै लेखे, ‘लुडविक फायरबाख: शास्त्रीय जर्मन दर्शनको अन्त्य’ । त्यसैले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नै माक्र्सवादको मुख्य दर्शन हो ।
पुँजीवादको दार्शनिक आधार भनेको आदर्शवाद हो । जबसम्म पुँजीवादले विभिन्न खाले भौतिकवादलाई आफ्नो दर्शन मानेको थियो, त्यसबेलासम्म पुँजीवाद प्रगतिशील थियो । त्यस समय सामन्तवादविरुद्ध लडेकै हो । तर जब वैज्ञानिक भौतिकवाद वा ऐतिहासिक भौतिकवादको जन्म भयो, उसले आफ्नो वैचारिक सत्तामा ठूलो खतरा देख्यो । त्यसैले द्वन्द्वात्मक भौतिकवादलाई अँगाल्न नसकेर सामन्तवादको पक्षपोषण गर्ने आदर्शवादको शरणमा पुग्यो । त्यसैले लेनिनकै पालामा पुँजीवाद प्रगतिशील रहेन । उनी दार्शनिक रूपमा आदर्शवादी भएपछि साम्राज्यवादी बन्न पुगेका हुन् ।
लेनिनको पालामा दोस्रो औद्योगिक क्रान्ति भएको थियो । जलविद्युतको पहिलो उपयोग सन् १८७८ मा इंग्ल्यान्डमा भएको थियो । १९०० देखि जलविद्युतलाई उद्योगमा प्रयोग गर्न थालियो । यसले एकातिर उत्पादनमा गुण र मात्रामा ठूलो फड्को मार्यो । त्यही चरणमा बेलायत, फ्रान्स, जर्मनी, जापान, अमेरिकालगायत औद्योगिक देशमा पुँजीको अतिकेन्द्रीकरण हुन पुग्यो, बजारका लागि र प्राकृतिक साधन–स्रोतमा एकल दोहन गर्न यी देशहरूका बीचमा मनमुटाव मात्र भएन, पहिलो र दोस्रो विश्वयुद्ध नै भयो । यसको भविष्यवाणी लेनिनले गरेका थिए । दोस्रो विश्वयुद्धमा त दिग्विजयको अभियानमा हिँडेका हिटलरलाई इतिहासमा कैद कसले गर्यो ? स्टालिन नेतृत्वको तत्कालीन सोभियत संघले हो ।
लेनिनले माक्र्सवादकै आधार बनाएर पुँजीवादको विकास भएको र साम्राज्यवादी बन्दै गरेको रुसमा अक्टोबर क्रान्ति सफल पारेका थिए । अक्टोबर क्रान्ति गर्नुभन्दा पहिला लेनिनले दर्शनमा सन् १९०८ सेप्टेम्बरमा भौतिकवाद र अनुभव सिद्ध–आलोचना लेखे । राजनीतिक अर्थशास्त्रमा सन् १९१६ मा एउटा पम्प्लेटका रूपमा र पछि २६ अप्रिल १९१७ मा पुस्तकका रूपमा साम्राज्यवाद–पुँजीवादको चरम अवस्था र समाजवादमा अगस्त, १०१७ मा राज्य र क्रान्ति लेखे । यी ३ क्षेत्रमा लेनिनले माक्र्सवादलाई नयाँ विकास गरे र माक्र्सवाद–लेनिनवाद बन्न पुगेको थियो । यस लेखमा यी पुस्तकमा भएका विषय व्याख्या गर्न सकिँदैन । यतिसम्म भन्न सकिन्छ कि लेनिनका यी ३ वटा पुस्तक वर्गसंघर्ष र ब्लांकी, बाकुनिन, कार्ल काउत्स्की, ट्रटस्की लेखिए । यति मात्र नभएर ४ वर्ष लगातार केही बुद्धिजीवी प्रोफेसरले भौतिकवादविरुद्ध दर्जनौँ पुस्तक लेखेपछि उनीहरूका कुतर्कका विरुद्ध वैचारिक संघर्ष गर्दा जन्मिएका हुन् ।
भौतिकवाद र अनुभव सिद्ध–आलोचनामा सुरुमै लेनिनले ‘ प्राध्यापकलाई १० प्रश्न’ गरे । पहिलो प्रश्न नै ‘के प्राध्यापक साहेबले माक्र्सवादको दर्शन द्वन्द्वात्मक भौतिकवादका रूपमा स्वीकार गर्नुहुन्छ ?’ छ । लेनिनले मजदुर बाहुल्यको पुँजीवादी देशमा क्रान्ति सफल पारेर सर्वहारा वर्गको अधिनायकत्वसहितको समाजवाद स्थापना गरे । उनले कम्युनिस्ट पार्टीको संगठनसम्बन्धी सिद्धान्त पनि विकास गरे ।
माओले चीनजस्तो गरिब किसान बाहुल्यको अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा दीर्घकालीन जनयुद्धको माध्यमबाट २८ वर्ष लगाएर नयाँ जनवादी क्रान्ति गरे । पुँजीवादले सामन्तवादसँग साँठगाँठ गरेपछि पुँजीपति वर्गले पुँजीवादी क्रान्ति गर्न नसक्ने भन्दै सर्वहारा वर्गले पुँजीवादी क्रान्ति गर्नुपर्ने निष्कर्ष निकाल्दै जनसेना निर्माण गरेर अघि बढे । लेनिनले जस्तै माओले पनि माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादमा आयाम थपे । विद्वान् प्रोफेसरलाई सम्झाउनुपर्दैन, माओका ‘अन्तर्विरोधहरूबारे, व्यवहारबारे’ अगस्त १९३१ मा प्रकाशित पुस्तक दर्शनसम्बन्धी रहेका छन् । त्यसैगरी राजनीतिक अर्थशास्त्रमा युद्धकाल फेब्रुअरी १९२७ मा लेखिएको ‘हुनान किसानको आन्दोलन’ र क्रान्ति सफल भएपछि सांघाई टेक्स्ट बुक पढ्दा हुन्छ । त्यसैगरी वैज्ञानिक समाजवादमा ३० जुन १९४९ मा ‘जनताको जनवादी अधिनायकत्व’ तयार पार्नु भएको थियो । यस समय साम्राज्यवादीबीचको युद्ध भर्खरै सकिएको थियो ।
जेनरी रिफकिनले आफ्नो पुस्तक तेस्रो औद्योगिक क्रान्तिको सारांशमा लेखेका छन्– ‘तेलको युगमा, विद्युत्को केन्द्रीकरण, अटोमोबाइल र उपमहानगरीय निर्माण’ २० औँ शताब्दीको दोस्रो औद्योगिक क्रान्तिले अभूतपूर्व सम्पत्ति पैदा गर्न र वृद्धि गर्न योगदान गरेको थियो । तर समकालीन औद्योगिक अर्थतन्त्रले तेलको चुहावट, वातावरण परिवर्तनले गम्भीर तहको धेरै संकट सामना गरिराखेको छ । सजिलै प्राप्त जीवावशेषको इन्धन, जसलाई ‘कार्बन युगको अन्त, यसले भविष्यको समाज, राजनीति र वित्तीय क्षेत्रमा ठूलै उथलपुथल ल्याउँछ ।’ जेनरी कुनै माक्र्सवादी होइनन् । उनको यो भनाइले पुँजीवाद कमजोर छ कि सबल बनिराखेको छ भन्ने देखाउँदैन र ? एक्काइसौँ शताब्दीको यो दोस्रो दशकको पनि अन्त्यतिर छौँ । चौथो औद्योगिक क्रान्ति भनेको ‘हानिकारक प्रविधि’ जस्तै, इन्टरनेट अफ थिङ्ग्स, भर्चुअल रियालिटी र आर्टिफिसियल इन्टेलिजेन्सले हाम्रो जीवन, हामी र कामलाई बदलिदिएको छ ।
लेनिनले पुँजीवादलाई परजीवी पनि भने । परजीवी अर्काको शरीरमा भर पर्ने मात्र होइन कि मर्दै गएर एउटा जीवकोष मात्र बाँकी रहे पनि फेरि ब्युँतिन्छ । पुनर्जीवन पाउँछ । उदाहरणका लागि, टेनिया–सोलियम, जसलाई नेपालीमा नाम्ले किरा भन्छन् । यसलाई शरीरबाट शल्यक्रिया गरेर वा एबिन्डाजोल खुवाएर मार्न सकिन्छ । दोस्रो विश्वयुद्धको समाप्तिसँगै विश्वका १६ राष्ट्रमा समाजवाद स्थापना भएर परजीवी पुँजीवादको मुख मरेको थियो ।
भनिराख्नु पर्दैन, पुँजीवाद दोस्रो विश्वयुद्धपछि सर्वाधिक संकटमा छ । उदारवाद हुँदै नवउदारवादको रूपमा पुँजीवादले काँचुली फेर्न थाल्यो । त्यसले पनि पुँजीवादलाई बचाउन नसकेको यसको वकालत गर्ने एक लेखक नोम चोम्स्कीले सन् १९९९ मा नवउदारवाद र विश्व व्यवस्थाबारे प्रोफिट ओभर पिपल लेखेर उजागर गरेका छन् । उनले नवउदारवादको नाममा विश्व पुँजीवाद निगम पुँजीको शरणमा परेको पुष्टि गरेका छन् । उनको उक्त पुस्तकको ‘अल्टिमाइट विपन’ लेखमा पुँजीवाद कसरी जीवनमरणको संघर्षमा छटपटाइरहेको छ भन्ने उल्लेख छ । थोमस पिकेटीका क्यापिटल इन ट्वान्टी–फस्ट सेन्चुरी, इनिक्वालिटी, हा–जुन चाङको ट्वान्टी थ्री थिङ्ग्स दे डोन्ट टेल यु एवाउट क्यापिटालिज्म मुख्य र चर्चित पुस्तक हुन् । पुँजीवादी लेखकले नै यस्ता दर्जनौँ किताब लेखेका छन् । सन् १९९२ मा समाजवादको विरोध गर्दै द इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान लेखेर पुँजीवादको प्राण भर्ने फ्रान्सिस फुकुयामाले १७ अक्टोबर २०१८ मा स्टेटम्यानलाई अन्तर्वार्ता दिँदै भनेका छन्– ‘यो समय माक्र्सले अत्यधिक उत्पादनको संकटले मजदुरमा हुने गरिबीले मागमा ठूलो संकट आउँछ भन्ने गरेको भनाइप्रति विश्वास लाग्न थालेको छ ।’ पत्रिकामा उनको त्यो अन्तर्वार्ताको शीर्षक नै ‘समाजवाद आउनुपर्छ’ भन्ने थियो ।
सन् १९७८ पछि पुँजीवादले नाम्ले किरा जसरी पुनर्जीवन पाएको सही हो । बीसौँ शताब्दीको अन्त्यसँगै पुँजीवादले उदारवाद, नवउदारवाद हुँदै नयाँ रूप लिएको छ । मूल रूपमा २००० को प्रवेशसँगै विज्ञान–प्रविधि, सूचना प्रविधिमा भएको क्रान्ति, चौथो औद्योगिक क्रान्तिमा इन्टरनेट अफ थिङ्ग्स, भर्चुअल रियालिटी र आर्टिफिसियल इन्टेलिजेन्सको विकास र पहुँच, यसले उत्पादनमा पारेको प्रभाव, थोमस पिकेटीले भनेजस्तै सञ्चित पुँजीको वृद्धिदर श्रमबाट हुने आम्दानी वृद्धिदरभन्दा बढी भएको छ । र, वृद्धि भएको पुँजी बिल गेट्स, मार्क जुगरवर्गजस्ता पछिल्लो क्रममा धनी हुन पुगेकाको हातमा सञ्चित हुन पुगेको छ । रमाइलो के भने यिनै धनी मान्छे उपभोग्य उद्योग चलाएरभन्दा पनि सूचना प्रविधिको व्यापार गर्छन् । यिनै धनीहरूका विभिन्न कर्पोरेटले विश्वका वैभवशाली भनिने अमेरिका, फ्रान्स, जर्मनी, बेलायत, दक्षिण एसियामा भारतका सत्ता चलाएका छन् ।
माक्र्सवाद आधारभूत सिद्धान्तलाई यो नयाँ विशेषतासहितको पुँजीवादलाई ढाल्न सही प्रयोग गर्नुपर्छ । पँुजीवादले पुनर्जन्म लियो भनेर विचार नै परित्याग गर्न जरुरी छैन । बरु थप विकास गर्नुपर्छ । अहिलेको विश्वका नयाँ विशेषतामा तथ्यपरक खोज गर्नुपर्छ । जस्तो, शिक्षाको पहुँच, यातायात, सूचना प्रविधि र विज्ञान प्रविधिले नयाँ खाले श्रमजीवी जन्मिएका छन् । शोषण छ तर यसको स्वरूप फरक छ । निगम पुँजीले राज्यहरूलाई नियन्त्रणमा राखेको छ । राज्यभन्दा पनि निगमबाट चुहिने पुँजी चाट्नमा राज्य सञ्चालकहरू लागिपरेका छन् । यी तथ्यको खोज गरेर तदअनुरूप दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा विकास गर्न जरुरी छ ।
यो पनि पढनुहोस् : भ्रान्तिका सय वर्ष
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...